अनुः किशोर पहाडी

कथाकार परिचयः बब कन्सिडाइनको जन्म सन् १९०६ मा भएको थियो । उनको बसाई न्यूयोर्कको मानहट्टनमै भयो । ६९ वर्षको उमेरमा सन १९७५ मा निधन भएको बबले आफ्नो जीवनकालमा २५ वटा पुस्तकहरू लेखेका छन् । -अनुवादक

ईडिथ टेलरलाई आफूजस्तो सौभाग्यशाली स्त्री कोही छैन भन्ने कुरामा विश्वास थियो । कार्लसित उसको बिहे भएको तेईस वर्ष भइसकेको थियो । आफ्नो लोग्नेलाई देखेर अहिले पनि यदाकदा उसको मुटु ढुकढुक गर्न बन्द गथ्र्यो र मन्त्रमुग्ध भएर ऊ हेरिराख्थी । कार्ल पनि उसलाई ज्यादै प्रेम गथ्र्यो । अफिसको कामले कुनै अर्कै सहर जाँदा हरदिन उ ईडिथलाई चिठी लेख्थ्यो र कुनै न कुनै उपहार पनि पठाउँथ्यो ।

एकपटक कार्ललाई केही महिनाको लागि जापानको ओकिनावा जानुपर्यो । यस पटक ऊ आफ्नी श्रीमतीसँग लामो समयसम्मको लागि टाढा जाँदैथ्यो ।

ओकिनावाबाट उसलाई चिठी त आइरहृयो तर उपहार चाहिँ आएन । ईडिथले यसप्रति कुनै ध्यान दिइन् । उसलाई थाहा थियो कि कार्ल बर्षौंदेखि घर किन्ने सपना देखिरहेको हुँदा पैसा बचाइरहेको थियो ।

ईडिथलाई एक्लोपनाको त्यो महिना लामो हुँदै जानथाल्यो । अब त कार्ल आउँछ होला भन्ने आशा गर्थी, तर कार्लको चिठी आउँथ्यो कि अब केही हप्ता लाग्छ होला, अथवा कहिले अब केही महिना लाग्छ होला भन्ने आशय बोकेर ।

यसैप्रकारले एकवर्ष बित्यो । केही महिनादेखि कार्लको चिठी केही ढिलो ढिलो आउन थाल्यो । र उपहार त एउटा पनि आएन । उपहार नपठाएको त ईडिथ बुझ्दथी तर चिठी पनि नपठाएर हुलाकटिकटको पैसा बचाउनुचाहिँ उसलाई अनौठो लाग्दथ्यो ।

अनि केही हप्ताको सन्नाटापछि कार्लको चिठी आयो । उसले लेखेको थियो -‘प्रिय ईडिथ, तिमीलाई दुःखी नहुने गरी खोई कसरी भनुँ अब हामी पति पत्नी होइनौँ भनेर । …’

ईडिथ ड्याम्म सोफामा बसी र चिठीको बाँकी भाग पढ्न थाली । कार्लले मेक्सिकोको अदालतबाट पत्र व्यवहारद्वारा ईडिथसँग पारपाचुके गरेको थियो र आफ्नो उन्नाईस बीस वर्षकी जापानी नोकर्नी एइकोसित बिहे गरेको थियो । त्यतिबेला ईडिथ अठचालीस वर्षकी थिई ।

स्वभाविक थियो कि चिठी पढेपछि उसको मनमा लोग्नप्रति रिस र घीन भरिनसक्थ्यो मनमा । बदला लिनको लागि कुनै ठूलोभन्दा ठूलो पाइलो चाल्न पनि सकिन्थ्यो । यसल उसको नयाँ वैवाहिक जीवन पनि नष्ट हुन सक्थ्यो । तर ऊजस्ती स्वास्नीमान्छेका लागि त्योभन्दा बढी स्वभाविक त उसले आफ्नो लोग्नेलाई घृणा गर्न नै सकीन । वास्तवमा उसको मनमा लोग्नेप्रति घृणा पैदा नै भएन ।

अलि मनलाई शान्त पारेपछि उसले स्थितिलाई अलि बुझ्ने चेष्टा गरी । कार्ल, उसको एक्लोपना, त्यस जापानी केटीको अपनत्व भरिएको व्यवहार सबैको बारेमा सोच्न थाली । अनि उसलाई लाग्यो कि यस्तो स्थितिमा जे हुनुथियो भयो । स्वभाविक नै हो नि ! कति असल कार्ल कि पारपाचुके गरेर मात्र त्यस केटीसँग बिहे गर्यो । चाहेको भए त ऊ स्थितिको गलत फाइदा पनि त लिन सक्थ्यो । आखिर त्यो त कम उमेरकी, नोकर्नी केटी न थिई । अहँ, कार्ल खराब मान्छे होइन । ….. तर पनि कार्लले आफूसँग प्रेम गर्न बन्द गरिदियो भन्ने कुरा चाहिँ ईडिथको लागि विश्वास गर्नै गाह्रो भयो । कसरी बिर्सन सक्छ उसले ? असम्भव छ यो कुरा । … र मनमनै भनी कार्ल एक दिन अवश्य र्फकनेछ ।

यही विश्वासलाई लिएर ईडिथ आफ्नो जीवनलाई फेरि केन्द्रित गर्नतिर लागी । उसले कार्ललाई लेखी कि मलाई चिठी पठाउन नछोड र आफ्नो र आफ्नी नयाँ श्रीमतीको सन्चोविसन्चो लेख्दै रहनू । कार्लले उसलाई चिठी लेख्दै नै रहृयो । एक चिठीमा उसले लेख्यो कि एइको बच्चा पाउन लागेकी छे । अर्को चिठीमा लेख्यो कि हाम्रो छोरी भएको छ र उसको नाम मारिया राख्यौं । … दुई वर्षपछि एक अर्को छोरीको जन्म भयो, जसको नाम उनीहरूले हेलेन राखे । ईडिथले दुबै बच्चीहरुलाई उपहार पठाई । पत्र व्यवहार जारी नै रहृयो । कार्लले उसलाई लेख्दै पठाइरहृयो हेलेनको दाँत आउन थाल्यो, एइकोको अङ्ग्रेजी सुध्रदै छ, मेरो स्वास्थ्य ठीक छैन र तौल घट्दै जाँदैछ … इत्यादि ।

र अनि एउटा भयानक खबर आयो । कार्ललाई क्यान्सर भएको थियो र अवस्था खराब हुँदै गइरहेन्थ्यो । आफ्नो अन्तिम पत्रमा उसले डर प्रकट गरेको थियो – आफ्नो लागि होइन, बरु स्वास्नी एइको र दुई छोरीहरुको लागि । उसले छोरीहरुलाई अमेरिका पठाएर पढाउनको लागि पैसा जोरेको थियो तर अब त्यो पैसा त उसको उपचारमै खर्च हुँदै जाँदैथ्यो । बच्चीहरुको के हुन्छ अब ?

अब ईडिथले कार्ललाई अन्तिम उपहार भनेर एक चीज दिउँ भन्ने सोची मनको शान्ति । उसले कार्ललाई लेखी पठाई -म मारिया र हेलेनलाई आफूसँग राखेर उनीहरूको पालनपोषण गर्न तयार छु, यदि एइकोले स्वीकृति दिइन भने ।

कार्लको मृत्यु भएको धेरै महिना भइसकेपछि पनि एइको आफ्ना छोरीहरूलाई ईडिथकहाँ पठाउने साहस गर्न सकेकी थिइन । बच्चीहरू बाहेक उसको को नै थियो र ? तर फेरि उसलाई यो पनि थाहा थियो ऊसँग बसेमा बच्चीहरूले अभाव र गरिबीको जिन्दगी जिउनुपर्नेछ । आखिर मनलाई कडा पारेर उसले तिनीहरूलाई ‘प्यारी ईडिथ ठूलीआमा’ कहाँ पठाउने फैसला गरी ।

ईडिथलाई चवन्न वर्षको उमेरमा यसरी पाँच र तीन वर्षका ती केटीहरूको आमा बन्नु कति गाह्रो हुनेछ भन्ने थाहा थियो तर मारिया र हेलेनले उसलाई धेरै छिटो आमाको रूपमा स्वीकार गरे । छिटै नै तिनीहरूले अङ्ग्रेजी सिके । नयाँ घर मन पर्यो उनीहरूलाई । केही समयपछि नै उनीहरूको कमजोर अनुहारमा स्वास्थ्यको चमक आउन सुरू भयो । ईडिथको मनमा पनि उनीहरूप्रति मोह जागेर आएको थियो । ६ वर्षपछि अब ऊ कार्यालयबाट छिटै घर र्फकन थालेकी थिई । घरमा उसलाई खुशीको वातावरण देखा पर्न थालेको थियो ।

तर जब एइकोको चिठी आउथ्यो, ईडिथ उदास हुन्थी । एइकोले त्यो चिठीमा आफ्ना छोरीहरूको बारेमा केही सोधेकी हुन्थी नराम्रो अङ्ग्रेजी हिज्जेमा लेखिएको त्यो पत्र पढ्दा ईडिथले एइकोको एक्लोपना र दुःखलाई महसूस गर्दथी । त्यस्तो एक्लोपना र दुःखसँग ऊ आफै पनि त परिचित थिई नि ! र ऊ बिचार गर्न थाली कि कतै एइकोलाई नै यतै बोलाउने हो कि ! यसो भयो भने ऊ आफ्नै छोरीहरूसँग रहनसक्दथी । …. आखिर एक दिन ईडिथले त्यस्तै गर्ने फैसला पनि गरी ।

एइको जापानी नागरिक थिई । उसले अमेरिकामै बस्ने गरी आउन त्यति सजिलो थिएन । हरेक वर्ष एक सीमित सङ्ख्यालाई मात्र अमेरिकामा बस्न दिइन्थ्यो । र स्वीकृती पाएका जापानीहरुको लश्कर नै पनि धेरै लामो थियो । त्यसैकारण एइकोको पालो आउन धेरै वर्ष कुर्नुपथ्र्यो । तब ईडिथले यस विषयमा मलाई लेखी पठाई । मैले आफ्नो समाचारपत्रमा यो कुरा उठाएँ । त्यसपछि अरू कति पाठकहरूले पनि यसबारे आवाज उठाए । आखिर एइकोले अनुमति पाई र अमेरिकातिर प्रस्थान गरी ।

एइकोलाई विमानस्थलमा लिन जाँदा ईडिथको मनमा आफ्नो लोग्ने खोस्ने त्यो आईमाईलाई देखेर कतै घृणा त जाग्दैन भन्ने डर आयो । ….सबै यात्रीहरू हवाइजहाजबाट ओर्लेपछि एक पुड्कीपुड्की, दुब्ली, अलिअलि डराएकी झैँ एक केटी ओर्ली । त्यही एइको हो जस्तोलाग्यो ईडिथलाई । एउटी बच्ची झैँ लाग्यो उसलाई । ऊ एक कुनामा ठिङ्ग उभिई । ईडिथले त्यस केटीको अनुहारमा छाएको डर देखेपछि उसलाई आफ्नो डर त तुच्छ प्रतीत भयो । उसले एइकोको नामै लिएर बोलाई । सुन्नासाथ एइको दगुर्दै आई र उसको अङ्गालोमा हराई । दुबैआईमाईहरू एक छिन एकअर्कालाई च्याप्प अँगाल्दै टाँसिईराखे ।

त्यसरी टाँसिरहेको बेला मनमनै ईडिथले भनिरहेकी थिई -‘म कार्ल फर्केर आवोस् भनी प्रार्थना गर्दथेँ । ऊ आएछ फर्केर आफ्नो दुई छोरी र यस सुशील युवतीको रूपमा, जसलाई प्रेम गर्दथ्यो ऊ । हे भगवान ! म पनि उसलाई प्रेम गर्न सकुँ मेरो सहायता गर्नु भगवान !’

र ईडिथ साँच्चिकै ऊसित प्रेम गर्न लागी, जसरी कि उसका छोरीहरूसँग गर्दथी । समय बितदै गयो । ईडिथ, एइको र दुवै बच्चीहरू एक परिवारको रुपमा रहन थाले । धेरै वर्षहरू बिते । एकपटक ईडिथले मलाई लेखी -‘यद्यपि भगवानले त्यस व्यक्तिलाई मबाट खोसिलग्नुभो, जसलाई म औधी माया गर्दथेँ तर त्यसको बदलामा उहाँले मलाई तीन अरू प्रियजनहरू दिनुभयो । म भगवानप्रति कृतज्ञ छु ।”

शनिबार, गोरखापत्र
आश्विन ८, २०६७

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *