Skip to content


जीवन खोजिरेछु
आफैंभित्र आफैलाई खोज्दै
मनको मझेरीबाट घरक्क
ढोका उघारेर दिलको बकस खोली
खोजिरहेछु आफैलाई
बाच्नुको यथार्थताभित्र
कयौं बसन्तहरू समयको गतिसँगै
चपाइए अनि उघ्राइए बेलगामी घोडा झैं
र फेरिए छेपाराको रंग फेरिए जसरी
तुफानी बेगमा आएको समयको गतिमा
मतिहीन हुदै,
परिवर्तनको नाममा नाँगिएका तनहरू
ऊच्च शिक्षाको बिसाल परिधिभित्र
साँगुरीएका मनमा
सम्पत्तिको मृगमरिचिका पालेर
अभावको भुंग्रोमा भुत्भुतिएका मनहरूमा
खोज्दैछु जीवन
बाच्नुको यथार्थतामा
अहंकारले बेलुन झैं फुलेका मान्छेका
भीडहरूमा
गाँउका फुलमाया, बटुलीर भुन्टी सम्झेर
यहाँ सोफिया, मर्लिन अनि डाइनाहरूमा
खोज्दैछु फुलमायाहरूको चौबन्दी, फरिया र घाघर
दुइ टुक्रा कपडाहरूमा,
गरिबीको चुल्हो बाल्नलाई
बिदेशी गल्लीहरूमा जीवन खोज्दै
बिदेशीमाटोमा पसिनाका मोती पोखेर
खोज्दैछु जीवनका बिसौनीहरू
अनि बिदेशिंदाका पोका पन्तुरा र
कुम्लो कुटुरोका कुना
पाप्चाहरूमा खोज्दै छु नेपाली
माटो सुगेर पुलकित हुनलाई
र चड्दैछु महंगीको सगरमाथा
विजय उत्सवको उच्च सम्मोहनमा,
अनि खोज्दैछु बुकुरहरूमा
खोले फाडो सिस्नु र सागको
समिश्रण
हो म खोज्दैछु सार्थक जिन्दगी
यथार्थको जीवन खोज्दैछु
म को हुँ आफैलाई सोघ्दैछु
म जीवन खोज्दै छु ।

तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा, नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *