Skip to content


एकपटक राजकुमारीको गोडामा काँडा बिझेको देख्दा सम्राट अकबरलाई ज्यादै रिस उठेछ र वीरबललाई बोलाएर भनेछन्- “राजकुमारीको गोडामा काँडा बिझ्यो, आइन्दा त्यस्तो देख्न चाहन्न त्यसैले राज्यका सबै भूमिलाई छालाले ढाकिदिनु ।” बिचरा वीरबललाई फसाद पर्‍यो, नमानाँै जिउको सवाल थियो सम्राट रिसाए जे पनि गर्न सक्थे, मानौं राज्यभरि छाला ओछ्याएर साध्य हुने कुरो पनि थिएन । के गर्ने के गर्ने, अन्तमा उनले जुक्तिले काम लिएछन् र राजकुमारीको गोडामा छालाको जुत्ता बनाएर लगाइदिएछन् । टण्टै साफ न रहृयो बाँस न बज्यो बाँसुरी । तरिका जाने समस्या आफँै समाधान हुन्छ न जाने समाधान नै समास्या बन्न बेर लाग्दैन ।

प्रायः हामी टुप्पो काटेर समस्याबाट उन्मुक्ति पाउने प्रयास गरिरहेका हुन्छौं । समस्या फेदमा छ हामी टुप्पो काट्न हतारिन्छौं, समस्याभित्र छ उपचार बाहिर खोजिरहेका हुन्छौं भने कहाँ निस्कन्छ समाधान ? नीति भन्छ- अघि बढ्ने हो भने कसैलाई हटाउने होइन जुटाउने हिम्मत गर्नपर्दछ । आपसमा मिलेर अघि बढे खहरेहरू पनि समुद्रसम्मको यात्रामा सफल हुन्छन् छुटिन र फुटिन थाले ठूलै नदीलाई समेत अस्तित्व जोगाउन मुस्किल पर्दछ । अरुलाई पन्छाउँदै जाने हो भने मानिस विचारशून्यको अवस्थामा पुग्न बेर लाग्दैन । विचारलाई पनि उठ्न कसैको सहयोग चाहिन्छ । अरू केही नभए आकाश भने पनि भइदिन पर्छ । तर हामी भने यथासम्भव अरुलाई पन्छाएर नै अघि बढ्ने प्रयास गरिरहेका छौं ।

शायद हामी सबै निद्रामा छौं । जाग्नुपर्ने बेला निदाउने गरेका छौं निदाउनुपर्ने बेला जागा हुने गरेका छौं । हुन त यसो गर्नुपर्छ त्यसो गर्न हुन्न भन्ने गरेका पनि छौं र परस्परमा बुझ्ने र बुझाउने प्रयास पनि नगरेका छैनौं तर न भनेअनुसार गरेका छौं न गरेअनुसार भनेका छौं । बुद्धले अप्प दीपो भव भनेर गएको पनि थाहा छ कवीरले उठ, जाग होसमा आऊ भनेको पनि थाहा पाएका छौं तैपनि खोइकुन्नि किन हो चिर निद्रा त्यागेर होसमा आउन भने सकिरहेका छैनौं । हामीले खान त धेरै नै खोजेका छौं र शायद सकेसम्म एक्लै खान पाए हुन्थ्यो भन्ने पनि नसोचेका छैनौं तर धेरै खाने सपना देख्दादेख्दै खानै नपाइने दिन आउने हो भन्नेतर्फ भने ध्यान दिन भ्याएका छैनौं ।

विभाजन नै समग्र द्वन्द्वको मुहान हो भन्ने हामीमध्ये धेरैलाई थाहा छ तर विडम्बना त के भने आज दुनियाँको ध्यान त्यतैतिर आकषिर्त भइरहेको छ । भारत पाक विभाजनको घाउ अहिले पनि दुखेकै छ, पूर्व र पश्चिम पाकिस्तान विभाजनको घाउ अहिलेसम्म पनि चहर्‍याइरहेकै छ । सोभियत सङ्घ विभाजनले संसारमा के कति उथलपुथल ल्यायो युगोस्लाभियाको विभाजनले के कति नरसंहार गरायो सबैलाई थाहा भएकै हो । हस्तिनापुरको विभाजनले महाभारत गरायो, सुर र असुरमा आएको विभाजनले एउटै बाबुको सन्तानलाई लडायो तैपनि आश्चर्य छ मान्छेलाई विभाजन नै प्यारो लागिरहेको छ । कहिले के को विभाजन कहिले के को विभाजन अरु नभए विचारकै मात्र भए पनि विभाजन । जता हेर्‍यो त्यतै विभाजन, लाग्छ अब त मानिस विभाजन बिना बाँच्नै नसक्ने भइसकेको छ ।

यसो त द्वन्द्वलाई नरामै्र भन्न पनि हुँदैन र विभाजनलाई पनि हर अवस्थामा नराम्रो नै भन्न मिल्दैन । सृष्टि आफैँ पनि द्वन्द्वैद्वन्द्वकै विवर्त हो, विभाजन पनि सृष्टिकै निरन्तरता हो । एउटै बीज हजारौं दानामा विभाजित हुन्छ । एउटै बिरुवा हजारौ बीजमा विभाजित हुन पुगिरहेको छ । सिन्धु पनि विन्दु नै हो विन्दु पनि सिन्धु नै हो । घडा धेरै हुनसक्छन् माटो एउटै हो आकार धेरै हुनसक्छ आकाश एउटै हो । द्वन्द्व र विभाजन एकअर्काका पूरक हुन् जहाँ द्वन्द्व छ त्यहाँ विभाजन छ जहाँ विभाजन छ त्यहाँ द्वन्द्व छ । द्वन्द्वले विभाजनलाई निम्त्याउँछ विभाजनले द्वन्द्वलाई । तथापि हरेक कुराको एउटा हद र सीमा हुन्छ । प्रकृतिले अघि बढ्न विभाजनको रेखालाई स्वीकारेको छ भन्दैमा त्यसैको नक्कल गर्ने हो भनेे मानिसको अवस्था बाँदरको भन्दा भिन्न हुने छैन जसले मान्छेको दाह्री काटेको नक्कल गर्दा आफ्नै गालामा छुरी धसेको थियो ।

एउटालाई हटाएर कोही पनि अगाडि बढ्न सक्दैन । निषेधले कसैलाई पनि गन्तव्यमा पुग्न दिंदैन । कुनै कुरालाई रोक्नुछ भने रोक्नेतिर लाग्नै हुँदैन । जे छ त्यसैलाई स्वीकार्नुपर्छ हटाउने प्रयास गर्न हुँदैन । एकताभित्र अनेकता होइन अनेकताभित्र एकता खोज्नु नै बुद्धिमानी ठहर्छ । प्रकृतिमा शक्ति छ त्यसैले ऊ सदा एकबाट अनेकतर्फ उन्मुख भइरहेको हुन्छ तर मानिसमा त्यो शक्ति छैन । उसलाई एउटा चीज पाउन पनि अनेकको सहयोग आवश्यक पर्दछ त्यसैले उसको अभियान सदा अनेकताभित्र एकता खोज्ने नै हुनुपर्छ ।

हुन त स्वामी विवेकानन्दले आइलाग्नेमाथि जाइलाग्नुपर्छ भनेका छन् । पृथ्वीनारायण शाहले पनि करिब त्यस्तै भनेका छन् । वेद, पुराण, उपनिषद् आदि आध्यात्मिक ग्रन्थहरूले त झन् ‘वीरभोग्या वसुन्धरा’ कै आशय व्यक्त गर्दै आएका छन् । होला उनीहरूका भनाइ पनि आफ्नो स्थानमा ठीकै होला । महापुरुषहरूका वाणी हुन् त्यत्तिकै हावामा कहाँ बोलिएको होला र तर वास्तविकता के हो भने जतिबेलासम्म आइलाग्ने र जाइलाग्नेको व्यानरमा एकले अर्कोलाई सिध्याउने खेल जारी रहन्छ त्यतिबेलासम्म संसारमा अभाव र अशान्तिपरक समस्याको गाँठो भने परि नै रहन्छ । धर्मग्रन्थले भने, धर्मगुरुले भने भन्दै हामीले आइलाग्नेमाथि जाइजाग्न त राम्रै जानेका छौं र त्यस्तै परे आइलाग्नै पनि पछि परेका छैनौं तर आइलाग्ने र जाइलाग्नेको वातावरणै बन्न नदिनेतर्फ भने कसैले पनि ध्यान दिएका छैनौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *