Skip to content


तिखेमार २६ वर्षको क्रोसियन युवक हो । उसको अग्लो शरीर र बान्की परेको गोरो अनुहारले जो कसैलाई पनि आकषिर्त गर्छ । उसका लागि हुरूक्क हुने केटीहरू पनि प्रसस्तै छन् तर ऊसँग विगत पाँच वर्षदेखि कुनै केटी साथी छैनन् । उसले कुनै केटी साथी बनाउने र जीवनलाई रङ्गिन बनाउने सपना पनि देख्न छाडिसकेको छ । युरोपियन समाजमा उसको उमेरका केटाहरूसँग गर्लफ्रेन्ड नहुनुलाई पनि एउटा अनौठो घटनाका रूपमा हेरिन्छ तर यो सत्य हो कि ऊसँग कुनै गर्लफ्रेन्ड छैन । गोली, बम र बारूदसँग खेल्न थालेपछि उसले जीवनका सबै सम्बन्धहरूलाई बिर्सेको छ । अझ यसो भनौँ आफ्नो सबै सम्बन्धहरूलाई भुल्न ऊ यो गोली बारूदको खेलमा लागेको छ । कहिलेकाहीँ गोली बारूदको खेलबाट फुर्सद मिल्दा ऊ दारूवार सेन्टरको बियर बारमा भुल्ने गर्छ । चिसो बियर पिएर बियरले मातेपछि मात्र घरतर्फ लाग्छ ।

उसको र मेरो पहिलो औपचारिक कुराकानी यसै बियर बारमा भएको हो । उसको घर म बसेकै घरनजिक भए पनि हाम्रो सामान्य देखादेख भन्दा अरू केही भएको थिएन । म यूएनमा काम गर्छु भन्नेसम्म उसलाई थाहा भएको हुनुपर्छ भन्ने मेरो अनुमान थियो तर उसका बारेमा म बिल्कुल अनभिज्ञ थिएँ ।

एउटै टेबुलमा परेकोले पहिलो भेटमा सामान्य शिष्टाचार दर्शाउँदै मैले नै परिचयका लागि हात बढाएको थिएँ । परिचयको क्रममा मप्रतिको उसको दृष्टि त्यति उत्सुक पाएको थिइनँ । बियरको चुस्कीको गन्ती बढ्दै जाने क्रमसँगै थोरै खुलेको थियो ऊ । मैले आफ्नो परिचय सँगसँगै मेरो देशको चिनारी गराएको थिएँ । हाम्रा हिमालहरूको सुन्दरताको बयान गरेको थिएँ । सायद मैले मेरो देशको बारेमा यति धेरै बोल्नुहुन्थ्यो कि हुन्थेन, आखिर आफ्नो देश त सबैलाई सुन्दर नै लाग्दो हो मरूभूमि भए पनि ।

“तपाईंले सुन्दरताको धेरै कुरा गर्नुभो तर मान्छेको मस्तिष्कमा युद्धको भूत चढेपछि कुनै पनि सुन्दर चीजको अर्थ नहुँदो रहेछ । क्षणभरमै नष्ट हुँदा रहेछन् सबै सुन्दर चीजहरू । के संसारमा तपाईंले हाम्रो युगोस्लाभियाजस्तो सुन्दर देश कतै देख्नुभएको छ ? तर सुन्दरताका सबै चीजलाई कति कुरूप बनाएर छाडे यी युद्धका नाइकेहरूले ।” उसले बियरको रमरममा युद्धको वास्तविकता ओकल्यो, मेरा सामु । यति भनिरहँदा ऊ मेरो अगाडि एउटा भावुक कविझैँ प्रस्तुत भइरहेको थियो । उसका अनुहारमा पीडाका विम्ब स्पष्ट देखिन्थे ।

बियर बारको सिशाको झ्यालबाट बाहिर बत्तीको उज्यालोमा आकाशबाट खसिरहेका हिउँका टुक्राहरू स्पष्ट देखिन्थ्यो । वरपरका रूखहरू हिउँका पहाडजस्तै बनेका थिए । चिसा सडकहरूमा कुदिरहेका थिए अनगिन्ती गाडीहरू । बाहिरको चिसोको कुनै प्रभाव थिएन बारभित्र । बारभित्रको तातोमा चिसिँदै थियौं हामी बियरको घुटकोसँगै ।

बियर बारका अन्य टेबुलहरूमा आधिकांश केटाकेटीका जोडीहरू थिए । सबै जोडीहरू आ-आफ्नो धुनमा मस्त थिए । कसैलाईर् अरूतर्फ हेर्ने फुर्सद थिएन । कसैलाई अरूको कुरा सुन्ने चासो थिएन । केवल बिजोडी थियौँ त हामी दुई मात्र । ऊ त्यति धेरै खुलेर कुरा गरिरहेको थिएन । बेलाबेलामा केही बोलेर चुपचाप बियरसँग रमाइरहेथ्यो । म पनि उसको स्वभावसँग परिचित भई नसकेकोले अड्कली-अड्कली कुरा गरिरहेको थिएँ । केहीबेरको कुराकानीपछि उनीसँग बिदा हुँदै म त्यहाँबाट निस्किएको थिएँ ।

त्यो भेटपछि बाटोमा भेट हुँदा हेल्लो हाई चल्न थालेको थियो उसको र मेरो । दुई-तीन दिन घर बसेपछि ऊ फेरि १०/१२ दिन गायब हुन्थ्यो । उसलाई देखिन्छ कि भनी म उसको घरको बन्द ढोकातर्फ आँखा डुलाई रहन्थे ।

फेबु्रअरी महिनाको एक दिन म ग्रावानिचा एरियाको स्कुलहरू अवलोकन गरी पाक्राचतर्फ र्फकदैँ थिएँ । ग्रावानिचा र पाक्राचबीचको यूएनको चेकपोस्टनजिकै क्रोसियन सेनाको एपीसी माथि पुगेर मेरो आँखा टक्क रोकियो । सैनिक पोसाकमा रहेको तिखेमारलाई देखेर म एकैछिन अवाक् भएँ । मैले गाडी उसको नजिकै रोकी उसलाई हात हल्लाउँदै अभिवादन गरेँ । उसले पनि त्यसै गरी फर्कायो र फेरि दुरवीनले पारी ग्रावानिचातर्फ हेर्न थाल्यो । त्यसबेला ऊसँग बोल्नु त्यति प्रासङ्गिक नदेखिएकोले म कार्यालयतर्फ लागेँ ।

पाक्राच क्रोसियन भू-भाग थियो भने ग्रावानिचा सर्वियनहरूले कब्जा गरी बसेको छुट्टै क्रायना राज्यको एउटा गाउँ । क्रायनातर्फको भू-भागमा सर्वियनहरू बस्ने र पाक्राचतर्फको भूमिमा क्रोसियनहरू बस्ने हुनाले दुई पक्षबीच कुनै पनि बखत युद्ध हुने सम्भावना कायमै थियो । क्रायना क्रोसियन भू-भाग हो भन्ने क्रोसियनहरूको दाबी थियो र उनीहरू क्रायनामाथि आक्रमण गरी आफ्नो कब्जामा पार्ने मौकाको पर्खाइमा थिए । युद्धबाट मानवीय क्षति नहोस् भन्नाका खातिर यूएनका सेनाका चेकपोस्टहरू थिए सिमानामा ।

पाक्राचमा अनपोलको स्टेसन भए पनि सो स्टेसनको कार्यर्क्षेत्र क्रायना भएकोले हरेक दिन म ग्रावानिचातर्फ गइरहनु पर्थ्यो । क्रोसियन र क्रायनाका सर्वियनहरूबीच युद्ध कहिले हुने भन्ने दिन गन्ती हुँदै थियो । सर्वियनहरू प्रतिरक्षात्मक स्थितिमा थिए भने क्रोसियनहरू आक्रमक अवस्थामा थिए । अमेरिका, जर्मनी, बेलायतलगायतका शक्तिशाली मुलुकहरूको समर्थनले गर्दा पनि क्रोसियालीहरूको मनोबल उच्च थियो । तिनै बलियो सेनाका सदस्य रहेछन् तिखेमार ।

यतिबेला युगोस्लाभियाको गृहयुद्ध रोकिएको रहेछ, सकिएको रहेनछ । बोस्नियाली सर्वहरूको नेता राडोभान काराज्दिक सर्वियन सेनाहरूको क्याम्पमा गएर सर्वियन सेनाको मनोबल बढाउने प्रयासमा देखिन्थे भने क्रोसियाका राष्ट्रपति फ्रयान्यो टुजमेन आफ्नो भूमिबाट सर्वियन सेनालाई लखेट्ने प्रयासमा थिए । दुवै पक्षका आ-आफ्नै तर्क थिए तर युद्धमा निर्दोष नागरिकहरू मरिरहेका थिए ।

पाक्राचको वरपर जताततै बमले उडाइएका घरका भग्नावषेशहरू र आगोले डढेर बाँकी रहेका घरका काला भित्ताहरू ठिङ्ग उभिएका थिए । घरका भित्ताहरूमा गोलीका अनगिन्ती दागहरू थिए । यी घरहरूको अवस्थाले युगोस्लाभियाको गृहयुद्धको यथार्थ अवस्था बोलिरहेको थियो । म सोचिरहेको थिएँ, कति कहाली लाग्दो र भयानक थिए होलान् ती दिनहरू जुन दिन यो सम्पूर्ण बस्ती उजाडिएको थियो जातीयताको उन्मादमा । कति मारिए होलान् बिचरा निर्दोषहरू, जातीयताकै नाममा । युद्धको सम्झनाले मात्र पनि मेरो मन काँप्दथ्यो ।

युगोस्लाभियाको गृहयुद्धको अति प्रभावित ठाउँमध्ये पर्दोरहेछ पाक्राच । जहाँ म शान्ति पुनर्वहालीका लागि खटिएको थिएँ । क्रूरताको यो पराकाष्टाले तत्कालै शान्ति वहाल हुनेछ भन्ने कुरामा द्विविधा नै थियो ।

तिखेमारलाई सैनिक पोसाकमा देखेदेखि मभित्र ऊप्रतिको उत्सुकता बढेको थियो । ऊसँग फेरि भेट्ने इच्छाले मलाई सताइरहेको थियो । म उसलाई भेट्न तारन्तार बियर बारमा धाउन थालेको थिएँ । यसै क्रममा १०-१२ दिनपछि ऊ फेरि टुप्लुक्क भेटियो दारूबार सेन्टरको त्यही बारअगाडि । मैले नै अघि सरेर बियर पिउने आमन्त्रण गरेँ । उसले सहजै स्वीकार गर्‍यो । हामी फेरि माथि उक्लियौं र झ्यालतर्फको टेबुलमा बसेर बियर पिउन थाल्यौं । यो बियर भन्ने चीज पनि गजबकै रहेछ । नजिक भएका साथीहरूलाई टाढा पुर्‍याइदिने र चिन्दै नचिनेका मान्छेहरूसँग कति गाढा सम्बन्ध बनाइदिने । जतिजति बियरको नसा चढ्दै गयो त्यति नै ऊ मेरासामु खुल्दै गयो । हामीबीचको असजिलोपन हटाउने गतिलो माध्यम बनिरहेको थियो बियर । हामी धेरै पुराना साथीझैं गफिँदै थियौं तर पनि नजानिँदो पाराले बेलाबेलामा मप्रति तिरस्कृत दृष्टि फ्याँकिरहन्थ्यो ऊ । उसको दृष्टिमा रहेको मप्रतिको नकारात्मकपनले मेरो मनभित्र कताकता चिसो पस्दथ्यो । सायद, ऊ बियरको नसामा भए पनि आफ्नो सैनिक गोपनीयता खुल्ने त होइन भन्ने कुरामा सचेत थियो ।

“तिखेमार ! के तिमीलाई तिम्रो देशमा हाम्रो उपस्थिति मन परेको छैन ?” -मैले मौका छोपेर उसको मनको कुरा बुझ्ने प्रयत्न गरेँ ।

ऊ केहीबेर चुपचाप रहृयो र मलाई एकटकले हेरिरहृयो । केहीवेरको मौनतापछि उसले प्रत्युत्तरमा बियरको चुस्की लिँदै बोल्यो-“यदि तिमी साँचो सुन्न चाहन्छौै भने मलाई तिमीहरूले ती क्रायनाका बदमास सर्वियनहरूलाई माया गरेर खानेकुराहरू पुर्‍याइरहेको पटक्कै मन परेको छैन, तिनीहरू लुटेरा हुन् । तिनीहरू हत्याराहरू हुन् । तिनीहरूले ठूलो नरसंहार गरेर कब्जा गरी बसेका हुन् हाम्रो भू-भाग । तिमीलाई थाहा छैन यी सबै भग्न घरहरू र उजाड बस्तीहरू तीनै जल्लादहरूका उपहार हुन् ।”बोल्दा बोल्दै उसको बोली बीचमै रोकियो । उसको अनुहार रातो भएर आयो । म चुपचाप बसेँ । उसले गिलासको बियर एकै घुट्कोमा रित्यायो ।

“तिखेमार हामीले त खाली मानवीय सहायता मात्र गरेका हौं । जात, धर्म र क्षेत्रकै कारणले कसैको हत्या नहोस् भन्नाका खातिर मात्र हामी यहाँ उपस्थित छौं । वास्तवमा हामी कसैको पक्षमा छँदै छैनौं, हामी त संसारमा हुने सबै प्रकारका युद्धका विपक्षमा छौं ।” -मैले आफ्नो प्रतिरक्षाका लागि सानो स्वरमा मुख खोलेँ ।

“यी सर्वियनहरू मानव होइनन् । राक्षसहरू हुन् । हिजोको अवस्थामा यिनीहरूलाई सर्वियनवाहेक अरू कसैको अस्तित्व स्वीकार थिएन युगोस्लाभियामा । सबै राज्यको सेना, प्रहरी र सरकारी निकायमा सर्वियनहरूको मात्र वर्चस्व रहेको थियो । यत्रा मुस्लिम, क्रोसियन र स्लोभेनियनहरू भएको देशमा यिनीहरूको मात्र दादागिरी कसरी चल्न सक्छ । यिनीहरू कै निरङ्कुशता विरूद्धको विद्रोह त हो युगोस्लाभियाको विभाजन । यो गृहयुद्धमा यिनीहरूले कति जनाको ज्यान लिए कुनै हिसाब छैन । अन्ततः यिनीहरूको बन्दुक र सेना पराजित भए जनताको मतबाट ।”-उसले आफ्नो मनभित्रको कुरा ओकल्यो मेरा अगाडि ।

बियरको स्वादमा रमाइरहेका मान्छेहरूको भीडमा हामी बियरको चुस्कीसँगै युगोस्लाभियाको स्थितिका बारेमा गम्भीर कुराकानी गर्दै थियौं । उसको कुराले मलाई सर्वियन र क्रोसियनबीचको सम्बन्धका बारेमा सोच्न बाध्य बनाएको थियो । युद्ध सकिए पनि युद्धले बनाएका घाउहरू आलै रहँदो रहेछ । सायद उसले जस्तै युद्ध मैले भोगेको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला ! उसको भावुकतासँगै म पनि पग्लिएँ । म घरीघरी बियरको चुस्की लगाउँदै उसको कुरा सुनरहेँ ।

ऊभित्र सर्वियनहरूको विरूद्धमा ठूलो आगो दन्किरहेको थियो । ऊ तुरून्तै क्रायनाबाट सर्वियनहरूलाई लखेट्न चाहन्थ्यो । ऊ सिमानाहरूबाट यूएनका शान्ति सेनाहरू हटोस् भन्ने चाहन्थ्यो । यूएन कै कारण उनीहरूले क्रायना लिन नसकेको उसको ठहर थियो, त्यसैले ऊ यूएनका कर्मचारीहरूप्रति पनि त्यति सकारात्मक देखिँदैनथ्यो ।

“तिमीहरू जतिसुकै शान्तिको कुरा गर, हामी लडेरै लिन्छौ हाम्रो भू-भाग । तिमीहरू मात्र नभइदिएको भए हामीले उहिल्यै लिइसक्ने थियौं हाम्रो जमिन । शरीरमा एकथोपा रगत रहेसम्म हामी यिनीहरूलाई क्रोसियाको भूमिमा बस्न दिने छैनौं । यिनीहरू जहाँबाट आएको हुन् त्यतै जानुपर्छ ।” ऊ थोरै आवेगमा बोल्दै थियो । ऊ क्रोसियाली सेना हुनुको दम्भ बोलिरहेको थियो ।

“राजु ! मूर्खहरूलाई मूर्खकै भाषाबाट सम्झाउनुपर्छर् । यिनीहरूमा हतियारको दम्भ छ । हामी हिजोजस्तै निहत्था र निरीह छांै भन्ने भ्रम छ यिनीहरूमा तर यो युद्धले हामीलाई आफ्नो मातृभूमिका लागि लड्ने लडाकु बनाएको छ । आफ्नो माटोका लागि मर्न अभिप्रेरित गरेको छ । मजस्ता हजारौं क्रोसियनहरू छन्, जसका लागि आफ्नो जीवनभन्दा स्वतन्त्र र समृद्ध क्रोसिया प्यारो छ ।” ऊ भावनामा बग्दै गयो । ऊ बोल्दै गयो म एकोहोरो उसको श्रोता बनिरहेँ । उसले सर्वियनहरूबाट युद्धमा भएको क्षति र नरसंहारको बेलिविस्तार लगाइरहृयो । जति बियरका क्यानहरू रित्तिँदै गए उतिउति ऊभित्रको पीडा छताछुल्ल भएर निस्किरहृयो मेरा सामु । आखिर मान्छे न हो, पीडा पोख्ने ठाउँ पाएपछि एकाएक फुट्छन् मानिसको धैर्यको बाँध ।

“तिमीसँग यसरी बियर पिउँदा मलाई असाध्यै आनन्द आउँछ । सायद, तिमीसँगको भेट पनि एउटा विशेष अध्याय बन्नेछ मेरो जीवनमा । तिखेमार कहिलेकाहीँ यी युद्धका कुराहरूलाई पर राखेर जीवनका कुराहरू पनि सोच्नुपर्छ । युद्धविनाको जीवन कति सुन्दर हुन्छ एकपटक चियाएर हेर त ।” -मैले कुरालाई अलि अर्कै दिशामा लैजाने प्रयास स्वरूप बोलेँ ।

मेरो कुराले ऊ एकैछिन चुपचाप बस्यो । उसले बियरको लामो चुस्की तानेर श्वास बाहिर फ्याँक्यो । ऊ एकाएक गम्भीर बन्यो । उसको आँखाका डिलमा आँसु टिल्पिलाउन थाल्यो । ऊ धेरै बोल्न चाहेर पनि बोल्न नसकेको अवस्थामा अड्किरहृयो । म किंकर्तव्यविमुढ बनेर हेरिरहेँ उसको निन्याउरो अनुहार ।

उसले फेरि एउटा लामो चुस्की बियर तान्यो र बोल्यो-“राजु ! तिमीले युद्धलाई बेहोरेका छैनौं, युद्धलाई नभोग्नेहरू यस्तैयस्तै कुरा गर्छन् । मलाई पनि पहिला युद्धका समाचारहरूले उद्वेलित बनाउँथ्यो तर जब यी सर्वियनहरूले हाम्रो घरहरू जलाएर सर्वनास गरे । बूढा, बच्चा केही नभनी गाउँलेहरूलाई जम्मा गरी अत्यन्त क्रूर र पासविक ढङ्गले सामूहिक हत्या गरे । त्यसले मलाई बन्दुक समाउन बाध्य बनायो । तिमीलाई थाहा छैन पाक्राच क्षेत्रमा मात्र उनीहरूले चार हजारभन्दा बढी व्यक्तिहरूको आमहत्या गरेको छ । जसमा मेरा वृद्ध बाबुआमा र मोया पनि मारिएकी थिइन् र मेरी मोयाको त मैले लाश पनि फेला पार्न सकिनँ । यो भन्दा ठूलो पीडा के हुन सक्छ जीवनमा ? त्यसपछि मैले जीवनको कुरा गर्न छाडेको हुँ । यतिखेर मलाई मेरो जीवनसँग कुनै मोह छैन । म क्रोसिया र क्रोसियनहरूका लागि अन्तिम अवस्थासम्म लडिरहनेछु र ती हत्याराहरूलाई….”-बोल्दाबोल्दै उसको आवाज अड्कियो । उसको आँखामा रिसको आवेग र वेदनाको आँसु एकैसाथ देखा पर्‍यो । म केही पनि नबोली उसको पीडाको साक्षी बनिरहेँ । उसले एकै पटकमा एउटा क्यान बियर घुट्क्यायो र अर्को क्यानका लागि वेटरलाई इशारा गर्‍यो ।

मलाई तिखेमारको जीवन कथाले नराम्ररी प्रभाव पारिरहेको थियो । मभित्र ऊप्रति सहानुभूतिको बाढी उर्लिरहेको थियो । धेरैबेर हामी मौन रहृयौं । ऊ केही बोल्ने स्थितिमा नरहेकोले मैले नै फेरि मौनता तोडेँ -“तिखेमार ! युद्धले तिमीसँग तिम्रो मोयालाई खोस्यो, यसमा मलाई धेरै दुःख छ तर तिम्री मोयालाई खोस्ने युद्धको विरोधमा नलागेर तिमी झन् युद्धकै पक्षपाती भएर हिँडेका छौं । आखिर तिमीले जति नै सर्वियनहरूलाई मारे पनि तिम्री मोयाको क्षतिपूर्ति हुन सक्छ र ? अब हुने युद्धको परिणामले तिम्रो मुटुको घाउ निको हुन्छ र ! बरू झन् अरू तिखेमारहरू जन्मनेछन्, अरू मोयाहरू मर्नेछन् । के त्यो ठीक हो र ?” मैले शान्ति पुनर्वहालीप्रति लक्ष्यित गरी प्रश्न राखेँ ।

मेरो प्रश्नको कुनै वास्ता नगरी ऊ एकोहोरो बियर पिउनमै मस्त रहृयो । यस्तो लाग्दथ्यो उसको जिन्दगीमा युद्धको मैदानमा लड्नु र युद्धबाट निस्केको फुर्सदमा रातभर बियर बारमा आएर बियर पिउनुभन्दा अर्को कुनै लक्ष्य छैन । १०-१२ दिन युद्ध मोर्चा सम्हाल्ने र दुई-तीन दिन यसरी नै बेफिक्रिसँग बियरले मातिएर आफ्नो कहाली लाग्दो विगतलाई भुल्दोरहेछ ऊ ।

“राजु ! तिमीलाई थाहा छैन हजारौं आफन्तका लाशहरूबीच आफ्ना बाबुआमा र श्रीमतीको लाश खोज्नु कति दर्दनाक हुन्छ, आफूले जीवनभर दुःख गरेर बनाएको घर क्षणभरमै खरानी भएर सकिएको क्षण कति दुःखद हुन्छ । ती दुष्टहरूलाई हामीले बौलाहा कुकुर सम्झेर मार्नुपर्छ ता कि त्यसले अरूलाई फेरिफेरि टोक्न नसकोस् ।” उसले आफूभित्र रहेको बदलाको भावना ओकल्यो ।

रात धेरै नै छिप्पिसकेकोले मैले उसँगको वार्तालापलाई टुङ्ग्याउने मेसो गरेँ । जति बियर पिउँदा पनि उसमा बियरको त्यति धेरै प्रभाव देखिँदैनथ्यो । मलाई भने टाउको थोरै झम्झम् गर्न सुरू गरिसकेको थियो । त्यसदिन म ऊसँग फेरि भेट्ने वाचा गर्दै बियर बारबाट बाहिरिएको थिएँ ।

त्यस रातपछि ऊसँग मेरो भेट भएन । भोलिपल्ट ऊ फेरि आफ्नो मोर्चामा हिँडिसकेको थियो । म मेरो दैनिकीमा लागेँ । त्यस रातको भेटले मलाई तिखेमारको निकै निकट महसुस भइरहेको थियो । उसले मप्रति के सोच्दथ्यो त्यो मलाई थाहा थिएन तर मलाई तिखेमारको कथाले छोएको थियो । उसको पीडाले पोलेको थियो । उसको घाउको कुनै उपचार नभए पनि म उसको दुःख सुनिदिने साथीको रूपमा उभिएको थिएँ । सायद, मलाई दुःख पोख्दा उसको मन केही न केही हलुको भएको हुनुपर्छ भन्ने ठहर थियो । नत्र एउटा चिन्नु न जान्नु मान्छेसँग उसले आफ्नो दुःख बताइरहनुको कुनै अर्थ थिएन ।

म फेरि ऊसँग बियर बारमा भेटेर धेरै गफ गर्न चाहन्थेँ । उसका बाँकी कथाहरू सुन्न चाहन्थेँ । युगोस्लाभियाको युद्धको कुरूप दिनहरूलाई आफ्नो मस्तिष्कको डायरीमा उतार्न चाहन्थेँ । मलाई सुन्दामात्र पनि शरीरमा काँडा उम्रेको थियो भने प्रत्यक्षः देख्ने र भोग्ने तिखेमारजस्तालाई कस्तो भएको थियो होला ! त्यो अनुमान गर्न गाह्रो थियो । हरेक दिन म ड्युटीबाट फर्केपछि साँझमा बार छिर्ने गर्दथेँ । हरेक दिन मेरो आँखाले तिखेमारलाई खोज्दथ्यो । उसलाई नदेखेपछि एक क्यान बियर पिएर म घरतर्फ लाग्दथेँ ।

एकरात अचानक पाक्राच एरियामा युद्ध सुरू भयो । हामीलाई यूएनबाट घरबाहिर ननिस्कन निर्देशन भयो । बमबारीको ठूलोठूलो आवाज दारूवारसम्म पनि सुनिन्थ्यो । भोलिपल्ट पनि बाहिर निस्कने अवस्था रहेन । क्रोसियन आर्मीहरू क्रायनाको भू-भागमा प्रवेश गरिसकेका रहेछन् । एक दिन र दुई रातसम्म हामी घरबाट बाहिर निस्केनौं । आकाश थर्कने गरी सेलिङ भइरहृयो । दुई रातमा युद्ध सकियो । पर्सिपल्ट बिहानै हामीलाई ड्युटीमा जाने जानकारी आयो । म डराइडराई साथीसँगै पात्राच पुगेँ ।

पाक्राच र ग्रावानिचाबीच अब कुनै सिमाना थिएन । सर्वियनहरूले कब्जा गरी बसेको भू-भाग क्रायनामा जताततै क्रोसियाका झन्डाहरू फहराइरहका थिए । ग्रावानिचा, क्राग्वे, वान्यालुका, अकुचानी सबै क्षेत्र क्रोसियन सेनाको कब्जामा आइसकेको रहेछ । सर्वियन बस्तीमा बूढाबूढी र बालबच्चाहरू मात्र देखिन्थे । सबैका अनुहारमा अब के हुने हो भन्ने त्रासले घर गरेको थियो । सर्वियन युवाहरू या त युद्धमा मारिए या आफ्नो क्षेत्र छाडेर भागे । अन्य विकल्प थिएन । त्यति ठूलो लडाइँ भए पनि हामीले कतै रगतको सानो टाटो पनि देख्नुपरेन, कतै एउटा लाश पनि बोक्नु परेन । मलाई अचम्म लाग्यो । सायद, युरोपियनहरूको चलाखीका नमुना देखिन्थ्यो युद्धमा । युद्धको कुनै सानो चिहृनसम्म छोडिएको थिएन । गोलीका खोकाहरू भने यदाकदा भेटिन्थ्यो । हामी बचेखुचेका सर्वियनहरूप्रति कुनै अत्याचार नहोस् भनेर उनीहरूको अवस्था बुझ्न लागेका थियौं ।

एक-दुई दिनमै क्रायनाका सबै सर्वियनहरू बोस्नियाको सर्वियन क्षेत्रमा जाने निधो भयो । उनीहरूलाई सुरक्षित सिमाना कटाउन हामी खटियौं । क्रायना कब्जामा लिएपछि जितेको भूमिको सुरक्षाका लागि थुप्रै क्रोसियन सेनाहरू खटिएका थिए क्रायनामा । सेनाको गाडी देख्नासाथै म तिखेमारलाई देखिन्छ कि भनी आँखा दौडाउँथें । तिखेमारले युद्ध जितेकोले म तिखेमारसँग बसेर युद्धका गाथाहरू सुन्न चाहन्थेँ । तिखेमारको विजय मुस्कान हेर्न चाहन्थेँ । तिखेमारको घाउमा यस युद्धले थोरै भए पनि मल्हम लागेको होला भन्ने विश्वास थियो मेरो ।

हरेक दिन कोठामा आएपछि तिखेमारको घरतर्फ मेरो आँखा दौडिरहन्थ्यो । युद्ध सकिएको १०-१५ दिनसम्म पनि तिखेमार घर आएन । सधैं १०-१२ दिनमा दुई-तीन दिन बियर बारमा भेटिने तिखेमार दुई महिना बितिसक्दा पनि एकपटक फर्किएर आएन । मलाई भित्रभित्रै तिखेमारको यादले सताइरहेको थियो । तिखेमारसँग भेट्ने उत्सुकताले च्यापिरहेको थियो ।

युद्ध सकिएको तीन महिनापछि मेरो मिसन पनि सकियो । फर्किनुअघि तैपनि तिखेमार भेटिन्छ कि भनी लगातार १५ दिनसम्म बियर बारमा धाएँ तर तिखेमारलाई भेट्ने मेरो प्रयास असफल रहृयो । हरेक दिन बियर बारभरि युवकयुवतीहरू आ-आफ्नो धुनमा मस्त रहन्थे, मैले ती बियरमा झुमेका युवाहरूको अनुहारमा तिखेमार देखिरहेको थिएँ । लडाइँ जितेर पनि हारेको तिखेमारको अनुहार बियरको नसामा हाँसिरहेको थियो तर असली तिखेमार भने फेरि कहिल्यै भेटिएनन् । तिखेमारलाई भेट्ने लालसा भने अझै पनि मनभित्र ज्यूँका त्यूँ रहेकै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *