करिब सत्र वर्षअघि प्रकाशित डा. तसलीमा नसरिनको उपन्यास ‘लज्जा’ अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक देखिन्छ । विशेषगरी लज्जाले जहाँ कुनै पनि वाहानामा जातीय सद्भाव खलबलिन्छ वा खलबलिएको हुन्छ त्यहाँको अवस्था कति दर्दनाक हुन्छ भन्ने कुरालाई साङ्गोपाङ्ग केलाउने प्रयास गरेकाले समसामयिक राजनीतिक परिवेशमा झनै सान्दर्भिक हुनपुगेको छ । सन् १९९२ को डिसेम्बरमा भारतको अयोध्यामा घटित बाबरी मस्जिद काण्डपछि बङ्गलादेशका बहुसङ्ख्यक मुसलमानहरूद्वारा अल्पसङ्ख्यक हिन्दुहरूमाथि गरिएको अत्याचारको विषयलाई लिएर लेखिएको लज्जालाई लेखिकाले बङ्गलादेशलाई माया गर्ने सबैको हारको दस्तावेज मानेकी छन् । हुन पनि लज्जा तसलीमाको मात्र नभई मानवसभ्यताकै लज्जाको दस्तावेज हो ।

२५ अगस्त १९६२ मा मयमनसिंह बङ्गलादेशमा जन्मिएकी तसलीमा हाल अमेरिकामा प्रवासी जीवन व्यतित गर्दै आएकी छन् । लज्जालाई व्यापक छलफलपछि प्रकाशित भएको पाँच महिनामा तत्कालीन सरकारले साम्प्रदायिक सद्भाव बिथोलेको आरोपमा प्रतिबन्धित गरिएको थियो भने उनलाई त्यहाँका कट्टरपन्थी धार्मिक सङ्गठनले तीन पटकसम्म फतवा जारी (मृत्युदण्डको घोषणा) गरेको थियो । त्यसपछि उनी भारत पश्चिम बङ्गालमा बस्न थालेकी थिइन् तर त्यहाँ पनि असुरक्षा यति बढेर गयो कि कट्टरपन्थीहरूले पाँच पटकसम्म फतवा जारी गरेका थिए । व्यापक असुरक्षा र अनिश्चयबीच मृत्युसित लुकामारी खेल्दै कोलकत्ता र दिल्ली गरी करिब आठ महिनाको कठोर नजरबन्दी जीवन व्यतित गरेपछि उनी पहिले स्विडेन र पछि न्युयोर्कमा बस्न थालेकी हुन् ।

मयमनसिंह मेडिकल कलेजबाट एमबीबीएस गरेकी तसलीमालाई कतिले सलमान रुस्दी र केही वर्ष अघिदेखि प्रवासी जीवन व्यतित गर्दै आएका भारतीय नागरिक मकबुल फिदा हुसेन (जो भारतको एक नम्बरको चित्रकार) जसको चित्र सर्वाधिक बढी मूल्यमा बिक्ने गरको छ । सित तुलना गर्ने गरेका पनि छन् तर देश निकालाबाहेक अन्य कुरामा उनीहरूसित कुनै हालतमा पनि आफ्नो तुलना हुन नसक्ने उनले प्रष्ट पारिसकेकी छन् । मानवअधिकारवादी विशेषगरी नारीवादी तसलीमा त्यस्ता साहसी लेखिका हुन् जो दुई-दुईवटा देशबाट -बङ्गलादेश र पश्चिमबङ्गाल) निस्कासित छिन् र जसमाथि दुई देशमा गरी आठपटक फतवा जारी भएको छ । सन् १९८९ देखि नै साहित्यक्षेत्रमा कलम चलाउँदै आएकी तसलीमाको हालसम्म दर्जनौं कृति प्रकाशित भइसकेका छन् । यसमध्ये लज्जा, मेरो बाल्यकाल, उत्ताउलो हावा, द्विखण्डित, सारा अन्धकार आदि पाँचवटा कृति अहिले पनि प्रतिबन्धित छन् । उत्ताउलो हावाको हालै नेपाली अनुवादसमेत प्रकाशित भइसकेको छ ।

लेखिका आफू स्वयं क्रान्तिजीवी भएकैले हुनुपर्छ उनका सबै नै कृति त्यत्तिकै सटीक रहेको पारखी पाठकहरू बताउँछन् । त्यसमा पनि लज्जाको कुरो बेग्लै छ । यसमा जुन किसिमको एउटा छुट्टै ज्यान पाइन्छ र बेजोड भाव गुम्फन भएको पाइन्छ त्यसले गर्दा कृति ‘क्षणेक्षणे यन्नवतामुपैति’ अर्थात् प्रत्येक क्षण नयाँभाव बोध गराउने भनेजस्तो जतिजति समय बित्दै जान्छ त्यतित्यति नयाँपन बोधक हुन पुगेको छ । विशेषगरी सुधामय (बाबु), किरणमयी (आमा), सुरञ्जन (छोरा), र माया (छोरी) चार पात्रको सेरोफेरोमा घुमेको लज्जाले साम्प्रदायिक सद्भाव बिथोलिएपछि हुन सक्ने समाजको डरलाग्दो चित्र प्रस्तुत गरेको छ । जहाँ जातीय विद्वेष फैलिन्छ वा साम्प्रदायिक सद्भाव विथोलिन्छ त्यहाँको समाज अन्धो हुन्छ र सक्नेहरूबाट नसक्नेहरू लुटिन्छन्, कुटिन्छन्, पिसिन्छन्, थिचिन्छन् र मिचिन्छन् । उनीहरूले बाँच्ने अधिकारसम्म पाउँदैनन्, हारगुहार सुन्नेसम्म कोही हुँदैन । जसलाई आफ्नो भनिएको छ उनीहरूसमेत, कि परपर हुन्छन् कि थाहा नपाएजस्तो गर्छन् । हेरौँ लज्ज्ााको अन्तिम प्रसङ्गमा आएको एउटा पात्रको अवस्था- (जसका बाबु महिनौंदेखि थलापरेका छन्, श्रीसम्पत्ति लुटिएकोछ, अपहरित बहिनीको चार-पाँच दिनदेखि अत्तोपत्तो छैन र आमा त्यसैदिनदेखि मूर्छित छिन्)

‘निराशाको अथाह अथाह जलमा सुरञ्जन एक्लै तैरिरहन्छ । रात पर्छ, रात छिप्पिदै जान्छ । ऊ आफूलाई एकदमै एक्लो महसुस गर्छ । कोही छैन, सहायता गर्ने, कोही छैन उसको । आफ्नै देश आफूलाई प्रवास लाग्दैछ । ऊ आफ्नो तर्क, बुद्धि, विवेकसहित आफैँमा खुम्चेर बस्छ । उसको उदार, सहिष्णु, तर्कवादी मन हडताल, कफ्र्यु र आतङ्कको देशमा क्रमशः सङ्कुचित हुँदैछ । ऊ शून्य हुँदै गइरहेको छ, आफ्नो बन्द झ्याल, ढोका भएको कोठामा उसलाई सास लिनका लागि शुद्ध हावासमेत प्राप्त छैन । मानौँ ती सबै एक भयावह मृत्युको प्रतीक्षा गरिरहेछन् ।’ (लज्जाको नेपाली अनुवादबाट साभार ।)

मुलुक सङ्घीयतामा प्रवेश गरिसकेको छ तर संस्थागत रूप भने अझै प्राप्त गरिसकेको छैन । राज्य विभाजनमा जाति, भाषा, धर्म, संस्कृतिको कुरो पनि त्यति नै उठिरहेको छ । यसमा अलिकति मात्र हामी चिप्लियौं, तलमाथि पर्‍यो, बुद्धि पुर्‍याउन सकेनौं भने यहाँ पनि त्यस्तै अवस्था नआउला भन्न सकिन्न । यस्तो अवस्थामा तसलीमाको लज्जाबाट सिक्नपर्ने धेरै पाठ हुनसक्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *