दक्षिण कोरियाको सोलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा हामीलाई स्वागत गर्न आइपुगेका कोरियालीहरूको स्वागत देखेर पुलकित बनेका हामी तिनैले बिदाइ गर्दा विमानस्थलमा भक्कानिएका थियौँ । अवरुद्ध गला र रसाएका आँखा जति लुकाउन खोज्दा पनि सकेका थिएनौँ । न चिन्नु, न जान्नु अर्काको देशको नागरिकप्रति पनि यत्ति माया र सद्भाव हुँदोरहेछ । २०६७ सालको साउन ७ गतेको कुरो हो हामी कोरिया पुगेको, साउन ११ गते त फर्किहाल्यौँ । चार दिनको बसाइँमै यति आत्मीय सम्बन्ध गाँसियो कसरी ? मान्छे चिन्न समय लाग्छ भन्नेहरूका लागि राम्रै जवाफ हुन सक्छ कोरियालीहरूको व्यवहार र हाम्रो अनुभूति । अर्काको देशमा हामी नेपालीले भोग्नुपर्ने पीडा र झञ्झट नभोगी कहाँ जान पाइन्थ्यो र ? विमानस्थलमा अध्यागमनमा झेल्नुपर्ने सास्ती र सोधपूछ त विकासशील राष्ट्रका लागि अनिवार्य जस्तै हुँदोरहेछ । आत्मीय व्यवहारको प्रसङ्गमा झमेलाको प्रसङ्ग, पीडा र दुःखको प्रसङ्ग पनि आइदिँदो रहेछ । कुरो यत्ति हो कति कुरा बिर्सन सक्नुपर्छ, कतिपय कुरा चाहेर पनि बिर्सन सकिँदो रहेनछ । सोच्न त हामीले राजदूतावासको प्रतिनिधित्व सोचेका थियौँ होला ! विदेशी भूमिमा पनि नेपाली अनुहार नै खोजिरहेका थियौँ । सोचेजस्तो कहाँ हुन्छ र ? त्यसैले यस्ता प्रसङ्ग बिर्सनु नै वेश अरूणा लामाको उही मर्मस्पर्शी गीत सम्झिदिन्छु यतिखेर म-
मान्छे सबै एउटै रगतका विचार किन बेग्लाबेग्लै…..
स्थानीय समयअनुसार साँझपख कोरिया ओर्लिएका हामीलाई स्वागत गर्न आई पुग्नेमध्ये कोरियाली नागरिक ली खुम युन (जसलाई कोरियामा नेपाली आमाको रूपमा पनि चिन्ने गरिन्छ ) र उहाँका श्रीमानलाई भने हामीले बिदाइको क्षणसम्म पनि बिर्सन सकेनौँ । नेपाली आमाको अभिभावकत्वमा धेरै नेपालीहरूले कोरियामा माया र सहयोग पाएको कुरा यतिखेर राजधानी काठमाडौँ बसेर सम्झिरहेछु ।
नेपाली कला सङ्गीतसँगै साहित्यलाई लिएर विश्व साहित्य यात्रामा हिँडेका । हाम्रो टोलीको नेतृत्व नेपाली कला साहित्य डट कम प्रतिष्ठानका अध्यक्ष एवं स्रष्टा मोमिलाले गर्नुभएको थियो । हङकङको यात्रा (साउन ४-७) टुङ्ग्याएर सोल पुगेको हाम्रो टोलीमा तीनथरी थियाँै – साहित्यकार, सङ्गीत साधक र साहित्यिक पत्रकार । विश्वमा नेपाली साहित्य, कला सङ्गीत पुर्याउने लक्ष्य लिएर एकसाथ यात्रा थालेका थियौँ हामीले । कोरियामा त हामी धेरै पहिले नै पुगिसकेका रहेछौँ । महाकवि देवकोटाका, समका कवितादेखि नारायण वाग्लेको ‘पल्पसा क्याफे’ सम्म अनुवाद गर्दै रहेछन् कोरियालीहरू । विश्व साहित्ययात्रा-२०१० को क्रममा वाचन गरिएका कविताहरूलाई कोरियाली भाषामा अनुवाद गरी प्रकाशित गर्न तम्तयार भएर बसिसकेका रहेछन् । महाकवि देवकोटाको ‘इन्द्रेणी’ कविता सुनाउनेदेखि ‘रेशम फिरिरि…..’गाउँदै सुकर्म साङ्गीतिक समूहमा रम्नेहरू पनि त्यत्तिकै रहेछन् । शिव, यती, जानकी, अन्नपूर्णा, झुमा, कोसी, राधा आदिजस्ता नेपाली नाम लिएर आफ्नो परिचय स्थापित गर्न लालयित थुपै्र कोरियाली स्रष्टा, समाजसेवी, चिकित्सक पायौं हामीले । साउन ९ गते आइतबार सोलस्थित छोगेसा टेम्पलमा ओयोजित ‘पोयट्री कन्सर्ट’ मा चार घण्टा भन्दा बढी समय नेपालीहरूको कार्यक्रममा एकचित्त भएर बस्नेहरू पनि भेटिए, सुप्रसिद्ध साङ्गीतिक समूह सुकर्मको साङ्गीतिक प्रस्तुतिमा रमाउने र झुम्नेहरू पनि भेटिए । नेपाली कलाबारे जिज्ञासा राख्ने पनि भेटिए । धेरै भेटिए कोरियामा नेपाल र नेपाली रुचाउनेहरू । अझ यस्ता कवि पनि भेटिए जो अबको जन्म नेपालमै होस् भन्ने चाहन्छन् ।
भौगोलिक सिमानाले छुट्टएिका भाषा -साहित्य-कला-सङ्गीतबाट जोडिएका कोरिया-नेपालका स्रष्टा-सिर्जना प्रेमीहरूले सँगै खायौँ, सँगै हिँड्यौँ, एक-अर्काको रचना सुन्यौँ, चित्त नबुझेका कुरा पनि गर्यौँ । सोल टावरमा अधिकांश देशको नाम अङ्कित भएर पनि नेपालको नाम नदेख्दा पीडा भएको गुनासो पोख्यौं हामीले । केही वर्षअघि नेपालमा दक्षिण कोरियन रुपियाँ वनको नामसमेत नदेख्दा चित्त दुखेको दुखेसो व्यक्त गरे उनीहरूले । सोलको बौद्ध गुम्बामा दिन बिताएर बुद्धको जन्मभूमि नेपालबाट आएका भनेर गर्व पनि गर्यौँ, सहर-बजार घुमेर हाँस खेल पनि गर्यौँ । कोरियन खाना खाएर रमायौं र नेपाली खाना स्वाद लिईलिई उनीहरूले खाएको देखेर हामी पनि रमायौँ । यसरी नै हामीले कोरियामा चार रात बितायौँ ।
नेपाली कला साहित्य डट कम प्रतिष्ठानको आयोजनामा स्रष्टा मोमिलाको अध्यक्षतामा सरुभक्त, उषा शेरचन, कृष्ण प्रसाईं, राजेश्वर कार्की, अरूणा बैद्य, महेन्द्र गुरुङ, समालोचक एवं आख्यानकार डा.गोविन्दराज भट्टराई, अनुवादक एवं बाल साहित्यकार महेश पौड्याल, यो पङ्क्तिकार लेखक अनि सुकर्मका डा. धु्रवेशचन्द्र रेग्मी, प्रमोद उपाध्याय र श्याम नेपालीसमेत गरी १३ जनाको टोली थियो हाम्रो । सोल सहर, सोल टावर, सङ्ग्रहालय, नेपाली राजदूतावास, रेस्टुराँ, विद्युतीय रेल जहाँ पनि हामीले सँगै यात्रा गर्यौँ । सहयोग र सद्भावका कुरा गर्यौँ, स्रष्टा र सिर्जनाको कुरा गर्यौँ, कला र सङ्गीतका बारेमा चर्चा गर्यौँ र औपचारिक कार्यक्रमहरूमा हामीसँगै नहुने कुरै आएन । नेपालबाट १३ वटा हिमशृङ्खला आउँदासमेत उचित सम्मान र स्वागत गर्न नपाएकोमा ‘नेपाल आमा’को आफ्नै दुखेसो थियो । नेपाली राजदूतावासले सोलमा आयोजना गरेको कार्यक्रममा समाजसेवी, नेपालप्रेमी डा. ली भन्दै हुनुहुन्थ्यो-नेपाल उच्च हिमशृङ्खला, संस्कृतिका दृष्टिले मात्र होइन साहित्य-कला-सङ्गीतका क्षेत्रमा पनि त्यत्तिकै सम्पन्न रहेछ । आउँदा दिनमा नेपाल र कोरिया मिलेर यस्ताखाले कार्यक्रम अझ भव्यरूपले गर्ने र त्यसमा स्रष्टाहरूको स्वागत र सम्मानमा कमी हुन नदिने दृढता व्यक्त गर्नुभयो उहाँले । छोगेसा टेम्पल, सोलमा आयोजित ‘पोयट्री कन्सर्ट’ मा दुई घण्टाको कार्यक्रम चार घण्टा नाघिसक्दा पनि एकाग्र भएर बसिरहेका थिए कोरियालीहरू । सुकर्मको सङ्गीतसँगै झुम्न र नाच्न मात्र रौसिएनन् उनीहरू रेशम फिरिरि….रेशम फिरिरि गाउँदै नाच्नसमेत थाले । कोरियाका प्रसिद्ध कवि रियु शिवले त भनी पनि हाल्नुभयो- ‘कोरियाली कविताको तुलनामा नेपाली कविता सशक्त छ ।’
कला-साहित्यलाई सँगै हिँडाएको अनुभव कोरियालीहरूमा पनि रहेछ । साहित्य कलासँगै सङ्गीत पनि सँगै हिँडेको अनुभव नभएको सुनाउँदै हुनुहुन्थ्यो स्रष्टा पार्क वान सुक । नेपाली कविता सुनेर मग्न कवि रियु शिवले त वाचन गरिएका कवितालाई अनुवाद गरेर प्रकाशमा ल्याउने आफ्नो योजना रहेको बताउनुभयो । नेपाली बालसाहित्य समाजले कास्कीको घान्द्रुकमा २०६६ मा आयोजना गरेको बालसाहित्य सम्मेलनमा आठ सदस्यीय कोरियाली स्रष्टाहरूको नेतृत्व गर्ने डा. यु जङ्ग यीलाई नेपालबाट फर्केपछि ‘नेपाली’ रोग लागेछ रे, अहिले उहाँ त्यही रोग कोरियामा अरूलाई सार्दै हुनुहुँदोरहेछ । कतिपय स्रष्टाहरू अब यस्ता कार्यक्रम दुवै देश मिलेर व्यापकरूपले गर्नुपर्ने कार्यक्रम अघि सार्दै थिए त कोही नेपाली साहित्य र कोरियाली साहित्य अनुवादको माध्यमबाट आदान-प्रदान गरी विस्तार गर्नुपर्ने विचार व्यक्त गर्दै थिए । वेभ पत्रिकाको प्रकाशन, नेपाली साहित्यलाई अङ्ग्रेजी भाषामा अनुवाद गर्ने र विश्व साहित्य यात्रामा अघि बढी नेपाली साहित्यलाई सङ्गीत र कलासँगै हिँडाएर विश्वमा फैलाउने उद्देश्य लिएको नेपाली कला साहित्य डटकम प्रतिष्ठानले अब तेस्रो अध्याय पनि थालेको छ । वेभ पत्रिकाको प्रकाशन, अनुवाद थालिसकेको प्रतिष्ठानले सन् २०१० देखि विश्व साहित्ययात्रा पनि थालेको छ । निजी क्षेत्रको यो संस्थाको प्रयासको प्रशंसा गर्नै पर्छ । हङकङमा होस् वा कोरियामा महोत्सवमा सहभागीहरूले प्रतिष्ठानको यात्राको प्रशंसा गरेका छन् । यसरी नेपाल र नेपाली, साहित्य र सङ्गीत, कला-संस्कृतिको प्रशंसामा शब्दहरू खर्चिदै थिए, समय बित्दै थियो । कोरियाको फराकिला सडक, दू्रत गतिमा अनुशासित तबरले गुड्ने असङ्ख्य सवारी साधन, मेट्रो, सिटी बस, सफा र आकर्षक बजार, तीब्र विकास, अनुशासित जीवन, नियम कानुनको पालना, कामप्रतिको लगाव आदि देख्दा कता-कता हामी पछि परेको अनुभव भयो कोरियाको भव्य विमानस्थल, हङकङको विशाल र सुविधासम्पन्न विमानस्थल हुँदै काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ आत्मीयता, हावापानी, रहनसहनमा त हामी अघि नै जस्तो अनुभूति भयो तर विमानस्थल प्रवेश गर्नासाथ देखिने साँघुरोपन, अव्यवस्था र सडकमा देखिने सवारी साधनको अव्यवस्थित लर्को र अनावश्यक बज्ने हर्न सुनेपछि सोच्न करै लाग्यो देश राम्रो भएर के गर्नु, हामी आफैँ राम्रो हुन नसकेपछि…विश्वले प्रशंसा गर्ने उच्च हिम शृङ्खला छन्, बुद्धको जन्मथलो छ, हिमालको चिसो, तराईको न्यानो र पहाडको पारिलो वातावरण पनि छ, मिलेर बस्ने खुबी पनि छ तर किन-किन देशबाहिर पाइला टेक्नासाथ हामी देशको अवस्था सम्झेर दुःखी बन्छाँै, देशको गति देखेर विरक्त हुन्छौं ?
नेपाल र नेपालीलाई अथाह माया गर्ने नेपाली आमा, कोरियामा बसेर पनि आफ्नो भाषा-साहित्य-कला-संस्कृतिप्रति मोह राख्ने केपी सिटौला, रघु त्रिपाठी, डा. देवीबहादुर बस्नेत, मोहन कार्की, डीबी थापा आदि अनि डा. यु जङ यी, डा. ली, रियु शिव, आदि जस्ता व्यक्तित्व सम्झिदा पनि आनन्द लाग्छ । यस्तै सद्भाव, सहयोग र सहयोगीहरूको सक्रियतामा नै विश्वसाहित्य यात्रा सफल हुन्छ, विस्तार हुन्छ, फैलिँदै जान्छ ।
आर.ए.को हङकङसम्मको आत्मीय उडान, आशियानाको हङकङदेखि कोरियासम्मको सुविधासम्पन्न यात्रामा अधिकांश समय समुद्र माथि नै उडिरहृयौं हामी । जाँदा सम्पन्न र विकसित देशको परिकल्पनामा मन पनि उडिरहेको थियो, र्फकदा आफ्नो देशमा यस्तै सम्पन्नता र विकास हेर्न कहिले पाउने हो भन्ने काल्पनिक उडानमा रम्दै आठौँ दिनको राति काठमाडौँ अवतरणपछि मात्र झ्ल्याँस भइयो विश्व साहित्य यात्रामा भर्खर बामे सर्न लागेका हामीलाई महाकवि देवकोटाले सन् १९५८ मै तासकन्द सम्मेलनमा सहभागी भएर बाटो देखाइदिई सक्नुभएको रहेछ । यात्रामा सुस्त भए पनि गन्तव्यसम्म पुग्ने लक्ष्यमा चुस्त भएर लाग्ने हो भने हामीले सोचेजस्तो हुन धेरै समय पर्खनु पर्ला र ? दक्षिण कोरियाले छोटो समयमै विकासमा मारेको फड्को हेर्ने हो भने हाम्रा पनि सुखद दिन धेरै टाढा छैन । यस पालिको यात्राबाट यस्तै आशा पलाएको छ, यस्तै इच्छा जगाएको छ नेपाली साहित्यलाई विश्वमा पुर्याउने लक्ष्य पछ्याउन यात्रा थालिएको छ र अब यसले निरन्तरता पाउने नै छ भन्ने विश्वास लिनु के अनुचित होला र ?
