बुद्धि तामाङले पठाउनुभएको । ‘उत्तर आधुनिक आयाम र प्रशंसनीय दृष्टिकोण’ पुस्तकका विषयगत शीर्षकहरूले उत्सुकता जगाए । ‘उत्तर आधुनिकता’ पश्चिमी जगतमा पुरानिन लागे पनि नेपालका लागि नयाँ विषय बनेको छ । यसका व्याख्याताहरूका मतभेद र बाझाबाझ पत्रपत्रिकाहरूमा पढ्दै आएकोेले यस पुस्तकले त्यसबारे स्पष्ट धारणा व्यक्त गर्छ कि भन्ने आशा जाग्यो । विषय शिर्षक पढ्दै जाँदा यो कृति सकारात्मक र नकारात्मक सोचहरूको व्यापक निवेचनद्वारा मानिसमा सकारात्मक सोच विचार र प्रवृत्ति बढाउन सघाउने ध्येयले लेखिएको खुलासा हुँदै गयो । यस कृतिमा ‘उत्तर आधुनिकता’ शीर्षक परेपनि पूर्वेली, पश्चिमी सकारात्मक विचार र व्यवहारका विषयका साथै आदिम युगदेखि अहिलेसम्मका र सिङ्गो विश्वदेखि नेपालभित्रका विभिन्न समुदायका विचार र प्रवृत्ति कोट्याइएका रहेछन् ।
लेखक भन्नुहुन्छ – वास्तविक यथार्थलाई सकारात्मक आँखाले सकारात्मक पाटोबाट हेर्दा सकारात्मक कुराहरू देखिन्छ । हेर्दाहेर्दा अरूका लागि नकारात्मक भएका कुराहरू पनि सकारात्मक देख्न थालिन्छ । नकारात्मक र समस्या भन्ने पाटो नयाँ सिर्जना, निर्माण र आविष्कार गर्ने सम्भावना र अवसरहरूका थलोका रूपमा देखिन्छ । यसले सकारात्मक पाटो मात्रै जीवन नभई नकारात्मक पाटो पनि जीवन हो भन्ने मान्यताको विकास गर्दछ ।
यस पुस्तकका सम्पूर्ण विषयहरूको आधारभूत दर्शन यहीरहेछ । यसै आधारमा टेकेर लेखकले आदिम युगदेखि ‘उत्तर आधुनिक’ युगसम्मका विभिन्न समस्या, प्रवृत्ति, विषय र विचारहरूको विवेचना गर्दै प्रत्येक कोणबाट मानिसलाई सकारात्मक रूपले सोच्न र काम गर्न प्रेरित गर्ने प्रयास गर्नुभएको छ ।
सुख र दुःखको कुनै पनि अवस्थामा, दिन र रातका जुनसुकै प्रहरमा, गर्मी, वर्षा, जाडो जुनसुकै ऋतुमा, जुनसुकै उमेरमा र जुनसुकै देशमा सकारात्मक सोचको आधारमा दुःख कष्ट सहेर पनि लक्ष्यमा अघि बढ्ने मान्छेले नै सफलताका विभिन्न बढी उक्लन सक्छ भन्ने लेखकको स्पष्ट धारणा देखिन्छ । सकारात्मक र नकारात्मक सोचले जीवनका प्रत्येक पक्षमा के कस्तो प्रभाव पार्छन् । बढी नकारात्मक सोच राख्ने मान्छे किन असफल र दुःखी हुन्छ । किन ऊ रोगहरूको भारी बोक्दै चाँडै मृत्युको फन्दामा पर्छ । अनि सकारात्मक सोचले कसरी प्रत्येक समस्याको समाधान खोज्दै जान्छ र रोग शोकलाई जित्दै मृत्युलाई पनि वरपर धकेल्न सफल हुन्छ । यी दुवै विषयमा व्यापक बहस र विमर्श छ यस पुस्तकभरि ।
जो मान्छे बिहान उठ्नासाथ आफ्नो अगाडिका समस्याहरू सम्झेर खुइय सास फेर्छ, ऋणको भारी सम्झेर तर्सन्छ, चारैतिर बिगे्रभत्केको कुरा मात्र सोचेर ज्यान फतक्क मलको अनुभव गर्छ, त्यो झन पछि झन् नयाँ नयाँ समस्यामा फस्दै जान्छ र त्यसैले कहिल्यै सुखको सोस फेर्न पाउँदैन । जसले बिहान उठ्नासाथ ओजको दिन मेरो शुभदिन हो । म कडा परिश्रम गरेर पनि समस्याहरूलाई समाधान गर्दै जान्छु । केही समयमा मैले कठिन समस्याबाट पार पाएरै छोड्छु ।’ भन्ने संकल्पसहित कामका योजना बनाउँछ, त्यसलाई लागु गर्न सकेसम्मको प्रयास गर्छ, सानोतिनो असफलतामा हिम्मत हार्दैन र जँघार तर्ने साहस गरिरहन्छ, उसले चट्टाने पहाड फोरेर पनि जीवनको बाटो सुगम बनाएरै छोड्छ लेखक विश्वाससाथ भन्नुहुन्छ ।
सकारात्मक र नकारात्मक सोचले मानिसको स्वास्थ्यमा, स्वभावमा र विभिन्न व्यवहारमा पार्ने असरबारे अनेक उदाहरणद्वारा लेखकले प्रष्ट्याउनु भएको छ । नकारात्मक सोचले मुटुबाट शरीरमा रगत प्रवाह गर्ने धमनीहरूमा प्रभाव पार्छ र क्रमशः रक्तसञ्चारमा अवरोध आउनसक्छ । अरू मान्छेप्रति विद्वष र रिसको भावना राख्दा मुटुसम्बन्धी विभिन्न रोग लाग्न सक्छन् ।
सकारात्मक सोच बढी हुनेहरूमा शान्ति, स्थिरता, आशावाद आत्मविश्वासजस्ता गुणहरू विकसित हुन्छन् । उनीहरूमा रोगप्रतिरोधी क्षमता बढ्दै जान्छ । साथसाथै ‘टी’ र ‘वी’ सेलहरू विस्तार भई निरोही रहने क्षमता पनि उनीहरूमा बढ्दै गएको देखियो ।
समाजमा, यस्ता मानिस पनि देखिन्छन्, जसले आमाबाबु र परिवारको मायाममता पाएका छन् । साधन सम्पन्न छन्, शिक्षित पनि छन् । तर आफ्नो योग्यताअनुसार जीवनको लक्ष्य निर्धारण गर्न नसक्दा र आफूले गर्नसक्ने कामबारे पनि योजना बनाउन नसक्दा तिनीहरू आलसी र निराशापूर्ण जीवन बिताइरहेका हुन्छन् । अर्काथरी मान्छे आमाबाबु विहीन, गरीब र अशिक्षित भएपनि हिम्मत नहारी जीवनमा अघि बढ्ने बाटाहरू खोज्छन्, देश परदेश जहाँ पुगेर पनि विधा र धन आर्जन गर्छन् र विभिन्न उपाय सोचेर सफल र सार्थक जीवन बिताउँछन् । यो सबै जीवनप्रतिको नकारात्मक र सकारात्मक सोचको परिणाम हो ।
यी दुई प्रवृत्ति र तिनका परिणामबारे लेखक तामाङले अनेक कोणबाट विवेचना र दृष्टान्त प्रस्तुत गर्नुभएको छ । यस पुस्तकमा एघार परिच्छेद छन् । ती हुन् – यथार्थलाई हेर्ने आँखा र सकारात्मक नकरात्मक सोचको असर । प्रशंसनीय (सकारात्मक) दृष्टिकोणको अवधारणा र कार्यढाँचा । त्यसको दर्शन, सिद्धान्त र पद्धति । दृष्टिकोणको वैज्ञानिकता । नयाँ विश्व दृष्टिकोण । राज्य संरचनामा बहुकेन्द्रको अवधारणा । परिकल्पना शक्तिको सिद्धान्त । नेपाललाई हेर्ने नयाँ दृष्टिकोण । द्वन्द्व व्यवस्थापन र रूपान्तरण तथा मौलिक संस्कृतिका स्रोतहरू र सकारात्मक दृष्टिकोणको इतिहास । पुस्तकमा यी सबै मूल विषयमा उपशीर्षकहरू राखेर विस्तृत व्याख्या विवेचना गरिएको छ ।
समसामयिक दृष्टिले छैटौँदेखि नवौँ सम्मका परिच्छेदमा नेपालमा अहिले देखापरेको युगान्तरसँग सम्बन्धित विविध विषयमा लेखकका धारणा व्यक्त भएका छन् । त्यसअन्तर्गत भारत र चीनमा स्थापित भिन्न चरित्रका दुई खाले व्यवस्थाको बीचमा दुबैखाले राजनीतिक शक्तिको प्रतिस्पर्धा भएको नेपालनिम्ति कुन व्यवस्था, बाटो र लक्ष्य उपयुक्त हुन्छ भने विषयमा धार्मिक, दार्शनिक, राजनीतिक, आर्थिक, सामाजिक र संस्कृतिक सोचहरू प्रस्तुत गरिएको छ ।
पुस्तक लेखविधि विषयवस्तुको सूक्ष्मतम वर्गीकरण र तुलनात्मक अध्ययनमा आधारित छ । समाजको रूपान्तरण र विकासको सन्दर्भमा आदिम ढुङ्गे युगदेखि ‘उत्तर आधुनिक युग’ सम्मका चरणगत विशेषताहरू रेखाङ्कति शब्द चित्र र विविध उपशीर्षकहरूद्वारा सकेसम्म मसिनो ढङ्गले बुझाउने प्रयत्न गरिएको छ ।
झण्डै दुई हजार वर्षको सामन्तवादीयुगका मूल्य मान्यता, सिद्धान्त, आस्था, व्यवस्था आदिसँग विगत पौने शताब्दीदेखि सङ्घर्ष गर्दै आएर गणतन्त्र युगमा प्रवेश गरेका नेपाली जनतासामु अहिले मूलतः तीन खाले सामाजिक व्यवस्थागत विचारहरू सङ्घर्षको मैदानमा छन् । एउटा विचार अहिले पनि संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था कायम हुनुपर्छ भनने ढङ्गले अगाडि आउन खोज्दैछ । नेपालमा पूँजीवादी औद्योगिक क्रान्ति भएको र समाजमा सामन्ती संस्कृतिको प्रभाव बाँकी रहेकोले एक्काइसौं शताब्दीमा पनि राजतन्त्र राख्ने विचार खुलै रूपमा देखापर्दैछन् । पूँजीवादी औद्योगिक व्यवस्थाका पक्षधर शक्ति कमजोर रहेकाले उनीहरूले आर्थिक र प्राविधिक क्रान्तिको दिशामा समाजलाई अग्रसर अगारनउसकेका छैनन् । पूाजीवादको विकास कमजोर रहेकोले कम्युनिष्ट विचारका अगुवाहरूलेपनि वर्गीय आधार बलियो रूपमा पाएका छैनन् । रोजगारीको अभावमा पचासाँैं लाख नेपाली विदेशी बजारमा रोजगारीको खोजीमा निस्केको निस्क्यै छन् । समग्र देश यस्तो स्थितिमा रहेको अवस्थामा उत्तर आधुनिकताको विचारले नेपाली समाजमा कत्तिको प्रभाव पार्न सक्ला ? तर पनि एक क्षेत्रमा दखापरेका विभिन्न विचार आजको तीव्र सञ्चारको युगमा विश्वका कुना कुनामा बस्ने आधुनिक शिक्षित पङ्क्तिसम्म केही न केही मात्रामा पुग्न सक्छन् । अहिले नै विश्व समाजको ठूलो पङ्क्तिलाई नै प्रभावित पार्न सक्ने स्थितिमा तुरून्तै पुग्न भने गाह्रो छ ।
यस अर्थमा बुद्धि तामाङले आफ्नो कृति मार्फत् अघि सार्नुभएको विचारले वर्तमान विश्वको उत्तर आधुनिक चिन्तन प्रणालीबारे केही अध्ययन गर्ने अवसर नेपाली जनताले पाउनेछन् ।
शनिबार, गोरखापत्र
कार्तिक १३, २०६७
