सृजामाता खण्डकाव्यमा आदिमतापरक चिन्तन

  • by


आदिमतापरक चिन्तन

साहित्यमा निहीत भाषा, संस्कृति, मिथक, आदिम मानवीय वृत्तिको पहिचान गरी त्यसैका आधारमा साहित्यिक सौन्दर्यको आस्वादन गर्ने र कृतिको मूल्य निर्धारण गर्ने कार्य नै आदिमतापरक समालोचना हो । कुनै पनि साहित्यिक कृतिमा यिनै तत्वको पुनरावृत्ति हुन्छ भन्ने मान्यता यसको रहने हुँदा आदिमतापरक समालोचनाले आदिम वृत्ति, आद्यविम्बि र आद्यढाँचाका आधारमा कृतिको विश्लेषण गर्दछ । मिथक, धर्मशास्त्र, आदिमवृत्ति, आद्य ढाँचा तथा आद्यविम्बात्मक प्रयोगका दृष्टिले देवकोटाका सबै सिर्जना उच्च कोटिका छन् । यसर्थ आदिमतापरक चिन्तनबाट देवकोटा र उनका कृतिहरूको अध्ययन नगरे त्यो अध्ययन अपूर्ण नै रहने हुँदा यो लेख देवकोटामा आदिमतापरक चिन्तन र सृजामाता खण्डकाव्यमा प्रयोग भएका आद्यविम्बहरूको खोजी र विश्लेषणमा केन्द्रित रहेको छ ।

आदिम वृत्तिका सम्बन्धमा पूर्वीय धर्मशास्त्रहरूले आहारको खोजी, निद्रा, भय र मैथुनलाई जनाएका छन् । नेपाली साहित्य कोशले आदिम वृत्तिबाट ती वृत्तिहरूको बोध हुन्छ जसबाट प्रेरित भएर मानिसले कुनै कार्य गर्न सक्छ र यसलाई सहजवृत्ति अथवा मूलवृत्ति पनि भन्ने गरिन्छ भनेको छ भने फ्रायडले यसलाई मूलप्रवृत्ति भनेका छन् । मूलप्रवृत्तिभित्र मान्छेले बाँच्नका लागि गर्ने प्रेम, मित्रता, आकर्षण, अनुराग, आशक्ति, यौन, प्रजनन, रचना आदि कार्यजीवन मूलप्रवृत्ति र विनास, ध्वंश, हत्या, हिंसा, हानि आदि उद्देश्यले गर्ने घृणा, क्रोध, युद्ध, झगडा, हमला, हत्या, आत्महत्या आदि कार्य मृत्यु मूलप्रवृत्ति हुन् । जीवन मूलप्रवृत्ति जीवनमुखी छन् भने मृत्यु मूलप्रवृत्ति मृत्युमुखी र विनासमुखी हुन्छन् । मेक्डुगल्सले यसलाई एक जन्मजात, मनोदैहिक, प्राथमिक प्रेरक वृत्ति भन्दै आवेग र संवेग यससँग सम्बद्ध हुने कुरा बताउँदै भोजन खोज्ने, लड्ने, भाग्ने, उत्सुकता, सिर्जना, विकर्षण, समकर्षण, सङ्ग्रह, काम, वात्सल्य, नम्रता, हाँस्नु, स्व-प्रकाशन र सामाजिकता मान्छेका आदिम वृत्ति भनेका छन् । संज्ञात्मक मनोविज्ञानको परिवेशमा विचार गर्दा स्मृति, विस्मृति, स्वैरकल्पना, भ्रम, विभ्रम र संविभ्रमले पनि मानिसहरूकै प्रवृत्तिको सामान्य, असामान्य र विकृतिको स्थितिलाई झल्काउँछ भन्ने मान्यता उनको छ ।

यसै गरेर मिथक एक प्रकारको परम्परागत कथा हो र यसले सम्बन्धित जाति र संस्कृतिलाई लगाम लगाएको हुन्छ । यही लगामले जातिगत विकास र संस्कृतिको संरक्षण गरेको हुन्छ । अर्को शब्दमा भन्दा मिथकले सम्बन्धित जातिको सामूहिक अचेतन गहिरो जरा गाडेको हुन्छ । यसले आफ्नो जातिप्रतिको अपनत्व, संस्कृतिप्रतिको मोह र सोही आधारमा विभिन्न विचार र साहित्यको सिर्जना गराउँदछ । तसर्थ मिथक कुनै जातिको संस्कृति र धार्मिक अनुष्ठानसँग सम्बन्धित भएर आउने परम्परागत कथा हो । अनि यसमा प्रयोग भएर आउने पात्रप्रति सम्बन्धित जातिले अगाध आस्था र विश्वास राखेको हुन्छ । धार्मिक कार्यसँग गाँसिएर आउने हुनाले यसलाई पौराणिक कथा पनि भन्न सकिन्छ । यस्ता कथा र कथाका आदर्श पात्रप्रति कसैले नकारात्मक टिप्पणी गरेमा सम्बन्धित समुदाय त्यसको प्रतिकारमा उत्रन्छ र यसले हिंसासमेत निम्त्याउँछ । हाम्रो समाजमा प्रचलित ऋग्वेदबाट उपजीव्य भई रचिएका विभिन्न वेद, उपनिषद्, ब्राहृमण ग्रन्थ, रामायण, महाभारत र तिनका आधारमा रचिएका विभिन्न ग्रन्थ, श्रीस्वास्थानी व्रतकथा, श्रीमद्भागवत् गीता आदिमा रहेका कथा मिथक हुन् । यस्ता कथा धर्म र संस्कारसँग सम्बन्धित भएर प्रचलनमा रहेका हुन्छन् । यस्ता मिथकका आधारमा सामाजिक व्यवहारको निर्धारण हुने हुँदा समाजको अनुकरण गर्ने साहित्यले यसलाई कुनै न कुनै पक्षबाट समेटेको हुन्छ । यस्ता पक्ष साहित्यमा दोहोरिँदै आएका हुन्छन् भन्ने मान्यता आदिमतापरक समालोचनाले गर्छ ।

आद्यविम्ब एक प्रथम नमुना वा संरचना हो र यस्ता नमुना विभिन्न साहित्यमा दोहोरिँदै आएका हुन्छन् । मानसिक वा भौतिक रूपमा रहने यस्ता ढाँचा वा नमुना विशेष गरेर कुनै पात्रगत प्रवृत्ति, कार्य वा परिवेशका रूपमा मानवजीवनमा साझा भई निश्चित विम्बमा देखापर्दछन् । आद्यविम्बमा प्रतीक, मूलवस्तु, चारित्रिक विशेषता निश्चित संरचनामा समावेश भई साहित्यका विभिन्न संरचनाभित्र रहेर अनेकौँ प्रकारका कथानक, पात्रगत प्रवृत्ति, कार्य वा परिवेश बन्दै सांस्कृतिक समूहका अभिप्राय, विम्बहरू रही मिथकको निर्माण हुन्छन् । यस्ता बिम्बमा निश्चित प्रकारका उत्तेजनात्मक शक्ति र आनन्द हुने भएकाले मिथक, साहित्य, लोकसाहित्य, परिकथा, स्वप्ना, कलात्मक कार्य र धार्मिक अनुष्ठानहरूमा दोहोरिँदैआएका हुन्छन् । यिनीहरूमा जाति वा संस्कृतिका अनुभूति बाँडिएका हुन्छन् । जन्म, मृत्यु, प्रेम, पारिवारिक जीवन, वृत्तिविकास र बाँच्नका लागि गरिएका सङ्घर्ष जस्ता कार्यमा व्यक्तिमनका अवचेतनबाट अभिव्यक्त हुँदै मिथकसाहित्य र स्वप्ना आदिमा पुनर्सिर्जित गर्दै नयाँनयाँ सिर्जना हुन्छन् । साहित्यमा दोहोरिरहने यस्ता ढाँचा मुख्य गरेर निम्न अनुसार छन् –

(क) परिवेशको पुनरावृत्ति: परिवेश भनेको पात्रले भोगेको देश, काल र वातावरण हो । यसले पात्रलाई असर पर्छ र त्यसको प्रतिक्रिया स्वरूप पात्रका व्यवहारमा परिवर्तन आउँछ । आदिमप्रकारका परिवेशअन्तर्गत टुहुरो राजकुमार वा उच्चकुलको हराएको छोरा जन्मघरबाट बेवास्ता भई हुर्किएको उसका अभिभावकलाई पत्ता नलागेसम्म, भयानक राक्षसको फन्दामा परेकी कन्या (तरुनी) लाई विपत्तिबाट जवान केटाले छुटाएको र पछि त्यही केटीसँग विवाह गरेको, लामो यात्रा, चुनौतीपूर्ण तृष्णा वा खोजी, चुनौतीपूर्ण कार्यको सूची, बदलाको उद्देश्य, पाताल (अपराधीहरूको संसारभित्र) प्रवेश, आचरणपूर्ण प्रयाश्चित, धार्मिक अनुष्ठानहरूको जन्म, भयानक आँधी वा ज्वाराभाटा, विश्वको अन्त्य वा प्रलय आदि पर्दछन् । यस्ता प्रकारको परिवेश कुनै न कुनै रूपमा दोहोरिँदै आएका हुन्छन् ।

(ख) मूलवस्तुको पुनरावृत्ति ः कथानक सिर्जना हुने प्रमुख विषयलाई मूलवस्तु भनिन्छ । एउटा मूल घटनाको आधार मानेर कार्यकारणका माध्यमबाट आख्यानको आयाम बढाउँदै लगिएको हुन्छ । यो नै मूलवस्तु हो । यस्ता मूलवस्तुका आद्यप्रकार वा आद्यविम्ब यस प्रकारका रहन्छन् । पतन हुनुपूर्वको अहङ्कार, मृत्युको आमन्त्रणयोग्य प्रवृत्ति, दुर्भाग्य अथवा सजाय, अन्धोपन, पागलपन, निषेध, निषेधित प्रेम, पितृहत्या वा सगोत्र-सम्भोग आदिलाई मान्न सकिन्छ । यस्ता विषय मूलवस्तुका रूपमा दोहोरिँदै आएका हुन्छन् ।

(ग) पात्रगत पुनरावृत्ति ः लेखकले आफूले अनुभव गरेका वस्तुस्थितिका चित्रण गर्ने अथवा कथानकलाई अगाडि फैलाउँदै लैजाने व्यक्ति नै पात्र हो । आद्यविम्बमा यस्ता अनुभूतिका रूपमा यस प्रकारका पात्रहरूको प्रयोग हुँदै आएका छन् । कुरूप बूढीहरू बोक्सीका रूपमा प्रस्तुत भएका हुन्छन्, जसले केटाकेटीको मासु खान्छन्, तिरस्कृत व्यक्ति, लङ्गडो कामीको अनौठो दक्षता, घाइते मान्छे, सामाजिक उन्नति गर्ने, निरीक्षक वा शिक्षकका रूपमा बूढो मान्छे, अन्तर्वर्गीय प्रेमीहरू, सहाराविहीन केटी, कठोर मान्यजनहरू, प्रयाश्चित गर्न खोजिरहेको अपराधी, गफाडी, झगडालु मान्छे आदि आदिम प्रकारका पात्रहरू हुन् । यस्ता पात्र कलासाहित्यमा दोहोरिँदै आएका हुन्छन् ।

(घ) प्रतीकात्मक रङ ः भाषाको विकास नहुँदै आदिम युगमा मानिसले आफ्ना अनुभूतिहरूलाई विभिन्न दृश्यका सापेक्षतामा व्यक्त गर्दै आयो । यसक्रममा विभिन्न प्रतीक र विम्बहरू निर्माण भए । यस्ता प्रकारका प्रतीकमा विभिन्न रङमय वातावरणले प्रमुख भूमिका खेले । सूर्योदयको सिन्दूरे रङ नयाँ जीवनको प्रतीक, वसन्त ऋतु वनस्पतिको वृद्धिदर र जीवनको प्रतीकका लागि हरियो, पानी वा निश्छलताका लागि नीलो, शुद्धताका लागि सेतो अनि रगत, आवेग र आगोको रातो आदि प्रतीकहरू निर्माण भए । यस्ता प्रतीक आधुनिक साहित्यमा पनि प्रयोग हुँदै आएका छन् ।

(ङ) विम्बहरूको पुनरावृत्ति ः साहित्यको केन्द्रीय तत्वविम्ब भएकाले साहित्यले मिठास र गरिमा प्राम्त गर्न सक्दैन । प्राचीन महाकाव्यलगायत आधुनिक आख्यानसम्म विम्बकै हालिमुहाली छ । यस्ता विम्बले निश्चित अर्थ प्रदान गर्दैआएका हुन्छन् । रगत, पानी, गर्भवती, खरानी, गुलाफ, सिंह, सर्प, गिद्ध आदि आदिम प्रकारका विम्बहरू हुन् ।

देवकोटाको सिर्जनामा आदिमतापरक चिन्तन

महाकवि लक्ष्मीप्रसाद देवकोटा आदिम समाज र संस्कृतिप्रति आगाध प्रेम र झुकाव राख्ने कुरा ‘मिठो लाग्छ मलाई ता पि्रय कथा प्राचीन संसारको, हाम्रा भारत वर्षको उदयको हैमप्रभासारको’ (शाकुन्तल, २००२) भन्ने श्लोकबाट प्रष्ट हुन्छ । यस महाकाव्यमा उनले पूर्वीय संस्कृत महाकाव्य महाभारतको मिथक राजा दुश्यन्त र शकुन्तलाको कथालाई केन्द्रीय विषय बनाएर रचना गरेका छन् । यसका अतिरिक्त उनले पाश्चात्य ग्रीसको पौराणिक कथा (मिथक)लाई विषय बनाएर प्रमिथस महाकाव्यको रचना गरेका छन् । महाकाव्यस्तरमा मात्र नभई उनले खण्डकाव्य र फुटकर कवितामा समेत आद्यविम्ब र मिथकलाई सिर्जनाको विषय बनाएका छन् । दुश्यन्त शकुन्तला भेट, रावण-जटायु युद्ध, सीता हरण, सृजामाता, मायाविनी सर्सी खण्डकाव्य स्तरमा पूर्वीय तथा पाश्चात्य मिथकलाई खण्डकाव्यको विषय बनाएका हुँदा उनी मिथकलाई केन्द्रीय विषय मान्ने सर्जक हुन् । उनले मिथकका अतिरिक्त आदिमवृत्तिलाई सिर्जनाको विषय बनाएका छन् । मान्छेको चेतनाका कारण सिर्जना भएका मीठो-नमीठो, राम्रो-नराम्रो, आफ्नो-अर्काको, रिसरागले उनलाई दुःखित बनाएको कुरा ‘प्रभुजी मलाई भेँडो बनाऊ’ कवितामा व्यक्त गर्दै यस वृत्तिको ज्वलन्त प्रयोग गरेका छन् । यसैगरी उनले मृत्यु शय्याबाट लेखिएको यो अन्तिम कविता ‘शून्यमा शून्य सरी हाराएँ’ले आदिमतापरक चिन्तन प्रतिको दृष्टिकोणलाई अझ प्रस्ट पारेका छन् ः

‘रहेछ संसार नसा समान,
आएन ज्युँदै रहँदा नि ज्ञान,
आखिर कृष्ण रहेछ एक,
न ज्ञान भक्ति न भो विवेक’

देवकोटाले यस कवितामा जीवनको समीक्षा गर्दै भौतिकजगत्का विभिन्न सुन्दरता, मायामोह आदिका कारण जीवन नसा समान भएको, यसको उपभोगका क्रममा आध्यात्मिकजगत्तिर मनलाई डोहोर्‍याउन नसकेकोप्रति पश्चाताप गरेका छन् । उनले अचेतनमा रहेको भगवान कृष्णको विम्बलाई यस कविता मार्फत् व्यक्त गर्दै आध्यात्मिक जगतलाई नै ज्ञान, भक्ति र मानवकल्याणको प्रमुख स्रोत भन्न पुगेका छन् ।

देवकोटाले वि.सं. १९७६ देखि मृत्युशय्या (२०१६) मा रहँदासम्म करिब ४० वर्षे काव्यसाधनामा ६६४ फुटकर कविता, करिब दुई दर्जन जति खण्डकाव्य एवम् ६ वटा महाकाव्यको समेत रचना गरेका छन् । यी रचनाका अधिकांश विषयमा प्राचीन समाज, धर्म, संस्कृति र आदिमवृत्तिको चित्रण गरेका छन् ।

यति हुँदाहुँदै एक पक्षीय दृष्टिबाट मात्र देवकोटालाई स्वच्छन्दतावादी धारा (१९९१-२०१६) को मियो मानी त्यसैका आधारमा स्वच्छन्दतावादी प्रवृत्तिहरू झाँट्ने, छाँट्ने, काट्ने तथा केलाउने कार्य विद्वत् वर्गबाट हुँदैआएको छ । उनका कृतिमा प्रयोग भएका आदिम संस्कृति, मिथक र आद्यविम्बहरूका आधारमा कृतिको अध्ययन, विश्लेषण र मूल्याङ्कन गर्ने कार्य भएका छैनन् । देवकोटाका प्रत्येक कृतिमा आदिम विम्बहरू छताछुल्ल भएको भेटिन्छ ।

सृजामाता खण्डकाव्यमा आदिमतापरक चेत

महाकवि लक्ष्मीप्रसाद देवकोटाले प्रवासकाल (२००३-०६) मा सृजामाता खण्डकाव्यको रचना गरेका हुन् । यसको प्रकाशन २०३९ सालमा वासुदेव त्रिपाठी र ठाकुरप्रसाद पराजुलीको सम्पादकत्वमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले प्रथम पटक प्रकाशनमा ल्याएको हो । यो खण्डकाव्य मैना खण्डकाव्यसङ्ग्रहमा सङ्कलित छ । सङ्ग्रहमा यसका अतिरिक्त वसन्ती, मैना, नेपाली मेघदूत, वैराग्य लहरी, आनन्द शतक र झञ्झा वर्णन सङ्कलित छन् । देवकोटाले यो खण्डकाव्यको कथावस्तु ग्रीसेली पुराकथाबाट लिएको कुरा यसै खण्डकाव्यको प्रथम खण्डका क्रमशः निम्न दोस्रो र छैठौँ श्लोकबाट प्रष्ट हुन्छ ।

सदृश यौटा ग्रीसको देशमा बस्ती छ पुरानो
हेर्नलाई मन लागेमा हिँडूँ त्यो देश विरानो ।
देउ र द्यौता, हावा र जलमा पर्वत वनमा
विचरण गर्थे अनेक ढङका कथाका दिनमा ।

यस कवितामा ग्रीसको पुरानो सहरको वर्णन गर्दै हावा, जल, पर्वत आदि विभिन्न स्थान देवीदेउता घुम्थे भन्ने कुरा अनेक प्रकारका ग्रीसेली कथामा पाइन्छन् भनिएको छ । ग्रीसेलीहरूको लोककथामा आधारित यो काव्यको चारखण्डमा कथावस्तु समेटिएको छ भने पाँचौँ खण्ड उपदेश-दर्शन शीर्षकमा प्रकृति र मानवबीचको अभेद्य सम्बन्धलाई देखाउँदै प्रकृतिको सजीव चित्रण देखाएका छन् । प्राचीन समयमा मानिसले प्रकृतिका निर्जीव तत्वलाई जीवन र चेतना भर्ने कार्य आदिम मानवले नै गरेको थियो ।

यही विम्ब देवकोटाको यस खण्डकाव्यभरी पोखिएको छ । यसमा प्रयोग भएका पात्र केही निर्जीव भौतिक ग्रहहरू छन् भने केही अलौकिक दैवी पात्र तथा केही यथार्थ धरातलका पात्र पनि भेटिन्छन् । यी सबै पात्र सजीव र चेतनाका भावले ओतप्रोत भई आ-आफ्ना कार्यप्रति सचेत छन् । यो कुरा सृजामाता (पृथ्वी)ले अपोलो (सूर्य), प्लुटो (यमराज), मर्करी (देवदूत), हेकेटीदेवी र राजारानी आदिसँग गरेका वार्तलापबाट प्रस्ट हुन्छ ।

छोरी हराएको वेदनामा रन्थनिदै हिँडेकी सिरिजमा अरूका छोराछोरीको उपकार गर्दा आफ्ना छोराछोरी भेटिन्छ भन्ने सामूहिक अचेतनले काम गर्छ र अपुताली परेका राजारानीको छोरोलाई दीर्घायु दिन धाईको काम गर्छिन् । सेकताप र दीर्घायु बनाउन मन्त्र दिँदै गर्दा रानीले शङ्का गरेकी हुँदा आयु सय वर्षमा सीमित भएको र अहिलेका मान्छेको आयु पनि त्यसैको निरन्तरता हो भन्ने विश्वास ग्रीसमा अझै छ । यहाँ प्रयुक्त पात्र जादु मन्त्र, धर्म र आध्यात्मिक दृष्टिले संसारका सबै ठाउँ देख्न सकिने कुरामा विश्वस्त छन् । यसरी निर्जीव वस्तुमा जीवन भर्ने काम आदिम मानिसले गरेका हुन्, त्यसलाई यहाँ प्रयोग भएका पात्र (सूर्य, प्लुटो) प्रति अझै पनि देवताका रूपमा नै पूजाआजा गरिँदैआएको छ ।

कथासंरचना

सृजामाता खण्डकाव्यको कथावस्तु चार खण्डमा पूर्ण भएको छ भने अन्त्यखण्ड उपदेश-दर्शन शीर्षकमा राखिएको छ । उपदेश-दर्शनमा मान्छे र प्रकृतिबीचको अभेद्य सम्बन्धका बारेमा चर्चा गर्दै पृथ्वीलाई सृजामाता मान्दै यसको गुणगान गाएका छन् । पृथ्वी, विभिन्न ऋतु, सूर्य आदिलाई सजीव मान्दै विभिन्न ग्रहप्रतिको आदिम विश्वासलाई यसमा समेटेका छन् । सृजामाता र प्रोजर्पिना आमा र छोरी हुन् र यिनैको कथालाई चारखण्डमा बाँढिएको छ ।

आमाछोरीको मायाममता, खेतीपातीको रमाइलो वातावरण र प्राजर्पिनाको प्लुटोद्वारा अपहरण प्रथम खण्डमा (७२ श्लोक), सृजामाता ड्रागनमा चढेर खेती हेर्न गएदेखि छोरीको वियोगमा हेकेटीको शरणमा गएसम्म दोस्रोखण्ड (५७ श्लोक), पृथ्वीमा हिउँद लागेदेखि प्लुटोले प्रोजर्पिनालाई प्रेममा फँसाएसम्म तेस्रोखण्ड (५४ श्लोक) र छोरीको वियोगमा शोकाकुल हुँदै प्लुटोको दरबारमा पुगेर छ महिना पृथ्वी र छ महिना पातालमा बस्ने सम्झौता चौथोखण्ड (७० श्लोक)मा समेटिएको छ भने अन्तिम खण्ड उपदेश दर्शन (८४ श्लोक) शीर्षकमा समेटिएको छ ।

आमाछोरी पृथ्वीमा गाईभैँसी पालेर खेतीपाती गरेर हराभरा ठाउँमा रमाएर बसेका हुन्छन् । एक दिन सृजामाता बढेकी छोरी प्रोजर्पिनालाई घर छोडेर कतै नजानु परदेशीहरूले ठिटीहरूलाई चोर्छन् भनेर ड्रागन चढी धानबाली हेर्न जान्छिन् । आमाको वचन बिर्सिएर प्रोजर्पिना फूल टिप्न बगैँचातिर जाँदा पातालका राजा प्लुटोले उनलाई हरेर लैजान्छन् । प्रोजर्पिना विरानो देशमा विहृवल भई केही पनि नखाई रुँदै बस्छिन् । प्लुटोले माइतबाट आमाले पठाएको अनार भनेर मोहिनी फल खान दिन्छन् । फल खाएपछि प्लुटो र प्रोजर्पिना सप्रेम बस्न थाल्छन् ।

उता सृजामाता घर फर्किंदा छोरी हराएकी थाहा पाउँछिन् । पुत्रीवियोगमा विहृवल हुँदै छरछिमेकमा सोधखोज गर्दै भौँतारिन्छिन् । यसक्रममा विषादकी देवी हेकेटीसँग भेट हुन्छ । हेकेटीले भन्छिन् ः

योग हो भ्रम, वियोग सत्य संसार नाश्वर
हाँस्ने हुन् काना, रुने हुन् साचा, रुने नै काम गर

यस्तो उपदेश दिएपछि सृजामाता रुनु मात्र जीवन होइन, हाँस्नु पनि जीवन हो, म जीवन खोज्न हिँडेकी भन्दै सूर्यसँग सोध्न पुग्छिन् । सूर्यले पनि आफ्नो ज्वाला सम्हाल्न व्यस्त भएको बताउँदै अल्मल्याउने काम नगर भनेपछि उनले यसरी श्राप दिइन्-

आमाको आँखा भिजेको देखी नबोल्ने वचन
तिमीलाई लागोस् ज्योतिमा टाटो अदृश्य गहन ।

यही श्राप पाएपछि सूर्यमा ग्रहण लाग्न सुरुभएको विश्वास ग्रीसमा छ । सूर्यबाट पनि छोरीका बारेमा थाहा नपाएपछि अर्काका छोराछोरी स्याहार्दा आफ्ना भेटिन्छन् भन्ने ठानेर एक जना राजाकोमा धाई आमा भएर काम गर्छिन् । त्यसपछि बिदा भएर छोरी खोज्न हिँड्छिन् । बाटामा एक देवताले यमलोक जाने बाटो बताइदिन्छन् र पाताल पुग्छिन् । छोरीलाई लिन सृजामाता यमपुर पुग्नुभन्दा पहिले नै जुपिटरले मर्करीलाई प्लुटो र सृजामातासँग वार्ता गराउन पठाउँछन् । सोही अनुसार प्रोजर्पिना (वर्षा ऋतु) आमा (पृथ्वी) सँग ६ महिना र प्लुटो (पति, यमराज) सँग पातालमा बस्छिन् ।

यस खण्डकाव्यको परिवेशले सौर्यपरिवारलाई नै समेटेको छ । यसमा मिथकमा पाइने स्वर्ग, मत्र्य र पाताल तीनै लोकको चित्रण गरिएको छ । त्यसैगरी विभिन्न ऋतुचक्र, देवदेवता, राजामहाराजा आदिका अवस्थाको चित्रण पनि भेटिन्छन् । समयलाई हेर्ने हो भने देवत्वबाट मनुष्यको जन्म सुरु हुन लागेको राजाको छोराको आयु सय वर्ष भएबाट तथा यात्राका लागि पशु बाहान (ड्रागन, रथ आदि) को प्रयोगको समय भन्ने थाहा हुन्छ । यस्तै, सुन्दरीलाई हरण गरी विवाह गर्ने वैवाहिक संस्कारको पनि विकास भएको प्लुटो र प्रोजर्पिनाका काण्डबाट थाहा पाउन सकिन्छ ।

काव्यको प्रारम्भमै देवकोटाले लेखेका छन्- स्मरणमा अलिअलि आउने प्राचीन समयको ग्रीसको पुरानो बस्ती जहाँ सुन्दर पालुवाको वस्त्र लगाएको नागबेली नदीनाला र सरल स्वभावका रातापिरा गाला भएका मानिस बसोबास गर्ने बस्तीमा प्रचलित लोककथा हो, सिर्जामाताको कथावस्तु हो । यसै कथालाई देवकोटाले नेपाली परिवेशमा तालमेल गराई यो काव्य रचेका छन् ।

पृथ्वी माताका रूपमा, अपोलो (सूर्य) देवताका रूपमा, प्लुटो (यम) पातालको राजाका रूपमा, मर्करी (बुध) देवदूतका रूपमा, प्रोजर्पिना वर्षा ऋतुका रूपमा, हकेटी देवीले दुःख, पीडा र वियोगकी देवीका रूपमा निर्जीव तथा अलौकिक (दैविक) तत्व सजीव, सचेत र भावनायुक्त भई यहाँ आ-आफ्नो चारित्रिक भूमिका पूरा गरेका छन् ।

यस खण्डकाव्यको प्रमुख पात्रा सृजामातालाई पृथ्वीको विम्ब दिइएको छ । पृथ्वीलाई सिर्जनाकी देवी मान्ने विश्वास आदिमकालदेखि नै रहेको छ । यिनलाई सम्पूर्ण प्राणीहरूको जन्म, भोजन र स्याहारसुसार गर्ने देवीका रूपमा प्राचीनकालदेखि नै मान्दै आएका छन् । यो विश्वास पूर्व तथा पश्चिम दुवैतिर छ । विभिन्न अनाज तथा फलफूलको उब्जाउ हुने र त्यही खाएर मानिसले जीविका चलाउने र सम्पूर्ण प्राणीको आश्रयस्थलका रूपमा पृथ्वीलाई मानिन्छ ।

यसरी यस काव्यमा प्रयोग भएको कथावस्तु, पात्र, पात्रगत प्रवृत्ति, परिवेश आदिका आधारमा हेर्दा देवकोटाको यो खण्डकाव्य आदिमतापरक चिन्तनले ओतप्रोत भएको उत्कृष्ट खण्डकाव्यका रूपमा देखापरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *