फुल्छन् फूलहरू सबै लहरिँदै, माटो र पानी भए
झुल्छन् ती भँमरा यसै वरिपरि, मीठो रसिलो भए
डुल्छन् बाघ बनेलु निर्भय भई, बाक्ला वनै ती भए
भुल्छन् साधुहरू निशङ्क मनले, मन्दिर गुम्बा भए ।
हुन्छन् खेतीहरू कुलो नहर त्यो, बन्यो बनाई रहे
बाँझिन्छन् सब खेत काम नगरी, द्वन्द्वै चलाई रहे
बन्छन् कामहरू सबै सफल नै, लागी परी ती रहे
मर्छन् खान विना कतै जनहरू, अल्छी गरी ती रहे ।
रोकिन्छन् पहिरा र बाढी पनि त्यो, रुखै लगाई दिए
खोलिन्छन् सवमार्ग हिंड्न भनी त्यो, बाटो बनाई दिए
बढ्छन् प्रेमहरू मनुष्य जनमा, विश्वास बाँची दिए
लड्छन् युद्धहरू सहिद हुन् गै, सन्धि विनाका भए ।
थामिन्छन् सजिलै मुलुकहरू ता, मान्छे इमानी परे
मान्छे छैन बरु भने कठिन भो, अस्तित्व राख्नै भरे
मिल्नै आखिर पर्छ मानवहरू राष्ट्रै विपत्मा परे
माटो छैन भने बिजोक हुन गै, बासै नहोला भरे ।
हातैमाथि उठाइ विन्ती गरी यो, भन्दै रहेछू म ता
हेरौं लौन यथार्थ स्वच्छ मनले, पूर्वाग्र बिर्सी सदा
भन्दै गर्नु सप्रेम मित्र जनमा, मारौ अँगालो अब
दिन्छु साथ म ता सधैँ अघिबढी, त्यागेर स्वार्थै तब ।
पग्लिन्छन् तब ता विकृत मन ती, कस्तै कठोर्का भए
निस्कन्छन् मनका कुराहरू जति, त्यस्तै लुकेका भए
हुन्छन् वादविवाद आपस महाँ, निष्कर्ष यौटा बनी
टुंगोमा पुगी छल्फलै हुन गई, आनन्द होला अनि ।
इलाम-३, फूलगाछी