नेपाली भाषका महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवाषिर्की समारोह धुमधामका साथ मनाइनु सर्वथा स्वाभाविक हो । उहाँ बहुमुखी प्रतिभासम्पन्न साहित्यकार हुनुहुन्थ्यो । उहाँका साहित्यिक रचना असङ्ख्य छन् । उहाँद्वारा सिर्जित केही रचना अझै अप्रकाशित छन् । शतवाषिर्की समारोहको समयावधिमा उहाँका अप्रकाशित कतिपय रचना प्रकाशन भए । यो उल्लेख्य र उदाहरणीय योगदान हुनसक्छ- नेपाली साहित्यको श्रीवृद्धिका लागि । शतवाषिर्की समारोह समितिद्वारा प्रकाशित भएर नेपाली पाठकले तिनको रसास्वादन समेत गरिसकेका छन् । यो एउटा ठोस उपलब्धिमूलक कार्य सिद्ध भएको छ ।
महाकवि देवकोटा स्वच्छन्दतावादी धाराका सर्जकका रूपमा सर्वमान्य, सर्वपि्रय तथा सम्मानित हुनुहुन्थ्यो । उहाँको नाम नेपाली वाङ्मयमा स्वणर्ाक्षरमा अङ्कित छ । स्वच्छन्दतावादी कविका रूपमा देवकोटाका काव्यिक रचनामा यस संसारको कोकोहोलो, चीत्कार र जालझेलबाट उन्मुक्त हुने ठूलो एवं ठोस प्रयास भएको देखिन्छ । एउटा स्वनिर्मित स्वणिर्म संसारमा आधुनिक सभ्यताको सन्त्रास र अभिशप्त स्थितिबाट बच्ने प्रयास प्रष्ट रूपमा देखिन्छ । यस उन्मुक्तिबाट जीवनमा चिरशाश्वत, चिरन्तन र चिरनवीन आनन्दको सिर्जना सम्भव हुनसकोस् । सुखशान्तिको नौलो दैलो उघार्न र उद्घाटन गर्न कवि सधैँ यसरी देखापर्नुहुन्छ ः-
”आऊ जाऔँ सम्यतको
कैदखाना बाहिर
सिर्जनाको जोडी पहिला,
बस्ती पहिलो यो घर
प्रेमको जादू अनौठा, सौन्दर्य नै
सब मन्दिर ।”
यहाँ कवि सभ्यताको कैदखानाबाट उन्मुक्त भएर स्वतन्त्र प्रेमी व्यक्तिको रूपमा सृष्टिको आदिम युगल जोडी ‘आदम’ र ‘इभ’को वस्तितिर जान एवं विचरण गर्ने तर्खरमा तल्लीन देखा पर्नुहुन्छ । प्रेम र सौन्दर्यको मन्दिरमा देवकोटाको कवि प्राकृतिक सौन्दर्यको सिंहावलोकन गर्दै स्वच्छन्द जीवनको सुखद अनुभूति लिन चाहन्छ । स्वच्छन्दतावादी महाकवि देवकोटा प्रेमिल भाव सौन्दर्यको अमर गायक हुनुहुन्छ । देवकोटाका लागि प्रेम, ‘प्यार भनेको फूल काँटा हो’, ‘स्वर्गको बीउ हो पृथ्वी अन्दर’ र ‘एक तपस्या साह्रो छ ।’ महाकविको दार्शनिक प्रेमरूपी स्वर्गको बीउबाट सिञ्चित, पुष्पित र पल्लवितहुँदै परिपक्व र परिपूर्ण भएको छ । प्रस्तुत छ महाकविद्वारा रचित काव्यपङ्क्ति ः-
‘प्यार भनेको फूल काँटा हो ! तीखो सुन्दर । तर माटोमा रोपिनु पर्दछ । सुस्केरका श्वासहरूले हम्की हरहर । स्वर्गको बिउ हो पृथ्वी अन्दर ! रोप्न आनन्द बचाउन साह्रो । एक तपस्या साह्रो । पाइसकको छु ज्ञान तर छौ तिमी अज्ञान ।”
प्रकृतिप्रेमी देवकोटाको रचना संसारमा राष्ट्रप्रेम एवं मातृभूमि प्रेमको उत्ताल तरङ्ग पनि तरङ्गित भएको छ । महाकवि देवकोटालाई आफ्नो राष्ट्र नेपालको ‘प्राचीन गौरवशाली, महिमाशाली र वैभवशाली परम्पराप्रति अगाध प्रेम र असीम श्रद्धा थियो, जसको अभिव्यक्ति निम्निलिखित काव्य पंक्तिमा गरिएको छ –
स्वच्छन्दतावादी काव्यधाराका कविहरूको आसक्ति र आकर्षणको केन्द्रबिन्दु नारी भएको काव्यसत्य यसरी उद्घाटित छ, जसमा कविको सुधारवादी र समन्वयवादी दृष्टिकोण झल्कन्छ, यथा ः-
“निचोर सृष्टिकी तिमी सजीव कामिनी बन्यो !
तिमी, ममा छ विश्वको त फ्याक, फ्याक रे मुटु !
तिमी म साथ चल्छ यो ! तिमी म साथ फुल्छ यो ।
हिमाल सम्झ पार्वती ! रसाल कुञ्ज राधिके ।
मानव जीवनमा सुखदुःख घामछायाँको जस्तो अनुस्यूत भएको अनुभव महाकविलाई पनि भएको कुरो सर्वविदित छ । उहाँको जीवनदर्शनबाट यो कुरो प्रष्ट हुन्छ । मानव जीवन सुख र दुःखको सुमधुर सङ्गम एवं सम्मिश्रण भएको कुरो युगसत्य हो । आनन्दानुभूतिको भावभूमिमा प्रवेश गरेपछि महाकवि देवकोटालाई पनि यो युगसत्यसित साक्षात्कार नभएको होइन । जीवनको कटुसत्यमा केन्दि्रत महाकविको जीवन्त जीवनाभूतिको अभिव्यक्ति कति सटीक, सान्दर्भिक र समसामयिक छ हेरौँ ः-
“सुख र दुःख मलाई पनि परे
जब बसन्त भयो हरियो छ रे
हिउँदमा जल टप्किई रुझ्दछु
सकल पात झरी म दरिद्र छु ।”
महाकवि देवकोटाको जीवनदर्शन समन्वयवादी सत्यमा आधारित छ । यो चिरन्तन सत्य हो कि मानव जीवन क्षणिक एवं क्षणभङ्गुर छ । मृत्युबोधको ज्ञान क्षण-क्षण मानिसलाई हुन्छ । मृत्यु यन्त्रणा एवं सन्त्रासको अनुभूति सर्वथा स्वाभाविक छ । मृत्यु जीवनमा अवश्यम्भावी घटना हो, जुन एक न एक दिन घटित हुन्छ । मृत्युबोधको दर्दनाक अनुभूतिबाट महाकवि स्वयं आक्रान्त हुनुहुन्थ्यो । मृत्यु जीवनको अन्तिम सत्य हो । यसबाट कोही प्राणी पञ्छन सक्दैनन् । हेरौँ महाकवि देवकोटाको मृत्युसितको अभिव्यञ्जन ः-
“मृत्यु प्रतिक्षण नाचिरहेछ
लहर-लहरमा
उसँग खेल्नु विलास
भरभर वीर हो, निर्भय निर्भय
चिसो हावामा तातो गिलास !
सागर हो जीवन महासागर विश्व,
अविदित यसको रहस्य
मृत्यु छ एक नितान्त अवश्य ।”
महाकवि लक्ष्मीप्रसाद देवकोटा सौन्दर्यवादी कवि हुनुहुन्थ्यो । उहाँका रचना-संसारमा सौन्दर्यको छवि र छटा यत्रतत्र सर्वत्र भेटिन्छ । प्रकृति सौन्दर्यका साथमा नारी सौन्दर्यका सञ्चेतना महाकविको मानसमा घनीभूत भएको हामी पाउँछौँ । प्रकृति सौन्दर्यका साथमा नारी सौन्दर्यका चित्रकार महाकविका अभिव्यक्ति हेर्न लायक छन् । उहाँको सौन्दर्य-चेतनाको जीवन्त चित्र शकुन्तलाको दिव्य र भव्य सौन्दर्यको अङ्कनमा सजीव भएको पाइन्छ ।
“जूनै जूनबाट मानो कुँदेकी
फूलैफूलबाट मानो बनेकी
राता गाला दीर्घ आँखा उज्याला
विश्व-श्री झैँ प्रतिमा चारुबाला”
महाकवि देवकोटा प्रकृतिको कोमल र कमनीय काखमा रमाउन मन पराउँथे किनभने प्रकृति स्वयं सौन्दर्यकी खानी र स्वर्गकी रानी छिन् । प्रकृतिको अप्रतिम, अवर्णनीय, अद्वितीय, अनुपमेय र अलौकिक सौन्दर्यतिर देवकोटाको कवि प्रतिभा आकषिर्त रहेका अनेक उदाहरण भेटिन्छन् । यहाँनेर समीक्षक वासुदेव त्रिपाठीको मत मननीय भन्न सकिन्छ ः-
“प्रकृतिको एकान्तमा हराउने र रमाउने बानी देवकोटामा बढ्दै जान्छ, यिनै चोटको फलस्वरूप । सम्भवतः पीडा जति छातीभित्रै समेटेर प्रकृतिमा शान्ति खोज्दै देवकोटा रोमान्टिक काव्यधाराको प्राकृतिक व्याप्ततातिर उन्मुख हुँदै जान्छ ।
प्रकृति नै मानवताको गुरु, तत्व-दर्शनको केन्द्र र ज्ञानको स्रोत हो भन्ने धारणा देवकोटाका कवितामा यत्र-तत्र पाइन्छ भने देवकोटाको कवि जीवनको निर्माणमा पनि नेपाली प्रकृतिको सम्पर्कको प्रेरणा प्रचुरमात्रामा परेको कुरा स्वतः स्पष्टिएकै छ ।”
महाकवि देवकोटा पूर्ण मानवतावादी कवि हुनुहुन्थ्यो । मानवताको सेवा र सुश्रुषामा पूर्णरूपेण समर्पित महाकवि ‘परोपकाराय सतां विभूतयः’को सिद्धान्तबाट प्रभावित एवं प्रेरित देखिनुहुन्छ । ‘बहुजन हिताय, बहुजन सुखाय’ उहाँको जीवन-आदर्श हो भने ‘वसुधैव कुटुम्बकम्’ (युनिभर्सल ब्रदरहुड) उहाँको काव्यसाधनाको मूलमन्त्र हो । मानव-सेवा एवं मानव कल्याणका महागायक कवि देवकोटालाई सङ्कुचित स्वार्थको साँधुरो परिधिबाट उन्मुक्त र निःस्वार्थभावले बलिदान र उत्सर्ग गर्ने आकाङ्क्षा उहाँको काव्य पङ्तिबाट पनि प्रष्ट हुन्छ । मानवसेवा नै ईश्वरसेवा हो । आफ्नो क्षुद्र स्वार्थलाई तिलाञ्जलि दिनु नै अरूको सेवाको सुरुआत हो ।
“खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ ?
आफू, मिटाई अरुलाई दिनु जहाँ छ ।”
अरु पनिः-
“मेरो अमृत मानिसहरूको सेवा ।”
मानवतावादी कवि देवकोटा ईश्वरलाई मानवकै रूपमा हेर्न चाहन्छन् किनभने मानवताको साँचोसेवामा नै ईश्वरको अर्चना, उपासना र वन्दनाको सार समाहित हुन्छ । ईश्वरको वासस्थान कुनै मन्दिर वा तीर्थस्थानमा होइन, मानवको घर आँगनमै छ । मानवको मन-मन्दिरमा ईश्वरको निवासस्थान भएको कुरालाई महाकविको निम्नलिखित काव्यपङ्क्तिले पनि समर्थन गर्दछ ः-
“बोल्दछ ईश्वर हृदय घुसेको
घरघर आँगन चारी…
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ।”
कार्तिक २०६७
