Skip to content

अक्षरमा रमाउने कवि अब सम्झना मात्र

  • by


वि.सं. २०६७ जेठ २५, साविकझैं बिहानको भात खाएँ । बाहिर कौशीमा बसी बिहानभरि घुमेर आउँदा किनेर ल्याउने गरेका पत्रिका पल्टाएँ । पहिलो पेज थोत्राबासी र नेताहरूका त्यही राजनीतिक कुरा, त्यही अडान, त्यही ढ्वाङ् ठटाइ, त्यही धम्की, त्यही घुर्की र गन्थनदेखि सबिस्तार हेर्दै जाँदा अन्तिम पेज पल्टाउने बित्तिकै देब्रे कुनाको (भ्रम नहोस् एकताका कुनै दलको मुखपत्रमा एक शीर्ष कविले ‘देब्रे कुना’ नामक कोलम लेख्ने गर्नुहुन्थ्यो) माथि नै एक शीर्षकमा आँखा पर्‍यो- ‘उपेन्द्र रहेनन् ।’ को हुन् यी उपेन्द्र ? तस्बिरमा आँखा पर्‍यो । मुडुल्लोजस्तो टाउको देखेँ र अनुहार पनि धमिलो । निश्चय भएन । विश्वास लागेन । केही वाक्यहरू पढ्दा थाहा लाग्यो- यी त तिनै उपेन्द्र श्रेष्ठ रहेछन् जो एक सदावहार कवि थिए, सधैँ अक्षरहरूमा रमाइरहने र साहित्यिक जगत्मा खुल्दुली मच्चाइरहने, कहिल्यै नथाक्ने, अनवरत आफ्नो कवितायात्रामा लागिरहने…..तर अरूलाई भने लेखक वा कवि भनी थाहा पाउनासाथ ‘ल खतम पारेछौ जीवन ! यस्तो बिग्रने काममा पनि लाग्नुहुन्छ कतै ? कसले बुद्धि दियो यस्तो तिमीलाई हँ ?’ भनेर गाली गरिरहने वा सल्लाह दिइरहने उपेन्द्र श्रेष्ठले आफ्नै मान-अपमान वा मान सम्मानको ख्याल भने कहिल्यै गरेनन् । कसैको प्रशंसा र गालीको महत्व राखेनन् । कतै कसैको छत्रछायाँमा पालिएर बसेनन् । ‘मैले यति साहित्यिक सेवा गरेको छु’ वा ‘यतियति गरेको छु’ भनेर कसैकहाँ भीखको झोला थाप्न गएनन्, कतै बिन्तिपत्र हालेनन् । कुनै प्रकारको पुरस्कारको मतलवै राखेनन् र बरु साथीभाइले पाएकोमा ‘ल आऊ ! तिमीले पुरस्कार पाएको खुसीयालीमा म तिमीलाई चिया खुवाउँछु’ भन्दै खुवाउन पियाउन लैजाने र त्यसैत्यसै रमाएर हिँड्थे उनी । साथी-भाइ प्रायः सबैलाई बेलाबेलामा ‘ए भाइ ! के छ तिम्रो हालखबर ? मैले तिम्रो यो कविता वा कथा पढेको थिएँ नि ! राम्रो छ ल लेख्दै जाऊ नि ! नछोड !’ भनेर पनि सम्झाइरहन्थे, सम्झिरहन्थे तर उपेन्द्र श्रेष्ठले अरूलाई जति सम्झे, अरूले उपेन्द्र श्रेष्ठलाई सम्झेनन् । उनलाई साहित्य र साहित्यकारको यो राजनीति, यो गुटबन्दी र यो लुछाचुँडीको हूलमुलबाट सँधै बाहिरै राखियो र उनी यतै बाहिरै बस्न रमाइरहे । अझ कहिले त कतिले उनलाई हँसीको पात्र पनि बनाए र केके आरोप पनि लगाए साहित्यकारकै समूहबाट । तर उनले आफ्नो क्षेत्रमा एक विशिष्ठ स्थान ओगटिसकेका थिए र आफ्नो इतिहास आफैँले कोरिसकेका थिए । अनि तिनै कवि उपेन्द्र श्रेष्ठको अवसान पो भएको रहेछ जेठ २४ गतेका दिन, यस धर्तीबाट र मैले उनै उपेन्द्र श्रेष्ठको अवसानको खबरलाई पढिरहेको रहेछु….., उनको अनुहारलाई हेरिरहेको रहेछु…. ।

कान्तिपुर दैनिकको यस खबरले म स्तब्ध बनेँ र ‘लौ मित्र गएछौ तिमी पनि…. !’ भनेर एउटा दीर्घनिश्वास लिएँ । श्रीमतीलाई सुनाएँ गला अवरुद्ध पारेर । श्रीमतीले सोधिन्, “को हुन् ती उपेन्द्र श्रेष्ठ ?” भनेँ, “तिनै क्या जो मलाई बारम्बार फोन गरिरहन्थे र मलाई नभेटेको धेरै दिन भयो भनी मेरो बारेमा तिमीलाई सोधिरहन्थे ।” “ए… के भएछ त….?” उनले पनि समवेदनाका शब्दहरू बोलिन् । मैले तत्कालै उस्तै पुराना मित्र तथा वरिष्ठ कवि द्वारिका श्रेष्ठलाई फोन गरेँ । भारी मनले मन थामेर सोधेँ, “थाहा पायौ ?” भने उनले, “अँ…. हेर न, मैले पनि भर्खरै पत्रिका हेरेर थाहा पाएँ । अस्तिन कता हो भेट्दा धेरै बिरामी परेँ म यसपालि निकै भनेर भन्थे….।” मैले थपेँ- “मैले पनि धेरै भयो भेट नभएको र उनले पनि फोन नगरेको । कहाँ गएछन् भन्ठान्थानेको थिएँ । छोराछोरी विदेशतिरै भएकाले उनी पनि उतै हानिएका छन् कि भनी ठानेथेँ ? नत्र त करिब महिना-दुई महिनामा “के छ ए चञ्चल, आऊ न नयाँसडकतिर, भेटौँ भनिरहन्थे । यसपालि त वर्षौंजस्तो भइसकेको थियो केही अत्तोपत्तो थिएन । आज अकस्मात् यस्तो खबर सुन्नुपर्‍यो…. ।”

“लौ यस्तै रहेछ के गर्नु र यार…., द्वारिकाले खिन्न ध्वनिमा उही पुरानै थेगो निकालेर फोन राखे । सम्झें- मोहन कोइराला, द्वारिका श्रेष्ठ, उपेन्द्र, कृष्णभक्त, मदन रेग्मी आदिसँग मेरो उस्तैउस्तै बेलामा र रूपरेखा युगमा भेट भएको हो । तीमध्ये मोहन दाइ त धेरै पहिले बितिसक्नुभयो । आज फेरि उपेन्द्रको यस दुःखद खबरले मलाई उनीबारे केही लेख्न झक्झक्यायो र उनैलाई समर्पित र श्रद्धाञ्जलिस्वरूप मेरो यो सम्झनास्वरूपको उद्गार पोखेको हुँ, केवल एक उद्गार….. बस् !

उपेन्द्र श्रेष्ठ ती कवि हुन् जसले धेरै गरेर पनि थारै मात्र चर्चा र प्रशंसा पाए तर पनि उनले युगकवि सिद्धिचरण पुरस्कार, हरिहर सास्त्री पुरस्कार, मधुपर्क सम्मान र प्रसिद्ध गोरखा दक्षिणबाहु पदक भने पाएकै हुन् । उनलाई यसबारे लाग्थ्यो पनि कहिलेकाहीँ तर पनि उनी भन्थे “छोड्दयौ चञ्चल म यहाँ कसैको भाट बन्न सकिनँ र बन्न पनि चाहन्नँ (यसको मतलव उनीबाहेक सबै लेखक तथा साहित्यकार यस्तै छन् भन्न अवश्य खोजेको होइन) । म अक्षरमै रमाउँछु, अक्षर नै लेखिरहन्छु र मलाई अरू केही चाहिँदैन तर सम्झ नि ! हँ…. तिमीहरू जस्ता साहित्यकार साथीभाइ भने अवश्य चाहिन्छ….. ।” उनी बोल्दा जहिले र जुनसुकै बखतमा पनि अन्तिम ‘हँ…. ‘ आवाजले आफ्नो आवाजमा ओज थप्दथे । उनको साहित्य पढ्न धेरै सजिलो थियो । सरल कवि मानिन्थे उनी तर कविताका भाव भने बेजोडका थिए । विदेशी हस्तक्षेप र स्वदेशी दासताको स्विकारोत्तिलाई कति सजिलै गरी पोखे उनले र त्यसको विरूद्धमा आवाज निकाले ‘आफ्नै देशमा कति हुने हामी शरणार्थी !’ कवितामार्फत । त्यसमा उनी भन्छन्-

‘नागरिकता बोकेर
तिमी र म
आफ्नै देशमा फेरि
कति हुने हामी शरणार्थी
र विस्थापित ?’

त्यही कविताको अर्को ठाउँमा यसरी पुनः अर्को पीडा पोख्छन् उनी-

‘कति बेच्दै हिँड्ने हाम्रो अस्मिता ?
र हाम्रो राष्ट्रियता ?
फेरि पनि तिमी र म
भोकले
गरिबीले
कति हुने हामी निर्वस्त्र ?’

अनि घच्घच्याउँछन् सबलाई उनी यसरी-

‘छिया छिया परेको यो नागरिकतामा
किन नखोज्ने हाम्रो राष्ट्र र राष्ट्रियता ?
र यो प्रजातन्त्रमा
किन नखोज्ने हाम्रो बाँच्ने हक ?
र हाम्रो बाँच्ने अधिकार ?’ (मधुपर्क वर्ष २५ ः अङ्क ३, २०४७ साउन)

अनि दासताको त्यही पीडालाई अर्को कवितामा यसरी पोख्छन् उपेन्द्र श्रेष्ठ-

‘दरखास्त जस्तो मेरो अनुहार, सायद यो राष्ट्र होला….’

भन्दै अर्को पङ्क्तिमा लेख्छन् उनी यसरी-

‘भ्रष्टाचारको फाइलभित्रको मानचित्रको रेखामा मेरो राष्ट्रको मृत्यु भएको छ….
काँगडाको रगतको सिन्दूर यो देशवासीको निधारमा
कलङ्क झैं टाँस्सिएको छ…. ।’ (रूपरेखा वर्ष १५ पूर्णाङ्क १६२)

यसरी आफ्नो राष्ट्रियता र बाँच्ने अधिकारको लागि पीडा पोख्ने र अरूलाई पनि बाँच्न र अधिकार प्राप्त गर्न हौस्याउने कवि उपेन्द्र श्रेष्ठ कहिलेकाहीँ यसरी आफैं पनि निरास बन्छन्-

‘त्यो बूढो खच्चरझैं, थुप्रै हीनता बोकेको आफूभित्र
निर्लज्ज नाङ्गो मानिसको भीडसित
म मुक्ति मागिरहेछु….. ।’ (रूपरेखा वर्ष २२, पूर्णाङ्क २४४)

अनि फेरि उस्तै भावको पीडा पोख्छन् उनी-

‘यो शताब्दी र घाइते मानिसझैं
म घाइते छु,
अहिँसा भएर पनि
हिँसा र हत्यामा थिच्चिएको छु,
आत्मश्लाघा बोकेर…. ।’ (रूपरेखा वर्ष २२, पूर्णाङ्क २४१) ‘मेरो नेपाल….’ मा उनले राष्ट्रप्रतिको आफ्नो भावना यसरी व्यक्त गरेका छन्-

‘नेपालको प्रतीक
म भिमसेनस्तम्भ एउटा प्रश्न बनेर उभिइरहेको छु
बर्सेनि शहीदसप्ताहमा ब्यूँझेर पनि म स्वयंभित्र मरिरहेको छु
प्रत्येक हारजीतको खेलमा म एउटा निमित्त मात्र छु….. ।’ (रूपरेखा वर्ष २१ पूर्णाङ्क २३९)

यसरी देशको उचाई नाप्ने कवि कहिले फेरि देशकै इतिहासमाथि यसरी व्यङ्ग्य पनि हान्न छोड्दैनन्-

‘अरूको निम्ति मर्ने र मार्ने
खोक्रो उद्देश्य बोकेको यो हाम्रो खोक्रो संस्कृति
यो हाम्रो खुकुरीको इतिहास
र हाम्रो परम्परा
हाम्रो निम्ति अब
कुनै अर्थ छैन, कुनै मूल्य छैन
फेरि यो सङ्कटको घडीमा
हाम्रो निम्ति अब
जन्माउनु छैन हामीले अर्को भीमसेन थापा
जन्माउनु छैन हामीले अर्को गोरखनाथ
हाम्रो निम्ति अब…. ।’ (गरिमा वर्ष २५, अङ्क १०)

एकदलीय पञ्चायती शाशनको मध्यतिर उनी लेख्छन्-

‘मेरो ओठ बोल्नलाई चलमलाउँदैन
मेरो हात लेख्नलाई सल्बलाउँदैन
चेतनहीन म लाटो भएको छु
दृष्टिहीन म अन्धो भएको छु….. ।’ (रूपरेखा वर्ष १९ पूर्णाङ्क २०५)

थाहा छैन कवि उपेन्द्र श्रेष्ठले आफ्नो साहित्य सिर्जनाको सुरुतिरै किन यसरी आफूप्रति विरक्तिएर आफ्नै मूल्यको खोजी ‘उद्घाटनमा काटिएको रातो रिबन’ मार्फत् यसरी व्यक्त गरे ?

‘जबजब मेरो भविष्यको हस्तरेखा पढ्छु
र, एकछिन सोच्छु
मेरो निम्ति, मेरो देशको निम्ति
जी….व…..न….
उद्घाटनमा काटिएको रातो रिबनबाहेक
केही होइन ? केही होइन ??’ (रूपरेखा वर्ष १६, पूर्णाङ्क १७४)

अनि यिनै कविले कहिले ‘नौतले दरबार आकाश चुम्ने दुस्वप्नमा आफैंभित्र खण्डहर भएको छ !’ र शङ्कराचार्यले जलाएको म बौद्धग्रन्थ हुँ’ जस्ता लामो र दुरुह कविता पनि लेखे रूपरेखामार्फत् ।

कवि उपेन्द्र श्रेष्ठ फेरि तङ्ग्रन्छन् निरासा र विसङ्गतिहरूबाट र जीवनमा आसाका किरणहरू ल्याउँदै लेख्छन् कतै-

‘जीवनका लागि यो देशमा
सङ्घर्ष छ मेरो यथावत्
पीडा छ मेरो यथावत्
जीवन खोज्नेक्रममा
यो वर्ष पनि
जीवनका लागि यो देशमा
माटोको पनि आवाज छ मसँग
ढुङ्गाको पनि चित्कार छ मसँग…. ।’ (गरिमा वर्ष १९ अङ्क ४)

अनि कहिले भने राजनीतिको गोटी बनेका जनताहरूमाथि सहानुभूति राख्दै लेख्छन् पनि उनीे-

‘मात्र दिनदिनै भत्किँदै
अवमूल्यन हुँदै जीवनमा
हामी कति भैरहने निर्वस्त्र मात्र
दिशाहीन भएर
हामी कति भैरहने बेअर्थका नाराहरू मात्र
हामी कति भैरहने बेअर्थका जुलुशहरू मात्र उद्देश्यविना, लक्ष्यविना
मात्र कठपुतली भएर
हामी कति नाचिरहने निर्वस्त्र मात्र
निर्वस्त्र भएर…. ।’ (गरिमा वर्ष २८ अङ्क २)

मओवादी द्वन्द्व उचाइ लिएको बेलामा उनले देशको अवस्थामाथि यसरी आफ्नो व्यथा पोखेका छन्-

‘शोकमग्न छ मेरो गाउँ
चिन्ताग्रस्त छ मेरो बस्ती
यो हत्याले
छिनेको छ मसँग मेरो खुसी
खोसेको छ मसँग मेरो आवाज
शोकमग्न भएर अहिले पनि यो हिँसाले
विस्थापित कति भैरहने म ?
असुरक्षित र आतङ्िकत भएर
चिन्तामा कति डुबिरहने म ?’ (मधुपर्क वर्ष २५ अङ्क २, पूर्णाङ्क ४२१)

यसरी देश बोल्ने, जनताको पीडा बोल्ने, द्वन्द्व बोल्ने, सङ्घर्ष बोल्ने, खोक्रो संस्कृति र इतिहासको व्यङ्ग्य बोल्ने, फेरि जीवनका अवमूल्यनहरूमाथि प्रश्नचिहृन उठाउँदै, लक्ष्यहीन नारा र जुलुसहरूमाथि औँल्ाा ठड्याउँदै र हाम्रो निर्वस्त्रतामाथि समेत सचेत तुल्याउने कवि उपेन्द्र श्रेष्ठ अब हामीबीच रहेनन् । उनका साहित्यका अनकानेक गुणहरू हुँदाहुँदै पनि केही निजी बानी व्यवहारले गर्दा र राजनीतिक नाराको हिसाबले एकपल्ट साझा प्रकाशनको सञ्चालकको चुनावमा हार पनि खाए उनले । उनी साहित्यको विकासकै लागि केही गर्ने उद्ददेश्यले साझा प्रकाशनको सञ्चालक समितिको सदस्य बन्न चाहेका थिए त्यस बखत २०४७ सालको राजनीतिक परिवर्तनको लगत्तै । राजनीतिक हावा एकैतिर पर्लक्क पल्टेको देखेर नै मैले धेरै सम्झाएँँ उनलाई एक मित्र र पुराना कविको हिसाबले त्यसपल्टको चुनावमा नउठ्न तर उनले मानेनन् । यद्यपि नेपाली कविता र साहित्यका लागि अथक परिश्रमी उपेन्द्र श्रेष्ठ यस्ता सानातिना हारजीतका कुराहरूमा अल्झिएनन् र आफ्नोे अभियानमा लागिरहे…. लागिरहे….. । मकवानपुरको चिसापानीगढीमा वि. सं. १९९२ सालको माघ महिनामा जन्मी तनहुँको सुन्दर नगरी बन्दिपुरमा घरबार भएका र पछि कहिले काठमाडौँ, कहिले नारायणगढ बस्दै आएका कविको पहिलो कृति ‘निम्तो’ निबन्ध सङ्ग्रह २०१७ सालमा प्रकाशित भयोे । साझा प्रकाशनबाट ‘उपेन्द्र श्रेष्ठका कविताहरू” र अर्को एक कविता सङ्ग्रह ‘अस्वीकृत’ पनि प्रकाशनमा आएका छन् । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट ‘दासले मुक्ति मागेको छ’ भन्ने कवितासङ्ग्रह पनि प्रकाशित भएको छ । एकताका उनले ‘शिलान्यास’ नामक मासिक पत्रिका पनि निकालेका थिए र त्यसमा मेरो आफ्नै ‘मेरो बाबुको मृत्युमा’ र ‘छोरीलाई दाइजो’ नामका दुईटा कविता पनि छापिएका थिए । ‘शिलान्यास’ नामक पत्रिका निकाल्दा धेरै दुःख गरे उपेन्द्रले र वर्ष २ अङ्क २, २०२८ लाई उनले तत्कालीन नयाँ, पुराना लेखकहरूको हस्ताक्षरयुक्त अगि्रमपृष्ठ राखेर निकाले । त्यसमा धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवालीदेखि बालकृष्ण सम, ईश्वर बराल, हरिभक्त कटुवाल, पुण्यप्रसाद सुवेदी (आजका धैरैलाई पुण्यप्रसाद सुवेदीको नाम थाहा छैन होला) र नेपालभाषाका कवि दुर्गालालसम्मका हस्ताक्षरहरू छन् । उनले त्यस्तै दोस्रो अङ्क पनि निकाल्ने सुरसार गर्दै थिए तर बीचैमा उनको त्यो अभियान राकियो । त्यो हस्ताक्षरयुक्त शिलान्यास अङ्क निकै स्तुतियुक्त छ र महत्वपूर्ण पनि ।

अब सम्झना मात्र त बाँकी भो उपेन्द्रसँग कुरा गर्दै हिँड्दै नयाँसडकको फेरो मारेका दिनहरू गोरखापत्र संस्थानको ‘मधुपर्क’ मासिकको कार्यकक्षमा भेट हुँदाका बखतका गफहरू, नयाँसडकको रेस्टुरेन्ट र चिया पसलहरूमा चिया र मिठाइ खाँदाका दिनहरू, देशको अवस्था र विसङ्गतिहरूमाथि प्रहार गरी लेखिएका कविताहरूको आगो ओकल्दै उनले सुनाएका कविताका अंशहरू । कहिले अचानक फोन गर्थे र भन्थे- “ए चञ्चल ! पढ्यौ तिमीले मेरो फलानो कविता…. । फलानो पत्रिकामा फलानो अङ्कमा छापेको छ…. ” भनेर र त कहिले, “ए चञ्चल खुब मीठो कथा लेखेछौ भाइ तिमीले त । मैले पढेँ तिम्रो फलानो पत्रिकामा छापिएको फलानो कथा….” भनेर पनि खुसी प्रकट गर्नैको लागि पनि फोन गर्थे । अरूको पढ्ने र आफ्नो पनि अरूले पढुन् भन्ने चाहना राख्थे उनी । वास्तवमा मैले सबभन्दा बढी पढेका कविता भनेका उपेन्द्र श्रेष्ठकै हुन् पनि । उनको कविता जहाँ देखे पनि म पढिहाल्थेँ । किनकि सरल र सहज छन् उनका कुनै पनि कविता अरू कविका भन्दा । अब लाग्छ- उपेन्द्रको अवसानपछिका यति सरल र सहज तर देशको माटो बोल्ने कवि अर्को कोही होला या नहोला । उपेन्द्रले जुन एउटा स्थान ओगटेका छन् र बाटो देखाएका छन् त्यो अरूले ओगट्लान्, नओगट्लान् र उनको पथको अनुशरण गर्लान्, नगर्लान् पनि । तर उपेन्द्रजस्ता उद्यमी र साहित्यमा लोभलालच केही नभनी, नगरी अविछिन्न लागिरहने व्यक्तिहरूको खाँचो भने यस देशमा सधैँ रहिरहनेछ । हामीले उपेन्द्र श्रेष्ठको साहित्यिक देन र उनको साहित्यको इतिहासलाई निःस्वार्थ भएर भुलेनौँ भने पनि उनीमाथिको एउटा सच्चा श्रद्धाञ्जलि हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *