तत्कालीन राज्यव्यवस्थाको दस्तावेज

  • by


साहित्य र राजनीति दुबै क्षेत्रमा स्थापित भएका धेरै साहित्यकार राजनीतिक नेतृत्वमा पनि छन् । जसमध्ये प्रदीप नेपाल दुबै क्षेत्रमा विशिष्टता हासिल गर्न सफल स्रष्टा हुन् । ठूलो पार्टीको नीति निर्माण तहको हैसियत राख्ने नेपाल पटकपटक मन्त्रीसमेत भइसकेका छन् । उनी साहित्यमा कथा, उपन्यास, नियात्रा, संस्मरण आदि विधाका तीन दर्जन कृतिका स्रष्टा हुन् । ‘बन्दीगृहका सिर्जना’ उनको पछिल्लो संस्मरण र सिर्जनाहरूको संयुक्तसङ्ग्रह हो । यो कृति वि.सं. २०६१ माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले शासन व्यवस्था हातमा लिँदाको घटनाहरूको संस्मरण हो । त्यसबेला लोकतन्त्र विरुद्ध नागरिक स्वतन्त्रता हरण गरेर राजनीतिक दलका नेता, कार्यकर्ताहरूलाई बन्दी बनाइएको थियो । राजाको शाही घोषणा हुनासाथ लेखक नेपाललाई पनि विना पुर्जी पक्राउ गरियो, कार्यालय परिसरबाटै । उनलाई राजवन्दीको रूपमा पक्राउ गरिएको भए पनि त्यसअनुरूपको सुविधा दिइएन । त्यही कारण माघको चिसोले उनी बिरामी भए । राज्यको बन्दी हुँदा भएको बिरामीको उपचार लेखकले ४० हजार रुपियाँ खर्च गरेर गर्नुपरेको थियो रिहा भएपछि । राजाको शासनले लेखक नेपाललाई दोस्रो पटक पक्राउ गर्दा भने पुर्जी दिइएको थियो तर झूठो आरोप लगाएर । जतिखेर लेखक नेपाल बिरामी भएर घरमा सुतिरहेका थिए त्यही बेला १४ नम्बर वडामा भाषण गरेर जनता भड्काएको आरोप लगाइएको थियो । रिहापछि गृहमन्त्रीले ‘बाइमिस्टेक मात्र गिरफ्तारीमा तपाईंको पनि नाम छ भन्ने पत्तै भएन’ भनेर गैर जिम्मेवार र अविवेकी जवाफ लेखकलाई दिएका थिए । शाही शासनले आफ्नो अनुकूलताको लागि जसलाई जे पनि गर्दथ्यो । ठूलो नेता, प्रसिद्ध लेखक र चर्चित स्तम्भकारलाई बिरामीको अवस्थामा हदैसम्मको अमानवीय व्यवहार गरिन्थ्यो भने अरूले कसरी बाँच्नुपरेको होला भन्ने सहज अनुमान गर्न सकिन्छ । माघ १९ को घोषणाले हनन गरेका जनताका अधिकार, प्रजातान्त्रिक मूल्य र मान्यता सबै ध्वस्त भएका सन्दर्भसहित लेखकले बन्दीगृहमा बिताएका क्षणहरूलाई सचित्र उतारेका छन् पुस्तकमा । ‘छोरीका नाममा केही पत्रहरू’ शीर्षकमा लेखकले बन्दी दैनिकी, विगतका संस्मरण आदि उतारेका छन् । जसमा मानिस लोभलालच र पदले होइन, त्याग परिश्रम र निष्ठाको निरन्तरता अनि जनताको सेवाले मात्र महान् हुनसक्ने स्पष्ट पारिएको छ ।

‘बन्दीगृहभित्रका सिर्जना’ भित्र बन्दीको समयमा सिर्जना गरिएका एक कथा, तीन लघुकथा, दुई कविता पनि पुस्तकमा रहेका छन् । करिब तीस/बत्तीस वर्ष अघि पञ्चायत कालमा पटकपटक पक्राउ परेका बेलामा भोगेका यातनाकथालाई ‘सूर्जेमानको कथा’ शीर्षकमा चार भागमा पुस्तकमा समावेश गरेका छन् । वरिष्ठ साहित्यकार तथा लेखक प्रदीप नेपालको माझिएको भाषा, आकर्षक प्रस्तुति र सुन्दर शैलीका कारण पुस्तक पढ्न सुरु गरेपछि नसकुन्जेल छोड्न मन लाग्दैन ।

पुस्तक ः बन्दीगृहभित्रका सिर्जना
लेखक ः प्रदीप नेपाल
प्रकाशक ः अक्सफोर्ड इन्टरनेसनल पब्लिकेसन
संस्करण ः प्रथम २०६७
पृष्ठ ः १५-१४४
मूल्य ः रु. १५०।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *