बेलाइत यात्राका अनुभूतिहरू

  • by


कविता, आत्मपरक निबन्ध र नियात्रामा कलम चलाएर प्रकाशित कृतिहरूको सङ्ख्या दर्जन कटाइसकेका भीष्म उप्रेतीको पछिल्लो कृतिकारूपमा भर्खरै प्रकाशित भएको छ ‘घर र्फकने दिन’ । उनको साहित्यिक लेखनको पहिलो सङ्गृहीत खुड्किलो यात्राका केही थुँगा फूल (२०४६), नीलो पानी र नीला भावनाहरू (२०५५), लहरलहरका अक्षरहरू (२०५८), तेहरान डायरीको एक साता (२०६३) र घर र्फकने दिनले उनलाई कवि जत्तिकै सशक्त नियात्राकार व्यक्तित्वका रूपमा पनि स्थापित गराएका छन् ।

‘घर र्फकने दिन’ उप्रेतीको बेलाइत यात्रासँग सम्बन्धित कृति हो । यसभित्र जम्मा चौध शीर्षकीय नियात्रात्मक अनुभूतिजन्य सामग्रीहरू समाविष्ट छन् । बेलाइतको साउथहृयाम्टनमा पहिलोपल्ट पाइला टेकेको दिन वि.सं. २०५६ असोज ३ गतेबाट प्रारम्भ भएर लगभग १३ महिनाको बेलाइत बसाईका गाह्रा-साँघुरा, रोचक-मनोरञ्जनात्मक, सहयोगी साथीभाइहरूका विषय र सन्दर्भहरू यस कृतिमा फुकाएका छन् । आफू कार्यरत संस्था राष्ट्र बैंकले अध्ययनका लागि पठाएको अवसरलाई सदुपयोग गर्दै साहित्यकार हुनुको धर्म निर्वाह गरेर उनले पठनीय नियात्रा कृति दिएका छन् ।

पहिलो नियात्रा ‘नयाँहरूको साता’ मा साउथहृयाम्टन विश्वविद्यालयमा अर्थशास्त्रमा स्नतकोत्तर गर्न गएका नियात्राकार सुरुमा जसरी अलमलिएका छन्, पछि क्रमशः परिचित हुँदैजाँदा औधि रमाएका छन् । पुरानाले नयाँलाई गर्ने सहयोग, विश्वका बीसौँ देशका विद्यार्थीहरूको जमघट, विभिन्न धर्म, संस्कार र सभ्यताको सम्मिलनले लेखकलाई प्रभावित बनाएको छ । नयाँ ठाउँ, विकासको उत्कर्षमा पुगेको देश, एकाध चिनजानका मान्छेहरू, भेट्न जान पनि असजिलो । यस्तै भोगाइको छ- ‘अब मैले के गर्ने ?’ अप्ठ्यारोमा पर्दा सहयोग माग्न पछि पर्न नहुने रहेछ भन्ने अनुभव लेखकले बाँडेका छन् । बेलाइतमा बसेका नेपालीहरूले ‘गोर्खा प्यालेस’ मा मनाएको दसैँको रमझममा सरिक हुन पाएर लेखकले नेपालको दसैँको न्यास्रो मेटाएका छन् । दक्षिण अफ्रिकी मूलकी युवती डेब्रासँग नियात्राकारको परिचय भएपछिको रमाइलो र धुमधामले सङ्ग्रहलाई रोचक बनाउन प्रशस्त खुराक प्राप्त भएको छ । नेपाल घुमिसकेकी डेब्राले नेपालीभाषा सिक्ने क्रममा लेखकसँग भेट भएको छ र उसले दिल खोलेर सहयोग गरेकी छे । नियात्राकारको बेलाइत बसाईंलाई नेपालबाट जीवन साथी गएपछि र त्यसपछि साली पनि गएपछि त सहज र रमाइलो बनाउन झनै सघाउ पुगेको छ । नियात्राकारले बेलाइतमा नेपाली दसैँ मनाएका छन्, बेलाइती क्रिसमस मनाएका छन् । डेब्राले हिउँ चिप्लेटी खेलाएकी छे, आफ्नो कारमा घुमाएकी छे । नेपालीहरूको साथ र सहयोगको त कुरै भएन । मिलिटरी म्युजियम, गोर्खा म्युजियम अवलोकन गर्दाको क्षण युद्धप्राप्तिको वितृष्णा लेखकमा जाग्नु सबैमा उठ्ने साझा भाव हो । लेखकलाई नेपाल र इस्टइन्डिया कम्पनीबीच भएको युद्ध र सन्धिका कागजपत्रहरूले चिमोटेको छ ।

इङ्लिस च्यानल पार गरेर फ्रान्स घुम्दाको विज्ञान-प्रविधिको वर्णन र रमाइलो क्षणले वास्तवमै लोभ्याउँछ पाठकलाई । लुभ्र दरबार कलाको सौन्दर्य वर्णन, जेन अस्टिन, सेक्सपियर जस्ता विश्वप्रसिद्ध साहित्यकारहरूका घरलाई सङ्ग्रहालय बनाइएको प्रसङ्ग, वनजङ्गलको हरियाली, व्यवस्थित कृषिफार्महरू, राति ९ बजेसम्म झलमल्ल घाम लागिरहनु, बाह्रै महिना हरियाली हुनु, सुन्दर प्रकृतिको साथ पाउनु हो । एउटा भूपरिवेष्टित देशको लेखक समुद्रले घेरिएको देशमा पुग्दा पनि समुद्रसँग साक्षात्कार हुन दस महिनासम्म पर्खिन सकेको प्रसङ्ग वास्तवमा ‘समुद्र्र’ ! मेरो चिरप्रतीक्षा, मेरो मृगतृष्णा शीर्षकमा अटाउने हुँदै होइन । त्यसैले त उप्रेतीले ‘समुद्र र अन्य कविताहरू’ शीर्षकमा छुट्टै सङ्ग्रह नै प्रकाशित गरिसकेका छन् र केही कविताका अंश यसमा पनि मन छुनेगरी हालेका छन् ।

विद्यार्थी भिसाको अवधि सकिएर थप्न नपाएपछि पर्यटक भिसा थप भएको प्रसङ्ग उत्तिकै रोचक छ । ‘घर र्फकने दिन’ सङ्ग्रहको अन्तिम शीर्षक हो । घर र्फकने खुसी लेखकमा एकातिर छ भने अर्कोतिर विदेशमा पाएको साथ-सहयोग छोड्नु पर्दाको बेखुसी पनि छ । डेब्रा, मुस्तफा, वीरेन्द्रजी, विदुरजी, उहाँहरूको परिवार जेनु, कञ्चनलगायतका धेरै छन् लेखकको मनलाई अमिलो बनाउने नामहरू । तर पनि बाध्यता हो । फर्किनै पर्ने र आफ्नो देश फर्किदाको खुसी पनि अटेसमटेस छ । कृति पठनीय हुँदाहुँदै पनि केही वाक्यांशहरूले दाँतमा ढुङ्गा लागेको जस्तो बनाउँछन् । मूलकुरा त कहाँको बेलाइत, कहाँको नेपाल ! भौतिक संरचनाको विकासअनुसार नै अन्य सम्पूर्ण कुराहरूको उन्नति-प्रगति भइरहेको अवस्थामा कुनै पनि कुरा तुलनीय हुनै सक्तैन । अर्को कुरा ‘नयाँहरूको साता’ शीर्षकमा ओखलढुङ्गा र खोटाङतिरका राईजस्ता भनेका छन् तर सामान्यत ः राईहरू सबैतिरका एकै काँट र अनुहारका हुन्छन्, केवल भाषा मात्र भिन्न हुन्छ । त्यस्तै, आठ हजार मिटर माथिका हिमालहरू विश्वमा चौधवटा छन्, दसवटा मात्र होइन । यस्ता केही त्रुटीहरू भए पनि समग्रमा भन्नुपर्दा ‘घर र्फकने दिन’ नियात्रा साहित्यमा डा. तारानाथ शर्माले भूमिकामा भनेजस्तै पठनीय कृतिकारूपमा आएको छ ।

पुस्तक ः घर र्फकने दिन (नियात्रा)
नियात्राकार ः भीष्म उप्रेती
प्रकाशक ः साझा प्रकाशन
प्रकाशन ः २०६६
पृष्ठ ः ९२ ं ८
मूल्य ः रु. १५०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *