आस्थाको बगैंचा (कवितासङ्ग्रह), सडकसीमा (नाटक) र अँध्यारो भित्रको मान्छे (कथासङ्ग्रह ) पछि अनलाइन डट कम (कथासङ्ग्रह ) लिएर नेपाली साहित्यको आख्यान विधामा देखापरेका कथाकार राममणि ढुङ्गेल आफ्ना पूर्ववर्ति कथाकारहरूभन्दा पृथक् शैली, शिल्प र कथानक लिएर देखापरेका शिल्पी हुन् । आफ्नै समाजमा देखिने विकृति, विसंगति, भ्रष्टआचरण र विविध परिवेशका कटुतालाई कथाकारले यी कथाहरूमा जीवन प्रदान गरेका छन् ।

सामाजिक जीवनका अनुभव र अनुभूतिका तानाबानालाई विचारका ज्वालाले पकाएर नवीन कथाकारितामा शैली र शिल्प दुवै आकर्षकरूपमा पस्कने कथाकारले आफ्नै वरिपरिका दुःख,पीडा, छट्पटी र भुटभुटीलाई आफ्ना कथाका विषयवस्तु बनाएका छन् । समाज नै अन्तिम शाश्वत कुरा हो, त्यसभित्रका विकृत व्यवहार, विसंगत भोगाई, भष्टाचारजस्ता क्षणिक कुरा हुन् भनेर यी कथाले परोक्षरूपमा सबैलाई सन्देश दिएका छन् ।

कथामा महिलाको प्रसव पीडादेखि व्यक्तिले आफ्ना जीवनमा सँगाल्न पर्ने आरोहअवरोह र कटुतालाई निकै आकर्षक रूपमा प्रस्तुत गर्न सक्नुलाई कथाकारको विशेषता मान्नु पर्दछ । सानीकान्छी, प्रण, खोलो तरेपछि,परिभाषा, कोलाहल, बिर्सिएको बाटो, फूलका छिटा, परिधिभित्र परिधिबाहिर, घटना दुर्घटना, पर्दाहरू, बेमौसमी कित्ता, बयान कागज, अनलाइन डट कम र अर्को भ्रूणसहित जम्मा १४ ओटा कथाको पेटारो अनलाइन डट कम वल्र्ड वाइड वेभको विकासपछि विश्वलाई इन्टरनेटबाट परेको प्रत्यक्ष प्रभाव र त्यसबाट संक्रमित परिवेशको सशक्त चित्रण भएको कथा होला भन्ने पूर्वअनुमानले सरसर्ति पढ्दै गएपछि छुट्टै घटना र परिघटनाको मन छुने बेलिविस्तार पाउन सकिनेरहेछ । यहाँ सामाजिक यथार्थमात्र होइन मुलुकको कालो इतिहासका रक्तिम अभिव्यक्तिका फाल्सा देखिन्छन् ।

मधुपर्क , गरिमा, समष्टि, समकालीनसाहित्य लगायतका विविध पत्रपत्रिकामा समय समयमा प्रकाशित यी कथाका पात्रहरू वर्तमान समाजका प्रतिनिधि हुन् । उनीहरू यहाँको अभाव, दुःखकष्ट र पीडा, तिरस्कार र अवहेलना , भ्रष्टाचार र अनैतिकता र फोहर मैलाका डंगुरबाट निस्केको दुर्गन्धसँगै निसासिएका छन् । कथाकार ती कुराबाट दिगो मुक्ति चाहन्छन् । नवीन शैली, सामाजिक विषयवस्तु, जीवनजगतको आरोहअवरोहको तस्विर खिचिएको हुँदा कथा मार्मिक र पठनीय छन् ।

पुस्तकः अनलाइन डट कम (कथा संग्रह)
लेखकः राममणि ढुङ्गेल
प्रकाशकः साझा प्रकाशन
संस्करणः पहिलो, २०६६
पृष्ठः ९४
मूल्यः रु १४५।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *