कवि गोकुल अधिकारी समसामयिक नेपाली कविताको क्षेत्रमा नयाँ नाम होइन । उनका कविताहरू निकै अघिदेखि पत्रपत्रिकामा प्रकाशन भइरहेका छन् । भर्खरै उनको कविता कृति ‘अक्षरको घर’ प्रकाशनमा आएको छ । ‘अक्षरको घर’ संवेदनाको एउटा त्यस्तो संसार हो, जहाँ गरिबी र अभावमा बाँच्न बाध्य मानिसका पक्षमा वकालत गरिएको छ ।

मानवीय संवेदनालाई व्यावहारिक रूपमा लेख्न खप्पिस कवि अधिकारी मध्यमवर्गीय मानिसका पीडाहरू बोल्ने कवि हुन् । उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना, आर्थिक अभाव, नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटकपटक मिलेका हारहरू भेटिन्छन् । कवि अधिकारी निराश छैनन् तर उनका कविताहरूले हारेका मानिसहरूको प्रतिनिधित्व गर्छ । ‘अक्षरको घर’ त्यही अन्योलग्रस्त मानिसका तस्बिरहरू हुन् । दुःखलाई गहनाजस्तो लगाएर हिँडिरहेकाहरू गोकुलका पात्रहरू हुन् । तिनीहरूकै आवाज गोकुलका मिथ र विम्बहरू हुन् । उनी कवितालाई दुरुह बनाउँदैनन् । आम मानिसका अफ्ठ्यारालाई जस्ताको तस्तै आफ्ना कवितामा राख्न गोकुल सक्षम छन् ।

कविताको खेतीमा कविताकै मलजलले भावनात्मक पोषण पाएका कवि अधिकारी जीवनको साढे चार दशकमा बल्ल पहिलो काव्यकृति लिएर देखापरेका छन् । आफूसँगैका दौँतरीहरू साहित्यिक चिनारीमा नामी कहलिएर पहिचानको हिसाबमा पाको भइसक्दा गोकुलको कविता यात्रा भने कृतिगत रूपमा भर्खर कोरिएको छ । भर्खर प्रकाशन भए पनि पाका अनुभव र माझिएको विचारका कारण ‘अक्षरको घर’ राम्रो कृतिको हारमा दरिएको छ । उनका कविताहरू उनकै दौँतरीहरूको मेसोमा कम देखिँदैनन् । मोफसलमा रहेर कविताकर्म गरिरहेका गोकुल राजधानीलाई गाली गर्दैनन् र उनका कवितामा मोफसल र राजधानीको विभेदको तुष कतै भेटिँदैन । ‘अक्षरको घर’ भित्रका अधिकांश कविताहरूले मानिसका सम्बन्ध र आर्थिक जटिलतामा अल्मलिएकाहरूको असहज स्थितिलाई बोलेका छन् ।

सङ्ग्रहभित्रका अधिकांश कविताहरू विभिन्न समयमा विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशन भएका कविताहरू नै हुन् । छोटा बान्कीमा झ्वाट्ट छुने अधिकांश कविताले लघुकथाको छनक दिन्छ । कविताहरू सरल छन् । शब्द र वाक्य विन्यास पनि सामान्य छ । त्यसकारणले कतिले गोकुलका कवितालाई ज्यादै सरल भयो पनि भन्न सक्छन् तर आमपाठकलाई लक्षित गरी लेखिएका उनका कविताहरू सरलताको यो आरोप सहन तयार छ, तर आफ्नो शैलीका रूपमा गोकुलले विकास गरेको सरलतालाई फेर्न भने कवि चाहँदैनन् ।

कतिपय कविताहरू सामान्य अवस्थामा लेखिएका छन् । मिथ र विम्बहरूको उपस्थितिविना लेखिएका त्यस्ता कविताहरूबाट पाठकले कलात्मक मिठास नपाउन पनि सक्छन् तर त्यही कवितामा रहेको अभावको डरलाग्दो तस्विरले सबैको मन मथिङ्गललाई खल्बलाइदिन्छ ।

पुस्तक ः अक्षरको घर (कवितासङ्ग्रह)
कवि ः गोकुल अधिकारी
प्रकाशक ः पूर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगर
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः १४ ं ६३
मूल्य ः रु. १००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *