“सायद अर्कोपल्ट सिमभञ्ज्याङ जान्नँ।”
“हिउँ नपरूञ्जेल मलाई पनि त्यस्तै लाग्थ्यो ।”
उसले मेरो गम्भीरतामा कटाक्ष प्रहार गर्यो । सहेँ निरूत्तर भएँ । सायद उसले मलाई नबुझी सतही उत्तर दिएको थियो । कारण खोज्नतर्फ पनि लागेन ऊ । सम्झ्यो होला- उसको विरक्ती एकै वर्षमा शून्य हुन्छ । यसको उदासीनता क्षणिक हुन्छ । यसको आक्रोस अन्त्य हुन्छ । मलाई जान्नेहरू यसै भन्छन् ।
मलाई बुझ्नेहरू थुप्रै छन् । मलाई बुझेर नबुझ्नेहरू असङ्ख्य छन् । मलाई बुझेर बुझ्नेहरूले पनि चुरो खोल्न भ्याएका छैनन् । कतिपटक सतही विश्लेषण गर्दा घटना विशेषले प्रभावित हुने मलाई उनीहरूले छाम्न सकेका हुँदैनन् । मलाई उभ्याउन मेरा अवयवका अतिरिक्त घटना-पृष्ठपोषण हुनुपर्छ, कसैकसैलाई थाहा छ । मेरा प्रशस्त आफन्तहरू छन् जो मलाई बुझ्दैनन् । कैयन पराइहरू छन् मलाई बुझ्छन्, जान्दैनन् । मेरो ‘म’ सँग कहिले आफैँ अपरिचित हुँदा म आफैँ चकित हुन्छु पनि ।
मलाई “राम्ररी” चिन्नेहरू छन् । मलाई राम्ररी जान्नेहरू छन् । मलाई राम्ररी बुझ्नेहरू छन् । मलाई असाध्यै विश्वास गर्नेहरू छन् । मलाई असाध्यै आदर/सम्मान गर्नेहरू छन् । मलाई नचिन्ने, नजान्ने, नबुझ्ने, विश्वास नगर्ने र आदर गर्ने तहमा हुँदा पनि आदर नगर्ने पनि थुप्रै छन् । अझ मेरो नामै नसुनेका, सुन्न नचाहने छन् । नाम सुन्न चाहने तर देख्न, भेट्न, बुझ्न नचाहने छन् । हेला, घृणा, अविश्वास र अपमान गर्ने प्रशस्तै छन् मेरा आसपासमा । अचम्म लाग्छ अघाउँजी सङ्गत गरिसकेका मेरो साथीले मलाई चिन्न सक्तैन, बुझ्न सक्तैन र जान्न सक्तैन । बाँकी अरू टाढाका कुरा । दिक्क लाग्छ- अहिलेसम्म मलाई एक जनाले पनि राम्ररी बुझेको छैन । खुसी पनि लाग्छ- कस्तो विचित्रता म मात्र एउटा मान्छे जसलाई कसैले बुझेको छैन ।
“हिऊँ नपरूञ्जेल तँ सिमभञ्ज्याङ जाँदैनस्”
त्यसले त प्याच्चै भनिदियो । मैले उसलाई बुझाउन चाहिनँ । जति बुझ्यो, ठीकै भो । बुझ्ने सबैको आफ्नै
तरिका हुन्छ, आफ्नै शैली हुन्छ । उसले बुझेको भन्दा बढ्ता बुझाउँदा उसले झन् नबुझ्न सक्छ । मप्रति अविश्वास गर्न सक्छ सक्छ । मैले ‘ऊ’ आफैंले बुझ्न नसकेको साविती दिएको पुष्टि हुन सक्छ । उसका अहम्मा चोट पर्न
सक्छ । उसको भावनामा मैले खोट देखाएको ठहर हुन सक्छ, त्यसैले मैले उसलाई बढ्ता बुझाउन चाहिनँ, जति उसले बुझेको छ ।
म कसैलाई पनि बढ्ता बुझाउँदिनँ । जति उसले बुझ्छ, बुझ्छ । जमाना खराब छ, एकथोक बुझाउन खोज्दा अर्कैथोक बुझिदिन सक्छ । मैले सिमभञ्ज्याङको डाँडामा आफू नउक्लने भनेपछि यसलाई मनकोविरक्ति भाव भन्नेहरू भए । क्षणिक आवेग ठान्नेहरू भए । बर्सेनि हिउँ खेल्न जाने मलाई अर्कोपटक जान्न भन्दा कसलेपत्याउने ? उनीहरूको विश्लेषण स्वाभाविक पनि छ ।
साँच्चिकै म जान्न सिमभञ्ज्याङ, हिउँ खेल्न ।
पत्याउने नपत्याउने वैयक्तिक कुराहरू भए । कारण खोतल्दा पनि पत्याऊन्, नपत्याऊन् । त्यो निजी कुराहरू भए तर म सिमभञ्ज्याङ हिउँ खेल्न जान्न । भन्नेहरूले सिमभञ्ज्याङलाई स्विटजरल्यान्ड पनि भने, देख्नु न सुन्नु । त्यो भन्दा राम्रो उत्कृष्ट भएको घोषणा गरे । मेरो अनुभूति भने यसपटक तिक्ततापूर्ण रहृयो । हरेकपटक पुग्ने ठाउँमा सायद म अब जान्नँ, निष्कर्षीय घोषणा मेरो ।
सुन्छु- सिमभञ्ज्याङ जीवन हो । यो मान्छेको प्रतीतिसँग गासिएको आस्था हो । दैनिन्दिन शिखर हो, जहाँबाट मान्छे ओरालो र्झन चाहँदैन ।
खै, कुन भावनाको बगरबाट बोलेका हुन् तिनीहरू ? बढो घमण्डी, अत्यन्त क्षुब्ध र असाध्यै महत्वाकाङ्क्षी एउटा प्राणी कहिल्यै ओरालो झर्ने सोचाइ राख्दैन । उकालो उक्लँदा उक्लँदै नअघाउने ? शिखर पुग्न खोज्ने, सिमभञ्ज्याङ, माछापुच्छे्र, सगरमाथा छन् सधैँ ती उकालो चढ्न चाहने एउटा अजीव प्राणी- मान्छे । उकालो चढ्नु राम्रो हो, ओरालो झर्नै नखोज्नु झन् राम्रो । संसारका मान्छेहरू सब उकालो चढ्न लालायित छन् । क्रियान्वित पनि छन् । सिमभञ्ज्याङमा पुगेपछि पनि धेरै मान्छे पाइलाहरू उकालोमा स्याँस्याँ गरी चढिरहेको देखेँ । स्वभावतः मान्छे फेदीमा कोही बस्न रुचाउँदैन । शिखरमा पुगेर अहा सबै मान्छेहरू उकालो चढिररहे ।
सिमभञ्ज्याङ पुगेर फर्किएका व्यापारीले व्यापारिक क्षेत्रमा टेवा पुग्ने महसुस गर्यो । सञ्चारकर्मीले समाचार लेखे । साहित्यकारले मीठो कविता लेख्यो । कथाको प्लट बनायो । मनोरञ्जन चाहनेले उत्कर्ष चुमे । वातावरण र सौन्दर्यप्रेमीले हर्ष प्रकट गरे । कसैले वृत्तचित्र बनाए । कसैले फिल्मसिटीको प्रस्ताव-धारणा बोकेर फर्किए ।
यसपटक मैले सिमभञ्ज्याङमा मान्छेहरू ओरालो झरिरहेको पो देखेँ । पटकपटक हिमपात भयो । शिखरभरि हिउँ जम्यो तर मान्छे उकालोमा ओरालो झरिरहृयो । मानवता काखी च्यापेर स्याँस्याँ काटिरहेको मान्छे सामूहिकताबाट एक्लो र्फकन्छ । मित्रता बोकेर मनोरञ्जन लिन पुगेको व्यक्ति अतिरञ्जन बोकेर आउँछ । आत्मीयता साट्न पुगेको मान्छे शत्रुता बोकेर आउँछ । विश्वासको डोरी कसिएको यात्रामा अविश्वासको त्यान्द्राहरू छरपस्टिन्छन् । दुई हजार पाँच सय मिटर अग्लाइमा पदचाप नापेर मात्र मान्छे शिखर चढ्न सक्तैन लाग्यो । आखिर मान्छेले ओरालो झरेरै देखायो ।
ऊ त्यहाँ प… र हेर त ? मान्छेहरू कस्तरी उकालो चढिरहेका छन् ।
साथीहरूले च्याप्पै कठालोमा समाए र उदाहरणार्थ प्रस्तुत गरे जमातलाई । अनि आदेश दिए- हिँड मान्छे भएपछि शिखर चढ्नैपर्छ ।
हिमाल चढ्नु ठूलो कुरा हो । शिखर पुग्नु सौभाग्यको कुरा हो । पाइतालाको डाम हिउँका ढिस्काहरूमा पुर्याउँदैमा मलाई हिमाल चढेको लागेन । उचाइ छोएको लागेन । शिखर चुमेको अनुभूत भएन । फेदीमा राखेको भावनाले उकाल्लिन पाएकै छैन, मनको सर्वोपरी मानवताले उचाइ चढ्न पाएकै छैन, सहअस्तित्व र समताभाव मौलाउन र उचत्व चुम्न पाएकै छैन । सधैँ सधैँ व्यवहारमा ओरालो झरिरहेका साथीहरू, तिमीहरू नै भन पाइतालाले मात्र सिमभञ्ज्याङ चढ्न सकिन्छ ? सिमभञ्ज्याङ चढ्न मन चाहिन्छ । हिउँजस्तै कञ्चन मन, कपासजस्तै सेताम्मे, मन नभई उचाइ चढ्न सकिन्न । हरेक दिन ओरालो झरिरहेकाले उकालो चढ्न गरेको आग्रह म कसरी पालना गरौँ ?
उक्लँदा उक्लँदै उकालोमा
उक्लेको बाटो नै ओर्लिएपछि
उक्लनेको पनि केही लाग्दो रहेनछ ।
उफ ! तुलसी दिवस नियति । बाटो उचाइमा छ । भावना र सोच व्यवहार ओर्लिएको छ । पाइतालाकै भरमा उचाइ मापन गरेको उद्घोष गरेर याथार्थमा ओर्लिरहेका देखिरहेछु आँखा अघिल्तिर तिनीले भनेजस्तै मान्छे भएपछि उक्लन पर्ने हो शिखरमा आदर्श वाक्य बोल्दैमा तिमी चुलीमा हुँदैनौ । देखिरहेछु । फेदीमा सर्वाङ्ग उभिएको मानवताको प्रतिबिम्ब हार खाएर तिमीले देखाएको जात । बाटोसँगै ओर्लिरहेको छ । तिमीसँग ‘भरपर्दो’ बहाना छ । यतिखेर- बाटो नै ओर्लिएपछि उक्लनेको पनि केही लाग्दो रहेन छ । स्खलित अभिव्यक्ति ।
तिमी बाटोमा कुद्ने बटुवा हैनौ, तिमी साझा बसमा हाँक्किरहेको यात्रु हैनौ, र खोल्साखाल्सीमा बाध्यतामा घोटिइरहेको नाविक मात्र हैनौ । जसले बाटो ओर्लियो भनेर आफूलाई ओरालोस् । तिमी मैदान, चालक र समुद्र हुनुपर्छ, त्यतिखेर आफैंले बनाएको आदर्शको बाटो ओरालो झर्दैन, चालित सवारी मोडिन र नाविकको बाध्यता देखिन्न । हो, सङ्कीर्णताको घेराभित्र जबर्जस्त ठेलमठेल गरेर पस्नु र निस्कन नसकेको बहानामा उकुसमुकुस प्रकट गर्नु तिम्रो चरित्र हैन, उकुसमुकुसभन्दा पर स्वच्छ अक्सिजनसहितको हावा हाम्रो प्रतीक्षामा बसिरहेको हुन्छ, खै सोचेका हामीले ?
‘सत्ताइस वर्षमा सबैभन्दा बढी हिउँ पर्यो । पहिलेभन्दा दोब्बर पर्यटक आए । स्विटजरल्यान्डकै परिकल्पनामा रमाए- प्रकृतिप्रेमीहरू ।’
थुइक्क ! के लेखिएछ समाचार पनि । जतिसुकै हिउँ परे पनि मनमा बादल लागेको छँदैछ, कुहिरो जस्तै ढाकेको छ । कपास जस्तै सेताम्मे हिउँ परेको मात्र लेखिएछ । हिउँ खेल्न आउने, निउँ खेलेर जीउ नासिँदा रक्ताम्मे पाखा भएको कसैको आँखाले देखेन क्यार ! दोब्बर पर्यटक, एकटकले हेरेँ- गोब्बर मान्छेहरू । स्विटजरल्यान्डको कल्पनामा मदरल्यान्ड बिर्सिने !
मलाई आफैंले लेखेको समाचार ध्वारध्वार्ती च्यात्न मन लाग्यो । टाउको गनेर समाचार लेख्नुपर्ने पेसाप्रति घीन लाग्यो । जसलाई मान्छे भनेर लेखेको एउटै फेला नपरेपछि मेरो बस्ती, जाति र बाध्यताप्रति झनक्क रिस उठ्यो । मानवताको समाचार लेख्ने मन थियो । धक फुकाएर संस्कृतिको कुरा गर्ने रहर थियो । विरोज (मृत्यु) भयो । हिउँमा जीउ नास्ने र बुद्धि मास्नेहरूसँग मलाई सोध्न मन छ- धरातलीय उचाइ जीवनचर्याको सर्वोपरी र भावनको चुली हो ?
मेरी आमाले घरबाट निस्कनुअधि भन्नुभएथ्यो- ‘बाबु हिउँ लाग्छ, नजा ।’
मानिनँ र गएँ । पछुताएँ पनि । नमज्जासँग लाग्यो हिउँ । हिउँ खेल्न आउनेभन्दा ज्यास्ता निऊ खोज्न आउनेहरू भेटिए । पिऊँ र मानसपटलमा विवेकलाई सिउँ भन्नेहरू बग्रेल्ती देखिए । मान्छेभन्दा बढी अमान्छेहरू पाइए । मदरल्यान्डभन्दा अदरल्यान्ड कल्पँदै रमाउने, फाइँफुटानीमा प्रभुत्व जमाउनेहरू भेटिए । उचाइ चढ्नेभन्दा निचाई गिर्नेहरू देखिए । वतन छोडेर पतन पहिल्याउनेहरू यसपटक सिमभञ्ज्याङको उकालोमा लम्पसार तेर्सिए ।
झीरघारीमा पीर पारी बस्नेहरू पनि छन् । डाँडाबासमा बास बस्न नपाउँदा चुनियाबास भयो । अघोरमा लालीगुराँस अघोरै फुल्यो, सुनाखरी पनि उस्तै थियो र अमान्छेहरू फूल चुँड्न र टिप्न अभ्यस्त रहे ।
म त लालीगुराँस भएछु
वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु ।
क्षेत्रप्रताप अधिकारीले लेखेजस्तो भएन । वनभरि फुलेको लालीगुराँसले मनमा प्रवेश गर्नै पाएन । यसपटक अघोरमा त लालीगुराँस पनि लुछियो । बलात्कृत भयो- आफ्नै बस्तीमा, आफ्नै पासमा । न वनभरि पुग्न पायो न मनभरि ।
सिमभञ्ज्याङ
तिम्रो छातीमा/यसपटक
ढकमक्क गुराँस नदेख्दा
म विक्षुब्ध भएको छु- मान्छेसित
जसले सिर्जनाको अपव्याख्या गर्दैछ ।
‘तिमी साँच्चिकै नखेल्ने हिउँ !’
मेरी प्रियाको प्रश्नमा जति अविश्वास छ, जति आक्रोश छ, जति असहमति छ । त्योभन्दा बढी सन्तुष्टि, खुसी प्रफुल्लता छ । हिउँ खेल्ने बहानामा निउँ खेल्ने जमातसँग तिनी राम्रै परिचित छिन् । अनाहकमा ज्यान गएको कथा तिनलाई थाहा छ । हिउँ लागेर जीउ नासिएको तिनी प्रष्ट बुझि्छन्, मनोरञ्जन चाहनेहरूको अतिरञ्जनबाट तिनी अनभिज्ञ पनि छैनन् । हिउँ खेलेर आएपछि झण्डै एक महिनासम्म म आलस्य मानसिकतामा अहोरात्र अलापिएपछि तिनी आजीत भएर हिमयात्राको नैरन्तर्य रोक्न विनम्रता प्रकट गरेकी थिइन् । हुन त हिमपात हुँदा तिनी घरमै बसेर पारिवारिक सुखानुभूति प्रदान गराउन निक्कै लागिपरेकी थिइन् । मलाई रोक्न निक्कै प्रयास पनि गरेकी थिइन् । मेरो हठसँग हार खाएपछि एउटा आग्रह गरिन्-
‘सके शिखर चुम्नू, नसके फेदी नगिनू’
मेरी प्रिया, मेरी आमा, मेरा आफन्तजन र साथीहरूको मप्रति सदिच्छा थियो- आममान्छे जस्तो हिमपातमा चिप्लेटी नखेल्नू, ओरालो नझर्नू ।
प्राणीमध्येको सर्वोत्कृष्ट भनिएको मान्छे । विवेक भएको उत्कृष्ट प्राणी । राम्रो गर्दछ, नराम्रो गर्दैन भन्ने छवि बनाएको मान्छे । आफ्नो चरित्र, परिचय र विवेक गुमाएको देखेपछि, मलाई मात्र छैन, मेरी प्रिया, आमा, आफन्ती र साथीहरूलाई मात्र हैन । सबैलाई लाग्छ- उकालो नाउँमा ओरालो झर्नु हुन्न । सिमभञ्ज्याङ डाँडालाई पनि लाग्यो होला- मान्छे रूप मात्रको रहेछ । बरु यसका पूर्खा अनुशासित छन् । विवेक छैन, कम्तीमा ओरालोमा त झर्दैन ।
अघोरभरि अल्घोरै फुलेका लालीगुराँस सिमभञ्ज्याङमा हिउँ परेपछि प्रताडित हुन्छ, बलात्कृत हुन्छ, कुरूप बन्छ । उसलाई पक्कै लाग्छ- मान्छे ! बरु तेरा पूर्खाहरूले हाम्रो संरक्षण गरेका थिए ।
सधैँ सभ्य, मर्यादित र सान्दर्भिक शब्दब्रम्हासँग परेड खेलिरहेका स्थानीय बासिन्दालाई/स्थानीय होटल व्यवसायीलाई आफूहरूमाथि कटाक्ष गरिएका अश्लील शब्दहरू पटक्क चित्त बुझेन । दुर्वाच्य र दुर्वचन सुन्न नसक्ने र शब्दब्रम्हामाथि सम्मान गर्न नसक्ने कथित मान्छेहरू भेटेपछि उनीहरूलाई पनि लाग्यो- अहो, मान्छे बिग्रेछ । अब नासिन मात्र बाँकी ।
टाढा जङ्गलबाट चराबचेराहरू मान्छेलाई टीठलाग्दो गरी हेरिरहेको हुन्छ । सुनाखरी र लालुपातेले शिर निहुर्याएर मान्छेलाई नदेखेझैं गरिरहेका हुन्छन् । रुखविरुवाले पनि चिन्दैन । पहाड खोँच र खोल्साहरू बोल्दैनन् हामीसित । यतिखेर मैले मान्छेको आधुनिक परिचय पाएँ ।
वास्तविक परिचय थाहा पाएँ । मान्छेको आधुनिक परिचय पाएँ । मलाई मेरो जातिप्रति खेद प्रकट गर्न मन लाग्यो । मलाई आफैंप्रति दुःख प्रकट गर्न मन लाग्यो । लज्जास्पद बाटो घुमेर फर्किएँ म/फर्कियौँ हामी । लाजलाग्दो महौलापछि म के भनौँ ? फेरि सिमभञ्ज्याङ जाने र ! लाजमर्नु परिचय बोकेर फेरि मान्छे आवरण घटौती गर्न दामन पुग्ने ? मानवता खल्तीभित्र लुकाएर पुख्र्यौलीपन देखाउन पाइताला मात्रले म सिमभञ्ज्याङ जान सक्तिनँ ।
मलाई माफ गर सिमभञ्ज्याङ ! सायद म यस्तो निच भावना बोकेर त्यस्तै निच हर्कत गर्न पाइतालामात्रले उकालो चढ्दिनँ । शब्दले मात्र उँचत्व मापन गर्न सकिन्न । भावनात्मक उँचत्व मापनको भगीरथ अभियानमा समाहित हुन सकियो भने शिष्टता बोकेर आउँला कुनै दिन । नत्र मान्छेप्रति अविश्वास हुने गरी म तिम्रो काखभरि खेल्न सक्तिनँ ।
हेटौँडा-९ मकवानपुर
