हो,
मलाई लाग्दै थियो कि शायद म मर्दैछु ।
त्यस सुनसान भूतबंगलामा म
ए.क.लो ।

उज्यालोमै अन्ध्यारोका बिम्बहरू मेरो मिथंगलमा प्रतिबिम्बित भइरहेको थियो । यसो सोचें, मैले त आजसम्म कुनै सुकर्म पनि गरेको छैनः धर्म कर्म दानदक्षिणा, भलो, कल्याण, आदि । मेरो खाता रित्तो थियो । यसको बिपरित कुकर्मका पोकै पोकाहरू लादिएका थिए मेरा माथामाथि । म सोच्न थालें -अहिले मेरो मृत्यु भयो भने सिधै नर्ककै यात्रा। नरकमा झोसिने भएँ म, करु तेलको भट्टीमा । चुल्ठो समातेर चोप्लनेछन् मलाई देवदूतहरूले । “ऐय्या आत्था,” अनायास म जोर जोरले कराउन थालें ।

भूतबंगलाभित्र “स्याँ, स्याँ” अद्भूत किसिमको ध्वनि आउन थाल्यो। मेरो धडकन बढ्यो । मेरो भयको परकाष्ठा नाघ्न थाल्यो । भूतबंगलभित्र म एक्लो थिएँ । घरका मान्छेहरू आफन्तको घरमा बिहामा गएको आज चार दिन भइसकेको छ । म एक्लो घर छोडेर जाने आँट पनि ममा छैन । नौकर न हुँ । नौकरीमा सबै सहनै पर्छ । म जोर जोरले चिच्याएँ, “बचाऊ बचाऊ गुहार!”

स्याँ स्याँको आवाज बिस्तारै बन्द भयो । राति मेरो आँखा अगाडिबाटै एउटा कालो छायाँ िहंडेको थियो । मैले आफूलाई ओढ्नेभित्र गुटुमुटु पारी आँखा चिम्म पारेर श्वास बन्द गरेको थिएँ ।

म यस घरमा नौकरी गरेको चार वर्ष बितिसक्यो तर मैले यस्तो दृश्य कहिले देखेको थिइन । यस घरमा म आउँदा काले बाजेले भनेका थिए, “एक्लै बस्दा होशियार पुर्याउलास् है बाबु । ”

काले बाजेले घरका सम्पूर्ण काजहरू सम्झाएर नौकरी छाडेका थिए । उनले १४ वर्ष यस घरलाई निरन्तर आफ्नो सेवा दिएका थिए जसको बदलामा मालिक्नीले उनकी दुईटी छोरीको धुमधामसँग बिहा गरिदिएकी थिइन् ।

काले बाजे पनि कस्तो निर्दयी मान्छे ? यस घरमा आत्मा, भूत-पिचास छ भनेर भन्नु भएको भए पनि हुन्थ्यो नि । होशियार बस्लास् है -मात्र भन्नुले म मोटो दिमाग भएको भातेलाई के थाहा !

मेरी पनि संयोगवश दुईटी नै छोरी छन् । भूत-पिसाचदेखि डराएँ भने उनीहरूको मुखमा माड कहाँबाट आउनेछ ? झन् उनीहरू १० र १२ वर्षका भइसकेकी छन् । दुई वर्षपछि जेठीको घरजम त गराउनै पर्यो । नभए दुनियाँले कुरा काट्न थाल्लान् । छोरीको जात न हो । जतिसक्दो चाँडै नै टिकोटालो गरेकै जाति ।

मेरा विवशताहरूले गर्दा भूतको भय हराउँदै गयो । एक सर्को जाँड घटघट पिएँ । जीउ तातो भयो । बिहान बिहानै पनि कोही जाँड पिउँछ र । तर, के गर्ने सूर्ता बिर्साउन यस्तो गरें नि त । मालिक्नीहरू पनि साँझतिर आउँदै छन् क्यारे । शयन कोठा सभा कक्ष पूजा घर र भान्सालाई चिटिक्क पारेर मिलाउनै पर्यो बार्दलीमा राखिएको चामलको बोराबाट एक मन जति निफलेर राख् है भुन्टे काइँला भनेर जानुभएको थियो मालिक्नीले त्यो पनि गर्न भ्याएको छैन । भाँडा वर्तनलाई कपडैले भए पनि पुछेर टल्काउनै पर्यो । भैंसी ब्याएको १५ दिन भा’छैन । बथानको सरसफाइ पनि आज जसरी पनि भ्याउनै पर्यो । जेठी मालिक्नी, कान्छी मालिक्नी र कान्छा मालिकको लुगा धोएको चार दिन भइसक्यो, इस्त्री लगाउन बाँकी नै छ । त्यो पनि गरी भ्याउनै पर्यो । “आउने दिनमा एक ठेकी मही मथेर राख् है !” भनेर कान्छी मालिक्नीले गरेको आदेश पनि पूरा गर्नै पर्यो । करेसा’बारीमा मकै र केराउको गोडमेल अझै भ्याकै छैन । भैंसी दुहेको दूध तल्लो गाउँको सुवेदार सा’बलाई पुर्याउने गर्नु भन्ने आदेश भा’को थियो । दुई दिनबाट पुर्याउन सक्या हैन । हिजो जम्मै दूध फाटेर गयो । त्यसको हप्की खान बाँकी नै छ । मालिक्नी सा’ब त थोरै मात्र जाति पनि छन्, ठूली र कान्छी मालिक्नीले केही देख्ने होइन । ज्वरोले छोड्या छैन, उठेर िहंड्ने हुती आउँदैन । पल्ला घरको कान्छाले राति तोरीको तेलमा लसुन पिसेर गोडा र शिरमा मालिस गरिदिएकाले हिजो अलिकति निदाएको थिएँ । धन्य होस् बिचरालाई । के गर्नु, गर्ने त सबै मैले नै हो । कसलाई पोख्नु म आफ्नो दुखेसो ?

जेनतेन हिम्मत जुटाई ओछ्यानबाट उठ्छ भुन्टे काइँला । उमेरले बढीमा ऊ सत्ताइस वर्षको छ । तर जो-कोहीले हेर्दा ४० भन्दा माथिको लख काट्न सक्छ । खैरो जुंगा, कुर्लिङ खैरो कपाल, छोटा छोटा दाह्री, थोत्रो कालो इष्टकोट, भित्र कच्याकुचुक र टािलएको कुर्था । ऊ कान्छा मालिकले दिएको चेन फुस्केको कलेजो रंगको पाजामा र फित्ता टुटेर डोरीले मरम्मत गरी लगाएको हवाई चप्पल भिरेर करेसा’बारीको एक कुनामा भएको थोत्रो काठे चर्पीतिर लाग्यो । कदको हिसाबले मोटो तर चार फिट आठ इन्च मात्र उचाइ भएको भुन्टे यथार्थमा भुन्टे ने देखिन्छ । बारीतिर लाग्दा बथानको गाईवस्तुहरू ऊतिर हेर्न थाल्छन् । ऊ थला परेको आज चौाथो दिन हो । पल्ला घरे कान्छालाई बोलाएर एक दुई पटक मात्र उसले बस्तुलाई पराल भुस खुवाउन सकेको थियो ।

वस्तुको दशा देखेर भुन्टे काइँलामा दया जागेर आयो । तर उसको दशामाथि कसले दया गर्ने हत्तपत्त चर्पीबाट निस्केर भुन्टे काइँला गाईवस्तुलाई पराल हालिदियो । बारीमा भएको थोरै थोरै हरिया घाँस काटेर थोरै थोरै भए पनि सबै वस्तुमा बाँडी दियो । जाडो याम छ । शिरको टोपी नफुकालेको एक हप्ता भइसक्यो । जाडोले कठ्याङ्ग्रिएका छन् वस्तुभाउहरू । भुन्टे काइँलालाई फेरि दया जागेर आयो । मच्छरले लखतरान बनाएको छ वस्तुभाउलाई । उसले वरिपरिबाट भिजेको पराल, भुस र हरिया झारपातहरू उखेल्यो र ढुस्यान बालेर बथानलाई धुवाँले भरिदियो । ऊ आफैं पनि चिसोले काम्न थाल्यो ।

पुसको महिना, तुवालोले बस्तीलाई डम्म छोप्यो । छेउकै घर पनि देखिन छोड्यो । भुन्टे काइँला हत्तपत्त चुलोमा पुग्यो र बारीबाट टिपेर ल्याएको दुई घोगा मकै पोल्न आगो बाल्यो। अगेनाको छेउमा बसेपछि उसको जीउले थोरै मात्रामा भए पनि राहत पायो । दुईटै मकैका घोघा पल्टाई पल्टाई पोलिरह्यो ।

माथ्लो तल्लाबाट फेरि “स्याँ स्याँ” को आवाज आउन थाल्यो। ऊ पुन: तर्सियो । भाग्न चाह्यो, तर भागेर कहाँ जाने ? घरको जिम्मा कसलाई लगाउने ? केही चोरी भयो भने मालिक्नीलाई के जवाफ दिने ? ऊ त्रसित भई दुईटै हातमा पोलेको मकैको घोगा लिएर बार्दलीतिर आउन मात्र लागेको थियो, बाहिरबाट फुच्चाफुच्चीहरू कानेखुशी गरेको आवाज उसको कर्णजालीमा ठक्कर खायो । उसलाई लाग्यो, किच्कन्नेले घर घेरिसकेको छ । अब ऊ भान्सातिर लुक्न खोज्यो । भान्साको ढोका बन्द गर्न खोज्दा बाहिरबाट ढोका ढकढकाएको आवाज आउन थाल्यो। उसको श्वास झन् बढ्दै गयो । ऊ सोच्न थाल्यो – आफ्ना सपनाहरू उद्देश्यहरू पूरा हुन नसक्ने भयो । सधैं बिरामी भइरहने श्रीमती र दुई छोरीहरूको हबिगत के हुने हो ?

कति सोझा हुन्छन् गाउँका गरीबहरू ? कति निर्दोष र सरल हुन्छन् उनका इच्छा, आकांक्षाहरू ? सानो इच्छा, स्वच्छ आकांक्षा, पवित्र उद्देश्य तर त्यो पाउन उनीहरूको जिन्दगी दाउमा लागेको हुन्छ । आखिर जहानबच्चाकै लालनपालनको लागि भुन्टे काइँला अर्काको भाडा मस्काउँछ, अर्काको बथान सफा ग,र्छ लुगाफाटा धुन्छ । अर्काको सम्पत्तिको सुरक्षा गर्छ । एकातिर भूत पिसाचको भय, ज्यान जाने त्रासदी, जहान बच्चाको भविष्यको चिन्ता र अर्कातिर आफ्नो निष्ठा इमान्दारिता परिश्रम र बचनबद्धताको खयाल उत्तरदायित्व । यस्तै हुन्छ दिनचर्या दीनहीनहरूको गाउँले परिवेशमा हुर्किरहेका यी सोझा मान्छेहरूको ।

“हजुर, घरभित्र कोही हुनुहुन्छ ? ढोका खोल्नु हुन्छ कि ? हामी भुन्टे काइँलाकी छोरीहरू आएका छौं हजुर । बाबालाई लिन आएका छौं । ” छोरीहरूको आवाजले भुन्टे काइँलाको कान ठाडो हुन्छ । एक छिन ऊ असमन्जसमा पर्छ । कहीँ भूत नै छोरीको आवाजमा बोलेको त होइन ? फेरि ढोका ढक् ढक् हुन्छ ।

“बाबा हामी पार्वती र गायत्री आएका छौं बाबा ! आमा साह्रै सिकिस्त होइसिन्छ बाबा । ”

बाबाले प्यारी छोरीहरूको आवाज किन चिन्दैनथ्यो र ! ऊ आफूलाई सम्हाल्दै ढोका खोल्यो र झम्टेर छोरीहरूलाई अंगालोमा बाँधेर म्वाइँ खाइरह्यो केही बेरसम्म ।

“के भयो छोरी आमालाई ? ओखती खाइनन् र ? ज्वरो आएको छ ?”

“सात आठ दिनबाट झाँक्रीलाई देखायौँ बाबा ! आमालाई बिसेक भा’छैन । पखाला चलेको छ । झाँक्रीले घरको ठूलो खसी मागेको छ । अनि अब छिटै निको हुन्छ रे ।” सुक्सुकाउँदै बोलिन् जेठी छोरी पार्वती । गायत्री पनि बाबाको अंगालोमा बाँधिएर डाँको छोडी रुन थालिन् ।

“नरोऊ छोरी आमालाई अब चाँडै बिसेक हुन्छ ।” चतुर छोरीहरूलाई सान्त्वना दिन खोज्छ बाबाले ।

उसको घर पुग्न िहंडेर तीन घन्टा लाग्छ । तर चार महिनाबाट घर जान भ्याएको छैन ऊ । उसले घरका सारा कामकाज भ्याउनु पर्छ । घरखर्च कान्छा मालिकले मोटरसाइकलबाट पुर्याइदिने गरेको छ । यहाँबाट तेर्सो-तेर्सोबाट आधा घन्टा िहंड्यो भने एउटा सानो बजार आउँछ । त्यहाँबाट जीप जान्छ घरसम्म । झण्डै एक घण्टाको बाटो हो, जम्माजम्मी १२ रुपैयाँ भाडा लिन्छ जीपको गुरुजीले । तर उसको लागि घर जानु भनेको दशै तिहार नै हो । अरु बेला त ऊ जोतिएकै छ । गाउँमा एउटा प्राथमिक स्कुल छ । तर छोरीलाई पढाएर केही फाइदा नदेखेर छोरीहरूलाई विद्यालयको मुखसम्म देखाएको छैन । घरमा दुई-चार वटा खसी बाख्रा र एक दर्जन जति कुखुरा पालेको छ । त्यही उसको वार्षिक अतिरिक्त आय हो । यसले लुगाफाटा चाडपर्व ओखती-मुलो आदि भ्याउने गरेको छ उसको जहानले ।

भुन्टे काइँला दुईटै पोलेको मकैको घोगा छोरीहरूलाई दिन्छ । छोरीहरूले बिस्तारसँग सबै कुरा भन्छन् । हुन त उसकी श्रीमती र छोरीहरू पनि एक पटक यस घरसम्म आएका थिए । तर केही बेर मात्र बसी सीधा थापेर घर फर्केका थिए । ऊ छोरीहरू एक्लै आफूसम्म आउन सकेकोमा गर्व महसुस गर्दै थियो । उसले केही छिनको लागि सारा दुःख-दर्दहरू बिर्स्यो र छोरीहरूलाई बारम्बार अंगालोमा कसेर कपाल सुम्सुम्याइरह्यो ।

अचानक भुन्टे काइँलाको ध्यान भंग भयो । उसले मालिक्नीको बहुमूल्य साडी घरको मूल ढोकाको अगाडि छरपष्टिएको देख्यो । पोहोर दशैंमा मालिक्नीले किनेको यो साडी मालिक्नीको दराजबाट बाहिर कसरी आयो ? ऊ छक्क पर्यो । छोरीहरूलाई त्यहीँ छोडेर उसले साडी उठायो र माथ्लो तल्लामा उक्लियो । मालिक्नीको दराजको भोटे ताल्चा टुटेको थियो, दराज बिलकुल खाली । ऊ आकाशबाट खसेझैं भयो । उसको अगाडि फनफनी घुम्यो गोलो पृथ्वी । फेरि आफूलाई सम्हाल्यो र साडीलाई नियाल्न थाल्यो । अनायास फेरि आवाज आयो- “स्याँ, स्याँ, स्याँ ।”

ऊ तर्सेर तलतिर भाग्न चाह्यो । तर फेरि सम्हाल्यो, छोरीहरू पनि तर्सिने हुन् कि भनेर । उसले एक नजर चारैतिर हेर्ने साहस जुटायो । माहिली मालिक्नीको कोठामा सििलङसँगै पर्खालमा एउटा दुलो छ । बाँसको चोयाले बनेको त्यो दुलोबाट बाहिरको प्रकाश छिरिरहेको थियो । धेरै बेरसम्म उसले त्यो दुलो हेरिरह्यो । बाहिर जोरले हावा चल्दा त्यो चोयाको दुलोबाट एक किसिमको ध्वनि उत्पन्न भइरहेको थियो “स्याँ स्याँ। ”

सोझा निर्दोष र गाउँले परिवेशमा हुर्केको भुन्टे काइँलाको मनबाट बल्ल यति खेर भूतको त्रास हट्यो । बल्ल उसले थाहा पायो “स्याँ स्याँ” आवाजको रहस्य भूत पिसाचको रहस्य र राति देखेको कालो छायाँको रहस्य । आफैंदेखि मुस्कुरायो ऊ । कप्टेराबाट हावाले उत्पन्न गराएको आवाजलाई भूतको आवाज र आफ्नो आँखाले देखेका कालो लुगामा आएको चोरलाई भूत ठानेको आफ्नै मूर्खतामा ऊ हाँस्यो ।

तर दुःखीको दुःख हटिसकेको भने थिएन । अब उसको जिन्दगीमा ठूलो भुइँचालो आउने चिन्ताले ग्रस्त भयो । उसको गोडा काम्न थाल्यो । के जवाफ दिने मालिक्नीलाई ? म यहाँ हुँदा-हुँदै चोरी कसरी भयो ? म थला परेकोसँग उनीहरूलाई के मतलब ? यत्रो ठूलो दराजमा के के थिए के के ! तल छोरीहरूको कुराकानीले उसको चिन्तालाई केही छिनको लागि भंग गर्यो । ऊ तल झर्यो । सोच्यो साँझ मालिक्नीहरू आउँदैछन् । यदि उनीहरूले मेरी छोरीहरू यहाँ आएको थाहा पाए भने म पक्का चोर ठहर्नेछु । अन्ततः छोरीहरूलाई सम्झाएर बिदा गरिदियो ।

आमा-बाबाको पीर मर्का बुझ्ने बाठी छोरीहरू खुरु खुरु बाटो नापे । केही पैसो माग्न आएका छोरीहरू खाली हात फर्किन बाध्य भए।

भुन्टे काइँला आफ्नो ओछ्यानको छेउमा बसेर दही मथ्न थाल्यो । उसकी श्रीमती सिकिस्त बिरामी छे । आफू पनि चार दिनबाट थला परेको छ । यी कुराहरू बिर्सेर मालिक्नीलाई के उत्तर दिने भन्ने कुरामै उसको ध्यान मग्न रह्यो । उसको मुटुको धडकन बढ्न थाल्यो, श्वास प्रश्वास छिटो छिटो हुन थाल्यो । उसलाई खोकी लाग्न थाल्यो, जीउ चीसो भएर आयो । ऊ दही मथ्न छोडेर ओछ्यानमा पल्टियो ।

कालो भेलभेटको साडी, मखमले ब्लाउज र अमूल्य गरगहनामा सजिएकी -पैंतालीस वर्षीया मालिक्नी । मोटो फ्रेम भएको कालो शीशाको चश्मा, खैरो जिन्स प्यान्ट, ब्रिटिश झण्डा अंिकत सेतो टि सर्ट, एक बित्ते हिल भएको कालो लेदरका सेन्डिलकी अर्की मालिक्नी बीस वर्षे फक्रेको यौवना थिइन् । हरियो जरजेटको साडी, भुवादार सेता स्वेटर, लामा लामा खुल्ला रातो कपाल, रातो पुक्क गाला, रंगीन आँखाको परेली, ठूला ठूला आँखा हातमा आधुनिक विदेशी ह्याण्ड ब्याग -चौबीस वर्षे जेठी मालिक्नी । हातमा दुई नाले बन्दुक, निलो प्यान्ट, सेतो सर्ट टाई, बिदेशी ब्याग, आँखामा कालो चश्मा, नाडीमा बडेमानकौ विदेशी घडी, कालो लेदरको बुट -१६ वर्षे कान्छा मालिक हलक्क बढेको शरीर ।

चार दिनपछि नातेदारको घरमा बिहाबाट फर्केको यो चार जनाको जत्था घरको मूल द्वारमा आइपुग्छ । सधैंझैं सेवाका लागि भुन्टे काइँलाले स्यालुट बजाउनु पर्ने हो । तर आज ऊ देखा परेन । मालिक्नीलाई केही अनौठो लाग्नु स्वभाविकै थियो । उनले चारैतिर नियालिन् । गाईवस्तु उनीहरूतिरै हेर्न थाले । मानौं उनीहरूले भुन्टे काइँलाको बारेमा केही गुनासो पोखेको होस् । िपंजडाको सुगामाथि उनको नजर पर्यो । दानापानी नखाएर प्राण त्यागिसकेको ठम्याउन कसैलाई गाह्रो भएन । मालिक्नीलाई यो ठम्याउन समय लागेन कि भुन्टे काइँलाले उपद्रो गरेर भागेको हो । सरासर उनी माथ्लो तलामा चढिन् । बाँकी तीन जना एक अर्कालाई मुखामुख गर्दै मालिक्नीको पछि पछि लागे ।

दराजनिर मालिक्नीको साडी छरपष्टिएको थियो । खुल्ला दराजबाट जबाहरात सूनचाँदी, रुपैयाँ, पैसा, मूल्यवान लुगाफाटा सबै गायब । एकछिन सबै एक अर्काको मुखामुख गर्छन् । सबैको वाक्य हरायो ।

कान्छा मालिक फटाफट तल झरी मोटरसाइकल गुडाएर भुन्टे काइँलाको घरतिर लाग्यो । यता तीन जना मालिक्नीहरू घरको पूरा खानतलाशी लिन थाले । दराजको सम्पत्ती वाहेक अरु सबै दुरुस्त अवस्थामा । उनीहरू भुन्टे काइँलाले यत्रो चोरी गर्ला भन्ने कहिले कल्पनासम्म गरेका थिएनन् । यस विश्वासघातले उनीहरूलाई धैरै दुःखी बनायो र उनीहरू भुन्टे काइँलालाई कुनै हालतमा नछोड्ने मनस्थितिमा पुगे ।

कान्छा मालिक भुन्टे काइँलाको घरमा पुग्यो । त्यहाँ उसले एउटा बेग्लै दृश्य देख्यो । भुन्टे काइँलाकी श्रीमतीले सांसारिक इहलिला समाप्त गरिसकेकी थिइन् । आँगनमा शवमाथि कात्रो बिछ्याइएको छ । मलामीहरू भुन्टे काइँलाको प्रतिक्षामा बसिरहेका हुन्छन् ।

कान्छा मालिकलाई देख्नासाथ पार्वती र गायत्री उनको खुट्टामा ढोग्दै डाँको छोडी रुन थाले । कान्छा मालिकले उनीहरूलाई सम्हाल्न खोज्यो र सोध्यो, “बाबा खोई नानी ?”

पार्वती र गायत्री कान्छा मालिकको मुख ताक्न थाले । ऊ अन्यौलमा पर्छ । आखिर भएको के हो ? भुन्टे काइँला भाग्यो कहाँ ?

“तिमीहरू धैर्य गरी यहीँ बस । म बाबालाई लिएर आउँछु । ” यति भनेर ऊ मोटरसाइकलमा रकेटको गतिमा फर्कियो।

मोटरसाइकल मालिक्नीको खुट्टैनिर गएर अडियो । आँगनमा तीन जना महिला सम्पत्ति गुमाएको समवेदनामा डुबेका थिए ।

“भुन्टे काइँला घर पुगेको छैन। बरु उसकी श्रीमतीको लाश र मलामी उसको आँगनमा देखें मैले । छोरीहरू रुन थाले । म उनीहरूको बाबालाई लिएर आउने बचन दिएर फर्केको छु। कहाँ भाग्यो होला ऊ ?”

“नर्कमा पुग्यो होला नि । जस्तो कर्म गर्यो उस्तै फल । कहिले धन नदेखेको दरिद्रले चोर्ने मौका पाएको थिएन, चोर्यो भाग्यो । कतै लुकेको होला नि! जा पुलिसमा रिपोर्ट गरेर खोजतलाश गर् उसको । ” एकै श्वासमा बोलिन् मालिक्नी ।

“उसको कोठामा तलासी लिनुभयो के के छ त्यहाँ ” बोल्यो कान्छा मालिक ।

“के फाइदा ? चोर्नेले केही छोडेर गयो कि भन्ठान्यौ तिमीले ” -बोलिन् माइली मालिक्नी ।

कान्छा मालिक भुन्टे काइँलाको कोठामा पुग्यो । उसको पछाडि तीनै जना स्त्रीहरू । कोठाको दृश्यले उनीहरूको मस्तिष्कमा हलचल मच्चाइदियो । दुईटा मकैका खोया, ठेकी । दही मथ्दा मथ्दै काइँला जाडो लागेर ओछ्यानमा सुत्न पुगेको ठम्याउन कसैलाई बेर लागेन । काइँलाको मुख खुल्ला थियो, मुठ्ठी बन्द । मुखमा िफंज । आँखा सधैंको लागि बन्द ।

एकातिर श्रीमतीको लाश अर्कातिर भुन्टे काइँलाको । ज्वाला-गगनचुम्बी । वायुमण्डलमा कालो कालो धुवाँ आकािशंदै थियो।

टपटप झर्दै गरेको आँसु पनि अब आँखाले खसाल्न छोड्यो । आँसु बिनाको भक्कानो । जीपमा अगाडि बसेकी छिन् मालिक्नी । पछाडिको सीटमा माहिली मालिक्नीको काखमा पार्वती र जेठी मालिक्नीको काखमा गायत्री । बीचमा कान्छा मालिक । जीप अगाडि बढ्छ हुइँकिंदैछ । पार्वती र गायत्री आफ्नो घरतिर हेर्दै मुक छिन् । गाडी सुस्त सुस्त गाउँबाट पिचरोडमा आइपुग्दा अन्तिम श्रद्धााजली गर्छन् गायत्री र पार्वती बाबा-आमाको मृत्यु शैय्यालाई ।

“कोही छैन बाबा मुमा!”
“अब यसो नठान ।
ईश्वर छन्,
हाम्रालागि ईश्वर छन् ।”

सुक्सुकाउँदै छातीमा टाँस्सिन्छन् पार्वती र गायत्री मालिक्नीहरूको । मालिक्नीहरूले कपाल सुम्सुम्याउँदै अंगालोमा कस्छन् दुवैलाई । जीप गाउँलाई छोडेर टाढा पुग्छ । अब उनीहरू त्यो गाउँबाट एउटा विरानो गाउँतिर जाँदैछन् उनीहरूका बाबाले देखेको सपना पूरा गर्न । सपना-अर्थात् छोरीको बिहा ।

अनेसास जापानको प्रकाशोन्मुख “छहारी” कथा संग्रहबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

1 thought on “छोरीको बिहा”

  1. उच्‍च स्‍तरीय कथा पढ्‌न
    उच्‍च स्‍तरीय कथा पढ्‌न पाउँदा निकै आनन्‍द आयो । कथाकार जैकी मोजाहूलाई धेरै धेरै बधाइ छ, उहाँको सफल सृजनाको निम्‍ित । कथामा घटनामात्र छैन, मनोरम साहित्‍य पनि छ । साहित्‍य र समाचार फरक फरक कुरा हुन्‌ । भुन्‍टे काइलाको दुःखको सुस्‍केराले हरेक पाठकको हृदयलाई छुन्‍छ । केही न केही भनूँ भनूँ जस्‍तो लाग्‍छ । यही नै साहित्‍यको शक्ति हो । मालिक्‍नीको साडी, पुस महिनाको तुँवालो, पिंजडाको सुगा र गाईवस्‍तु आदि बिम्‍वले कथाकारको भावनालाई रङ्‌गाएका छन्‌ ।

    म उनीहरूको बाबालाई लिएर आउने बचन दिएर फर्केको छु। कहाँ भाग्यो होला ऊ ?”

    “नर्कमा पुग्यो होला नि । जस्तो कर्म गर्यो उस्तै फल”­

    – भुन्‍टे काइलाको बारेमा भनिएको हो यो । यो विकृत अभिब्‍यक्तिले सम्‍वेदनशील पाठकहरुको विवेकलाई घोच्‍छ फलस्‍वरुप अरु नयाँ अभिब्‍यक्तिहरु निस्‍कन्‍छन्‌ र यसो हुन दिनु साहित्‍यको धर्म हो ।

    कथा निकै मार्मिक छ । grotesques are beauty in literature. मनलाई छुनु साहित्‍यको काम हो । घटनालाई रङ्‌गाउनु साहित्‍यकारको काम अनि जे देख्‍यो त्‍यही भन्‍नु समाचार वाचकको काम ।

    मझेरीमा यस्‍ता साहित्‍य पढ्‌न पाउनु निकै खशीको कुरो हो , धन्‍यवाद ।

    सुशील सुब्‍बा, ललितपुर­– नखिपोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *