दशै हो कि दशा ! (लघुकथा)


“बुबा, मलाई एक जोडी टिसर्ट र पेन्ट त नभै हुँदै हुँदैन । मैले त भन्दिएको छु नि ।” माईली छोरीले दशैंको डिमाण्ड तेर्स्याइन ।

“मलाई त टिसर्ट र पैण्टले मात्र पुग्दैन । त्यसमा मिल्ने एक जोडी स्याण्डल पनि चाहिन्छ ।” ठूली कान्छीको यो डिमाण्ड हो यो ।

कान्छी छोरीको डिमाण्ड भने लुगा-फाटातिर नभएर दशैंमा खसी ल्याउनेतर्फ केन्द्रित थियो । उनी भन्दै थिइन – “मामु बाबालाई यसपटक त खसी ल्याउनु पर्छ भन्नुहोस् है । पल्लाघरमा त अस्ति नै कति ठूलो खसी ल्याईसके । दशैंमा मार हान्ने अरे । हामी पनि मार हान्नु पर्छ । दशैंमा मार त हान्नै पर्छ नत्र त दशैं आए जस्तै हुँदो रहेनछ । पोहोरसाल मार नहान्दा दशैं आए झैं लागेन ।”

ठूली कान्छीले सानी बहिनीको कुरामा सहमति जनाई ।

“मासु त अरुकहाँबाट ल्याएर खाए पनि हुन्छ तर लुगाफाटा चाहिं ल्याउनै पर्छ । नत्र म त टिकै लगाउँदिन बरु त ।” भित्रैबाट कान्छो चिच्यायो ।

“तँलाई खालि लुगा मात्रै ! अस्ति मात्र आमाले सर्ट पैण्ट ल्याइदिएको होइन ।” ठूली कान्छीले भाइको कुरामा असहमतिको पोको फुकाई ।

अरुकोभन्दा जेठो छोरा विजयको डिमाण्ड पनि कमको थिएन । उसले गत सालदेखि नै आमालाई डिङ्गो जुत्ता चाहियो भनेर पिरोलिरहेको थियो । यसपाली भने जसरी भए पनि त्यो डिमाण्ड पूरा गराउने सुरमा थियो जेठो । साथीहरूको अघि उसलाई मुख देखाउन नै नहुने भएको थियो । हाट-बजार जाँदा होस या अन्यत्र कतै जाँदा होस, ऊ डिङ्गोको अभावमा आफूलाई होचो भएको महसुस गर्दथ्यो । कहिलेकही त डिङ्गोको अभावले होला कही कतै जान पनि अल्छी गर्दथ्यो । तर साथीभाइलाई भने अरु नै वाहना बनाउँथ्यो । जुत्ता नभएर नगएको भन्दैनथ्यो । उसका साथीहरूले लगाउने गरेका कपडाहरूको त भनेरै साध्य थिएन । खै के के हुन के के हुन । थरी थरीका थिए । केहीसँग त हिरोहण्डा बाइक पनि थिए । उसले भने जावो एकजोडी डिङ्गो त हाल्न नसकिरहेको अवस्थाामा हिरोहण्डा हाल्न सक्ने त कुरै थिएन । तर जसरी भए पनि जे गरेर भए पनि उसले यसपाली त्यो डिमाण्ड भने पुरा गराउनु थियो ।

श्रीमती सुधाको डिमाण्ड पनि उतिकै चर्को थियो, “सुन्नुहोस है प्रभाका बाबा मैले भन्दिएकी छु नि । यतिका सालपछि ज्वाईं आउने । दशैं त राम्रै गरी मान्नु पर्छ । कुटुम्बको ईज्जत पनि त राख्नै पर्यो । रिनपान गरेरै भए पनि एउटा खसी त ल्याउनै पर्छ । केटाकेटी पनि अस्तिदेखि नै खसी-खसी भनिरहेका छन । खसी पनि ठूलै चाहिन्छ । पाहुना-पाच्छा पनि थुप्रै आउलान् । भान्जा-भान्जीहरू छन् । कान्छी नानीका छोरीहरू पनि यसपाली त मामल गइन्छ, दशैंमा मामल नगएको पनि धेरै भयो भन्दै थिए अरे । ठूल्दिदीका सन्तानै आउँछन नजिकै छन ।”

सबैका डिमाण्ड सुनेर प्रभाकर लखतरान पर्छन । एउटा सानो जागीर । खाने मुख त्यति धेरै । जावो माष्टरी जागीर, त्यसमा पनि निमाविको कति नै हुन्छ र ! जागीरले त महिना मर्नै भ्याउँदन । कहिलेकही त पछिल्लो महिनाको तलब पनि अघिल्लै महिनामै सिद्धिन्थ्यो । झन यसपाली त सरकार बन्न सकेकै थिएन । सरकार बन्न नसक्दा आन्तरिक खिचातानीले गर्दा बजेट नआउँदा दशैं पेस्की त परै जाओस तलबै पनि पाउने अवस्था थिएन । उनी असमन्जसमा पर्दै सोच्न थाल्छन, “यो दशैं हो कि दशा?”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “दशै हो कि दशा ! (लघुकथा)”

  1. केशुविरहीजी तिहारकै मुखमा आएर
    केशुविरहीजी तिहारकै मुखमा आएर भए पनि दशैँको कथा पढ्न पाइयो
    सर्वत्र गरिने चर्चापरिपर्चालाई विषयवस्तु रोज्नुभएछ
    धेरै सन्तान धेरै मुख
    धेरै मुख धेरै खर्च
    आम्दानी छैन भने
    मुखैमुख जन्माउनु हुन्न
    जन्माए दशा आफैले रोजेको ठहर्छ भनेर मेरो सन्देश उसकहाँ पुर्याईदिनु होला
    THANKS.
    NAMSTE.

Leave a Reply

Your email address will not be published. Required fields are marked *