Skip to content

नेपालका धन्वन्तरि मन्दिर

  • by


हाम्रा पुर्खाले नेपालको चिकित्सकीय आदर्शका रूपमा भगवान् धन्वन्तरीलाई स्थापित गरेका छन् । जगत्कल्याणको सूक्ष्मतम् भावलाई ढुङ्गामा कुदेर अमरत्व प्रदान गर्ने हाम्रा पूर्वजले भगवान् धन्वन्तरीको मन्दिर पनि बनाएका छन् तर उनका मन्दिर जताततै भने सार्वजनिक स्थलमा त्यति पाइँदैन । वैद्यहरूको पुरानो वस्तीबीच काठमाडौंको पशुपति क्षेत्रमा धन्वन्तरीको मन्दिर छ । जयवागीश्वरी स्थित नवाली टोलको ‘लुँहिटी’ ढुङ्गाबाट बनेको छ । यस मन्दिरमा राखिएको मूत्ािर् पनि ढुङ्गाकै छ । धन्वन्तरीको मूर्ति बलौटे ढुङ्गाको खैरो रङ्गको देखिन्छ । शिखर शैलीमा बनेको यो मन्दिरमा दक्षिणतिर फर्केको मूर्ति छ । सुख आसनमा रहेको मूर्तिलाई दुई तह भएको कमलपत्रमाथि राखिएको छ । मन्दिरको बाहिरी भित्तामा चारैतिर भगवान विष्णु र गरुडको साना-साना मूर्ति पनि रहेका छन् ।

चारसय वर्ष पूरानो यस धन्वन्तरी मन्दिरमा राखिएको मूर्ति अहिले पनि अत्यन्त आकर्षक देखिन्छ । मूर्तिका चार हातमध्ये तलका दुई हातले अमृतको कलश समातेको छ । आयुर्वेद शास्त्रअनुसार अमृतको कलश सु-स्वास्थ र दीर्घ जीवनको प्रतीक हो । जसलाई लिँदै भगवान् धन्वन्तरी अवतरित भएका हुन् । माथिका दुई हातमध्ये दायाँमा चक्र र बायाँमा शंख छ । यी शंख र चक्रले भगवान् धन्वन्तरी नारायण अवतार हुन् भन्ने कुराको स्मरण गराउँदछ । धन्वन्तरीको तल दाहिने र देव्रेतिर सेवकहरूले चमर डोलाइरहेको देखाइएको छ ।

कलात्मक गहना र शृङ्गारका वस्तुले धन्वन्तरीको मूर्ति सुसज्जित छ । शिरमा कोणाकार मुकुट, कानमा कुण्डल, घाँटीमा कण्ठकार, सुन्दर केश विन्यास, पाखुरामा केयुर, नाडीमा रहेको बाला र खुट्टामा कुँदिएको गहनाले मूर्तिमा सजीवता थपेका छन् । नेपालमा सत्रौं र अठारौं शातब्दीतिर बनेका ढुङ्गाका उत्कृष्ट मूर्तिहरूमा यो मूर्ति पनि पर्दछ ।

हाँडीगाउँको सिमानामा रहेको धोबीखोलाको पश्चिमी किनारामा अवस्थित एउटा मन्दिरलाई त्यहाँको स्थानीय बोलीचालीमा धन्वन्तरी मन्दिर भनिँदो रहेछ । काठमाडौं महानगरपालिकाले त्यो मन्दिर रहेको बाटोको नामसमेत धन्वन्तरी मार्ग राखिदिएको छ ।

केही वर्ष अघिसम्म हाँडीगाउँको त्यस मन्दिरमा टिनको छाना थियो । अहिले त्यहाँका स्थानीयबासीहरू मिलेर मन्दिर जीर्णोद्वार गर्दैछन् । त्यस मन्दिरको पूजास्थलमा ढुङ्गा गाडेर राखिएका छन् । देवता रूपमा पत्थरमा विष्णुको मूर्ति कुँदिएको छ । ताछिएको गरुडको शिर र सानो नन्दी पनि त्यहाँ रहेका छन् । यी चौधौं शताब्दीतिर बनेका जस्ता देखिन्छन् । मन्दिरको मूल मूर्ति भने हाँडीगाउँकै डङ्गोलहरूका घरमा राख्ने प्रचलन छ । बालाचतुर्दशीका दिन मात्रै विशेष पूजापाठका साथ उक्त मन्दिरमा मूर्ति राखिन्छ ।

भाषा वंशावलीअनुसार हाँडीगाउँको त्यो मन्दिर धन्वन्तरीको नभई देवीको हो । भाषा वंशावलीमा यी देवीलाई नन्दिग्रामकी ग्रामदेवी रूपकी बाराही भनेर बताइएको छ । त्यही वंशावलीमा यिनको अर्को नाम ‘धन्तले बाराही’ भनिएको छ । देवमाला वंशावलीमा धन्तलेलाई ‘धन्यन्तरी’ भनिएको छ । बोलीचालीमा पछि यसलाई धन्वन्तरी भन्न थालियो । धन्तले बाराहीको वर्णन ‘शान्तिकजग्य’ नामको पाण्डुलिपिमा पाइन्छ । राष्ट्रिय अभिलेखालयमा रहेका ‘देशवली विधि’ नामको मल्लकालिन पाण्डुलिपिमा पनि उक्त बाराहीको विवरण दिइएको छ । प्राप्त शिलालेख र हाँडीगाउँ क्षेत्रमा खुब चलेको लोकोक्तिअनुसार मल्लराजा शिवसिंहको पालामा धन्तले बाराही बगेर शंमखूल पुगिन् । यो वि. सं. १६४२ तिरको कुरा हो । अहिले पनि शंखमूलमा धन्तले बाराहीको अर्को मन्दिर देख्न सकिन्छ । मिल्दोजुल्दो नाम भए पनि धन्तले र धन्वन्तरी यी दुई फरक देवता हुन् ।

यसरी अहिलेसम्म जयवागेश्वरीमा रहेको मन्दिर नै नेपालमा पाइएको सबैभन्दा पुरानो धन्वन्तरीको मन्दिर हो । त्यस मन्दिरमा रहेको धन्वन्तरीको मूर्तिले नेपाली मूर्तिकलाको इतिहासमा मात्रै नभई विश्वकै चिकित्साको इतिहासमा समेत ठूलो महìव राख्दछ । विश्वभरिका चिकित्सकीय इतिहास अध्ययन गर्नेहरूका लागि यो मन्दिर एउटा जीवित संग्रहालय हो ।

नेपालको चिकित्सकीय गौरव प्रवर्द्धन गर्ने यस धन्वन्तरी मन्दिरको गरिमालाई प्रसारित गर्न यस वर्ष धन्वन्तरी जयन्तीका दिन जयवागेश्वरीका स्थानीय जनताको सक्रियतामा धन्वन्तरी महोत्सवको आयोजना गरिँदैछ । रोचक कुरा त के भने यो धन्वन्तरी मन्दिरको दायाँपट्टी रहेको उही शैली, आकार, प्रकार र समयमा निर्मित लक्ष्मीनारायण मन्दिरमा रहेको मूर्ति चोरी भइसकेको छ ।

कार्तिक २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *