उमेर ढल्कँदै गएपछि मान्छेका चेतन अवचेतनले पछाडि र्फकन यात्रा गर्दोरहेछ । आफ्नो विगतको थालनी बाल्यकाल, त्यसले थेगेको पर्यावरण, गाउँ र ठाउँमा प्रतिविम्बित हुने भूगोल आफ्नो चेतन र अवचेतनमा जवर्जस्त पाराले नाच्ने गर्दा रहेछन् । २०६६ सालले मलाई पनि साँच्चि नै आफ्नो जीवनको उत्तरवर्ती यात्राको एउटा निश्चित बिन्दुमा पुगेको अनुभूति दियो । आफू कार्यरत त्रि.वि. को कर्मचारी प्रशासन हेर्ने अड्डाले मलाई दुई साल अघि नै सेवानिवृत्त भएको (२०६५ फागुन २७ गते) गलत सूचना प्रसारण गरेपछि म झस्केँ -के मेरो जीवन यति चाँडै म्याद गुज्रेको बूढो झगडियामा रूपान्तरण भइसकेको हो त ! त्यसो त २०६४ सालमा साहित्य सन्ध्याका साथीहरूले साठी नाघेका साहित्यकारलाई सम्मानको टोपी लगाएर बूढौलीको प्रमाणपत्र प्रदान गर्दा म आफूलाई पनि बूढौलीको टोपी लगाइदिएथे । त्यसपछि आफ्नो चेतनाले आफँैलाई घच्घच्याएर प्रश्न गरेको हो त्यतिबेला-के गर्नु थियो ? कति गरियो र अब के कति गर्न बाँकी छ ? आदि इत्यादि प्रश्नहरूले हिर्काए । यी प्रश्नमा झुण्डिएका र झुण्डिने उत्तरहरूले मलाई आफ्नो विगतको उतारचढावपूर्ण जीवन यात्रालाई झल्झली सम्झन विवश बनाए । आफ्नो विगतलाई सम्झँदा पहिले पुगिँदोरहेछ पहिलो पल्ट भौतिक संसारमा आफू अवतरण गरेको भूमिमा । माथिका दुई घटनाले बूढो बनाएको मनस्थितिलाई काबुमा ल्याउने प्रयत्न गर्दा म पुगेँ हुत्तिएर आफूले यो धर्तीमा पहिलो पाइलो टेकेको गाउँ आठराईको इवा-पोखरीको स्मृतिमा ।
प्रारब्ध भनौ कि अभिशाप हो, मानिसले यायावरी मिसनका साथमा संसारमा पहिलो पाइलो टेक्छ । आमा-बाबुको हेरचाहले आफ्ना खुट्टामा उभिने भएपछि उसको यायावरीपन सुरू हुन्छ । आफूले टेकेको धर्तीले प्रदान गरेको स्पेस उसलाई पर्याप्त लाग्दैन अथवा भनौँ, त्यो स्पेसमा ऊ आफूलाई अटाउन सक्दैन र उसको यात्रा सुरू हुन्छ- अध्ययन, आर्जन र आप्रवासनको महत्वाकाङ्क्षालाई बाहन बनाएर ।
औसत मान्छेले भोगेको प्रारब्धकै चक्रमा परेर आफूलाई जन्मन, हुर्कन र जगतलाई बुझ्न सक्ने लक्का जवान बनाउन पर्याप्त अवसर दिने जन्मस्थलले प्रदान गरेको स्पेस पर्याप्त भएन मेरालागि, त्यसैले अनेकौँ रङ्गीन स्वप्नका कल्पनाशील उडानमा उपयुक्त स्पेस खोज्दै मैले छोडंँे आफ्नो सुन्दर गाउँ आठराई । वि.सं. २००४ फागुन २७ गते पूर्वी पहाडको तेह्रथुम जिल्लामा पर्ने आठराई इवा गाउँमा निम्नमध्यम वर्गीय आर्थिक पृष्ठभूमि भएको सामान्य परिवारको सदस्य भएर धर्तीमा खुट्टा टेक्दा मेरा बा-आमाका अनेकौँ रङ्गीन सपना हुँदा हुन् । तिनको नापतौल गर्नतिर नलागी हुर्किएको म कहिले झापा, कहिले काठमाडांँै र कहिले अन्यत्र हुँइकिँदै जिन्दगीका महत्वपूर्ण क्षणहरू काटिसकेर विस्तारै एक निरीह वृद्ध पो भइसकेँछु थाहै नपाई !
मैले मेरो जन्मस्थान वि.सं. २०२९ मा राजनीतिक कारणले छोड्नुपर्यो तत्कालीन सरकारको देशद्रोही वन्दी भएर । २०२९ सालदेखि २०३२ सालसम्म देशका विभिन्न कारागारमा बन्दीको रूपमा समय बिताए पनि मेरा सपनाका अधिकांश अंश आठराई, त्यहाँका तिरस्कृत निवासीहरू, डाँडाकाँडा, हाटबजार हुन्थे । २०३२ सालमा जेलबाट निस्केर त्रि.वि. सेवामा प्रवेश गरी प्राध्यापनमा लागेपछि त कामकै चटारोमा काम गर्ने ठाउँमा हल्लँदाहल्लँदै समय बित्न लाग्यो । कहाँको गाउँले ठिटो, कहाँको नागरी व्यस्तता, मेरो स्वप्नको स्वर्ग-मेरो गाउँ त्यसैत्यसै ओझेलमा पर्दै गयो र बिस्तारै विस्मृतिका बादलभित्र विलिन हुँदै गयो । यो बीचमा करीब दुई, तीनपल्ट आफ्नो कार्य व्यस्ततालाई पनि पन्छाएर म आफ्नो गाउँ गएँ हुँला । आफैँले पढेको अनि पढाएको एवं आफूलाई सामाजिकीकरण गर्ने पहिलो चेतना दिने पोखरी मा.वि.को पच्चीस वर्षे जन्म-जयन्ती (अर्थात् रजत-जयन्ती) मा त्यस क्षेत्रका अगुवा समाजसेवी एवं पूर्व विद्यार्थी र शिक्षकका साथ लागेर २०४२ सालमा त्यहाँ पुग्दा पनि त्यहाँको निरङ्कुश प्रशासन र तिनका जासूसहरूले मसमेत अरू भद्रभलाद्मीलाई विप्लवी र आततायी मानेर प्रहरी कार्यालयमा हाजिर गराए । गाउँमा शैक्षिक जागरणका विशिष्ट कामको सुरुआत गर्ने विशेष कार्ययोजनाका साथ समाजसेवी, शिक्षासेवी स्व. देवीप्रसाद उप्रेती र उहाँका वैचारिक सहयोगी स्व. मदनकुमार थापा (मलाई प्राथमिक एवं माध्यमिक शिक्षा प्रदान गर्ने गुरु) समेतका आग्रहमा काठमाडौँका केही सहकर्मी साथी लिएर आफ्नो गाउँ पुग्दा जब हामीलाई प्रहरी प्रशासनमा बयानका लागि उभ्याइयो, त्यस घटनाले मेरो स्वप्नको स्वर्ग आफ्नो जन्मथलोसँगको आवतजावतको सम्बन्धलाई छिन्नभिन्न बनायो ।
वि.सं. २०४६ को परिवर्तनपछि त मेरो गाउँ पुग्न मलाई कुनै कुराले रोकेको थिएन तर पनि यत्रो अन्तरालसम्म किन गाउँ पुग्न सकिनँ ? पछि आएर यो कुराले मलाई धेरै घोच्न थाल्यो । त्यसमा पनि आफ्नी श्रीमती र छोरीहरूलाई मैले आफू जन्मेको घर, खनजोत गरेका गरा र पाटाहरू, बस्तु चराएका पाखाहरू अहिलेसम्म देखाउन सकिनँ । अब बिस्तारै सेवानिवृत्तको अवस्थामा म र मेरी श्रीमती पुगेका छौँ । पढाइ पूरा गरी छोरीहरू आफ्ना पेसागत व्यस्ततामा प्रवेश गर्न लागेका छन् । यस्तो बेलामा मेरा गाउँलेले मलाई तारन्तार बोलाएको अनुभूति हुनु स्वाभाविकै हो । झन् माथि उल्लेखित बूढौलीका अनुभूति दिने घटनाले त भावनात्मक रूपमा अरू गाउँनजिक पुर्यायो । यिनै पृष्ठभूमिको लहरीमा उनिएर मैले २०६६ फागुनमा परिवारका सदस्यसहित गाउँ जाने कार्यक्रम बनाएँ तर बीचमा अमेरिका र बेलायत घुम्नुपर्ने परिस्थिति आइपरेकाले माथिको मेरो कार्यक्रम स्थगित भयो । यो स्थगनले सिर्जना गरेको गाउँको न्यास्रो तीन/चार महिना विदेश घुम्दा अझै चुलियो । अमेरिकाको उत्तरी राज्य मिनिसोटाको उत्तर कुनामा रहेको दुलुथ सहरदेखि अमेरिकाको दक्षिणमा रहेको टेक्सास राज्यको अस्टिन, डालस, हृयुस्टन र सान आन्टोनियो अनि पूर्वी अमेरिकाका मेरील्यान्ड, झर्जिनिया, न्युजर्सी आदि ठाउँ पुग्दा पनि मेरो गाउँ मलाई लोभ्याउने चुम्बक बनिरहृयो । त्यस्तै बेलायतको लन्डनदेखि उत्तरी स्कटल्यान्डको एडिनबरा र एबर्डिन पुग्दा पनि त्यहाँका पहाडी थुम्काथुम्कीमा मेरो आफ्नै गाउँको प्रतिछाया नाचेको झझल्को भइरहृयो ।
यो त अति नै भयो भनी नेपाल फिर्ने बित्तिकै मैले तुरुन्तै गाउँ जाने योजना बनाएँ, तर त्यसैबीच आफैँले सेवा दिएको विश्वविद्यालयको झुत्रो प्रशासनसँग मुद्दामा नारिनु परेको र बीचमा श्रीमतीले दुर्घटनामा परेकी आफ्नी आमा (मेरी सासूमा) को उपचार र सेवा सुश्रुषामा लाग्नु परेकाले गाउँ जाने कुरामा अर्को अड्चन आइपर्यो । तथापि २०६६ को दसैँमा आमाको दर्शनका लागि झापा पुग्दा परिवारका उपलब्ध सदस्यहरूसँगै गाउँ जाने साइत जुर्यो झापाबाटै । बाटोघाटो र यातायतका साधनको उपलब्धताले दुर्गम भइसकेको एक समयको पूर्वी पहाडकै अग्रगामी चेतनाको केन्द्र मानिने मेरो गाउँमा गाउँले दाजुभाइको पाखुरा र पहुँचमा कच्ची बाटो खनी मोटर पुगेको खवरले पनि मलाई गाउँ हेर्न अरू प्रेरित गर्यो र पहाड उकाल्यो ।
पृथ्वीमा आफूले पहिलो पाइला टेकेको भूमि भेट्न पनि समय जुर्नु पर्दोरहेछ । भाग्यवादीहरू यस्तो जुर वा साइतलाई ज्योतिषशास्त्रका कन्था सुमसुम्याएर ठम्याउने गर्छन् । म भने आफ्नो दैनिकी समायोजन गरी निकालिने समयको पित्कोलाई जुर वा साइत भन्ने गर्छु । आफूले समय समायोजन गरेर होस् वा समयको सदुपयोग गर्न सकेर होस्-मैले निकालेँ गाउँ जाने साइत २०६६ असोज १४ गते एकादशीका दिन ।
वि.सं. २०६६ को विजयादशमी यो साल अलि छिट्टै आयो । वृद्ध एवं बिरामी आमा झापा घरमै बस्न रुचाएकाले हामी सबै भाइबहिनीले सकेसम्म आफ्नो समय निकालेर झापा झर्नु नै थियो । त्यसैले सासूमालाई सेवाका लागि श्रीमती र डा. छोरीलाई छोडेर म चाड सुरू हुनुभन्दा एक दुई दिनअघि नै झापा झरें । भाइ-बहिनीहरू आ-आफ्नो व्यस्ततालाई समायोजन गरेर टीका लगाउने दिनसम्ममा झापा आइपुगे । गाउँको नियास्रो सबै भाइलाई मलाइजस्तै भएको रहेछ । त्यसैले काइँलो भाइ डा. त्रिलोचन उप्रेतीले दसंैपछि लगत्तै पाँचथरको फिदिममा एउटा कार्यक्रम राखी झापा झरेका रहेछन् आफ्नै गाडी लिएर । उनी नेपाल सरकारका सचिवको हैसियतमा प्रधानमन्त्रीको कार्यालयमा मानवअधिकार एवं कानुन हेर्ने भएकाले जिल्लाका प्रमुखसँग तत्विषयमा अन्तर्त्रिmया गर्न सबै जिल्ला सदरमुकाममा पुग्नु अनिवार्य रहेछ । उनले पाँचथरमा बनाएको कार्यक्रमले म एवं अरू भाइलाई आठराई पुग्न सजिलो भयो । त्यसैले आमाका हातको टीको थापेर टीकाको भोलिपल्ट आफन्तहरूलाई टीको लगाइदिएर असोज १४ गते बिहानै हामीले पहाड उक्लने कार्यक्रम बनायौं ।
काठमाडौँबाट गएका हामीमध्ये म, साइलो भाइ अधिवक्ता एवं व्यापार-व्यवसायी खड्गप्रसाद, काइँलो भाइ त्रिलोचनले पहाड उक्लने समय निकाल्न सक्यौँ । हाम्रोलागि आफ्नो गाउँ त्यसै विरानो भइसकेको थियो । हामीलाई चिन्ने गाउँमा अब थोरै मान्छे थिए । त्यसैले गाउँसँग अलि बाक्लो सम्बन्ध भएका अन्तरे भाइ मोहन उप्रेती र काकाको छोरा गणेश उप्रेती हाम्रो यात्राको सहजकर्ता हुन तयार भए । यसरी पाँच भाइको पाँच दिने यात्रा आफ्नो जन्मथलोसँग सम्बन्ध नवीकरण गर्ने कडी हुनपुग्यो ।
वि.सं. २०६६ साल असोज १४ गते बिहानै हामीमा नौलो उमङ्ग र फुर्तिले सवार गरिसकेको थियो । अघिल्लै दिन सिक्किमबाट भाउजूको हातबाट टीका थाप्न आएका काका रामप्रसाद उप्रेती (रुम्तेक) र उनका जेठा र माइला छोरा क्रमशः पुण्यप्रसाद र मनहरि उप्रेतीसँग बिहानको चियाखाजा खाँदै आमासँग बिदा माग्ने तयारीमा थियौँ, अकस्मात टेलिफोनको घण्टी बज्यो । भाइ मोहनले टेलिफोनबाट दुःखद समाचार सुनायो विराटनगरमा माइली काकी (प्रेमप्रसाद उप्रेती, गौसदन विराटनगरकी आमा) को दुःखद निधन भएछ । परिस्थिति र समयलाई तुरुन्त व्यवस्थापन गर्नुपर्ने भयो । काकीको लासलाई झापाको कनकाईमा ल्याउन विराटनगर खबर गरियो । विराटनगरबाट मध्यान्नसम्ममा काकीको लासलाई झापा ल्याई कनकाईमा सद्गति गर्ने र मात्र पहाड लाग्नुपर्ने भयो । किनभने अहिले पहाड नउक्लदा अरू अनुकूल समय पाउन धेरै पर्खनुपर्ने पनि हुनसक्थ्यो ।
असोज १४ गते अपराहृन ४ बजे पहाड चढ्ने पाँचै भाइ विर्तामोडमा भेला भयौँ । ड्राइभरलाई गाडी चेक गरी आवश्यक इन्धन हाल्न भनिसकेका थियौँ । मैले सोचेँ-इलाम चढेर कतै बस्नुपर्ला । हाम्रा सहजकर्ता भाइहरूले भने – “राति ८ बजेतिर पाँचथर फिदिम नै पुगिन्छ । बरु बास प्रबन्धका लागि फिदिममा आफन्तलाई फोन गरौँ” । हामी फिदिमबाट झापा दुई दिन लगाएर झथ्यौर्ं । मोटरको बाटो खुलेपछि पनि एकपटक पहाड आउँदा विर्तामोडबाट फिदिम आउन झण्डै सात/आठ घण्टा लागेको थियो । मेरो त्यही अनुभव थियो तर पहाडसँग बाक्लो आउजाउ भएका हाम्रा सहजकर्ताले भने पिच भएको बाटोमा फिलिली मोटर कुँदाउँदा चार घण्टामा फिदिम पुगिने बताए । हाम्रो ड्राइभर गोपाल बुढाथोकी झन् रउसे थियो । त्यसो भए त साढे तीन घण्टामा नै म त्यहाँ पुर्याउँछु भनी हामीलाई हौस्याउन थाल्यो ।
हावापानी परिर्वतनले छोएर हो या किन हो मुलुकका विभिन्न भागमा मौसम परिवर्तनका सामान्य छनकहरू देखिँदै छन् । यस पटकको दसँैको आसपासमा झापामा असाध्यै गर्मी भयो । हामीलाई हाम्रो घर घैलाडुब्बामा गर्मी निरोधक उपकरण प्रयोग गरेर पनि बस्न कठिन भएको थियो । शरीरभरि गर्मी उत्रेर घुमौराले मेरो त शरीर छापै हानेजस्तो भएको थियो । ४ बजे झापाबाट उकालो लाग्दा हामी सबै लथलथी पसिनाले भिजेका थियांै । आधा घण्टा उकालो लाग्नेबित्तिकै शीतलताले हामीलाई मोहित पार्यो । झापाको शान्तिनगर आसपासमा पुग्नेबित्तिकै मैले मेरो टाउको छोप्नुपर्यो, घाँटीमा मफलर बाँध्नुपर्यो । पहाडबाट आएको चिसो हावाले शरीरलाई शीतलता प्रदान गरे पनि गर्मीबाट झट्टै चिसोमा पुग्दा मेरो घाँटी कक्र्याक्कै भएर सर्दी लागेको अनुभव भयो । गाडी जति उकालो लाग्थ्यो सहजकर्ता भाइहरू पहाड पखेरामा घरेडी लिने, घर बनाउने र सेवानिवृत्त भएपछि त्यहीँ बस्ने योजनाले हामीलाई लोभ्याउन थाले । साँच्चि नै एक डेढ घण्टा माथि उक्लेपछि त चियाका बुट्टाको सुन्दरताले सजिएको इलामको नवोदित रूप देख्न थालियो ।
इलाम त्रिलोचनका लागि नौलो थिएन । १२ वर्षको उमेरमा पाँचथरको लालीखर्क, रक्से, साखेजुङ्गहुँदै गोरेटो बाटो हिँडेर खाली खुट्टा झापा झरेको कुरा त्रिलोचनले सुनाए । वस्तुतः एउटा सामान्य घरबारी र एक खला खेतको उत्पादनको अर्थतन्त्रमा आधारित हाम्रो परिवारमा धेरै छोराछोरी भएकाले सबैलाई एकसरो कपडा, जुत्ता, नुनतेलको बन्दोवस्त गर्न हाम्रा बाउआमालाई धौधौ नै पथ्र्यो । यही अवस्थामा त्रिलोचन झापा खेतीमा भएका बुबालाई भेट्न जवर्जस्ती पहाडबाट हिँड्दा आमाले एकजना पक्का साथी त खोज्न भ्याउनु भएछ तर छोरालाई जुत्ता किनिदिन सक्नुभएनछ । त्यस्तै, नयाँ संसारमा नयाँ अवसर खोज्नेक्रममा २०२१ सालतिर झापा झर्दा पहिले धरान हुँदै चारकोसे झाडी पार गरेर झापा पसेको मैले त्यसपछि कैयांैपल्ट ज्यामदरकोतरी, सोक्तिम, इलाम, साखेजुङ्ग, रक्से, फिदिम हुँदै तमोर वारिपारि गरेको छु । हामीले पहिले भेट्दा इलाम केही चियाबगान, फाँटिला खेतबारी र पहाड पखेरामा देखिन्थ्यो तर बाटोघाटोले सुगम बनेपछि त यसले रूपै फेरेछ । इलाम, पाँचथरका त्यतिवेलाका मुडुला नागीहरू सुन्दर चियाका बुट्टा शिरमा सिउरिएर वयस्क सुन्दरी पो भएछन् । खोला, खोल्सा, पाखापखेरा, बारीहरू अमि्रसो, अलैँची छातीभरि उमारेर सदियौँदेखि तिरस्कृत भएका स्थानीय श्रमजीवी किसानका समृद्धि र ऐश्वर्यका उद्गम स्रोतमा पो परिणत भएछन् ।
पहाडमा खेली हुर्की आँखा देख्ने भएदेखि नै मलाई मेरा वरिपरिका गाउँलेहरूले समृद्धि कसरी पाउँछन् भन्ने कुराले पिरोल्थ्यो । पहिलापहिला त लाग्थ्यो- सबै मानिसहरूसँग श्रम गर्ने कर्मशील हातहरू त छन् तर सबैमा समानरूपमा व्यवस्थापकीय चेत छैन । त्यसैले चेत भएकाहरूले कर्मशील पाखुरा भएका समूहको अविभावकत्व ग्रहण गर्न सके समाजमा सबैको समानुपातिक विकास हुनसक्छ । त्यसकारण संयोजनको चेत भएकाले परिवारमा, समाजमा र समग्र राष्ट्रमा नै त्यस्तो अविभावकत्व र संयोजनकारी भूमिका खेल्नुपर्छ । परिवारमा ज्येष्ठ सदस्यले, समाजमा नेतृत्वदायी सङ्घसंस्थाले र राष्ट्रियरूपमा सरकारले त्यस्तो भूमिका निर्वाह गर्नुपर्छ । मेरो यही मान्यताले सुरुमा मलाई साम्यवादप्रति आकषिर्त गरायो । पुँजीवाद र सामन्तवाद व्यक्तिनिष्ठ फाइदा र अहङ्कारमा निर्लिप्त हुने हुनाले ती दुवै मेरा आकर्षण विषय हुन सकेनन् । मैले मेरो जीवनको प्रारम्भिककालमा आर्जेको आदर्शले बनाएको मान्यतालाई सर्वप्रथम आफ्नै परिवारमा प्रयोग गरेँ । त्यस्तो प्रयोगले दुई दशकमै परिवारको राम्रै किसिमले रूपान्तरण भयो तर आफू चाहिँ सक्रिय राजनीतिमा नलागेकाले राष्ट्रियरूपमा यस्तो प्रयोग गर्ने मौका मिलेन । जनताको समर्थनबाट बनेको सरकारले पनि त्यस्तो अविभावकत्व ग्रहण गर्न सकेनन् । छिमेकीहरूले यत्रो अकल्पनीय विकास गरिसक्दा पनि मेरो मुलुक अझँै मध्ययुगीन परिस्थितिमा ढुन्मुनिँदै रहेकोछ ।
देश-विदेशका धेरै ठाउँ घुमेपछि, त्यहाँका अनेकौँ प्रयोगहरू हेरेपछि र जीवनका पाँच-छ दशक भोगेपछि आज मलाई विकास र समृद्धिका लागि चाहिने केही आधारभूत चेतको अनुभूति भइरहेको छ । विशेषगरी विकासका तीब्र गतिमा रहेका एसिया, अमेरिका र युरोपका मुलुक हेरेपछि मैले अनुभव गरेँ- पछौटेपनलाई हटाउन मुख्य तीन पूर्वाधार आवश्यक पर्ने रहेछन् – बाटो, बिजुली र पानी । यी पूर्वाधार भएको ठाउँमा मात्र समुचित रूपमा स्वास्थ्य, शिक्षा र खानपानको आवश्यक प्रबन्ध गर्न सकिने रहेछ । यी पूर्वाधारको व्यवस्था भयो भने राज्य जतिसुकै निम्छरो र असक्षम भए पनि व्यक्ति-व्यक्तिको प्रयत्नमा पनि समाजको आर्थिक रूपान्तरण हुने रहेछ ।
तीन-चार दशकअघि देखेको इलाम र पाँचथरसँग अहिले भेटेको इलाम-पाँचथरलाई तुलना गरेर मैले माथिको निष्कर्ष निकालेँ । म विश्वस्त छु मैले निकालेको निचोड तथ्यपरक छ । यस क्षेत्रका प्रायःजसो ग्रामीण क्षेत्रमा कच्ची/पक्की बाटो पुग्नै लागेको देखियो । गाउँलेहरूले आफ्नै बलबुतामा यहाँका खोल्सा, कुवा, पानीका मूल र धाराबाट पोलिथिन पाइप जोडी खानेपानीको प्रबन्ध गरेकै रहेछन् । मुलुक लोडसेडिङको तीब्र मारमा परे पनि यस क्षेत्रका सहर-बजार र तिनका नजिकका गाउँहरूमा जलविद्युत् र सौर्यऊर्जामार्फत् बिजुली बत्ती बालेकै रहेछन् । यी चीजहरूले उत्पादन र व्यवसाय वृद्धिमा गाउँलेहरूलाई प्रेरित गरेकाले गाउँहरू आज विस्तारै उज्याला देखिए, मान्छेहरू केही बलियाबाङ्गा भेटिए जस्तो लाग्यो मलाई ।
हामीले ६ बजे बेलुका इलाम काट्यौंँ । इलाम र रक्सेबीचको एउटा सानो बजार पसलमा बनाएका रोटी, सिङ्गडा र चिया हाम्रा मुखमा परेपछि त झन अर्गानिक उत्पादनका चीज प्रयोग गरिएको ती खाना मुखमा नै बिलाउने भयो । रक्से पुगिञ्जेल त हामीले हिँड्ने गरेको गोरेटोको र अहिले हिँडेको सडकको तुलनात्मक पर्यवेक्षणबाट यहाँको भूगोलको पूर्वपरिचित रूप ठम्याउन खोज्यौं । राँके पुगेपछि झमक्कै अँध्यारो भयो । अब भने पाँचथरको सुन्दर भूगोलको परिवर्तित रूपको काल्पनिक खाका बनाउन बाहेक हामीले के गर्न सक्थ्यांैँ र । बेलुका साढे सात बजे हामी लालीखर्क पुग्यौँ । लालीखर्क बजारको अगाडि पर्ने बाटैनेरको थुम्कानेर गाडी रोकेर बाहिर निस्क्यौँ । बिहानैदेखि हाम्रो आतिथ्यका लागि तड्पिरहेका हाम्रा आजका आश्रयदाता सम्धी सूर्यप्रकाश बाँसकोटालाई फोनबाट सम्पर्क गर्नु आवश्यक थियो । हाम्रा सहजकर्ता फोन सम्पर्कमा लागे । तिरिमिरि बलेको फिदिम, जोरसाल बजार, तेह्रथुमतिरका सौर्य ऊर्जामा तिलमिलाएका गाउँहरू हेरेर तीन दशकभित्र आफ्नो पहाडले गरेको प्रगति धुम्धुम्ती अँध्यारोमा बाटो छेउका थुम्कीमा बसेर अनुमान गर्न भ्यायौं । लालीखर्कबाट २० मिनेटमा नै हामी फिदिम बजार पुग्यौँ । बसपार्क आइपुग्दा बस पार्कमा सम्धी र पहिला नै हामीले पठाएका भाञ्जा देवी ओली हाम्रो स्वागतमा न्यानो माया ओछ्याएर सडकमै उभिइरहेका रहेछन् । हामी जापानी कारमा थियौँ । बसपार्कबाट हामीले बस्ने सम्धीजीको घर जाने कच्ची बाटो रहेछ । हाम्रो कार नजाने । त्यसैले हाम्रो कार जि.प्र.का. पाँचथरमा पठायौँ र जि.प्र.का. को जीपले हामीलाई हाम्रो आश्रयस्थलसम्म पुर्यायो ।
प्रधानमन्त्री कार्यालयबाट सचिव आउने सूचना जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनलाई पहिला नै पुगेको रहेछ । त्यसमाथि स्थानीय व्यवसायी हाम्रा सम्धी सूर्य बाँसकोटाजीले पनि संयोजन गर्नुभएको रहेछ स्थानीय प्रशासनसँग । त्रिलोचनको सरकारी कार्यक्रम पाँच दिनपछि हुने थियो । त्यसका लागि आवश्यक सामग्री लिएर प्र.म. कार्यालयबाट एक अधिकृत आउनेवाला थिए कार्यक्रम हुने एक दिनअघि । यो बीचमा हाम्रो आफ्नो गाउँ आठराई जाने कार्यक्रम स्थानीय प्रशासनलाई थाहा रहेछ । फिदिम जोरसाल बजारदेखि तमोर नदीको फेदीसम्म जाने कच्ची बाटो मात्र भएकाले हाम्रो गाडी त्यहाँसम्म जान सक्ने थिएन ।
त्यसैले प्र.जि.अ.ले जि.प्र.का. लाई हामीलाई तमोर फेदीसम्म ल्याउने-लैजाने प्रबन्ध मिलाउन भनिसकेका रहेछन् । बिहान ८ बजे जि.प्र.कामा जाने र जि.प्र.का कै प्रबन्धमा तमोर फेदीसम्म जाने प्रबन्ध मिलाएको जानकारी प्राप्त भयो । यसरी पहिलापहिला दुई दिन लगाएर पार गर्ने यो अप्ठ्यारो यात्रा चार घण्टामा पार गर्दै बाँसकोटा सम्धीको आतिथ्यमा त्यो रात फिदिममा बित्यो । अमि्रसो र चियाका बुथुरा छातीभरि उमारेर नयाँ यौवन प्राप्त गर्दै गरेको इलाम र पाँचथरको यात्राले लोभ्याउनसम्म लोभ्यायो ।
