बाको खाट भाँचियो
दलिनमा धुवाँका पत्र थपिए
बाको आफ्नै मुहारमा पनि
मुजैमुजा चाउरी भित्रिए
बाले ‘खेताला’ भन्ने गरेका दाँतहरू बाहिरिए
समयले लामो फड्को मार्दा पनि
ब्ााको कोठामा नबदलिएको एउटै दृश्य
बादशाहको तस्बिर
उस्तै पिरो, उस्तै चिल्लो र कान्तिमय ।
आस्थाको संझ्यालमा सजाएको
वादशाहको तस्बिरलाई
पूजा र दण्डवत गर्दै
बाले भन्नुभयो-
‘भगवान्, साक्षत भगवान् !’
दैत्य बध गर्ने भगवान्
निमुखाका सहारा
सिर्जना र संहारका एक मात्र ईष्टदेव
‘त्वम् शरणम्’
खेतबारी बाँझै भए पनि
बाले तिरो तिर्न आनाकानी गर्नुभएन
बालाई सडकको संसार थाहा भएन
वाद, जिन्दावाद, मुर्दावाद केही थाहा भएन
बा बरु भोकै बस्नुभयो
फाटेकै लुगामा रमाउनुभयो
तर देशसँग भत्ता माग्नुभएन
सत्ताको स्वाद थाहा पाउनुभएन
राजतन्त्र जान्नुभएन
ल्ाोकतन्त्र बुझ्नुभएन
तर वादशाहप्रति सदा श्रद्धावान् रहनुभयो
सम्राटको संहारमा
सूर्य निभेसरी उदासिनुभयो
हिमाल ढलेसरी बिरक्तिनुभयो
बाले औँला खियाइरहनुभयो
पाखुरी बजारिरहनुभयो
तर घेरा फाटेको टोपी फेरिएन
मुहारमा मुजा रोकिएन
कुर्कुच्चामा चिरा पुरिएन
पि्रय बादशाहलाई बाले
श्रद्धाका फूल चढाइरहनुभयो
तिमी नेपोलियन
तिमी भिक्टोरिया
तिमी एलिजावेथ
तिमी हिरोहितो
भुमिबोल अब्दुल्यादेज
जनताका सेवक
मान्छेहरूका नायक
दस औँला जोडेर बाले
कोटीकोटी नमस्कार गर्नुभयो नरेशलाई
यद्यपि बा दुब्लाउँदै जानुभयो
देश टाक्सिंदै गयो
ऋणले टुपीसम्म डुब्दा पनि
बाले राजप्रासादलाई खर्च दिइरहनुभयो ।
गाउँहरू ह्वारह्वारती जले
अनिकालले हाहाकार मच्चियो
निर्दोष छोराहरू ढले
छोरीहरू आँखै अगाडि बलात्कृत भए
भ्ाोका नानीहरूको रुवाबासी भयो
उता नीरोको विराशद थेग्न
नरेश मग्न थिए बाँसुरीमा
भोजमा, अभिनन्दनमा ।
अब बाको धैर्य थेग्न
कुनै बाँधहरू तयार थिएनन्
बाको आक्रोस रोक्न कुनै साँधसिमाना कोरिएनन्
आस्थाको संझ्यालबाट थुतेर
बादशाहको तस्बिर
नालीमा पछार्नुभयो
र मुठ्ठी कस्दै बाले भन्नुभयो-
‘म जनता हुँ’ चाहिएन बादशाहको तस्बिर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *