Skip to content

मायालु दाजु कृष्णचन्द्रसिंह प्रधान

  • by


हिमानी पत्रिकाको मुखपृष्ठजस्तो सुन्दर मुहार थियो उहाँको !

मलाई हिमानी पत्रिका निक्कै नै मन पथ्र्यो पढ्न पनि, त्यसभित्र हुन पनि । एकताका कृष्णचन्द्र दाइ त्यो पत्रिका लिएर हिँड्नुहुन्थ्यो । म सधैँ त्यसभित्र हुन रहर गर्थें । एक समयमा त्योभित्र हुनु भनेको नेपाली साहित्यको एउटा कालखण्डभित्र हुनु हुन्थ्यो ।

हिमानी मोटो – धेरै रचनाहरू भएको रहरलाग्दो पत्रिका हुन्थ्यो ।

धेरै वर्ष पहिले एकपल्ट म कृष्णचन्द्र दाइको घरमा गएको थिएँ । उहाँको बैठक कोठाको भित्तामा गोर्कीको शानदार फोटो देखेको थिएँ । त्यसैले होला म कृष्णचन्द्र दाइको अनुहारमा पनि गोर्कीको अनुहार देख्थेँ । मलाई एकदम पि्रय लाग्थ्यो उहाँको अनुहार । उहाँको घरमा गइरहुँ, गइरहुँ जस्तो लाग्थ्यो । उहाँलाई भेट्दा म गोर्कीलाई भेटेको अनुभव गर्थें ।

उहाँ एकदम सरल र स्वाभाविक मान्छे – मेरा लागि । कुनै कुराको पनि बनावटीपन नभएको । उहाँलाई भेट्दा म एउटा सुन्दर रूखलाई, फूलका बोटहरूलाई, स्वतन्त्र चराहरूलाई, कलकल बगिरहेको नदीलाई, एकनासले हिँडिरहेको बाटोलाई, आकाशलाई, बतासलाई, बाटामा भेटेको शिष्ट, मायालु तर साधारण मानिसलाई भेटेको अनुभव गर्थें । उहाँ मेरो देशको एकदमै ठूलो लेखक हुनुहुन्थ्यो तर म उहाँलाई ठूलो लेखक भन्दा पनि आफ्नो प्यारो दाजुको रूपमा अनुभूत गर्थें । म उहाँलाई भेटेर कसोकसो आफैँलाई भेट्थेँ ।

उहाँलाई काठमाडौँ पनि मन पर्ने । उहाँलाई काठमाडौँ बाहिर पनि त्यत्तिकै मन पर्ने । म आफँै काठमाडौँ बाहिरबाट आएको थिएँ र जवानीमा काठमाडौँमा हुर्किएको थिएँ । म उहाँलाई कहिले काठमाडौँको शिवपुरी, नागार्जुन र गणेश हिमालको रूपमा भेट्थेँ कहिले भोजपुरको ट्याम्के या सोलुको सगरमाथाको रूपमा भेट्थेँ ।

कहिलेकाहीँ म उहाँलाई विशाल तराईको फाँटबाट देखिने दूरदृष्टि र कहिलेकाहीँ नदीनालाले गाउने मीठो गीतमा पनि भेट्थेँ । उपत्यकाका गुञ्जनहरूमा पनि भेट्थेँ ।

मोहनहिमांशु थापा दाइले एकपल्ट मलाई भन्नुहुन्थ्यो, “मञ्जुल भाइ ! तपाईँ त कृष्णचन्द्र दाइको उत्तराधिकारी हो । राम्रो कविता पनि लेख्ने, राम्रा निबन्धहरू पनि लेख्ने ।” उहाँको त्यो कुरा सुनेर म तर्सिएको थिएँ । उहाँसँग दाँजिन पाउनु एकदमै सुन्दर कुरा थियो तर के म उहाँको जस्तो सुन्दर समालोचना लेख्ने हिम्मत गर्न सक्थेँ ? सक्दिनथेँ । म थरर्र काँपेँ ।

म एकपटक एउटा वामपन्थी राजनीतिक पार्टीमा हुँदा सोच्थेँ – कृष्णचन्द्रसिंह प्रधानजस्तो व्यक्तित्व किन म भएको पार्टीमा नहुनुभएको होला ? तर पछि एउटा राजनीतिक पार्टीमा हुने विकृतिहरू जब मैले तिख्खर रूपमा अनुभूत गर्न थालेँ तब सोचेँ – म पनि कृष्णचन्द्र दाइजस्तै हुन्छु! जनताको पक्षधर तर स्वतन्त्र ।

उहाँ मेरो प्रेरणा हुनुहुन्थ्यो । उहाँ अहिले पनि मेरो प्रेरणा हुनुहुन्छ ।

सम्भव छ भने म यो जुनीमा मात्र होइन अर्को जुनीमा, अझ अर्को जुनीमा पनि लेखक हुन चाहन्छु – त्यस्तो मन पर्छ मलाई लेखक हुन । म पार्टीले मन परेको लेखक हुँ या नहुँ मलाई उतिसाह्रो मतलव छैन तर म जनताले मन पराइएको लेखक हुन चाहन्छु । चीनमा एकजना लेखक हुनुहुन्छ उहाँलाई पार्टीले पनि मन पराएको छ! जनताले पनि मन पराएका छन् भन्ने सुनेको छु – लु सुन । मलाई त्यस्तो लेखक हुन मन पर्छ तर रूसमा दुई जना लेखक हुनुहुन्छ पार्टीले उतिसाह्रो मन नपराएको – उतिसाह्रो के भन्ने, मन नपराइएको तर जनताले भने असाध्यै मनपराएको – बोरिस पास्तरनाक र माया कोब्स्की । मलाई उहाँहरू जस्तो लेखक वा कवि हुन झन् मन पर्छ । म जनतालाई आफ्नो कसी बनाउँछु – पार्टीलाई होइन ।

कृष्णचन्द्र दाइ मेरो प्रेरणा हुनुहुन्थ्यो । उहाँ अहिले पनि मेरो प्रेरणा हुनुहुन्छ ।

म उहाँको निबन्ध भनेपछि हुरुक्कै हुन्थेँ – निस्क्यो कि किनेर पढिहाल्न पर्ने । (कुन नेपालीलाई उहाँको निबन्ध मन नपर्ला र !) किन्थेँ र पढ्थेँ पनि । पढिसकेपछि उहाँलाई मनमा लागेका कुराहरू भन्थेँ पनि । ओहो ! उहाँ खूब खुसी हुनुहुन्थ्यो ।

‘अनाम सत्य’ मलाई एब्स्ट्रयाक्ट कला हेरेँजस्तो लाग्थ्यो । एकपल्ट पढेर चित्त नबुझ्ने । जतिपल्ट पढ्यो उति नै मन पर्ने । म पढ्थेँ बारम्बार दोहोर्‍याएर, तेहर्‍याएर – त्योभन्दा पनि बढी ।

कृष्णचन्द्र दाइका निबन्धहरू सुन्दर तर मेरो अनुभव अनुसार भन्ने हो भने उहाँको माया, उहाँको हार्दिकता, उहाँको सरलता अझ सुन्दर । उहाँले मलाई गर्ने व्यवहारले उहाँका रचनाहरू पढ्न म झन्झन् उत्साहित हुन्थेँ ।

आफ्ना चरम व्यक्तिगत दुखेसाहरूको रोनाधोना गर्ने लेखकका निबन्धहरू मलाई उतिसारो मन पर्दैन मञ्जुल भाइ! लेखकले त आफ्ना दुःख पनि अरू धेरैका दुःखहरू व्यक्त हुने किसिमले अभिव्यक्त गरोस्! तब पो मज्जा – कृष्णचन्द्र दाइ भन्नुहुन्थ्यो ।

कृष्णचन्द्र दाइ मेरो प्रेरणा हुनुहुन्थ्यो । अहिले पनि उहाँ मेरो प्रेरणा हुनुहुन्छ ।

कृष्णचन्द्र दाइ मैले देख्दा निक्कै व्यवस्थित हुनुहुन्थ्यो । उहाँजस्तो व्यवस्थित म छैन । सायद मसँग त्यसरी व्यवस्थित हुने पैसा पनि छैन तर म कृष्णचन्द्र दाइजस्तै व्यवस्थित हुन चाहन्छु । जहिले जाँदा पनि उहाँको कोठामा उहाँका किताबहरू सपक्क मिलाएर राखिएका हुन्थे । कोठा सफा हुन्थ्यो । त्यसले मलाई पनि किताब किन्न, पढ्न र मिलाएर राख्न प्रेरित गथ्र्यो ।

उहाँ नयाँ पिंढीलाई एकदमै माया गर्नुहुन्थ्यो । उहाँकोमा एकपल्ट जानेहरू फेरि जान मन गर्थे । अलिअलि लेख्नेहरू उहाँकोमा गएर निबन्ध सुनाइसकेपछि निक्कै उत्साही भएर लेख्न थाल्थे – यस्ता उदाहरण दिन सक्छु म । मेरी एकजना साथी हुनुहुन्छ – लिज । उहाँ बेलायती हुनुहुन्छ । साहित्य र सङ्गीत खूबै मन पर्छ उहाँलाई । उहाँको श्रीमान् विश्वविद्यालयमा पढाउने प्राध्यापक ।

नेपालमा पहिलो पटक आउँदा उहाँहरू कृष्णचन्द्र दाइको घरमा डेरा गरेर बस्नुभएको रहेछ । खूब मन पराउनुहुन्छ कृष्णचन्द्र दाइलाई । (कृष्णचन्द्र दाइको स्वर्गारोहणको खबर सुनेर कति दुःख लाग्ला बिचराहरूलाई !) उहाँलाई घरको कुनै पनि पार्टीमा कृष्णचन्द्र दाइलाई बोलाउन मन पर्ने तर ठूलो लेखक भएको हुनाले अलि अफ्ठ्यारो पनि लाग्ने । एक दिन मैले भनेँ, ”बोलाउनुस् न, उहाँ मायालु दाजु पहिले त्यसपछि मात्र ठूलो लेखक ।”

लिजले उहाँलाई पार्टीमा बोलाउनुभयो । कृष्णचन्द्र दाइ आउनुभयो, किन आउनुहुन्नथ्यो । पार्टीमा आएर उहाँले यस्तो हार्दिक व्यवहार गर्नुभयो लिज त हेरको हेर्‍यै । कृष्णचन्द्र दाइ प्यारो दाजु पहिले, त्यसपछि मात्र ठूलो लेखक ।

एकपल्ट म कृष्णचन्द्र दाइसँगै इलाम गएको थिएँ । उहाँ भएकै गाडीमा थिएँ म । इलाम पुग्नु अलि अगाडि चियाबारीबाट फर्केका एक हूल महिलाहरू तलबाट आउँदै गरको देखैँ मैले । मैले हत्तपत्त गाडी चालकलाई गाडी रोक्न भनेँ । गाडीचालकले गाडी रोके । म बाहिर निस्केर गीत सुनाउन तयार भएँ गितारसहित । त्यतिबेला धेरैले मलाई जिस्क्याए पनि तरुनी फकाउने गीत गाउन लाग्यो भनेर ।

मेरा गीतहरू ती महिलाहरूले मन पराएर सुने मात्र होइन तिनीहरू नमिठोसँग रोए पनि ।

“मञ्जुल भाइ ! यो साह्रै राम्रो शैली हो जनचेतना जगाउने ।” कृष्णचन्द्र दाइले मलाई माया गरेर भन्नुभयो । दाजुको धाप पाएर म बलियो पहाडजस्तो भएँ । मलाई जिस्क्याउने मेरा साथीहरू पनि स्तब्ध भए, उनीहरूले मलाई माया गरे ।

कृष्णचन्द्र दाइ हरेक सौन्दर्यलाई गहिराइमा गएर बुझ्न सक्ने समालोचक हुनुहुन्थ्यो ।

एकपल्ट मसँग जल्नेहरूले एउटा घीनलाग्दो व्यक्तिलाई मखुण्डो बनाएर कुटिलतापूर्वक मलाई प्रहार गर्न खोजे । दाइ मसँगै हुनुहुन्थ्यो ।

मैले दाइलाई यो कुरा भनेँ । उहाँले भन्नुभयो, “तपाईँ शिष्ट हुनुहुन्छ, शिष्टता तपाईँको गहना हो । कसैले तपाईँलाई गलत किसिमले प्रहार गर्न खोजे म छैन र ?”

उहाँले मलाई भरपर्दो संरक्षकत्व दिनुभयो । किनकि त्यतिबेला उहाँ मसँग हुनु भनेको मलाई प्रहार गर्न खोज्नेले मेरो रौं पनि झार्न नसक्नु हुन्थ्यो ।

दाइ मेरो संरक्षक हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ – आफ्नो मायाले ।

उहाँ साझा प्रकाशनमा हुँदा भन्नुभयो, “मञ्जुल भाइ ! उपन्यास लेख्नुस् । मलाई तपाईँको उपन्यास छाप्न मन छ ।” त्यो बेला मैले जिन्दगी त्यति मजाले बुझेकै थिइनँ । चोटिलाचोटिला घातहरू खाएकै थिइनँ । अहिले लेख्दैछु म उपन्यास तर के गर्ने मेरो अगाडि सशरीर ठिङ्ग उभिने कृष्णचन्द्र दाइ मसँग हुनुहुन्न ।

मेरो नयाँ कवितासङ्ग्रह निस्कने छ । त्यहाँ म उहाँसँग हुनेछु । हाम्रो साथमा हुनुहुनेछ मेरो पि्रय साथी इन्द्र माली पनि । हामी कुनै राम्रो रेस्टुरामा जाने छौँ । उहाँ कुरै कुरामा इन्द्र मालीलाई भन्नुहुनेछ – हाम्रो मञ्जुल भाइ राम्रो कवि हो नि ।

म पनि मेरो सारा समर्पण कृष्णचन्द्र दाइको पाउमा राखेर भन्ने छु – उहाँ मेरो आदरणीय समालोचक । अनि हामी हाँस्ने छौँ । देख्ने छ दुनियाँले एउटा समालोचकले एउटा स्रष्टालाई गर्ने माया र एउटा स्रष्टाले एउटा समालोचकलाई गर्ने आदर ।

निश्छल हाँसोको पर्यायवाची मेरो प्यारो कृष्णचन्द्र दाइ !

कताकताबाट त्यहीँ आइपुग्नुहुनेछ भाइ गोविन्दराज भट्टराई । उहाँको हातमा हुनेछ – स्मृति ग्रन्थ र उहाँकै साथमा हुनुहुने श्रीओम श्रेष्ठ रोदनको हातमा पनि हुनेछ अर्को किताब ।

दाइ हामीलाई छोडेर जान सक्नुहुने छैन । यो धर्तीलाई छोडेर जान सक्नुहुने छैन । उहाँ आफ्ना र हाम्रा अक्षरहरूमा सस्नेह बस्नुहुनेछ निश्छल हाँसो हाँसेर – फेरिफेरि पनि हामीसँग चिया खान आउने सर्तमा ।

निश्छल हाँसोको पर्यायवाची हाम्रो प्यारो कृष्णचन्द्र दाइ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *