‘अन्त्यपछि’ बाट थालिएको यात्रा ‘अप्रिय’ सम्म आइसक्दा पनि उत्तिकै ‘प्रिय’ उपन्यासकारको पहिचान बनाउनुभएको छ उहाँले । २४ वर्षको उमेरमा २४ सालमा पहिलो उपन्यास छापिएपछि ६७ वर्षको उमेरमा ६७ सालमा उहाँको २५ औँ उपन्यास प्रकाशित भइसकेको छ । चारवटा संयुक्त उपन्याससमेत २५ वटा उपन्यास लेख्न सक्ने, त्यो पनि एकपछि अर्को उत्कृष्ट उपन्यास । कथा, संस्मरण, नाटक, गीत कविता, साहित्यिक पत्रकारिता, सम्पादन, अभिनय, गायन आदि व्यक्तित्वको पाटो त बेग्लै भयो । विशिष्ट समालोचक कृष्णचन्द सिंह प्रधानले फूलको आतङ्कमा लेख्नु पनि भएको छ – “उपन्यासलाई यो धुरीमा पुर्याउने आजका समसामयिक उपन्यासकारको शृङ्खलामा ध्रुवचन्द्रको स्थान उच्च रहेको मलाई लाग्दछ ।”
धेरैलाई यस्तै लागेको हुनुपर्छ । ‘दुविधा’ उपन्यासमा अर्का वरिष्ठ समालोचक एवं आख्यानकार मोहनराज शर्मा लेख्नुहुन्छ -“सफल, सार्थक र प्रभावशाली उपन्यास सर्जकका रूपमा डा. गौतमको जति प्रशंसा गरे पनि कमै हुन्छ ।”
प्रशंसा अचेल कृति र कृतिकारको हुन छाडेको छ । साधना र निरन्तरता ओझल पर्न थालेका छन् । फुर्काएर दौडाउन खोज्ने प्रतिस्पर्धा चलिरहेको छ । लेखेर इतिहास बनाएका, पाठक कमाएका र नाम चम्काएकाहरूको चर्चा अचेल त्यति हुँदैन । ध्रुवचन्द्र गौतमको उपन्यास लेखनको यात्रामा डापी, अलिखित, कट्टेल सरको चोटपटक, तथा कथित, अग्निदत्त, अग्निदत्त, अप्रिय आदि सबै अलग छन्, भिन्न छन्, फरक छन् र स्तरीय छन् । स्तरीय लेखनलाई निरन्तरता दिन सक्नु नै ठूलो कुरो हो, ध्रुवचन्द्र गौतमले यो प्राप्त गर्नुभएको छ ।
डा. लक्ष्मणप्रसाद गौतमको लेखन अघि सार्दा पनि उपन्यासकार डा. ध्रुवचन्द्र गौतमको बारे बुझ्न सकिन्छ -“आधुनिक नेपाली औपन्यासिक परम्परामा ध्रुवचन्द्र गौतमका उपन्यासहरू अत्यन्त नवीन वस्तुविधान र शिल्पविधानमा आधारित हुनु नै उनको उपन्यासकारिताको प्रथम परिचय हो । यिनका उपन्यासहरूमा पाइने दर्शन सामाजिक र जैविक/मनोवैज्ञानिक सङ्गतिहीनतामा आधारित देखिन्छ । त्यसकारण जीवनका भुक्त र अनुभूत सन्दर्भहरूको चित्रण हुनु उनको औपन्यासिक कृतिहरूमा पाइने निजत्व पनि हो । अनौपचारिक शैलीको शिल्प विधानका साथै कथ्यलाई सोझै नभनेर विम्व, प्रतीक, मिथक र स्वैरकल्पना र श्याम व्यङ्ग्य आदिका माध्यमबाट अभिव्यक्त गर्नु उपन्यासकार ध्रुवचन्द्र गौतमको निजी प्रवृत्ति हो । ”
एकपटक सोधियो उहाँलाई -“डाक्टर साब उपन्यास लेखनमै बढी मोह किन ?”
“मेरो मोह त नाटक, कथामा पनि छ । नाटक मञ्चनविना प्रभावकारी हुँदैन, नाटक लेख्दै मञ्चनको संयोजन गर्नु मजस्तो अव्यवस्थित मान्छेका लागि असम्भवै हो । कथा निरन्तर लेखिरहेछु एउटा एउटा प्रकाशित कथालाई सङ्कलन गर्दै सङ्ग्रहको रूप दिँदा सङ्ख्यात्मक रूपले कम देखिएको मात्र हो कथा लेखनमा म पछि परेको छैन । एउटा मान्छेले यतिका लेख्नु पनि त ठीकै हो ।”
कथाकार, निबन्धकार, नाटककार डा. ध्रुवचन्द्र गौतमका, तिनै विधामा १२ वटा कृति प्रकाशित भइसके । मूलतः उपन्यासकारको रूपमा ख्याति कमाउनुभएका डा. ध्रुवचन्द्र गौतमले उपन्यासकारकै रूपमा मदन पुरस्कार, साझा पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, गंकी बसुन्धरा पुरस्कार, सरस्वती सम्मान आदि पाइसक्नुभएको छ । साहित्यिक स्तम्भ लेखकका रूपमा पे्रस काउन्सिल साहित्यिक स्तम्भ लेखन पुरस्कार, प्रतिभा पुरस्कार, गरिमा कथा पुरस्कार, मधुपर्क सम्मान, वीरगञ्ज उपमहानगरपालिका पुरस्कार, अभिनन्दन, सम्मान, पुरस्कार पाउने गौतमले बढी सम्मान त बढी पाठक पाएर पाउनुभएको छ ।
अन्त्यपछि (२०२४), बालुवामाथि (२०२८), डापी (२०३३) कट्टेलसरको चोटपटक (२०३७) अलिखित (मदन पुरस्कारप्राप्त) (२०४०), निमित्त नायक (२०४३), स्व. हीरादेवीको खोज (नारायणी वाङ्मय पुरस्कारप्राप्त) २०४५, एक सहरमा एक कोठा (२०४६) उपसंहार अर्थात् चौथो अन्त्य (२०४८), दुविधा (२०५२), अग्निदत्त ंअग्निदत्त (२०५३), फूलको आतङ्क (२०५५), बाढी (२०५६) सहस्राब्दीको अन्तिम पे्रमकथा (२०५७), मौन (२०५९), तथाकथित (साझा पुरस्कारप्राप्त) २०५९, भीमसेन ४ को खोजी (२०६०), जेलिएको (२०६२), धुर्मी (२०६२) एक असफल आख्यानको आरम्भ (२०६५), अप्रिय (२०६७) सँगै सहलेखनमा आकाश विभाजित छ, अवतार विघटन, देहमुक्त र ज्यागाजस्ता उपन्यास प्रकाशित भइसकेका छन् उहाँका ।
वि.सं. २००० सालको पुस २ गते वीरगञ्जमा जन्मिनु भएका ध्रुवचन्द्र गौतम लेख्नकै लागि जन्मिएजस्तो लाग्छ । एकपटकको भेटमा उहाँले भन्नु पनि भएको थियो -“लेखन मेरा लागि जीवन बाँच्ने एउटा शैली हो । एउटा कुरा स्पष्ट भन्छु सास फेर्नु र साहित्य लेखन दुवै मेरा लागि उत्तिकै अनिवार्य, उत्तिकै स्वभाविक छन् । त्यसकारण साहित्य त मविना पनि हुनसक्छ, तर म साहित्यविना हुन सक्तिन ।”
पछिल्लो उपन्यास ‘अप्रिय’ प्रकाशनमा पनि त्यत्तिकै सशक्त रूपले आफ्नो उपस्थिति जनाउने उपन्यासकार गौतमले आफ्नो साहित्यिक मूल्याङ्कन ठीकै भएपनि गहिराइको मूल्याङ्कन चाहिँ नभए सरहनै ठान्नु भएको छ । चुनावी प्रचार शैलीमा कृतिको प्रचार गरेर बिकाउने साहित्य र चर्चा परिचर्चा पटक्कै नगरिने साहित्यको भेदभावले अचेल डा. ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाहरूको बारेमा कमै मात्र चर्चा हुनथालेको छ । चर्चा परिचर्चा, प्रचार हो हल्ला आदिमा भन्दा लेखनमा निमग्न उहाँलाई लेखनमा जति आनन्द लाग्छ, त्यति आनन्द बाहिरी वातावरणमा पाउनु हुन्न । लेखकको मूल्याङ्कन चर्चा कृतिको आधारमा गरिनुपर्ने धारणा राख्ने उहाँको मुख्य पिरलो भनेको आफूले लेखेजति कृति छाप्न सकिन्छ सकिँदैन त्यसैमा रहेको छ ।
“लेखेजति प्रकाशित होस् भन्ने इच्छा लेखकलाई हुन्छ र ममा पनि छ तर लेखेजति कृति प्रकाशकले छाप्नसकेका छैनन् । अब त मलाई मैले सोचेजति लेख्न पाउँछु कि पाउँदिन भन्ने डर र चिन्ता लाग्न थालेको छ, उमेरले पनि यस्तो सोचाइ आउँदो रहेछ ।”
उहाँले सोचेजस्तै लेख्न पाउनुहोस् र पाठककहाँ पुगोस् । उहाँले लेखेजस्तै बृहदरूपमा उहाँको बारेमा, उहाँका कृतिका बारेमा, योगदानका बारेमा पनि लेखिनुपर्छ । पाठकका लागि लेख्ने डा. ध्रुवचन्द्र गौतमजस्ता स्रष्टाका बारेमा चर्चा-परिचर्चा गरिनुपर्छ । लेखेर नथाक्ने र निरन्तर लेखिरहने सक्रिय र सशक्त स्रष्टा डा. ध्रुवचन्द्र गौतम नेपाली भाषा साहित्यले पाएको एउटा उल्लेख्य प्राप्ति हो । लेखन जीवन नै एउटा बृहत उपन्यासजस्तो बनाइसक्नु भएका गौतमका विविधखाले पात्र जस्तै उहाँको जीवन पनि विविधखाले योगदानले अघि बढेको छ, निरन्तर, अविराम गतिमा ।
असोज १६, २०६७
शनिबार, गोरखापत्र
