साहित्यकार जगदीश घिमिरे बीसको दशकदेखि स्थापित नाम हो । उनका कथा, कविता, उपन्यास, संस्मरण गरी दस कृतिहरू प्रकाशित छन् । उनले लामो समय लेखन विश्राम लिए पनि ‘अन्तर्मनको यात्रा’ को अत्याधिक लोकप्रियताले त्यस्तो अनुभूति गराउँदैन ।

निर्भिक अभिव्यक्ति र तीब्र अनुभूतिका लेखक जगदीश घिमिरेको नवीन कृति ‘स्थान काल पात्र’ प्रकाशित भएको छ । यसमा तीन प्रकारका रचनाहरू सङ्कलित छन् । ‘स्थान’ अन्तर्गत ‘मन्थलीय धुनीको फन्को’ देवकोटा शतवाषिर्कीको अवसरमा २०६६ मा मन्थलीमा आयोजित चार दिने साहित्यिक कार्यक्रमको संस्मरण हो । वि.सं. २०२५-२६ मा लेखकले पूर्णबहादुर वैद्यसँग जनकपुर, सिन्धुली हुँदै जिरी, नाम्चे, थ्याङबोचे, ओखलढुङ्गा हुँदै जनकपुरसम्म गरिएको एक महिने यात्राको ६ वटा संस्मरण रहेका छन् । यात्रामा भेटिएका निर्दोष भरियाहरूको गरिबी, अशिक्षा र यौवनको उन्मादलाई आकर्षक शैलीमा प्रस्तुत गरिएको छ । प्राकृतिक सौन्दर्य, ग्रामीण जनजीवन, अवोधता र तत्कालीन समयसन्दर्भलाई लेखकले निर्भिकतापूर्वक उल्लेख गरेका छन् ।

‘काल’ अन्तर्गत चार वटा समालोचनात्मक निबन्ध छन् । ‘कर्णाली दक्खिन बग्दो छ’ नाटक गुरुकुलमा हेरेपछि लेखिएको निबन्ध हो । जीविकोपार्जनको लागि विदेशिन बाध्य भएका नेपालीहरूको अभाव, गरिबीको पीडालाई मार्मिकरूपमा उतार्दै लेखकले स्वार्थी नेताहरूप्रति व्यङ्ग्य पनि गरेका छन् । ‘उपन्यास र युगबोध’ मा पल्लोघरको झ्याल, अनुराधा, शिरीषको फूल र तीन घुम्तीजस्ता प्रसिद्ध उपन्यासको मूल्याङ्कन गरिएको छ । यी उपन्यासहरू पश्चिमीवाद र आधारका भएकाले नेपाली समाजसापेक्ष नभएको लेखक जगदीशको ठहर छ । यी उपन्यासहरू प्रसिद्ध भए पनि नेपाली उपन्यासका प्रतिनिधि र औपन्यासिक सौन्दर्यका हुन नसक्ने पनि लेखकले स्पष्ट गरेका छन् । ‘द्वन्द्वात्मक भौतिकवादी प्रमेथियसमा देवकोटाको काव्यकृतिको मूल्याङ्कन द्वन्द्वात्मक भौतिकवादी दृष्टिले गरेको पनि उल्लेख छ ।

‘पात्र’ अन्तर्गत साहित्यकार पारिजातले लेखकलाई लेखेका पत्रहरू र साहित्यिक अन्तर्वार्ताहरू प्रकाशित छन् । पारिजातले पत्रमा जगदीश घिमिरेको कृतिको प्रतिक्रिया र तत्कालीन नेपाली साहित्यको स्थितिका बारेमा आफ्नो विचार व्यक्त गरेकी छन् । ‘भूपिसँग एकछिन’ लेखकले भूपि शेरचनसँग लिएको अन्तर्वार्ता हो । ‘हरिभक्त कटुवाल -१ र २ मा लेखकले उनको साहित्यिक व्यक्तित्व र अन्य सन्दर्भहरू उल्लेख गरेका छन् । ‘ज्ञानुवाकर पौडेललाई -१ मा जगदीश घिमिरेका साहित्यिक मान्यता र -२) मा पौडेलले लेखकसँग लिएको अन्तर्वार्ता रहेका छन् । त्यसैगरी ‘पात्र’ अन्तर्गत ‘डा. ध्रुवचन्द्र गौतमलाई’ र ‘मदनमणि दीक्षित’ले लेखकसँग गरेका कुराकानी रहेका छन् ।

समग्रमा ‘स्थान काल पात्र’ ले वरिष्ठ साहित्यकार जगदीश घिमिरेको साहित्यिक व्यक्तित्व, प्रभावकारी लेखन, निर्भिक समालोचकका रूपमा स्पष्ट पारेको छ । विषयवस्तुलाई अन्तरतहसम्म पुगेर विश्लेषण गर्नसक्ने लेखक जगदीश घिमिरेको प्रस्तुत पुस्तक सङ्ग्रहनीय र पठनीय बनेको छ ।

पुस्तक ः स्थान काल पात्र (संस्मरण, निबन्ध र अन्तर्वार्ताहश)
लेखक ः जगदीश घिमिरे
प्रकाशक ः जगदीश घिमिरे प्रतिष्ठान
संस्करण ः प्रथम, २०६६
पृष्ठ ः १५९
मूल्य ः रु. १७५।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *