जम्माजम्मी पचास वर्ष बाँचेका महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका एक त्यस्ता पात्र हुन्, जसको बारेमा सबैभन्दा धेरै लेखिएको छ, सबैभन्दा धेरै बोलिएको छ, सबैभन्दा धेरै पढिएको छ र सबैभन्दा धेरै चर्चा गरिएको छ । उनको बहुआयामिक व्यक्तित्वको विशालता कस्तो छ भने उनी सधैँ सबैका लागि अध्ययन, विश्लेषण, अनुसन्धान र खोजका शाश्वत विषय बनेर रहेका छन् । सम्भवतः यही कारण होला, उनको सन्दर्भमा एउटै मानक स्थापित गर्नै सकिँदैन । यसै सन्दर्भमा बजारमा हालै एउटा पुस्तक आएको छ- ‘महाकविका भूमिका’ ।
महाकवि चाहन्थे- विश्वका अन्य भाषामा प्राप्त विभिन्न विधाका रचनाहरू नेपाली साहित्यले पनि पाओस्, नेपाली साहित्य पनि सम्पन्नतर बन्दै जाओस् । उनको यो विराट चाहना र निर्मल विचार नै प्रस्तुत ‘महाकविका भूमिका’ कृतिमा समेटिएका ३४ भूमिका (र एउटा विशुद्ध समालोचना) मा उद्बोधित छन् । सङ्कलक शिव रेग्मीले उल्लेख गरेअनुसार नै कविशिरोमणि लेखनाथ पौड्यालको काव्य ‘तरूणतपसी’ उपर लेखिएको ‘तरूणतपसी प्रदक्षिणा’ चाहिँ महाकवि देवकोटाले कविशिरोमणिको अनुरोधअनुसार भूमिका लेख्न नपाएको र महान् नाटककार बालकृष्ण समले लेखेको प्रकाशित भूमिकाप्रति चित्त नबुझी लेखेको लेख हो, जसलाई रचना वर्ष ४ अङ्क १ बाट साभार गरिएको हो । यो एउटा रचनामा मात्र होइन, महाकवि धेरैजसो भूमिकामा एक जागरूक समालोचकको रूपमा देखा पर्छन् ।
‘महाकविका भूमिका’ पढ्दा देवकोटाका केही खास प्रवृत्ति देखापर्छन्, जस्तो- (१) पं. सोमनाथ शास्त्रीले लेखेको पुस्तक ‘आशौच विज्ञान’ को भूमिका लेख्दा महाकविले आधा भाग नेपाली भाषामा र आधा भाग अङ्ग्रेजीमा ‘प्रिफेस’ लेखेका छन्, जसको अन्त्यमा उनले अङ्ग्रेजीमै यस्तो लेखेका छन्- लक्ष्मीप्रसाद देवकोटा, समटाइम एजुकेसन एन्ड लोकल सेल्फ गभर्नमेन्ट मिनिस्टर । नाव, मेम्बर, नेपाल एकेडेमी, कविकुञ्ज, मैतीदेवी काठमाण्डु नेपाल । (यस्तो लेखन र उल्लेख अन्त कतै भेटिँदैन) । (२) देवकोटाको समय नेपाली साहित्यको उषाकाल थियो, जतिबेला लेखन परम्पराले उल्लेखनीय गति लिंदै थियो तर त्यहीअनुरूप प्रकाशन परम्परामाथि उठ्न सकेको थिएन । त्यस्तो बेलामा जे-जस्ता कृति पाए पनि महाकविले सबै रचनाकारलाई हार्दिक प्रोत्साहन र अविरल प्रेरणा प्रदान गर्ने ध्येयले लेखन निरन्तरताको कामनासहित भूमिकाहरू लेखे । भूमिकाहरू लेखिदिँदा उनी हलुको पाराले मात्र लेख्दैन थिए, पूरा गम्भीर र परिश्रमी भएरै कलम घुमाउँथे । (३) महाकविले आफ्ना अनेक कवितासङ्ग्रह वा काव्यलाई ‘एक दिनको लहडी प्रयास’ (मैना), ‘… त्यसबेलाको एक झमट हो । यस्तो आयो, यस्तै निस्कियो’ (छहरा), ‘यो एक दिनको लहडी लहरको सीपीको फेंक हो’ (म्हेन्दु), ‘… मैले लेखेँ आफ्नो आनन्दको निमित्त, छपाउँछु आनन्द लिन सक्नेको निमित्त… दोहोर्याउन बडो अलसी छु…’ (सावित्री सत्यवान), आदि उल्लेख गरेका छन् । यो सन्दर्भ हेर्दा देवकोटाका ती प्रवृत्ति प्रकट हुन्छन्- पहिलो, नेपाली साहित्यको शैशवकाल भएकोले देवकोटा पुस्तक-पुस्तिकाको सङ्ख्या भरसक बढाउन चाहन्थे र धाराप्रवाह लेखिरहन्थे । दोस्रो, नेपाली साहित्यमा अभाव छ भन्ने लागेर देवकोटा विभिन्न विधाका रचनाहरू सिर्जना गर्न निरन्तर प्रयत्नरत रहन्थे (किनभने, उनको अनौठो विलक्षणता कविता-काव्य र आत्मपरक निबन्धमा सर्वाधिक झल्किएकै हुन्छ), र तेस्रो, आफूले लेखिसकेपछि देवकोटा भाषा माभ\mने र परिष्कार गर्नेतर्फ कहिल्यै प्रवृत्त भएनन्, उनले एकपटक लेखिसकेपछि त्यो खोलाको पानी सरह थियो- बगेपछि बग्यो बग्यो । महाकविको यो प्रवृत्ति यहाँ सङ्कलित भूमिकाहरूमा यथेष्ट पाउन सकिन्छ । पुस्तकमा समेटिएको वासुदेव शर्मा त्रिपाठी ‘देवेश’ रचित हिन्दी काव्य ‘नेपाली जनक्रान्ति’ को आठ पृष्ठ लामो भूमिका देवकोटाले हिन्दी भाषामै लेखेका छन् । यो पढ्दा देवकोटाको हिन्दी भाषा पनि नेपाली जस्तै सलल बग्ने किसिमको र उच्चस्तरीय रहेको देखिन्छ । त्यो भूमिकाको अन्त्यमा देवकोटाले लेखेका छन्- यहाँ म कवितात्मक उच्चताको होइन, बरू भावको सच्चाइ र कविको निर्भीकताको प्रशंसा गर्छु । यो कथन महाकविको विनयशीलताको एउटा उदाहरण मात्र हुन सक्छ ।
सङ्कलक रेग्मीले महाकविले लेखेर पनि कतै भूमिकाकै रूपमा रहेका, कतै पुस्तक परिचय भएर छरिएका, कतै भूमिका भएर पनि जुन कृतिका लागि लेखियो त्यसमा नछापिएर धेरै वर्षपछि देवकोटाको देहावसान भइसकेपछि अर्को कुनै पत्रिकामा वा लामो अन्तरालपछिको दोस्रो संस्करणमा छापिएका, लेखाइए पनि कहिल्यै नछापिएका र कतिपय बिर्सिएका भूमिकाहरू यस पुस्तकमा समेटेका छन् । अठार पृष्ठ लामो आफ्नो भूमिकामा डा. गोविन्दराज भट्टराईले प्रस्तुत पुस्तकलाई ‘दुर्लभ रचनाको अपूर्व सङ्ग्रह’ भनेर सर्वथा न्याय नै गरेका छन् ।
कृति ः महाकविका भूमिका (निबन्धसङग्रह)
स्रष्टा (सङ्कलन/सम्पादन) ः शिव रेग्मी
प्रकाशक ः सीमान्त पब्लिकेसन प्रा.लि.,काठमाडौँ
संस्करण ः पहिलो, कात्तिक २०६६
पृष्ठ ः १२२-२४
मूल्य ः रू.१५०।-
