Skip to content


रातदिन कुटोकुम्लो गर्ने गाउँलेहरू
जति जोताए पनि मुस्काउने गाउँलेहरू
भोकभोकै बगेका पसिना सुकाउनेहरू
मन भरीको दुःख आफैभित्र लुकाउनेहरू

तर पनि भोलिको मिठो आशमा रमाएकाहरू
एक्कैछिन आनन्दले हातगोडा फिंजाएकाहरू
आज अलपत्र यत्र तत्र छरिएका छन्
कति त माटो मुनी त्यसै पुरिका छन् ।।

मास्न सक्नेले शुरुमै जड्गल मासे
पशु पंक्षी अनि वन्य जन्तु नाशे
अहिले हेर गाउँलेहरू मासिदै छन्
गाउँ गाउँ निसास्सिदै छन् ।।

अन्तरिक्षमा घुम्दै मार्ग खोज्नेहरू
मङ्गल ग्रहमा पनि पुग्न खोज्नेहरू
यहाँ मङ्गल ग्रह पुग्नुभन्दा कति गाह्रो छ
नवैवटा ग्रह चढनुभन्दा कति साह्रो छ

आफू जन्मेको गाउँ पुग्नलाई
आफू हुर्केको आँगन टेक्नलाई
भोकै भए पनि हातगोडा फिजाउनलाई
निष्फिक्री पसिनाले शरीर भिजाउनलाई ।।

निराशा छ गाउँलेसँग अब आशा छैन
मेलापातमा रमाउने पिरतीको भाषा छैन
पसिना छ गाउँलेसँग गाउँको खेत बाँझो छ
विस्तारित परिवार अब सास धान्न गाह्रो छ

तरुल भ्याकुर खोतलुँ भने आफ्नो गाउँ छैन
अलपत्र शहरको पेटीमा, भीख मागेको हैन
बोल्दै बोल्दैन गाउँले खाली मनभित्र रुन्छ
गाउँलेले बोले पनि अब कसले पो सुन्छ ।।

लस् एन्जेलस्

2 thoughts on “गाउँलेहरू”

  1. मार्मिक भावनाहरू पस्किनुभो।
    मार्मिक भावनाहरू पस्किनुभो। हामीले हाम्रो सच्चा धरातललाई कहिल्यै भुल्नुहुन्न; तपाईंले साह्रै मनग्य सन्देश दिनुभो।

  2. जनान्दोलन को सहि मूल्य नपाउदा
    जनान्दोलन को सहि मूल्य नपाउदा को पिडा साच्चै मिठो कविता …………..

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *