Skip to content


टेक्न खोज्छु । टेकिँदैन । उभिन खोज्छु । सकिँदैन । खुट्टा कपास भएको छ । बादलपारिको देशमा डुलिहिँड्ने सिकियाको फूल भएको छ । धरातल नबिर्सन खोज्छु । बाध्य छु । उक्लेको सिँढी नबिर्सन खोज्छु । बाध्य छु । कस्तो बाध्यता हो ! आफैंलाई थाहा छैन ।

हिँड्न खोज्छु । उड्नु पुग्छु ।

फैलाउनलाई पखेटा छैन ।

दुवै हात फैलायो । फैलाउन पर्दैन ।

खुट्टा चलायो । चलाउन पर्दैन ।

हिँड्न खोज्छु । पौड्न पुग्छु ।

अडिन खोज्छु । उड्न पुग्छु ।

चारैतिर नीलो-नीलो छ । नीलोबाहेक अरू रङ छैन । अरू रङको अस्तित्व छैन । अस्तित्वविहीन रङहरू छन् ।

समय छैन । घडी टक्क रोकिएको छ । समय दिँदैन ।

निमेष छैन । सेकेन्ड छैन । मिनेट छैन । घण्टा छैन । हप्ता छैन । महिना छैन । वर्ष छैन । दशक छैन । हीरक छैन । स्वर्ण छैन । शताब्दी छैन । सहस्राब्दी छैन ।

दिन छैन । रात छैन । प्रकाश छैन । अन्धकार छैन ।

लोक छैन । अलोक छ । लोकको कतै अस्तित्व छैन । अलौकिक छ ।

शून्य छ । चारैतिर शून्य-शून्य छ । शून्यबाहेक अरू अङ्क छैन । शून्यबाहेक अरू अङ्कको अस्तित्व छैन ।

शून्य । विशाल शून्य छ । शून्यको राज्य छ । शून्यको साम्राज्य छ । शून्यको अराजकता छ ।

शून्य । शून्य । चारैतिर शून्य छ । शून्यबाहेक अरू छैन । मात्र शून्य छ ।

समथर मैदान भए, दृष्टि ठोक्किन्थ्यो होला । ठोक्किएर फर्किन्थ्यो होला । प्रत्यावर्तित हुन्थ्यो होला । प्रत्यावर्तन हुन्थ्यो होला । त्यो पनि छैन ।

घर भए घर । त्यो नभए अग्ला-अग्ला वृक्ष । त्यो पनि नभए अग्ला-अग्ला टावर । टावर नभए अग्ला-अग्ला गगनचुम्बी महल । जहाँ पनि दृष्टि ठोक्किन्थ्यो होला । ठोक्किएर आफैंतिर फर्किन्थ्यो होला । फर्किने नाम छैन । गएको गएकै छ । कहाँ पुगेर टुङ्गिने हो ?

टुङ्गिने ठाउँ छैन । टुङ्गिने ठाउँको अभावमा गएको गएकै छ । फर्केको होइन । प्रत्येक दृष्टि जान्छ मात्र, र्फकंदैन । फर्किने नाम छैन । भण्डारण रित्तिँदो छ । प्रतिस्थापन भए पो नरित्तिनु । प्रतिस्थापन छैन । रित्तिनु मात्र छ । रित्तिनुको दोस्रो विकल्प छैन ।

पठार भए पठार । त्यो नभए पहाड । त्यो पनि नभए अग्ला-अग्ला हिमाल । जहाँ पनि दृष्टि ठोक्किन्थ्यो होला । ठोक्किएर घाइते हुन्थ्यो होला । घाइते लड्थ्यो होला ।

लड्ने नाम छैन । नलडी घाउ हुन्न । घाउ नभई घाइते होइन्न । घाइते हुन ठोक्किनुपर्थ्यो । ठोक्किने नाम छैन । लक्षण छैन ।

ठोक्किनलाई समथर मैदान भए पनि घर, घर नभए अग्ला-अग्ला वृक्ष, त्यो पनि नभए अग्ला-अग्ला टावर, टावर नभए अग्ला-अग्ला महल हुनुपर्छ । त्यो केही छैन ।

ठोक्किनलाई पठार, पहाड, हिमाल हुनुपर्छ । त्यो केही छैन ।

न समथर मैदान, न पठार, न पहाड, न हिमाल! केही छैन । छैन । ‘छैन’को साम्राज्य छ । चारैतिर ‘छैन’को साम्राज्य छ । ‘छैन’ मात्र छ । ‘छ’ छैन । ‘छैन’को व्यापकता छ । ‘छैन’ले ओगटेको छ सबै । ‘छैन’बाहेक ‘छ’ छैन । छँदै छैन ।

‘करण’ होइन ‘अकरण’ छ ।

रित्तो, रित्तो । चारैतिर रित्तो । रित्तोबाहेक केही छैन ।

भरिलो कतै छैन । भरिलो नभएपछि हरिलोको कल्पना व्यर्थ छ । व्यर्थ कल्पनाको तुक छैन । तुकविहीन व्यर्थ कल्पनाको आवश्यकता छैन ।

हरिलो हुन भरिलो हुनुपर्छ । भरिलो भएपछि हरिलो हुन्छ । भरिलो नभएपछि हरिलोको सम्भावना छैन ।

सम्भावना छैन । सम्भावना कतै छैन । सम्भावना क्यैको छैन ।

असम्भावनाहरू चारैतिर व्याप्त छ । असम्भावना-असम्भावना मात्र छ । सम्भावनाको सानो टुक्रा बादल पनि छैन ।

बादल हुन आकाश हुनुपर्छ । आकाश हुन धरातल हुनुपर्छ । धरातलको माथि टाँगिएको पर्दा बादल हुन्छ । धरातल नभएपछि आकाश छैन । आकाश नभएपछि बादल छैन । बादल नभएपछि सम्भावना छैन ।

अभाव छ । अभाव छ । अभावै अभाव छ । सहभाव छैन । सहभाव कतै छैन ।

उपलब्धता छैन । उपलब्धता कतै क्यै छैन । अनुपलब्धता मात्र छ । अनुपलब्धतामा उपलब्धताको कल्पना असम्भव छ । बेकार छ ।

न्युटनका नियमको अभाव छ । न्युटन छैनन् यहाँ । स्याउको रूखमुनि उभिएका छैनन् उनी । उनको टाउकोमा स्याउको दाना खस्दैन । स्याउलाई माथितिर उफार्दा तल झर्दैन । माथि पनि जाँदैन । जहाँ छाड्यो त्यहीँ टक्क अडिन्छ । हावामा । शून्यमा । जहाँ पनि अडिन्छ ।

झर्दैन । कतै झर्दैन । खस्दैन । कतै खस्दैन ।

जादुको छडीको सहायताले जादुगरले हावामा-शून्यमा स्याउ अड्याँएजस्तो छ । जादुगर छु यहाँ । जादुगरको जादुको आवश्यकता छैन । जादुबिनै जादुगर छु ।

स्याउको दाना हावामा-शून्यमा तैराउन सक्छु । कुनै प्रयत्नबिना जादु देखाउन सक्छु । कुनै मन्त्रबिना देखाउन सक्छु । कुनै जादुको छडीबिना देखाउन सक्छु । बायाँ हातको खेल हो यो ।

न्युटन छैनन् यहाँ । न्युटन नभएपछि स्याउको रूख छैन । स्याउको रूख नभएपछि स्याउको दाना छैन । स्याउको दाना नभएपछि न्युटनको टाउकोमा खस्ने सम्भावना छैन । सम्भावनाविहीन सम्भावनहरू मात्र छ यहाँ ।

सम्भावनाविहीन सम्भावनाहरूको माथि छैन । तल छैन । दायाँ छैन । बायाँ छैन । अगाडि छैन । पछाडि छैन । पूर्व छैन । पश्चिम छैन । उत्तर छैन । दक्षिण छैन । दिशा छैन । कुनै दिशा छैन । केवल दिशाविहीन विदिशाहरू छन् ।

विदिशाहरूको कोण छैन । कोणविहीन विदिशाहरू छन् । कोणविहीन विदिशाहरूमा कुनै कोण बन्दैन । कोण-निर्माण असम्भव छ । कोण-निर्माणको प्रयत्न बेकार छ । कोण बन्दैन भने त्यसका बारेमा सोच्नु व्यर्थ छ ।

कोण-निर्माण गर्न स्केल आवश्यक हुन्छ । स्केलविहीन अवस्थामा कोण-निर्माण असम्भव छ । शून्यमा स्केल हुन्न । रित्तोमा स्केल हुन्न । अदृश्यमा स्केल सम्भव हुन्न ।

व्यर्थताको साम्राज्य छ । व्यर्थ-व्यर्थको जमघट छ ।

सबै अदृश्य छ जादुजस्तै । दृश्यहरूको अभाव छ । दृश्यविहीन अदृश्यहरू मात्र छ । अदृष्टमा दृश्य हुन्न । दृश्य खोज्नु मूर्खता मात्र हुन्छ ।

आकारको अभाव छ । निराकार छ । निराकारमा आकार हुन्न । निराकारमा आकृति-निर्माण सम्भव हुन्न । असम्भव आकार साकार छैन । आकारको रचना छैन । आकार-रचनाको रचनाकार छैन । रचनाकारविहीन रिक्तता छ । रित्तो छ । रित्तो, रित्तो र मात्र रित्तो छ ।

जल छैन । जलासय छैन । जलचर छैन ।

विम्ब छैन । प्रतिविम्ब छैन । प्रतिविम्बबिना दृश्य सम्भव छैन । केवल अदृश्य सम्भव छ ।

अदृश्यको यात्रामा छु ।

टेक्न खोज्छु । टेकिँदैन । उभिन खोज्छु । सक्दिनँ । हिँड्न खोज्छु । उड्न पुग्छु ।

नेपाल सरकारको विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा प्रक्षेपित ‘सगर’ नामको रकेटमा बसेर अन्तरिक्ष पर्यटकका रूपमा आएको हुँ । नेपाल सरकारद्वारा अन्तरिक्षमा स्थापित स्याटेलाइटहरूको मर्मत वैज्ञानिकहरूले गरिरहँदा घुम्न निस्केँ ।

वैज्ञानिक थिइनँ । पर्यटक थिएँ । अन्तरिक्ष पर्यटक । पर्यटनमा निस्कँदा हराएँ । हराएकोलाई खोज्नु सम्भव छैन । असम्भव छ । असम्भव काम कसैबाट सम्भव छैन ।

राम्रो थाहा छ । स्पष्ट थाहा छ ।

उद्धार सम्भव छैन । उद्धार गर्न गुरुत्वाकर्षण चाहिन्छ । गुरुत्वाकर्षण छैन । गुरुत्वाकर्षणविहीन आकर्षणमा उद्धार सम्भव छैन ।

अन्तरिक्षमा हराएको छु । बिलाएको छु । जीवनजस्तै ।

जीवन अजीवन छ । अजीवन जीवन छ । जीवन अजीवन दुवै जीउनुपर्छ । जीउन खोजिन्छ । प्रयत्न गरिन्छ । सबैले जस्तै ।

अक्सिजन सकिँदै छ । आँखा थाक्दै छ । लोलाउँदै छ । पर्दा खस्तै छ । खस्तै छ । खस्तै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *