आमा दाजु आउनु हुन्छ र ?
पोहर दशैँमा पनि
दाजु आउनु भएन त ?
लालुपातेले पालुवा फेरिसकेछ
सयपत्रीले वसन्त बोलाई सकेछ
सधैँ प्रतीक्षाको पाइला हालेर
पर्खिरहने चौतारो पनि
बूढो भइसकेछ
उसले
धेरै वटा विजयाको बाटो हेरी
चौतारीमा आँखा तन्काएर
धेरैपल्ट
उकाली ओरालीहरुमा खोजी
कहिले काहीँ
बाटोतिर पदचाप सुन्दा
रमाउँदै
दैलो खोलेर निहाली
कठै, उसका
रित्ता आकाङ्क्षाहरु
अर्थहीन पर्खाइहरु
के थाहा
उसको प्यारोदाजु
कतै अन्जान मुलुकमा
रोडा बिछ्याइरहेको हुनसक्छ
कतै
डरलाग्दो चट्टानमा
कोरिरहेको हुनसक्छ
कतै लडाइँ लडिरहेको हुनसक्छ
कतै
लड्दा लड्दै
रगत पोखिएर
बेहोस भएको हुनसक्छ
सायद कतै ऊ
नलेखिएको इतिहास
बनिरहेको हुनसक्छ
मूल्यहीन हुन सक्छन्
युगान्तका पर्खाइहरु
अर्थहीन हुनसक्छन्
कठै उसका ती
भाइटीकाका दिनहरु
दुःखमा, ब्यथामा, पीडामा चिप्लिरहे
कहिले परिवर्तन
होलान् उसका
दुःखहरु सुखमा
आँसुहरु हाँसोमा
व्यथाहरु आनन्दमा
पीडाहरु सन्तोषमा

झापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *