Skip to content

नेपाली वाङ्मयमा पुरस्कार परम्पराको क्रमिकता

  • by


मान-सम्मान, पदक र पुरस्कारले सम्बन्धित क्षेत्रका व्यक्तित्व, साधक र प्रतिभाहरूलाई आ-आफ्नो फाँटमा रही बढी संवेदनशील हुन, साधनारत रहन, सिर्जनशील बन्नका साथै योगदान समर्पण गर्न समेत अभिप्रेरित गर्दछ । कुनै पनि समाजमा पुरस्कार, सम्मान, पदक र उपाधि आदिको स्थापना र सफल वितरणले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।

पुरस्कार आत्मसंवादप्रधान कला र समाजप्रधान स्वीकृतिको बीच रहने अनिर्वचनीय सम्बन्धलाई झलक्क समूर्त बनाउने चौतारो हो । यसमा साधकलाई पसिना पुछ्दै सत्य, शिव, सुन्दर रूप आराध्य प्राप्तिको सोपानमा अरू आरोहका लागि नयाँ बल सञ्चय गर्न अवसर मिल्दछ । पुरस्कार प्रवलतः एक किसिमको प्रेरणा हो र राष्ट्र-राष्ट्रको समुन्नति पनि कुनै न कुनै प्रेरणाबाट प्रभावित भएको हुन्छ ।

मूलतः कवि, लेखक, कलाकार, साहित्यकार, अन्वेषक, आविस्कारक, अनुसन्धाता एवं विद्वान् विदुषीवर्गहरूको अपेक्षित सहयोग विना राष्ट्र लङ्गडो बन्छ । यस क्षेत्रसँग आवद्ध प्रतिभा साधकहरूलाई जीवितै अवस्थामा उपयुक्त सम्मान र पुरस्कारद्वारा सम्मानित गर्नुपर्ने वास्तविकता आजको आकाङ्क्षा पनि हो । यस युगमा पुरस्कार प्रतिस्पर्धाले ठूलै महत्व राख्दछ । यिनै वर्गहरूको मुख्य सम्मान पारखीहरूको जिउँदो कदर हो र यो कदर मूलत कृतिको युगमा आधारित हुन्छ । सरकारी, गैरसरकारी र निजीस्तरमा स्थापित सम्मान र पुरस्कारहरूले पारखीहरूको कदरको स्थान लिन सकेको देखिँदैन । नेपालमा पुरस्कार प्रदान गर्ने संस्थाले प्रतिभाको चयन गर्नु पर्नेमा प्रतिभाहरू नै पुरस्कार प्रदान संस्थाको खोजीमा भौतारिएका छन् । पुरस्कार प्रदान गर्ने एकाध संस्थालाई छोडेर सबैजसो यस रोगबाट ग्रस्त पनि छन् । परन्तु पुरस्कारले प्रतिभा जन्माउने हो । प्रतिभाले पुरस्कार जन्माउने होइन ।

नेपाली भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको फाँटमा मात्र होइन ज्ञान विज्ञान तथा प्रविधि लगायत अन्य क्षेत्रमा राम्रो योगदान हुँदाहुँदै कयौं प्रतिभाहरूलाई सम्मान र पुरस्कार होइन तिरस्कार पनि हातपर्ने गरेको छ । नेपाली समाजको विविध क्षेत्रमा निरन्तर साधनारत तर उपेक्षित प्रतिभालाई समेत सम्मान र पुरस्कृत गर्ने दायित्व पुरस्कार प्रदान गर्ने संस्थाको हो ।

साझा फूलवारीका माली पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेको पछिल्लो वर्ष युवराज प्रतापसिंह शाहले बालाजुमा एक बृहत कविसम्मेलन गराएका थिए । उक्त कवि कविसम्मेलन विद्वानहरूको सम्मान गर्ने पहलमा एक ऐतिहासिक शृङ्खला हो । नेपालमा व्यापक रूपमा पहिलो पटक सम्पन्न बालाजु कविसम्मेलनमा काशी, अयोध्या, काश्मीर, गुजरात, जनकपुर द्रबिड, नेपाल उपत्यका, पर्वत, पाटलिपुत्र, पूर्वदेश, मथुरा, मध्यदेश, महाराष्ट्र, मिथिला र गोर्खा दरबारका ७३ तथा देश थाहा नभएका १४ गरी ८७ जना कविहरूले भाग लिएका थिए । त्यस कठिन समयमा चारैतिरबाट विद्वान्हरूलाई भेला गराएर कविसम्मेलन गर्नु आफैमा चुनौतीपूर्ण थियो । कवि सम्मेलनमा पृथ्वीनारायण शाहले मिथिला राज्यका कविहरू लक्ष्मीपति शर्मा, हेरम्ब शर्मा र यज्ञेश्वर शर्मालाई जनही १०/१० हजार तथा द्रबिड राज्यका कविहरू श्रीविलास शर्मा, पद्मपति शर्मा, रामकृष्ण शर्मा, श्रीकण्ठ शर्मा, पुरुषोत्तम शर्मा र हरिशङ्कर शर्मालाई जनही एक/एकहजार पुरस्कारस्वरूप नगद प्रदान गरेर विदाइ गरेका थिए ।

नेपालमा साधकसेवीहरूलाई पुरस्कृत गर्ने परम्पराको थालनी संस्थागत रूपमा त्यति लामो रहेको देखिँदैन । विद्वान्, विदुषी, कवि, लेखक साहित्यकार, कलाकार एवं राष्ट्र सेवकहरूलाई सम्मान, कदर र पुरस्कारद्वारा सम्मानित गर्ने परम्परा लिच्छवीकाल, मल्लकाल, शाहकाल र राणाकालमा समेत गरिँदै आएको थियो तर संस्थागत रूपमा पुरस्कारको जमघट भने नेपालमा प्रजातन्त्रको आगमन पश्चात् नै भएको देखिन्छ । हुन त पहिले पहिलेका राजा-महाराजाहरूले पनि राष्ट्र र समाजका लागि योगदान गर्ने व्यक्तित्वहरूलाई राम्रो र मनपर्ने कार्य गरेवापत नगद पुरस्कार प्रदान गर्ने परम्परा पनि नभएको होइन । राणाकालीन शासनमा पनि वाङ्मयका साधकहरूलाई नेपाली भाषामा ग्रन्थ लेख्न प्रोत्साहित गर्ने उद्देश्यले श्री ३ भीमशमशेरको पालामा सरदार रुद्रराज पाण्डेद्वारा लिखित आधुनिक सामाजिक मौलिक उपन्यास रूपमतीका लागि तीन सय रुपियाँ नगद पुरस्कार स्वरूप प्रदान गरिएको थियो । भारत वर्षको इतिहासका लागि वासुदेव लुइँटेललाई २५० रुपियाँ तथा ‘किन यसरी’का लागि जनकलाललाई दुई सय रुपियाँ नगद पुरस्कार प्रदान गरिएको भेटिन्छ । यसका साथै राणाकालमा आफूलाई मन परेकाहरूलाई पनि पुरस्कार स्वरूप रकम दिने चलन थियो । कोमल गीता प्रकाशन गर्नको लागि कोमलनाथ अधिकारीलाई पनि रकम प्रदान गरिएको थियो ।

विश्व समुदायमा पुरस्कार इतिहासको थालनी लामो भए पनि नेपालमा यसको प्रभाव भने पछि मात्र परेको छ । संस्थागत रूपमा नेपालको राजपरिवारलगायत राष्ट्रिय जीवनको पक्षमा प्रशंसनीय कार्य गर्ने नेपाली नागरिक एवं नेपालप्रति श्रद्धा प्रेम राख्ने विदेशीलाई समेत प्रदान गर्ने उद्देश्यले वि.सं. १९५२ सालमा श्री ५ पृथ्वी वीरविक्रम शाहदेव संस्थापक रहेको गोरखा दक्षिण बाहु मानपदवीको स्थापना भएको थियो । यसलाई नेपालको पहिलो मानपदवी मानिन्छ भने वि.सं. १९७५ सालमा श्री ५ त्रिभुवन संस्थापक रहेको नेपाल तारा मानपदवीको स्थापना भयो । यो मानपदवी पनि राजपरिवार लगायत युद्ध वा शान्तिकालमा नेपालको सुरक्षाका लागि उल्लेखनीय कार्य गर्ने वा अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थ युद्धसम्बन्धी कार्य गर्ने नेपाली नागरिक, नेपाली सेनाका अधिकृत र जवानहरूलाई मात्र प्रदान गरिन्थ्यो । यस अगाडिको प्रसङ्गलाई उल्लेख गर्ने हो भने नेपालमा वि.सं. १९०१ सालमा प्रतीकसहितको विभूषण प्रदान गर्ने परम्पराको थालनी भएको थियो । पाश्चात्य मुलुकहरूमा यस्तो चलन धेरै अगाडिदेखि नै चलिआएको देखिन्छ । श्री ५ राजेन्द्रविक्रम शाहले नेपालका तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापालाई कलाबहादुर तक्मा प्रदान गरेका थिए । यसरी तक्मा प्रदान गर्ने क्रममा श्री ५ सुरेन्द्रविक्रम शाहले संवत् १९१४ सालमा त्यस बखत भारतमा भएको प्रहरी विद्रोहलाई दमन गर्ने प्रसङ्गमा अद्वितीय बहादुरी देखाएवापत तत्कालीन लेफ्टिनेन्ट गम्भीरसिंह माझीलाई बहादुरीको तक्मा प्रदान गरेका थिए ।

जहानियाँ शासनको अन्त्य नै देशमा प्रजातन्त्रको स्थापना सहज भयो । प्रकाशन र लेखन स्वतन्त्रताले नयाँ मोड लियो । जनतालाई जागरुक पार्ने उद्देश्यले नेपाली शिक्षा परिषद्, नेपाल सांस्कृतिक सङ्घ र नेपाल सांस्कृतिक परिषद्लगायत प्रगतिशील लेखक सङ्घ जस्ता चेतनामूलक संस्थाहरू बौद्धिक ऊर्जाको रूपमा अगाडि बढ्न थाले । संस्थागत पुरस्कारको परम्परापछि विकसित भए पनि २००७ सालमा देशमा प्रजातन्त्रको उदय भएपछि सोही सालको फागुनमा पहिले दशरथ रङ्गशाला भएको टुँडिखेलमा कविशिरोमणि लेखनाथ पौड्यालको सभापतित्वमा सम्पन्न नेपाली काङ्ग्रेसको पहिलो आमसभामा खुलामञ्चबाट धुरुधुरु नरोउँ आमा तिम्रो आँसु पुछेर छाडौंला भन्ने प्रजातन्त्रको गीतमा देशको आत्मा घन्काउने जनकवि धर्मराज थापाको कला र गलाबाट प्रभावित भई श्री ५ त्रिभुवनबाट साँझमा दरबारमा बोलाएर पुरस्कार स्वरूप एक हजार रुपियाँ बक्स भएको घटना पुरस्कारको इतिहासमा बिर्सन सकिन्न । त्यसकारण २००७ देखि २०१७ सालसम्मको समयावधिमा देशमा केही महत्वपूर्ण पुरस्कारहरूको पनि जन्म भयो ।

सर्वप्रथम संस्थागत रूपमा नेपाल भाषाका साहित्यकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले वि.सं. २०१० सालमा पाटनका उद्योगपति एवं समाजसेवी स्वयम्भूलाल श्रेष्ठद्वारा स्थापित श्रेष्ठ सिरपा पहिलो पुरस्कार हो । नेपाली भाषा र साहित्यप्रति छात्रछात्राबीच अभिरुचि गराउने उद्देश्यले ललितपुर निवासी श्रीमती विद्यादेवी आचार्य दीक्षितले २०१२ सालमा स्थायी गुठीको स्थापना गरी मदन मेमोरियल स्मारक माध्यमिक विद्यालयमा विद्या पुरस्कारको स्थापना गरेकी हुन् । उपत्यकाका माध्यमिक विद्यालयहरूबीच निबन्ध प्रतियोगिताको आयोजना गरी नगद पुरस्कार प्रदान गरिँदै आएको छ । भाषा, साहित्य कला, संस्कृति, इतिहास र ज्ञान-विज्ञानका क्षेत्रमा प्रतिभा साधकहरूलाई सम्मान गर्ने उद्देश्यले २०१२ सालमा मदन पुरस्कार गुठीको स्थापना भयो । नेपाली पुरस्कारको इतिहासमा कृतिगत रूपमा २०१३ सालदेखि प्रदान गरिँदै आएको मदन पुरस्कारले प्रभावकारी भूमिका निर्वाह गरेको छ । त्यसै गरी २०१४ सालमा रोयल नेपाल एकेडेमीको जन्म भएपछि सरकारी स्तरबाट २०१६ सालमा त्रिभुवन पुरस्कार र इन्द्रराज्यलक्ष्मी पुरस्कारको स्थापनाले प्राज्ञिक एवं वाङ्मय क्षेत्रलाई बढी प्रभावकारी र उत्साहित बनायो । यी तीनवटै महत्त्वपूर्ण पुरस्कारबाट धेरै नेपाली प्रतिभाहरू पुरस्कृत भइसकेका छन् ।

वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनसँगै २०१८ सालदेखि रेडियो नेपालले आधुनिक गीत र शास्त्रीय सङ्गीत सम्मेलन प्रतियोगिताको आयोजना गरेर कलाकारहरूलाई पुरस्कार प्रदान गर्ने राम्रो कार्यको थालनी गरेको थियो । यसैगरी २०२० सालमा उत्कृष्ट रचनाका लागि रत्नश्री पदक र २०२२ सालदेखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कविता उत्सव प्रतियोगिताको आयोजना गरी पुरस्कार प्रदान गर्‍यो भने २०२६ मा साझा प्रकाशनबाट प्रकाशित उत्कृष्ट ग्रन्थका लागि साझा पुरस्कारको स्थापना भयो । त्यसरी नै काठमाडौँ उपत्यकामा विद्यार्थीहरूबीच सर्वाङ्गीण विकास होस् भन्नाको खातिर राणा प्रधानमन्त्री श्री ३ पद्मशम्शेरकी पत्नी कमलादेवीले २०२६ सालमा कमला पुरस्कारको स्थापना गरेकी हुन् । यो पुरस्कार उपत्यकाव्यापी निबन्ध प्रतियोगिताको आयोजना गरी प्रथम हुनेलाई ठूलो स्वर्ण पदक र दोस्रो हुनेलाई सानो स्वर्ण पदक प्रदान गरिन्थ्यो र हाल यो नियममा परिवर्तन गरिएको छ । यो पुरस्कारको प्रतियोगिता स्थानीय पद्मोदय माध्यमिक विद्यालयमा हुने गर्दछ ।

नेपाली भाषा साहित्यको विकासमा निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण रहेको छ । यसै क्रममा वि.सं. २०३१ सालमा महाकवि गुणराज उपाध्याय खनालको नाउँमा निजी क्षेत्रबाट गुणराज पुरस्कार र गुणराज व्याख्यान पुरस्कारको स्थापना भयो । सोही सालमा नेपाल राजकीय प्रजाप्रतिष्ठान अन्तर्गत पृथ्वीप्रज्ञा पुरस्कार, महेन्द्र प्रज्ञा पुरस्कार र वीरेन्द्र प्रज्ञालङ्कारको स्थापना भयो र २०१६ सालको त्रिभुवन पुरस्कार र इन्द्र राज्यलक्ष्मी पुरस्कारलाई प्रज्ञा पुरस्कार अन्तर्गत समावेश गरियो । नेपाली लोकसाहित्यको सम्बर्द्धनमा योगदान पुगोस् भन्नाको खातिर २०३२ सालमा साझा प्रकाशनले लोकसाहित्य पुरस्कारको स्थापना गर्‍यो भने २०३३ मा नाटक महोत्सव र २०३४ सालदेखि प्रज्ञा भवनमा गाईजाज्ञा महोत्सव पुरस्कार पनि प्रदान गर्न थालियो । पुरस्कारमा निजी क्षेत्रको सहभागिता गराउने उद्देश्यले राजधानी बाहिर बागलुङ्गमा पहिलो पटक साहित्यकार प्रेम छोटाले २०३४ सालमा रत्न श्रेष्ठ पुरस्कारको स्थापना गरेका थिए । शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान पुगोस् भनेर २०३६ सालदेखि एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने माध्यमिक विद्यालयहरूलाई ठूलै धनराशिसहित पुरस्कारको प्रवन्ध गरियो । यस क्षेत्रको सबैभन्दा ठूलो पुरस्कार वीरेन्द्र विद्या राष्ट्रिय तथा क्षेत्रीय सील्ड र नगद पुरस्कारको व्यवस्था गरियो भने २०३८ मा मैनाली कथा पुरस्कार, झपट पुरस्कार, श्रीपुरस्कार तथा २०३९ मा प्रतिभा पुरस्कार, सर्वनाम पुरस्कार, व्यथित काव्य पुरस्कार, लाकौल पुरस्कार, सैनध्वज नन्दकुमारी पुरस्कार, छिन्नलता गीत पुरस्कार, गुणराज सङ्गीत पुरस्कार, मानवअधिकार पुरस्कार, मुस्याचु पुरस्कार तथा २०४० मा पत्रकारिता जगत्को पहिलो पुरस्कार प्रेस काउन्सिल पुरस्कारको स्थापना भयो ।

अनेकन पुरस्कारहरूको स्थापनाकै क्रममा २०४१ मा भवानी साहित्यिक पत्रकारिता पुरस्कार, हर्क पुरस्कार, धवलागिरि साहित्य पुरस्कारहरू स्थापना भए भने २०४२ तर्फ र्फकंदा युवावर्ष मोती पुरस्कार, उत्कृष्ट युवा पुरस्कार, उद्यमी महिला पुरस्कार, वेदनिधि पुरस्कार, साहित्य सन्ध्या पुरस्कार, परमानन्द पत्रकारिता पुरस्कार, सिर्जनशील पत्रकारिता पुरस्कारलगायत विज्ञान तथा प्रविधिको क्षेत्रमा रोनास्ट अन्तर्गत श्री ५ वीरेन्द्र विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, श्री ५ युवराज दीपेन्द्र विज्ञान तथा प्रविधि युवा पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रबर्द्धन पुरस्कार तथा २०४३ मा तेस्रो विश्वविज्ञान प्रज्ञा प्रतिष्ठान पुरस्कार, अम्बा प्रतिभा पुरस्कार, महानन्द पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार र खेलकुद प्रोत्साहन पुरस्कारहरू कार्यान्वयनमा आए । त्यसैगरी २०४४ मा बालहितकारी पुरस्कार, लोकपि्रय पुरस्कार, उत्तम पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, रामराज पत्रकारिता पुरस्कार र करुणाकर पुरस्कारको स्थापना गरियो भने २०४५ साल पनि बढी उपलब्धिमूलक रहेको छ । यसै वर्ष स्थापित पुरस्कारहरूमा जगदम्बाश्री पुरस्कार, धरणीधर पुरस्कार, हरिहरशास्त्री सावित्रीदेवी साहित्य पुरस्कार, बालचन्द्र पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, खिलेश्वरी पत्रकारिता पुरस्कार, माधव पत्रकारिता पुरस्कार, साहित्यिक पत्रकारिता पुरस्कार र राष्ट्रिय जनसंख्या पुरस्कार तथा २०४६ मा शिरोमणि पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, गङ्गालक्ष्मी साहित्य पुरस्कार, भैरव अर्याल पुरस्कार, कृष्णचन्द्र रेग्मी पुरस्कार र अच्युत गौतम पत्रकारिता पुरस्कारसम्मका कयौं पुरस्कारहरू पञ्चायतकामै स्थापना भएका हुन् ।

मुलुकमा प्रजातन्त्रको पुनर्वहाली गरे । संसदीय प्रजातन्त्रको आगमनसँगै नेपालमा पुरस्कार स्थापना गर्नेहरूको उर्लंदो बाढी नै आयो । प्रजातन्त्र आगमनको तीन वर्ष अर्थात् २०४७-०४९ को समयावधिमा गहकिला धनराशिका झण्डै दुई दर्जन पुरस्कारहरू स्थापना भए । नेपाली पुरस्कारको इतिहासमा पछिल्लो अढाई दशक अर्थात् २०५०-२०६५ सम्मको समयावधिमा सङ्ख्यात्मक रूपमा धेरै पुरस्कारहरूको स्थापना भइसकेका छन् । साहित्य, कला, सङ्गीत, ज्ञान-विज्ञान, चलचित्र, पत्रकारिता खेलकुदलगायत नेपाली वाङ्मयको क्षेत्रमा यति धेरै पुरस्कारहरू स्थापना भएका छन् जसकाबारेमा सम्झना राख्न पनि असम्भव छ । लामो समयको अन्तरालमा देशमा आएको परिवर्तन पश्चात् निजी स्तरमा पुरस्कार संस्था स्थापनाको थालनी र आ-आफ्नै क्षेत्रमा साधनारत साधकहरूलाई सम्मान गर्ने परम्परामा एक प्रकारले बाढी नै आएको छ । यस क्षेत्रका लागि यो निश्चय पनि राम्रो पक्ष हो ।

विभिन्न आर्थिक अभाव र अक्षय कोषमा रहेको मूल धनराशिमा बैङ्कको व्याजदरमा आएको-ह्रासका कारणले केही महत्त्वपूर्ण पुरस्कारहरू बन्द भइसकेका छन् भने पुरस्कार स्थापनामा सबैलाई सधैं नै प्रेरणा र उत्साह प्रदान गरिरहने साहित्यकार प्राध्यापक घटराज भट्टराईको दुःखद निधनबाट यस क्षेत्रमा अपूरणीय क्षति भएकोे छ ।

नेपालमा विविध प्रकारका पुरस्कारहरू स्थापनाको क्रम विगत पाँच दशकदेखि निरन्तर रूपमा कायम रहँदै आएको छ भने १५ वर्ष यता यो क्रम तीव्र गतिमा बढ्दो छ । राष्ट्रका लागि एउटा सुखद संयोग नै मान्नु पर्दछ तर स्थापित पुरस्कारहरू छन् तिनको स्थायित्व समाजमा कति समयसम्म रहन सक्छ त्यो इतिहासले बताउँदै जाने कुरा हो । पुरस्कार स्थापनाको क्रमलाई हेर्दा पुरस्कार पाउने भन्दा प्रदान गर्ने संस्था बढी भएको तर्क वितर्क पनि नसुनिने होइन । यसबाट के सबै क्षेत्रका प्रतिभासाधकहरू पुरस्कृत भएका छन् त ? अर्थात् पुरस्कार प्रदान वा घोषणा गर्दा योगदानको सही मूल्याङ्कन गरेर निष्पक्ष रूपमा प्रतिभाको छनोट गर्ने संस्कृतिको थालनी बनिसकेको छ त ? नेपालमा स्थापना भएका जति पनि पुरस्कारहरू छन् ती सबै आ-आफ्नै क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यबाट प्रेरित भएर जम्मेका हुन् । अधिकांश पुरस्कारहरू साहित्यिक क्षेत्रमा नै स्थापित भए पनि नेपाली साहित्यको स्थिति भने दिन प्रतिदिन-ह्रासोन्मुख हुँदै गएको छ । एकातिर पुरस्कार संस्थाहरू अत्याधिक रूपमा वृद्धि हुँदै जाने र अर्कोतर्फ उत्कृष्ट लेखनमा-ह्रास हुँदै जानु एक आपसमा मेलखाने प्रसङ्ग होइन । प्रतिभाले पुरस्कार खोज्ने होइन परन्तु पुरस्कार संस्थाहरूले प्रतिभाको चयन गरिनु पर्दछ भन्ने सहज मान्यताको आर्दश पाठ पुरस्कार संस्थाहरूले मनन गर्न सकेमा पुरस्कारको महत्व, गरिमा र जनविश्वास बढ्न जानेछ ।

त्यसैले नेपालमा सम्मान र पुरस्कारको क्षेत्रमा अहिलेसम्म भए गरेका जे जति कार्यहरू छन् त्यसप्रति कुनै पनि आपत्ति छैन तर पुरस्कार मूल्याङ्कनको कसीलाई निणर्ायक मण्डलका घरदैलोमा धाएर, दबाब र सिफारिससहित आफ्नाप्रति पुरस्कार वा सम्मान प्राप्त गर्ने प्रयास गर्नु संस्कारहीन चरित्र हो । आफ्नो नाउँबाट स्थापित निजी दायराका पुरस्कारहरू, जसले जसलाई दिए पनि त्यसप्रति कसैको चित्त दुखाई र बहसको विषय त्यति उठ्दैन तर संस्थागत रूपमा मुलुकको राजस्वबाट प्रदान गरिने कुनै पनि पुरस्कार निजी होइन । पुरस्कार वा सम्मान आफैँमा एउटा मर्यादा हो । यो मर्यादाको मानमर्दन पुरस्कार प्राप्त गर्ने गुठी वा व्यक्ति विशेषले अनिवार्यरूपमा राख्न सक्नुपर्छ ।

साहित्य सिर्जनामा साधनारत स्रष्टाहरूका लागि पुरस्कार, सम्मान र अभिनन्दन प्रदान गर्नु पनि एउटा स्तुत्य कार्य हो । सर्जकहरूले पुरस्कारका लागि लेख्ने नभए पनि लेखिएपछि आर्जन हुने पुरस्कार र सम्मानले उत्साह, प्रेरणा र अरु बढी दायित्वबोध थप्ने तथ्यमा विवाद रहन सक्दैन ।

समय-समयमा सुनिने पनि गरेको छ-पुरस्कार र सम्मानहरू दरखास्त हालेर वा दर्ता गराएर लिनु हुँदैन भन्ने एकथरी सर्जकहरूको तर्क पनि छ तर यस बारेमा उनीहरू पूर्णतः अनभिज्ञ बहस गरिरहेका छन् अर्थात् बुझेर पनि बुझपचाइ रहेका छन् । पुरस्कार र सम्मानका पनि आ-आफ्नै मापदण्ड र दायरा हुन्छन् त्यसमा टेकेेर पुरस्कार र सम्मान प्रदान गर्न सक्छन् । विश्वप्रख्यात नोबेल पुरस्कार पनि कृति वा योगदानको विवरण नोवेल पुरस्कार गुठीमा दर्ता नभएसम्म पुरस्कार प्रदान गरिँदैन । यो एउटा नियम र मर्यादा हो । यसको पालना पुरस्कारमा सहभागी हुन चाहने जो कोहीले अनिवार्य रूपमा गर्नुपर्छ ।

राजनीतिक सत्ताभन्दा साहित्यकार स्रष्टाहरूको सत्ता पृथक, शक्तिशाली र गौरवजन्य हुन्छ भन्ने सर्वोपरी मान्यतालाई सदा उपेक्षा गरेर गरिमामय कयौं पुरस्कारहरूको चयनमा पनि कतिपय घटनाहरू विवाद रहित बन्न नसकेको कटु अनुभव पुरस्कार छनोटमा देखिएको छ । कृतिगत गहनता र समग्र योगदान भन्दा पनि दरो राजनीतिक सम्पर्कसूत्र आग्रह र पूर्वाग्रहले पुरस्कारलाई आक्रान्त बनाएकै छ । पुरस्कार चयनमा गुणात्मक योगदान भन्दा पनि पुरस्कार छनोट कमिटीमा कुन राजनीतिक विचारधाराको प्रतिनिधित्व भएको छ र त्यसले आत्मसात् गरेको कृति, व्यक्ति वा संस्था पुरस्कृत हुने गरेका छ । साहित्यलगायत यावत क्षेत्रमा नकारात्मक सोचसँगै मौलाएको औचित्यहीन गुट उपगुटबाट नेपाली वाङ्मयका पुरस्कारहरू पनि पृथक रहन सकेका छैनन् । वाङ्मयको क्षेत्रमा जति पनि पुरस्कारहरू स्थापना भए त्यति नै विकृतिहरूको सिर्जना भएको छ । चरम कालोधन आर्जन गरेर प्रायश्चितका लागि खोलिएका तथाकथित साहित्यिक संस्थाद्वारा प्रदान गरिने पुरस्कार पाउनकै लागि दिनरात चाकडीमा धाउनेहरूको दलवलको पनि यहाँ कमी छैन । नैतिकताको मियो बन्धक राखेर भाटप्रवृत्ति गर्ने र राजनीतिक गुट उपगुट सिर्जना गर्नेहरूले नै पुरस्कार संस्कृतिलाई बदनाम गरिरहेका छन् ।

भूगोलले जति नै टाढा विभाजन गरेको भए पनि राजधानीलाई कर्मक्षेत्र र साधनाक्षेत्र बनाएर साहित्यलेखनमा समर्पण हुनेहरू नै पुरस्कार प्राप्त गर्न सक्षम देखिन्छन् । प्रतिभालाई भूगोलसँग सन्निकट गरेर हेर्नुहुँदैन । नेपाली पुरस्कारहरूको पदचिहृनमा भूगोलले विभाजन गरेको सम्पन्नता र विपन्नता, प्रतिभाहरूको अध्ययन, उन्नति र प्रगति पुरस्कार प्राप्त शृङ्खला, मोफसल र राजधानीसँगको सम्पर्कसूत्र, लगनशीलता र सेवाभावप्रतिको समर्पण भावका कारण पुरस्कार प्राप्त गर्ने सर्जकहरू र पुरस्कारका बीच बढी नै तादाम्यता रहन्छ । नेपाली वाङ्मयको क्षेत्रमा प्रतिवर्ष प्रदान गरिने झण्डै एक करोड राशिको सयौंै पुरस्कारहरू छन् ती सबै कुनै न कुनै रूपमा राजनीतिक गुट उपगुटबाट घेरिएका छन्, जसका कारण योग्य सर्जकले पुरस्कार पाउन असम्भव छ । एकतिर पुरस्कार पाउनकै लागि गुठीमा नाम वा पुस्तक दर्ता गराउने अनि अर्कोतिर गुठीलाई सत्तो सराप गर्ने प्रवृत्ति नेपालका अधिकांश लेखक कविहरूमा विद्यामान छ । त्यसकारण बिना सम्पर्क बिना भेटघाट र बिना चाकडी सही प्रतिभाले पुरस्कार प्राप्त गर्न असम्भवजस्तै भइसकेको छ । सरकारी स्तरमा प्रदान गरिने साझा पुरस्कारका लागि पनि आफ्नो राजनीतिक गुट उपगुट खडा गरी रातारात पुस्तक छाप्ने अनि रातारात पुरस्कारको घोषणा गर्ने अपराधी प्रवृत्तिले पछिल्लो चरणमा साझा पुरस्कार पनि मुक्त हुन सकेको छैन ।

यर्थाथमा कुनै पनि क्षेत्रका प्रतिभा सर्जकहरूको योगदान मूल्याङ्कन पुरस्कार संस्था र सम्बद्ध दाताहरूले केही हदसम्म पूरा गरे पनि अलिकति पर गएर सोच्ने हो भने समस्त बौद्धिक पाठकवर्गको मूल्याङ्कन नै उचित र कालान्तरसम्म दिगो मूल्याङ्कन ठहरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *