नेपाली साहित्यको इतिहासमा एउटा फरकखालको कृति देखापरेको छ -‘स्रष्टा र डिजिटल वार्ता’ विविध कारणले देशबाट बाहिरिनु परेका, अलगखालको वातावरण अवलम्बन गर्नुपरेका, अलग संस्कृति र संंस्कार धारण गर्नुपरेका, अनेकौँ फरक किसिमका अप्ठेरासँग जुध्नुपरेका, आचरण, धर्म र स्वभावसमेत कारणवश भिन्न अपनाउनुपरेका असङ्ख्य नेपालीहरूका पीडा, खुसी दुबैलाई छर्लङ्ग पार्ने सैद्धान्तिक आधारसमेत प्रस्तुत गर्दै देखापरेको छ-यो कृति ।

समसामयिक भनौँ वा उत्तरआधुनिक भनौँ, जे भने पनि यसभित्र देखापरेको ‘डायस्पोरा’ लेखनले नेपाली साहित्यिजगत्लाई ऊर्जा नै प्रदान गर्नेछ । यसमा विरोध वा समर्थनका अनि आग्रह र पूर्वाग्रहका स्वर उरालिनुको कुनै अर्थ छैन । सिर्जनामा सबलता आउनुपर्दछ चाहे त्यो आधुनिक प्रविधिका नामबाट होस् चाहे पुरानै प्रविधिको नामबाट ।

‘स्रष्टा र डिजिटल वार्ता’ शीर्षक कृतिमा जम्मा तेइस जना स्रष्टा/समीक्षक/समालोचक वा सबै विधामा हात चलाउने व्यक्तिहरू समावेश भएको देखिन्छ । यी मध्ये प्रा.डा. गोविन्दप्रसाद भट्टराईका विचारहरू धेरै र निकै हदसम्म माझिएका अनि सन्तुलित पनि छन् । उपन्यासकार कृष्ण धरावासी पनि विचार अभिव्यक्तिका दृष्टिले निकै सन्तुलित र संयमित देखिन्छन् । यी विचारवाहक व्यक्तिहरू मध्ये कविताराम श्रेष्ठका एकाङ्गी/आग्रही दृष्टि वा विचार चाहिँ अलिक अस्वाभाविक हुन् कि झैँ लाग्दछन् । सत्ताधारी बुर्जुवा सामन्त मात्र होइन सर्वहारा वर्गकै भए पनि सत्ताको बागडोरमा पुगिसकेपछि उस्तै हुन्छन् । सत्तासीनलाई यो असल, योचाहिँ खराब भन्नु नै आफूभित्रैको पो खराबी हो कि ? स्रष्टा, साहित्यिक चिन्तन प्रवाहमा आफ्नो जीवनलाई समाहित गर्न चाहेको व्यक्तिले यति एकपक्षीय आग्रही विचार व्यक्त गर्नु सायद अस्वाभाविक हुन जाला कि ?

कृष्ण बजगाईद्वारा संयोजित/सम्पादित-स्रष्टा र डिजिटल वार्तामा सहभागिता जनाएर आधुनिक साइवर संस्कृतितिर दिनानुदिन बढ्दै गइरहेको स्रष्टालहरभित्रका सजिला र अप्ठेरा पक्षहरू, त्यसबाट सुरु भएको चिन्तन प्रवाह, यसबाट अलग रहँदा हुने बेफाइदाहरू, समावेश हुँदा हुने फाइदा र समयगत अनि विषयगत तीब्रता एवं नयाँपन सम्पूर्णको साङ्गोपाङ्ग विश्लेषण अन्तर्भूत भएका छन् ।

पुस्तकभित्र कमलमणि दीक्षित, कविराम श्रेष्ठ, कृष्ण धरावासी, प्रा.डा. गोविन्दप्रसाद भट्टराई, जगदीश घिमिरे, ज्ञानु पाण्डे, धीरकुमार श्रेष्ठ, नगेन्द्रराज शर्मा, नगेन्द्रराज प्रसाई, मधु, माधुर्य, मधुवन पौडेल, माधवप्रसाद पोख्रेल, मोमिला, मोहन दुवाल, मोहन सिटौला, युवराज नयाँघरे, रोचक घिमिरे, विक्रम सुुब्बा, विमल भौकाजी, श्रीओम श्रेष्ठ ‘रोदन’, हरि अधिकारी, हरिहर खनाल, होमनाथ सुवेदीजस्ता साहित्यिक हस्तीका शालीन तर विचारोत्तेजक अभिव्यक्तिहरू यस कृतिमा समाविष्ट छन् । नबुझेकाले बुझ्नका लागि, नचाहनेले विरोध गर्नाका लागि, चाहनेले यसमै रहेर आफ्ना रचनाहरूलाई उत्कृष्ट बनाउनका लागि पनि यस कृतिको अध्ययन अनिवार्य देखिन्छ ।

बहसहरू धेरै हुन सक्लान, मूल साहित्य लेखन वा परम्परावादी लेखनधारमै सर्वस्व देख्नेका लागि यस कृतिका विचारहरू तीता नीमका पत्ता पनि हुनसक्लान् तर आग्रहरहित आँखाले हेर्ने हो भने ‘डायस्पोरिक’ अवस्था नेपाली मुटु हो । मीठो खाएर र राम्रो लाएर अझ सामान्य न्यूनतम आधारभूत आवश्यकता परिपूर्तिका लागि मूलघर छाडेर विश्वका अन्य सबै मुलुकमा गएका करोडौँ नेपालीका मर्म अभिव्यक्तिको माध्यम नै ‘डायस्पोरिक’ अभिव्यक्ति हो । तिनले भोगेका/सहेका असङ्ख्य वेदना र प्राप्त गरेका आर्थिक/भौतिक सुखद् अवस्थाको अनुभव नेपालमै रहेकाले हरेक नेपालीका लागि अनिवार्य आवश्यकता हो ।

कृति ः स्रष्टा र डिजिटल वार्ता
लेखक/सम्पादक ः कृष्ण बजगाई
प्रकाशक ः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वासिङ्टन डी.सी., अमेरिका
प्रकाशन ः प्रथम २०६६
पृष्ठ ः २७८
मूल्य ः रु. २५०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *