Skip to content


आफ्नै भाषा, संस्कृति, चालचलन, रीतिरिवाज, धर्म र संस्कार भएको थारू जातिका आफ्नै विशेष किसिमको मौलिकता र पहिचान रहेको छ । शिकार गर्ने, नाचगान गर्ने तथा खेती पशुपालनमा विशेषगरी आवद्ध यी जातिको विशेष किसिमको आफ्नै अस्तित्व तथा मौलिकता रहेको छ । मनोरञ्जनका लागि विशेष किसिमले आफ्नै गाउँघर समाजमा नाचकोर गर्ने र मनोरञ्जन लिने प्रचलन रहेको छ । यस जातिका नाचको बारेमा यहाँ चर्चा गरिएको छ ।

झुम्रा नाच

थारू जातिमा प्रचलित यो नाच खासगरी दसैँ तिहारको बेला नाचिन्छ तर आवश्यकता अनुसार सभा समारोह र विशेष कार्यक्रममा यो नाच नाच्ने पनि गरिन्छ । यस नाचमा एकजना मादले, दुईजना नाच्ने महिला र एकजना नक्कलकर्ता (जोकर) रहेको हुन्छ । यो नाच खासगरी कैलाली, कञ्चनपुर, वर्दिया र देउखुरीमा वढी प्रचलनमा छ । यो नाचलाई स्थानको भिन्नता अनुसार झुमरी, झुमरा, झुमर, धुमर र धुमरा आदिले चिनिन्छ । यो नाचमा दुई तर्फबाट आलोपालो गरी गीत गाइन्छ । महिला महिलाको बीचमा र पुरूष पुरूषको बीचमा पनि यो नाच नाचिने प्रचलन छ ।

सखिया नाच

खासगरी पश्चिमा थारूहरूमा सबभन्दा वढी प्रचलनमा आएको नाच हो, ‘सखिया’ । यो नाच दसैँ र तिहारमा मात्रै नाच्ने गरे पनि आवश्यक परेको बेला सभा समारोह र उत्सवमा मनोरञ्जनको लागि जतिबेला पनि नाचिन्छ । यो नाचको थालनी कृष्णजन्माष्टमीको दिनदेखि हुन्छ । यो नाचमा पूर्णतया कृष्ण लीला सम्बन्धी गीत गाइने गरिन्छ । केटा र केटी दुवै मिली गरिने यस नाचमा दुष्टात्माको भवितव्यबाट बचाउनका लागि एकजना गुरूवा (मन्त्र जान्ने व्यक्ति) को व्यवस्था समेत गरिएको हुन्छ । गीत सिकाउने एकजना मुख्य गुरू जसलाई थारू भाषामा ‘मोहि्रन्या’ भनिन्छ, को व्यवस्था गरिएको हुन्छ । गुरूले उठाएको गीतलाई अर्को पंक्तिमा सिकाउने एक जना ‘पछगोहिया’ अर्थात् सहायक गुरूको व्यवस्था पनि गरिएको हुन्छ । मादल बजाउने मध्ये एकजनालाई ‘अगुवा मदरिया’ र एकजना ‘पछुवा मदरिया’ को व्यवस्था समेत गरिएको हुन्छ । यो नाचको अभ्यास खासगरी साँझको बेला खाना खाइसकेपछि गरिन्छ । शुरूको दिन फर्सीको पात हातमा लिएर नाचिन्छ भने दोश्रो दिनदेखि करिब एक हप्तादेखि पन्ध्रदिनसम्म सनपातको फुर्का बनाई नाचिन्छ । त्यसपछि साना खाले मजैरा (झाल) बजाउँदै नाचिन्छ । यो नाच एक साल नाचेपछि कम्तीमा तीन वर्षसम्म लगातार नाच्नु पर्ने हुन्छ ।

लठ्ठहवा नाच

दुबै हातमा एक वा दुईटा लठ्ठी लिएर मादलको तालमा नाचिने नाचलाई लठ्ठहवा नाच भनिन्छ । यो नाच थारू समुदायको एकदम प्रचलित नाच हो । दुई वा चारजना मादले तथा जोडादार सङ्ख्यामा नाच्नेहरू यसमा रहने गर्दछन् । पहिले पहिले केटाहरूले मात्र नाच्दै आएको यस नाच आजभोली अविवाहित केटीहरू पनि नाच्न थालेका छन् । यस नाचमा गीत हुँदैन, मात्र मादलको तालमा हातमा लठ्ठी लिएर आकर्षक ढंगले नाचिन्छ । यो नाच पनि दसैँको बेला नाच्ने गरिए तापनि विशेष उत्सव समारोहमा पनि अघिपछि नाचिन्छ । यस नाचका लागि नाच मण्डलीको एक जना अगुवा र एक जना पछुवा रहने गर्दछन् । साथै नाच टोलीका सदस्यहरूलाई नराम्रो हुनबाट जोगाउनका लागि एकजना गुरूवा (मन्त्र जान्ने व्यक्ति) को व्यवस्था गरिएको हुन्छ । यो नाच पनि सखिया जस्तै सुरू गरेपछि कम्तीमा तीन साल नाच्नुपर्ने हुन्छ ।

मुङ्ग्रहवा नाच

दसैँ आउनु भन्दा करिब एक महिना अघिदेखि अभ्यास गर्दै नाचिने नाच र हातमा काठको मुङ्ग्रा (लठ्ठी) लिएर नाचिने हुनाले यसलाई मुङ्ग्रहवा नाच भनिएको हो । यस नाचमा दुई देखि माथि जोडा संख्यामा मादलेहरू रहने गर्दछन् । त्यस्तै हातमा मुङ्ग्रा लिई नाच्नेहरू पनि जोडा संख्यामा दुई भन्दा माथि रहने गर्दछन् । मादले र नाच्नेहरूको अधिकतम संख्या तोकिएको हुँदैन । तर जोडा सङ्ख्यामा हुनुपर्छ । मादले र नाच्नेहरू पिठ्यूँमा मयुरको प्वाँख, जिउमा रंगी विरंगी कमिज, दुवै काखीमा रातो सप्की, टाउकोमा फुन्ना लगाइएको टोपी, नाडीमा कन्ठी, घाँटीमा गर्‍याला, कम्मरमा धोती, कम्मरमा पेटीमा उनेको घुँघरू र गहनाहरू लगाएका हुन्छन् ।

यस नाचलाई व्यवस्थित र मर्यादित बनाउनका लागि एक जना नाच टोली प्रमुख र एक जना सहायक हुने गर्दछन् । उनीहरू नाचटोली सदस्यहरूको रेखदेख गर्ने गर्दछन् । नाच टिमलाई दुष्टात्माबाट बचाउनका लागि कम्तिमा एकजना गुरूवाको व्यवस्था समेत गरिएको हुन्छ । गुरूवाले नाच्ने टिमलाई मन्त्रले साजेको ल्वाङ, जल खान दिने गर्दछन् । यो नाच पनि सखिया जस्तै सुरू गरेपछि कम्तिमा तीन साल नाच्नु पर्ने हुन्छ तर विजोड वर्षमा यो नाचिन्छ । नाच सुरू गर्नुभन्दा पहिले गुरूवाले दुष्टात्मा तथा देवी देवतालाई यति वर्ष नाच्ने भनेर वचनवद्धता गरेको हुन्छ । वचनवद्धता अनुसार नाच्न नसकेमा भूत पिसाच र दैवी लाग्दछ भन्ने मान्यता रही आएको छ ।

हुर्दङ्ग्वा नाच

एकदम जोशिलो भएर गीत र नृत्यको तालमा मनोरञ्जनार्थ नाचिने एक विशेष थारू लोकनृत्यलाई हुर्दङ्ग्वा नाच भनिन्छ । यस नाचमा एकजना नाच्ने, एक जना मादले र एकजना हास्य कलाकार (सोङ्या) रहने व्यवस्था छ । यस नाचमा आलोपालो दुई टोली बीच गीत गाईन्छ । एक पक्ष गीत सुरूवात (उठान) गर्ने हुन्छ भने अर्को पक्ष उसले उठाएको गीतलाई दोहोर्‍याएर गाउने गर्दछ । यस नाचमा उफ्री-उफ्री नर्तकहरू नाच्दछन् । यस नाचमा भगवान श्री रामले रावणमाथि विजय प्राप्त गरेको खुशियालीमा भव्य रूपमा देवताको सचित्र वर्णन गरी नाचको कर्म गरिन्छ । प्रायः सबै थारू समुदायमा यसको लोकप्रियता भए तापनि विशेष बाँके, वर्दिया र कैलालीमा यसको प्रचलन छ ।

मघौटा नाच

थारूहरूको सबैभन्दा ठूलो चाड तथा नयाँ वर्षको रूपमा रहेको माघे संक्रान्तिमा यो नाच नाचिन्छ । यस नाच युवा युवतीहरू संयुक्त रूपमा मिली गर्दछन् । यस नाचमा एकजना मादले र दुई जनासम्म नाच्ने रहन्छन् । यसमा केटा र केटीको दुई पक्ष हुन्छ र गीतको दोहोरी चल्ने गर्दछ । मघौटा नाच बरघरियाको घरबाट सुरू भएर गाउँका सबै किसानको घरमा नाचिन्छ । नाचे बापत नाच टोलीले प्रत्येक घरबाट चामल, खानेकुरा र दक्षिणा लिने गर्दछन् । यस नाचमा गाइने गीतमा खास गरी केटा र केटी बीचको माया प्रितीको संवाद रहेको हुन्छ । यस नाचमा केटीहरू एकै ड्रेसमा रहन्छन् भने केटाहरू पनि भरसक एक ड्रेसमा आउने गर्दछन् । यो नाच दिउँसो र साँझको बेला नाचिन्छ । एउटै गाउँमा विभिन्न समूह बनाई यो नाच नाचिन्छ । बुढापाकाहरू समेत आफ्नो समूह बनाई नाचेर मनोरञ्जन गर्ने गर्दछन् ।

बर्का नाच

थारू समुदायमा ऐतिहासिक महत्व राख्ने यस नाचमा महाभारतको कथा वस्तुलाई समेटेर नाचिने गरिन्छ । अन्य नाचको तुलनामा यस नाच टोलीमा सबैभन्दा वढी सदस्यहरू रहने गर्दछन् । सबै पुरूष मात्र रहने यस नाच टोलीमा सय भन्दा वढी वा सो को हाराहारीमा नाच्नेहरू रहने गर्दछन् । यो नाच धेरै दिनसम्म नाचिन्छ । त्यसैले पनि यसलाई वर्का नाच भनिएको हो । यो नाच पनि विशेष गरी दशैंको बेला नै नाचिन्छ ।

यो नाच सबै गाउँमा सजिलै गर्ने हिम्मत गरिदैन । यस नाच गर्नका लागि आर्थिक भार वढी, तन्त्र मन्त्रको प्रशष्ट ज्ञान, धेरै सदस्य र प्रतिवद्धताको जरूरत पर्दछ । साथै थारू महाभारत कथाको ज्ञान हुनु पनि जरूरी हुन्छ । यस नाच सम्पन्न गर्नका लागि प्रमुख गुरूवा (मुख्य मन्त्र गर्ने व्यक्ति) र सहायक गुरूवा (सहायक टुनामुना जान्ने व्यक्ति) को व्यवस्था गरिएको हुन्छ । मादलेहरू एकजना अगुवा, एकजना पछुवा हुनुका साथै अन्य धेरै सहायक मादले पनि हुन्छन् । नाच्नेहरू पनि पुरूष र महिलाको पहिरनमा दुई थरिका हुन्छन् । यस नाचमा महिला पक्षले द्रोपदीको भूमिका निभाउँछन् । नाच्ने क्रममा सबभन्दा वढी जोखिम पनि यसै पक्षलाई रहेको हुन्छ । नाच्ने क्रममा दृष्टात्माले सबभन्दा पहिले यसै पक्षलाई आक्रमण गर्दछ । यस नाच नाच्ने क्रममा लामो ठूलो बाँसको खाँबो ठड्याई त्यसमाथि लोहोटा झु्ण्ड्याइएको हुन्छ । यो नाच थारू समुदायबाट विस्तारै लोप हुँदै गइरहेको छ ।

कठघोरी नाँच

थारू समुदायको विचित्र नाचको रूपमा पहिचान कायम गरेको यस नाचमा बाँसको घोडाको आकार बनाई त्यसलाई नर्तकहरूले आफ्नो काँधमा भिरेर मादलको तालमा नाच्ने गर्दछन् । यो नाच सुरू गर्नुभन्दा पहिले गुरूवाहरू विभिन्न थरिका पूजापाठ गरी बली चढाउने गर्दछन् । साथै यस नाचमा नाच टोली जता जता जान्छ उसको पछाडि पछाडि गुरूवा अनिवार्य रूपमा हिँड्नु पर्ने हुन्छ । थारू जातिमा निकै प्रचलित अवस्थामा रहेको यो नाचको उद्भव भारतको मद्रासको तजौर जिल्लाबाट भएको मानिन्छ । यो नाच पनि खास गरी दशैंको बेला नाचिन्छ । आवश्यकता अनुसार सभा समारोह र उत्सवमा पनि नाचिने गरिन्छ । नाच टोलीमा दुई वा चार जना मादले र छ या आठको संख्यामा नाच्नेहरू हुन्छन् । यस नाचमा सबै मादले र नाच्नेहरू पुरूष रहेका हुन्छन् । यसमा महिलाको सहभागिता रहँदैन । हाल यो नाच पनि विस्तारै लोप हुने अवस्थातिर छ ।

असोज १६, २०६७
शनिबार, गोरखापत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *