कुनै गाउँमा फुर्के नाम गरेको केटो बस्दथ्यो । उसलाई छिमेकीहरू ‘फुर्के’ माइला भनेर बोलाउँथे । उसको स्वभाव अनौठो किसिमको थियो । कसैले उसलाई केही काम लगायो भने फुरुक्क भएर गरिहाल्थ्यो । उसको बुबाले उसलाई पढाउन विद्यालय पठाउने निधो गरे । उनले गाउँको एक विद्यालयमा उसलाई भर्ना गरिदिए । शिक्षकहरूले पनि उसको व्यवहार अनुसार अर्ति, उपदेश दिएर पठाउन थाले । ऊ चञ्चले भए पनि पढ्नमा त्यति तेज भने थिएन । आफ्ना साथीभाइसँग भने अति मिलेर खेल्ने गर्दथ्यो । विद्यालय गएपछि पनि उसको फुर्के र चञ्चलेपनमा भने रत्तिभर कमी आएन ।
उसको फुर्के र चञ्चले स्वभाव देखेर शिक्षक र साथीभाइहरू अचम्मित थिए । साथीहरू असजिलो काम पर्यो भने हाम्रो फुर्के माइलोले गरिहाल्छ नि भन्दथे । ऊ पनि फुरुक्क भएर त्यो काम गर्न अघि सर्दथ्यो । अरूले लगाएको काम गर्न नसके आफ्नो जीवनलाई ऊ सार्थक ठान्दैनथ्यो । उसले जसरी भए पनि त्यो काम गरेरै छाड्दथ्यो ।
आफ्नो छोराको स्वभाव देखेर बाबुआमा ज्यादै चिन्तित थिए । त्यसमा पनि छोराको पढाइ राम्रो नभएकाले उनीहरू झनै बढी चिन्तित थिए । ऊ कक्षा ८ मा फेल भयो र पढाइ पनि छोड्यो । अब ऊ आफ्नै खानदानी पेसा खेतीपाती गरेर बस्न लाग्यो ।
त्यस गाउँमा टाठाबाठा भनाउँदा र छुल्याहा फटाहाहरूको पनि कमी थिएन । उनीहरू अर्कालाई फकाएर, फुर्काएर आफूलाई फाइदा हुने काम गर्दथे । उनीहरू असजिला, जोखिमपूर्ण काम छ भने फुर्के माइलालाई फुक्र्याएर काम लगाउँथे । त्यस किसिमका काममा फाइदा भने उनीहरू लिने गर्थे । फुर्के माइलो भने यो काम जोखिमपूर्ण छ, गरेमा ज्यान खतरामा पर्न सक्छ भन्ने कुरा कल्पना पनि गर्दैनथ्यो ।
त्यस गाउँका ठूलाबडा भनाउँदाहरूले नदीमा माछा मार्न जाने सोच बनाए । माछा समाउन फुर्के माइलालाई पनि लाने निर्णय गरे । फुर्के माइलोसहित ठूलाबडा विष लिएर माछा मार्न भनेर नदीतिर गए । नदीमा विष राखेपछि माछा छटपटाएर पानीमा तहरिन थाले । फुर्के माइलोले नदीमा पौडेर प्रसस्त माछा समात्यो ।
नदीमा ठूलो माछो छट्पटाएको देखियो । त्यस माछालाई देखेपछि ठूलाबडाले हाम्रो माइलाले समाएर ल्याउन सक्छ भने । माइलो पनि फुर्कदै त्यो माछो समाउन नदीमा पौडिन थाल्यो । उसले त्यो माछोलाई समात्यो र नदी पारि पुग्यो । आफूले समातेको माछो ठूलाबडालाई देखायो । फुर्के माइलोले समातेको माछो ज्युँदै थियो । ठूलाबडाले उसले समातेको माछोलाई जनैमा बाँधेर वारि आउन लगाए । उसले पनि आफूले लगाएको जनैमा माछोलाई बाँधेर नदीमा पौडँदै वारि आउन लागेको थियो, उसलाई माछोले तानेर पानीमा बेपत्ता पारिदियो ।
