सयपत्री फूल फुल्दामा खेरी सम्झना आई हाल्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ
एउटा माइती दुर देश बिरानो ठाँउमा
के गर्दौ होला समुद्रपारि अर्काको गाउँमा
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
साहुको भारी बिसाउन माइती विदेश गएको हो
ती बुढी माको ओखती गर्न साहु काडी ल्याएको
भाइबैनी साना साहुको बारी खै कस्ले जोत्दछ
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
गरिब दुखी मात्रैलाई हो कि यो सारो परेको
धनीले ही कि गरिबलाई दल्न यो चाल गरेको
समाजमा हाम्ले धनीले सरी सुहाउनु पर्छ रे
देखासिखी गर्न हाम्ले ऋण काड्नु पर्छ रे
यी सारा कुरा सुनेर मेरो मन सारै जल्दछ
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
मान्दिन म त धनीका कुरा आउ भाइ सम्झेर
घरमा भा को तुल्याई खाइ मनौला बसेर
के हुन्छ भाइ बिरानो ठाँउमा पसिना पोखेर
हुदैन हाम्ले निमुखा भइ सामन्ती पोसेर
बिबेक अब लगाउनु पर्छ श्रम गरि बाचने
गरिब दुखी एक भई भाइ कहिले हो हासने
कहिले भाइ घरमा हाम्रो त्यो चुलो बल्दछ
सम्झेर ल्याउदा हे मेरो भाइ हृदय जल्दछ
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
श्रमिकले शिर उठाई बाँच्ने त्यो ठाँउ कहाँ छ
औकातको चाड मनाउनु पर्छ त्यो ठाँउ यही छ
देखा र सिखी नगरौ भाइ तुल्याउ घरको
मधुर मिलन हाँसो र खुशी ले र आउ घरको
धनीको सिको गरेमा भाइ झन गरिब होइन्छ,
नफुली देऊ सयपत्री फूल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइजान्छ।
(झ्याउरे छन्दमा)
तिर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/७/१६