लाग्छ मलाई भूल गरेँ भनेर
बढ्दो छ चिन्ता अति नै घनेर
जानेको सल्लाह दिन्थ्यौ मलाई
गर्थे म काम सब नै मिलाई ।।१।।
भनेको कुरालाई म सुन्न पाउँथे
प्राणान्तका दिन पनि साथ रहेथेँ
तिमी गयौ ब्रहृममा भै बिलिन
भएँ फगत म पि्रया विहीन ।।२।।
थिए बन्धु सारा न केही सुनायौँ
छिनमै अहो प्राण तिम्ले गुमायौ
छोडी गयौ नि विपदा पारेर
जिउँ कसोरी यहाँ के गरेर ।।३।।
खुबै बिरामी भयौ दिन धेर
इलाजै गराएँ बचाउन हेर
थिएनौ कि मेरो तिमीसाथ दिने
बोली गुमायौ न त केही भन्ने ।।४।।
थियौ कि त धेर तिम्ले पाप गरेको
त्यसैले पो हो कि दुःख दिइरहेको
जवानीमै तिम्लाई अतिरोग लाग्यो
त्यही कालले अन्त्यसम्म समायो ।।५।।
जाँदा कुनै तीर्थ साथै रहन्थ्यौँ
परुन दुःख पीडा सारा सहन्थ्यौँ
न दुर्नाम कसैले तिम्रो सुनायो
प्रशंसाकि पात्र तिम्लाई बनायो ।।६।।
दया दृष्टिले हेर्यौ सबैलाई
सबै मान्यको मान गर्थ्यौ रुचाई
सबैको भयौ नि तिमी हाइहाइ
नाता-कुटुम्ब दिदी दाजुभाइ ।।७।।
छौ सुखी दुःखी कसैले सोधेन
कुनै खराबी कसैको गर्यौन
रिसाइनौ कैले नबिरायौ काम
कमाइ नै रहृयौ दीर्घजीवी सुनाम ।।८।।
अनाचारमा चित्त तिम्रो गएन
सदाचारमा चित्त तिम्रो चुकेन
बधु ती नपुग नातिनी र नाति
बनिनौ कसैको तिमी धेर नजाति ।।९।।
नखाने र लाउने कुरालाई रोज्यौ
सबै खुसी हुने कुरामात्र सोच्यौ
सधैँ दुःखमा सुखमा एकनास
खुसी नै रहन्थ्यौ जियौ हर्षसाथ ।।१०।।
होला भेट भन्ने वचनको छ आश
ठेगान छैन तिम्रो कहाँ होला बास
थियौँ एक आत्मा अनि यौटै माया
विछोडै गरायो बनाई एक काया ।।११।।
नजन्म्यौँ सँगै नै भइ एकसाथ
सबै जन्मने पर्दछन् मृत्यु हात
गयो आधा अंश भएँ म विधुर
तथापि तिमीदेखि हुन्न म दूर ।।१२।।
