Skip to content


“गोर्खा आश्राङका रेसम रोकाय जमेलियाको मरुभूमिमा गधा जोतिरहेका छन् भने नवलपरासीका शोभाकान्त लामिछाने भेडा चराइरहेका छन् । धादिङका किशोरकुमार सुवेदी कार वास गरिरहेका छन् भने तेह्रथुमका तुलसी भट्टराई गाउँमा आफ्नो पिताको निधनको खबर पाएर पनि बिदा नपाएकोले काममै लागिरहेका छन् । स्याङ्जाका तिलबहादुर सुनार ५० दिराममा मान्छेको तौल जोख्ने मेसिन झोलामा बोकेर हिँडिरहेका छन् भने गोरखाका जुनबहादुर रानामगर दिनराम भुलेर करेसाबारीमा लसुन रोपिरहेका छन् ।”

यी केही उद्धरण हुन् लेखक तथा पत्रकार देवेन्द्र भट्टराईको हालै प्रकाशित ‘रेगिस्तान डायरी’ का । वर्षौदेखि विदेशमा पसिना बगाएर पनि आफू आउँदाको ऋण तिर्न नसकेर समय थप्दै बस्न बाध्य नेपालीहरूको कारुणिक कथाहरूको सङ्ग्रह बनेको छ पुस्तक । खाडी मुलुकमा पूर्णकालिक पत्रकार भएर पनि काम गर्दा देवेन्द्रले इजरायलदेखि इराकसम्म, लेबनानदेखि कुबेतसम्म ठूलो सपना बोकेर वैदेशिक रोजगारीमा पुगेका नेपालीहरूले भोगिरहेका कहालीलाग्दा पीडाहरूलाई जीवन्तरूपमा प्रस्तुत गरेका छन् । प्रत्यक्ष भेटघाट र स्थलगत अध्ययनको आधारमा तयार पारिएका ५० वटा निबन्ध पुस्तकमा सङ्ग्रहीत छन् । रिपोर्ताज शैली र सम्प्रेषणीय भाषाको कारण प्र्रत्येक निबन्ध सीधै विषयवस्तुमा प्रवेश भएका छन् । यही कारण निबन्धहरू आकर्षक र कौतुहलपूर्ण बनेका छन् ।

लेखक भट्टराईले ‘रेगिस्तान डायरी’ लाई समाज शास्त्रीय खोज अथवा कतारको जानकारी पुस्तक नमाने पनि पुस्तक खाडी क्षेत्रमा काम गर्न गएका नेपालीहरूको काम, कमाइ, शोषण, बाध्यता र पीडाहरूको जीवन्त अभिलेख बनेको छ । ‘कान्तिपुर’ को कतार संस्करण र बीबीसीको लागि जिम्मेवार पत्रकारको रूपमा गरिएको स्थलगत अध्ययन भएको कारण प्रस्तुत निबन्धहरूको प्रकाशन परिणाममुखी पनि भएको छ । श्रमका लागि खाडी पुगेका नेपालीहरूको समस्याप्रति सरकारको ध्यान आकृष्ट भएको छ, म्यानपावर कम्पनी र दलालहरूबाट सचेत गराएको छ र वैदेशिक रोजगारको सीमान्त पीडा सार्वजनिक भएको छ । म्यानपावर र ठगहरूको प्रलोभनको लोभमा ठूलो सपना बोकेर अधिकांश कामदार खाडीक्षेत्रमा पुगेका छन् र उता पुर्‍याइएपछि यता भनिएको कामभन्दा फरक काम र कम तलबमा शोषण गरिएका छन् । खाडी क्षेत्रका अधिकांश कामदार मरुभूमिको चरम तातो बालुवामा उँट, भेडाबाख्रा चराउने, स्याहार्ने, खन्ने, खेतमा काम गर्ने गर्दछन् । घरेलु कामदारको रूपमा पुगेका महिलाहरू पनि शारीरिक र मानसिक पीडा भोग्न बाध्य भएको कुरा देवेन्द्रले धेरै कुमारी आमाको उदाहरणबाट स्पष्ट पारेका छन् ।

कतारमा तीन लाखभन्दा बढी नेपालीहरू छन्, जसमध्ये एक सयभन्दा बढी सङ्घसंस्था रहेको, खैनी बिँडी बेचेको, नक्कली र रासलीलाको सीडी बिक्री गरेको, जाँड बनाउने मर्चा ल्याएको, केटी जिस्काएको, एकान्त प्रेम गरेको र विभिन्न पशुपंछी चोरीको अभियोगमा एक हजार जति नेपाली जेलमा रहेको जानकारी पनि पुस्तकमा दिएका छन् ।

‘रेगिस्तान डायरी’ ले रोजीरोटीका लागि विदेशी भूमिमा भोगिरहेका दर्दनाक व्यथाहरू मात्र प्रकाशमा ल्याएको छैन, गुल्मीका दुई कक्षा पढेका पदम पोखरेल बाजे ठूलो व्यापारी बन्न सकेको सफलता पनि उदाहरणीय छ । मरुभूमिमा हुने उँटको सौन्दर्य प्रतियोगिता, दौड, लाखौँपर्ने सिकारी बाजको व्यापार, टरवाइलेट क्लिनरको रूपमा प्रयोग गरिने पदार्थको मादक पदार्थको रूपमा प्रयोग, फिलिपिनो भाषा नजान्ने अनिश र नेपाली नजान्ने मानियाबीचको प्रेम र विवाह, गधीसँग करणी गर्ने सुडानीको यौनतृष्णाजस्ता अनेक प्रसङरगहरूले पुस्तक थप पठनीय बनेको छ । यसर्थ खाडी क्षेत्रमा काम गर्ने नेपालीहरूको यथार्थ बुझ्नको लागि रेगिस्तानको डायरी’ आधिकारिक अभिलेख भएको छ भन्दा फरक पर्ने छैन ।

पुस्तकः रेगिस्तान डायरी
लेखकः देवेन्द्र भटरटराई
प्रकाशकः रत्नपुस्तक भण्डार, काठमाडौँ
संस्करणः प्रथम, २०६७
पृष्ठः २०८
मूल्यः रु. २२५।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *