थ्याङ्क्स गिभिङ डे अर्थात् धन्यवाद दिवस ! कति मीठो शब्द ! चट्ट चटनी चाटेझैँ अझ ! मह चाटेझैँ स्वादिलो ! मैले अमेरिकामा पाइला टेकेपछि नै सुनेको शब्द ! रसदार ! यस्तो अमेरिकाको ठूलो चाड म बबुरोलाई के पत्तो ! दुई-तीन दिन सरकारी बिदा ! रमाइलो वातावरण ! अमेरिकीहरूको उत्सुकताको क्षण ! चाड मनाउन अमेरिकीहरूको धेरै दिनदेखिको पर्खाइ ! हाम्रो दसैँजस्तै ठूलो चाड ! सुन्दैमा दसैँको सयपत्री फूल फक्रिएको आभास मग्मगाउँछ । घरपरिवारसँग भेटघाट गर्ने र मस्तीले भोज खाने पर्व ! टर्कीको मासु र सुरापानसहितको नाचगान, घुमफिर र एकआपसमा धन्यवाद आदानप्रदान गर्दै मनाइने चाड ! वर्षौं दिनसम्म अलग्ग बसे पनि सबै परिवार सँगसँगै बसेर भोज खाँदै मनाउने महान् चाड ! सद्भावनाको चाड ! अमेरिकाको विशेष चाड ! सुगन्ध फैलिरहेछ ।
संयोग हो, अमेरिकाको ठूलो चाड धन्यवाद दिवसको पूर्वसन्ध्यामा हामी अमेरिकामा छौँ । पुत्रवधू अनिता तथा पुत्र सौरभका साथै कनिष्ठ पुत्र सौजनको सौजन्यतामा सहधर्मिणी प्रतिभा र म सात समुद्रपारिको स्वप्नलोक अनुभूत गर्दैछौँ । संस्कार र संस्कृतिको नौलो सुवास मगमगाइरहेको छ । चाडपर्वको रौनक मगमगाउँदो छ । हामीले अमेरिकालाई धन्यवाद दिन्छौँ । धन्यवादको शब्द मुखैमा झुण्ड्याएर हिँड्नु यहाँको संस्कार नै हो । हामी सिक्दै छौँ -धन्यवाद अर्थात् थ्याङ्क्स यु ।
थ्याङ्क्स गिभिङ डेदेखि क्रिसमस र नयाँ वर्षसम्मै अमेरिका अझ सिङ्गारिन्छ । सुगन्धित बन्छ । केही दिनमै ठूलो चाड क्रिसमस आउन जम्जमाउँदै छ ! क्रिसमस रमाइलो र झिलिमिली चाड ! हाम्रो तिहार झै ! यही सिङ्गारिएको अमेरिकाको राजधानी न्युयोर्क र वासिङ्टन डीसीको रमाइलो वातावरण नियाल्न हामी हत्तारिएका छौँ । नोभेम्बर २४ तारिख २००९, झमझमाउँदै पानी परिरहेको दिन ! सेन्ट लुइस बरबर आँसु झारिरहेछ । सायद हर्षाश्रु हो कि ! अथवा न्युयोर्कतर्फ लाग्दा भक्कानिएको हो ! सौजनले टोयोटा कार भाडामा ल्याएको छ न्युयोर्कतर्फ हुँइँकिन । हामी उत्साहित हुँदै कारबाट न्युयोर्कतर्फ प्रस्थान गर्न तम्सिन्छौँ सेन्ट लुइसमा फेरि आउने वाचासँगै ।
कार हाँकिरहेछ सौजन ! ऊ एक चित्त अगाडि हेरिरहेछ । उसलाई दायाँबायाँ हेर्ने अवसर छैन । चिल्ला र फराकिला सडकमा कार घुँइकिरहेछ । म अवाक् छु । दृश्यावलोकनमा मेरा आँखा ओछ्याइएका छन् । दायाँबायाँ, अगाडिपछाडि समानान्तर बगिरहेका कार र ट्रकहरूको गति पनि नाप्न सकिरहेको छैन । म नेपालको राजमार्ग देखिरहेको छु । विपरीत दिशाबाट ठोकिएला ठोकिएलाझैँ हुँइकिएर आउने सवारी साधनले झस्काउँछ मन ! ठूला ट्रक, बस, कार र मोटरसाइकलका साथै सडकमा असरल्ल सल्बलाएका मानव हूल र घरपालुवा गाईवस्तुहरूको जञ्जालमा अल्झेर झसङ्ग हुन्छु । यताउता हेर्छु, खै र नेपाल ! अमेरिकी राजमार्गमा सौजन आफ्नै मतापले कार हाँकिरहेको छ । ढुक्क हुन्छ मन !
साँच्चै, अमेरिका त सडक नै सडकले जेलिएको देश पो रहेछ । देश विकासको पूर्वाधार नै सडक सञ्जाल हो भन्ने कुरा हाम्रा नेता तथा व्यवस्थापकले किन बुझपचाएका ! सडक निर्माणमा कञ्जुस्याइँ किन ? अमेरिकाले सडक निर्माण गर्न पटक्कै कञ्जुस्याइँ गरेको देखिनँ । त्यसैले होला अमेरिकाले दू्रतगतिमा विकास गर्न सकेको । मलाई त्यस्तै लाग्छ । चार-चार लेनसम्मका वानवे सडकहरू दुवैतर्फ समानान्तर सँगसँगै दौडिरहेका छन् । जता हेेरे पनि सडक घुइँकिएकै छन् । असरल्ल ! सडकहरूले एक अर्कालाई काटिरहेकै छन्, पहाडी धरातलमा होस् वा समतलमा । आँखै तिर्मिराउँछन् मेरा ! ओभरहेड बि्रजको खातले बाटो काट्न कुनै व्यवधान छैन तर पनि माकुराको जालोझैँ जेलिएका अनगिन्ती सडकहरूमा गन्तव्य पहिल्याउनु त्यति सरल भने छैन । सौजन र सौरभ पालैपालो कार हाँकिरहेका छन् निर्धक्क ! जीपीएस (ग्लोबल प्वाइन्ट सिस्टम) मेसिनको सहयोग समेटिरहेका छन् । अत्याधुनिक प्रविधि जीपीएस मेसिनमा गन्तव्यको ठेगाना भरिदिएपछि निश्चिन्त देखिन्छन् उनीहरू । उनीहरू सावधान हुन्छन् । सडक छुट्टनिे विन्दुहरू र लेन बदल्नु पर्ने क्षणहरूमा ! कथम् झुक्किएमा कयौँ फेरो काट्नु पर्दो हो जीपीएसले पछि मिलनविन्दु देखाइदिए पनि ! चालकको सावधानी र ट्राफिक नियमको कडाइसाथ अनुसरणले सवारी साधनहरू निर्धक्क ७० माइल प्रति घण्टासम्मको रफ्तारमा हुँइकिरहेकै छन्, हुँइकाइरहेकै छन् ।
म भने सडक सञ्जाल र कारको गतिसँगै बेलाबेलामा ‘थ्याङ्क्स गिभिङ डे’ मै अल्झिन पुग्छु । ‘थ्याङ्क्स गिभिङ ड’े सर्वप्रथम सन् १६२१ बाट सुरु भएको मानिन्छ । त्यस वर्ष शरद ऋतुमा शरद अन्नबाली भोजको आयोजना गरिएको थियो । त्यस भोजमा नव आगन्तुक युरोपेली ‘प्लेमाउन्थ कोलोनिस्ट’आदिवासी रेड इन्डियनले एक आपसमा धन्यवाद दिँदै मिलिजुली भोज खाएका थिए । आपसमा सद्भाव बाँडेको त्यसै भोजले निरन्तरता पाएर ‘थ्याङ्क्स गिभिङ डे’ को रूपमा चाड मनाउँदै आएको इतिहास बोल्छ । हाल पनि यस चाडलाई अङ्ग्रेजी कोलोनिस्ट र रैथाने अमेरिकीहरूको बीचमा सद्भाव, सहयोग र अन्तक्रिर्याको चिनोको रूपमा लिइन्छ । अर्को भनाइअनुसार सन् १६१९ मा क्याप्टेन जोन उडिफ नेल्टको नेतृत्वमा आएको युरोपियन तथा बि्रटिस कोलोनिस्टसमेतको टोली उत्तर अमेरिकामा बसोबास गर्न आउनेक्रममा आरामसाथ एटलान्टिक महासागर पार गरेर अमेरिका आइपुगेको खुसियालीमा ईश्वरलाई धन्यवाद दिन आयोजना गरी यो चाड मनाइएको हो ।
‘अहा ! पहाडी धरातल ! कति होचाहोचा डाँडाहरू ! ठ्याक्कै चुरे डाँडा जस्ता !’ प्रतिभाको स्वतस्फूर्त अभिव्यक्तिले म तन्द्राबाट बिउँझन्छु । आँखा अगाडि चुरे पर्वत शृङ्खलाका जस्ता होचाहोचा थुम्काथुम्की र पहाडी धरातलले मेरो मन पनि नेपाली भू-भागमा विचरण गरिरहेझैँ लाग्छ । तराईबाट चुरे पर्वत शृङ्खला देखिएझैँ रमाइला ! पर्वतीय भूमिबाट पाताल झरेका अदना पर्वतेले होचाहोचा भए पनि पहाड देख्नपाउनु रमाइलो अनुभूति हो । हामी रमायौँ पर्वतीय वातावरणमा ! सायद इलिनोज राज्यको भू-भाग ! यस भेगमा पशुपालनका लागि चरण क्षेत्र पनि मनग्य रहेछन् । गाई र भेँडा पालनका दृश्यहरू आँखामा सल्बलाइरहे । यतिखेर सौरभ हाँकिरहेछ कार ! पहाडी धरातलको होचोअग्लो सडकको तरेलीमा सौरभ पनि रमाइरहेको छ । सवारीसाधनहरू दायाँबाट हाकिन्छन् अमेरिकामा ! प्रचलनले ओभरटेक गर्दा सावधानीसाथ बायाँ लेन प्रयोग गरिरहेका थिए सौरभ र सौजन पनि ! आफूभन्दा तेजगतिमा आउने सवारी साधनलाई कहिले बाटो छोड्छन् भने कहिले अरूलाई ओभरटेक पनि गर्छन् । यसरी ओभरटेक गर्दाको मज्जा बेग्लै हुँदोरहेछ ।
इलिनोज राज्य छिचोलेर हामी इन्डियाना राज्यका फराकिला सडकहरूमा चिप्लिरहेका छौँ । म फेरि थ्याङ्क्स गिभिङ डेमा अल्झन पुग्छु । यो चाड सत्रौँ शताब्दीदेखि अमेरिकामा धुमधामले मनाउने गरेको छ । चाड सुरु भएको करिव दुई सय वर्षपछि राष्ट्रपति अब्राहम लिङ्कनले नोभेम्बर महिनामा यो चाड राष्ट्रिय दिवसको रूपमा मनाउने घोषणा गरेकाले हामीले पनि यो चाड व्यहोर्ने अवसर भेटेका हौँ चार शताब्दीपछि भए पनि ! सन् १९४१ देखि सरकारी बिदासमेत दिन थालिएकोले यही बिदाको सदुपयोग गर्न र हामीलाई न्युयोर्क र वासिङ्टन डीसीको भ्रमण गराउने अनिता, सौरभ र सौजनको पूर्वयोजना सार्थक हुँदै छ यतिबेला । घ्याच्च कार रोकिँदा म तन्द्राबाट झस्किन्छु । कार त राजमार्गबाट बाहिरिएर रेस्ट एरियामा रोकिएको रहेछ । आवश्यकता हो यात्रा गर्दा रेस्टरुम अर्थात् शौचालयको ! हामीले त्यहाँ शौचालय प्रयोग गरी केहीबेर आङ तन्काउँदै आराम अनुभव गछौँ । हाइवेमा केही माइलको दूरीमा भेटिने रेस्ट एरियाको व्यवस्था राम्रो रहेछ । हामी कहाँ भएको भए सडकका छेउ किनारामा तुक्र्याउन पछि मर्दैनथ्यौँ तर यहाँ कहाँ पाइनु त्यस्तो स्वच्छन्दता !
रेस्ट एरियामा रहेको स्वचालित पसलको मेसिनमा पैसा घुसारेर निस्केको एकएक ओटा कोकबाट तृप्त हुन्छौ । सौजन र अनिता सिकाउँदै छन् हामीलाई त्यो प्रविधि ! त्यहाँ पसलेको प्रत्यक्ष संलग्नता देखिनँ, भनौँ मान्छेको आवश्यकता नै रहेनछ व्यापार गर्न । काठमाडौँको भीडमभीड देखिरहेका मेरा आँखाले सुनसान बस्ती पचाउन सकिरहेको छैन । यात्राक्रममा सानाठूला बस्तीमा ठूला साना घर आँगन छपक्कै देखिन्छन् तर मानव उपस्थिति शून्य ! इन्डियाना पोलिस, कोलम्बस, बाल्टीमोरजस्ता बस्तीबस्तीमा अग्लाअग्ला गगनचुम्बी भवनहरू पनि दृष्टिगोचर हुन्छन् । सडकमा कार बग्रेल्ती गुडिरहेकै हुन्छन् अटुट तर ग्यास डिपोमा ग्यास भर्न रोकिएका कारबाट ओर्लिएका एकाध मानिसबाहेक अरू फाल्तु मान्छेहरू खै र ! सबै काममा व्यस्त भएरै त होला अथवा सडकपेटीमा हिँड्ने र आँगनमा टहल्लिने संस्कारै नभए पो हो कि ? म रनभुल्लमा पर्दा पर्दै सौरभ ग्यास डिपोमा कार भित्र्याउँछ । हामी ओर्लिएर ग्यास डिपोमा सञ्चालित ड्राइफुड पसलमा भित्रिन्छौँ हत्तार हत्तार ! त्यहाँ रेस्टरुम (शौचालय) प्रयोग गरेपछि पसलमा केही किन्नु स्वभावतः आवश्यक ठान्छौँ । त्यस्ता ग्यास डिपोमा ग्यास (पेट्रोल) थप्दै, ग्यास डिपोमै रहेका कफी पसलबाट कफी, पानी र ड्राइफुडहरू किन्दै खानु पनि बेग्लै अनुभूति हो । त्यस्तो ग्यास डिपोका पसलहरूमा नेपालीहरूले पनि काम गर्दारहेछन् । लन्च र डिनरको क्रममा मेक डोनाल्ड, बर्गरकिङजस्ता रेस्टुँराहरूका खानाहरूको नयाँ स्वाद र नयाँ परिवेश हामीले मीठो मानेर ग्रहण गरिरहेछौँ । साँझ छिप्पिन थाल्छ सडकहरूमा ! लमतन्न तन्किएका सडकमा विपरीत दिशाबाट ज्योतिपुञ्ज प्रवाहित भएको नौलो दृश्य देखिन्छ । इन्द्रधनुषी आकारमा ज्योतिपुञ्ज अविरल प्रवाहित भइरहेका छन् झलमल्ल ! विपरीत दिशाको वानवे सडकमा हुँइकिरहेका सवारीसाधनका हेडलाइटको प्रवाहले मन आनन्दित तुल्याउँछ । आफ्नो अगाडिको सडकमा ब्याकलाइटका राता बत्ती पिल्पिलाउँदै दौडिरहेका छन् जुन कीरीको पिलपिलझैँ । हामी पछ्याइरहेका छौँ साठी-सत्तरी माइलको रफ्तारमा ।
रातको ११ बज्नलाग्दा ओहाओ राज्यको कोलम्बस भन्ने सहरको एउटा लजमा बिसाउँछौ हामी आफूलाई ! कोलम्बस शब्दले मलाई स्मरण गराउँछ अमेरिका पत्ता लगाउने पुराना यात्री क्रिस्टोफर कोलम्बसलाई । कोलम्बसले नै त हो अमेरिकालाई उज्यालोमा ल्याएको । अहिले अमेरिका रामै्रसँग उज्यालिएको छ । उज्यालोसँगै हामी फेरि यात्रा सुरु गर्छौं । यात्राक्रममा मिसिसिपी नदी, हृवाइट नदीजस्ता कैयौँ नदीहरू, विशाल क्षेत्रमा फैलिएका चरण क्षेत्र र कृषि क्षेत्रहरूका साथै टिस्करारा पहाडमा बनेका सुरुङ सडकहरू पनि छिचोल्छौँ । होचाहोचा पहाड पनि खोपेर सुरुङ मार्ग बनाइएको पाउँदा हामीकहाँ चन्द्रागिरि छिचोलेर सुरुङमार्ग बनाउने नेपाली योजना तुहिएको सम्झँदा मन कटक्क काटिनु अस्वाभाविक होइन । त्यस्ता सुरुङमार्ग बन्नसके आयातीत इन्धन, समयको बचत हुनुका साथै आजको जस्तो कष्ट र जोखिम त व्यहोर्नु पर्ने थिएन नेपालीले । धिक्कार्न मन लाग्छ आफँैलाई । न्युयोर्क छिनर्ैै लाग्दा हडसन नदीमाथि बनेको विशाल पुल र त्यही नदीमुनि बनेको लामो लिङ्कन टनेल (सुरुङमार्ग) ले पनि मेरा आँखा तिर्मिराउँछन् । तीन-तीन लेनमा खोपिएको झकिझकाउ टनेलमा आफ्नो लेख नछोड्न चेतावनी पस्किएको छ ।
हामीले करिव एक हजार माइल कार यात्रा छिचोली साँझ झर्नैलाग्दा भाइ रामहरि विष्टको डेरामा छिरिसकेका हुन्छौँ । भाइ रामहरि, बुहारी मनिता, उनका छोरीहरू रक्षा र प्रज्ञाका साथै भाइ शेखरका दम्पत्तिहरूको न्यानो स्वागतसत्कारमा हामी लुट्पुटिन्छौँ । अमेरिकामा नेपाली परिवेश ! मन नै प्रफुल्ल बन्छ । अमेरिकाको थ्याङ्क्स गिभिङ डेको भोज बिर्साउँदै नेपाली आतिथ्य सत्कारको न्यानो संस्कारमा हामी चुर्लुम्म डुब्छौँ । रामहरि विष्ट मेरा आत्मीय, आफन्त र छिमेकी भाइ एकै थातथलोमा खाइखेलेका ! ऊ स-परिवार छ महिना अघिमात्र अमेरिका भासिएको हो गि्रनकार्डको हकदार बनेर । उनकी श्रीमती मनिता भने चार/पाँच वर्ष नै भइसकेको छ अमेरिका बसेकी । भुक्तभोगी छिन् उनी । धन्यवाद दिवसको पूर्व सन्ध्यामा हाम्रो आगमनमा उनीहरूले दसैँको रौनक भित्रिएझैँ उद्गार पोख्दा हामी कृतकृत बन्न पुग्छौँ ।
बिहीबारमा चाड परेकोले आइतबारसम्मको लामो बिदा रहेछ अमेरिकीहरूलाई । भोज खाने, घुम्न जाने, धन्यवाद आदानप्रदान गर्ने, किनमेल गर्ने सबै काममा उत्साहित देखिन्थे रैथानेहरू तर अरू बाहिरका कामदारहरूले त्यति बिदा पाउँदा रहेनछन् । दोस्रो दर्जाका नागरिकहरूलाई कसले तातो भात दिने ? रामहरि र शेखरले पनि एक दिने बिदामै चित्त बुझाएका छन् ।
अमेरिकीहरू टर्कीको मासुको विभिन्न परिकार खाएर भोज मनाउँछन् । यो चाडमा सबभन्दा बढी बिक्ने परिकार हो टर्कीको मासु ! हामीलाई थ्याङ्क्स गिभिङ डेको भोज र टर्कीको मासुप्रति आशक्ति रहेन । हामी त घुमन्ते ! घुम्न पाएँ पाथीभात खाएझैँ हुन्छौँ । अमेरिकीहरूमा पाहुनाहरूलाई निम्तो गर्ने संस्कार केकति छ कोन्नि ? उनीहरूसँग सङ्गत गर्न भ्याएको छैन । भनौँभने अमेरिका यात्रामा अहिलेसम्म मैले एउटै अमेरिकीसँग गफिन पाएको छैन । छोराहरूको पनि अमेरिकीहरूसँग त्यति घनिष्टता भएको देखेको छैन । जता गए पनि नेपालीका छोराछोरीहरूलाई नै भेटिरहेका छौँ । दृश्यावलोकनको नौलो अनुभूतिबाहेक अमेरिकीभूमिमा नेपाली परिवेशमै रमाइरहेका छौँ ।
रामहरि र शेखरको अगुवाइमा न्युयोर्क सहर मज्जाले घुमिरहेका छौँ । शेखर विष्ट मेरा आत्मीय र छिमेकी भाइ हुन् । ऊ सपरिवार डीभी परेर यता आएको करिव दुई वर्ष भएछ । जीविकोपार्जनमा भौतारिँदा उसलाई न्युयोर्कको गल्लीगल्ली थाहा भइसकेछ । हामी हाइसञ्चो मान्छौँ उसको सक्रियता र आत्मीयतामा ।
संसारको गगनचुम्वी भवनको सहर भनेर चिनिने न्युयोर्क महानगरको भूमिगत रेल र पब्लिक बसको समायोजन सार्है रहरलाग्दो छ । हामी यात्राको गति बढाउँदै स्वतन्त्रताकी देवीको मूर्तिको भव्यतालाई नियाल्दै स्टेटन टापुसम्म पुग्छौँ । बु्रकलिन बि्रजको लम्बाइ र रमणीयतासँगै हडसन नदीमुनिको लिङ्कन टनेल (सुरुङमार्ग) पनि छिचोल्छौँ । इम्पायर बिल्डिङको उचाइ नाप्दै टाइम्स स्क्वायरको रमझम पनि भ्याइछोड्छौँ । थ्याङ्क्स गिभिङ डेको रौनकमा न्युयोर्कका सडक र गल्ली गल्डेछाभरि छताछुल्ल पोखिएका पैदल यात्रुहरूको घुइँचोमा रमाउँदै ‘मेसीको’ विश्व बजारसम्मै पुग्छौँ । थ्याङ्क्स गिभिङ डेको अवसरमा ‘मेसीको’ बजारमा हरेक वर्ष ठूलो मेलाको आयोजना हुँदोरहेछ । सस्तोमा सामान पाइने लोभमा ग्राहकहरू झुत्तिएको देख्दा रमाइलो अनुभव गर्छु । जहाँका ग्राहक पनि सस्तोकै खोजीमा हुँदारहेछन् भीडभाडमा ठगिने चिन्ता कसैमा रहेको पाइएन । मानवीय स्वभाव कहाँ पो फरक हुँदो रहेछ र ! जे राम्रो लाग्यो त्यही टप्प टिपी हाल्नु पर्ने ! बस्, मेलाको रौनक यसैमा पो भेटिँदोरहेछ ! अनिता र सौरभ केही किन्न सल्बलाउँछन् तर किनिहाल्न सक्दैनन् । हत्पतको काम लत्पत गर्न चाहेनन्, बेसै गरे ! थ्याङ्क्स गिभिङ डेमा पहिलो ‘परेड’सन् १९२४ मा न्युयोर्कमै सुरु भएको सम्झन्छु म ! ढिलै भए पनि हामी यस चाडको ‘परेड’मा सहभागी हुन पुग्छौँ न्युयोर्कका गल्लीगल्ली चाहार्दै !
जता फर्के पनि कृत्रिमताले बिछ्याइएको यस महानगर स्वप्नलोकझैँ लाग्छ । हो पनि, प्राकृतिक छटाले भरिपूर्ण नेपाली भूमिबाट आएको गरिब जनताका लागि स्वप्नलोक नै हो यो महानगरी, अझ यो विशाल देश अमेरिका सिङ्गै । सम्पन्नता र वैभवको सपना बोकेर काम र मामको खोजीमा यहाँ आइपुगेका अधिकांश नेपालीको दयनीय व्यस्तता र अवस्था नियाल्दा खल्लो अनुभव गर्नपुग्छु । स्वप्न भङ्ग भएका बिचरा नेपालीहरू, कोही हरेस खाएर स्वदेश फर्किएका छन् भने कोही यहीँ आफ्नो हाडछाला घोटिरहेकै छन् । होमनाथ सुवेदीको उपन्यास ‘यमपुरीको महल’ को नायकलेझैँ । दुःख, सास्ती, असन्तोष र आस बोकेर अझैँ भौतारिरहेकै छन्, स्वप्नलोकको गल्ली र गल्छेडाहरूमा ! स्वप्नलोकको सुखद अनुभूति भत्कन कतिबेर लाग्दोरहेछ र विपनामा ! हामी यस्तै अनुभूत गर्दै न्युयोर्क छोड्ने उपक्रम गरिरहेछौँ ।
कृष्ण दाइ अर्थात् वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीका दम्पत्ति भर्जिनियामा आइपुग्नु भएकोले भेटघाटका लागि हामीले शाश्वतको डेरामा पुग्नु छ ! वासिङ्टन डीसीको नजिकै छ रे भर्जिनिया ! पराजुली पुत्र शाश्वत पराजुलीका स परिवार डीभी भिसामा त्यहाँ बसेको केही वर्ष भइसकेको छ ।
अमेरिका आएको बेलामा पराजुली दाइलाई भर्जिनिया र न्युयोर्कमा अभिनन्दन हुने कार्यक्रम रहेछ । त्यो कार्यक्रमसम्म कुर्न भ्याउन्नौ हामी ! मेरा जेठा दाइ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ पनि केही महिनाअघि अमेरिकामा पुरस्कृत हुनुभएको सम्झन्छु म ! तर यस्ता ऐतिहासिक कार्यक्रमहरूमा सहभागी हुन नसक्दा नियासि्रन्छु । तैपनि पराजुली दाइलाई अमेरिकीभूमिमै भेट्न पाउनु रमाइलै क्षण हो ।
साथै मित्र साहित्यकार गोविन्द गिरी प्रेरणा र भाइ शाश्वत दम्पत्तिको सामिप्य र उनीहरूद्वारा सम्पादित क्रमशः विश्वपरिक्रमा र शैली नेपाल पत्रिकाहरू हेर्ने आशको कुम्लोसमेत बोक्दै हामी अमेरिकाको राजधानी वासिङ्टन डीसी तर्फ हुइँकिन्छौँ ।
डिसेम्बर २, २००९, सेन्ट लुइस, अमेरिका
