Skip to content


सधैँ अरूकै हात खोसेर
खान पल्केका बाँदरहरू
सधैँ अरूकै भाग लुटेर
बाँच्न पल्केका बाँदरहरू
जति नै निर्दोषताका खोल ओढे पनि
जति नै निश्छलताका ढोल पिटे पनि
अरूलाई मात दिने आशामा नै बसिरहेका हुन्छन्
अरूलाई घात दिने ताकमा नै ढुकिरहेका हुन्छन्
चाहे त्यो राम्राराम्रा फूल फुलेका
सुन्दर उपवनहरू नै किन नहुन् ?
चाहे त्यो मीठामीठा फल लागेका
सुन्दर वृक्षहरू नै किन नहुन् ?
बाँदरहरू जहिले पनि
उजाडन मैँ लागिपरिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
जरै उखेल्नमा कुदिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
आफैँ मात्र खानमा तम्सिरहेका हुन्छन्
बाँदरहरू जहिले पनि
आ-आफ्नै भागबण्डाका लागि लुछाचुँडी गरिरहेका हुन्छन्
समष्टिगत ईच्छालाई भन्दा
ब्यक्तिगत ईच्छालाई
प्राथमिकता दिँदारहेछन् बाँदरहरू
न्ाागरिक सर्वोच्चतालाई भन्दा
ब्यक्तिगत सर्बोच्चतालाई
सर्वोपरि ठान्दारहेछन् बाँदरहरू
आफ्नो स्वार्थभन्दा माथि उठ्नै जानेनन् बाँदरहरू
आफ्नो स्वार्थभन्दा माथि उठ्नै सकेनन् बाँदरहरू
बाँदरहरू
न आफूहरूलेनै घर बनाउँदा रहेछन्
न त अरूलाईनै बनाउन दिँदा रहेछन्
बाँदरको हातमा नरिवल हुनुको
कुनै अर्थ नै हुँदोरहेनछ
बाँदरको हातमा डाडु पन्यू दिनुको पनि
कुनै मर्म नै हुँदोरहेनछ
देश जतिसुकै भत्किरहे तापनि
देश जतिसुकै विग्रिरहे तापनि
देश जतिसुकै जलिरहे तापनि
टुलुटुलु हेरेरै बस्न सक्दारहेछन् बाँदरहरू
रमिता देखाएरै नाँच्न सक्दारहेछन् बाँदरहरू
बाँदरहरू
न त मान्छेमैँ रूपान्तरित हुन सके
न त पवनपुत्र हनुमानै बन्न सके
बाँदरलाई कसैको पनि डर हुन्न रहेछ
बाँदरको कुनै भर पनि हुन्न रहेछ

पशुपतिनाथ स्वयम्भूनाथ
वा त्यस्तैत्यस्तै नाथै नाथमा बस्ने
नाथे बाँदरहरूलेसमेत
आफूहरूलाई पनि नाथै सोच्दारहेछन्
आफूहरूले पनि नाथैलाई मान्दा रहेछन्
अरूको नक्कल गर्न खुबै सिपालु हुँदारहेछन् बाँदरहरू
अरूको सिको टिप्न निकै खप्पिस हुँदारहेछन् बाँदरहरू
त्यसैले पनि होला सायद
बाँदरहरू जति नै आफ्नाझैँ लागे पनि
बाँदरहरूलाई जति नै हाम्राझैँ ठाने पनि
न त आफ्ना नै हुन सक्दारहेछन् बाँदरहरू
न त हाम्रा नै हुन खोज्दारहेछन् बाँदरहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *