Skip to content

उहिलेका देवीप्रसाद अहिलेका डी.पी.

  • by


कमरेडहरूले नाम परिवर्तन गरेपछि आफ्नो पुरानो नाम भुसुक्कै बिर्सिएर अङ्ग्रेजी नामबाटै परिचित हुन थाल्नुभयो उहाँ पार्टीमा । पार्टीका साथीहरूले राखिदिएको नाम साहित्यमा पनि रहन पुग्यो । झण्डै साढे ६ दशकअघिको कुरो यो । यतिखेर उहाँलाई राजनीति र साहित्य दुवै क्षेत्रले पछिल्लो नामबाट समेत बिर्सन थालेको छ । उहाँकै शब्दमा भन्नुपर्दा न त राजनीतिमा कुनै स्थान पाउनुभयो न साहित्यले कुनै ठाउँ दिएको छ । उहाँ त आफू साहित्यभन्दा राजनीतिमै केन्दि्रत रहेको बताउनुहुन्छ तर उहाँको नाम लिनासाथ सम्मान र आदरका साथ साहित्य जगत्ले हेर्ने गरेको छ । राजनीतिमा जस्तो साहित्यमा पनि उहाँ विधागत रूपले छरिनुभएको छ कथाकार, उपन्यासकार, समालोचक भएर । साहित्यमा प्रगतिवादी दृष्टि लिई कलम चलाउने उहाँले राजनीति पनि प्रायः वामपन्थी राजनीतिमै गर्नुभयो ।

साहित्य र राजनीतिमा त्यति सन्तुष्ट नदेखिए पनि यी दुवै क्षेत्रलाई नजिकबाट नियालिरहनुभएका उहाँ भनिहाल्नुहुन्छ- “यहाँ कसले नै के गर्‍यो र ? के अहिले पनि साहित्य लेखी नै रहेको छ ? अहिले कसले के लेखेको छ ?’ जस्ता व्यङ्ग्य मिश्रति प्रश्न गर्नुहुन्छ । पढ्नचाहिँ पछिल्ला समयका साहित्यिक कृतिहरू पनि पढेको र त्यसमा कलम चलाएको बताउनुहुन्छ ।

वि.सं. २०६७ सालको मङ्सिर १५ गते चिसो बिहानीमा ललितपुरको चाकुपाटस्थित आफ्नै निवासमा साहित्य र राजनीतिका सम्बन्धमा उहाँसँग धेरै कुराकानी भए । बोल्नुभन्दा भन्नुपर्ने कुरा आफूले कृतिहरू मार्फत् अभिव्यक्त गर्दै आएको बताउने उहाँ अचेल के लेख्दै हुनुहुन्छ ? पहिलो प्रश्न थियो उहाँ समक्ष ।

“लेख्ने कुराको विषय नै मैले भेटेको छैन, अनि मैले किन लेख्ने ? पहिले त एउटा गति थियो, अब त यस्तो परिवर्तन भइरहेको छ कि लेख्ने कि ? तीव्र परिवर्तनलाई लेखकले पक्रनै सकेका छैनन् ।’

अरू के लेखिरहेका छन् त ?

त्यही त म भन्दैछु । तपाईंले अचेल साहित्यमा के पाउनुभएको छ ? समाजसँग सम्बद्ध हुने भएकाले साहित्यमा समाज त आउनु पर्‍यो नि ।”

यथार्थ मूल्याङ्कन नहुने हाम्रो साहित्यिक जगतप्रति असन्तुष्ट हुँदै भन्नुहुन्छ उहाँ- “जसले जसलाई पायो बढाइचढाइ गरिदिन्छन् । उल्लेख नै गर्न आवश्यक नभएकालाई समेत यसै उचालिदिन्छन् । मेरो सन्दर्भमा भन्नुपर्दा साहित्यिक क्षेत्रले मलाई बेवास्ता गरेको छ ।”

यस्तै गुनासा र यथार्थका कुरा सुन्दै छु म उहाँबाट । ८४ वर्षको मान्छे, पातलो र फुर्तिलो शरीर लिए जस्तै साहित्य क्षेत्रमा उहाँको उपस्थिति पातलिँदै छ, राजनीतिमा पनि त्यस्तै छ । समग्रमा भन्नुपर्दा उहाँ अचेल अध्ययनमै मात्र सीमित हुनुभएको छ । वि.सं. २०६० पछि उहाँका साहित्यिक कृति प्रकाशमा पनि आएका छैनन र अब लेख्ने मनस्थितिमा पनि हुनुहुन्न रे !

वि.सं. १९८३ सालको चतरा सुनसरीमा नरपति अधिकारी तथा दिव्यकुमारीका काइँला छोराका रूपमा जन्मिनुभएका देवीप्रसाद अधिकारी वामपन्थी आन्दोलनमा लाग्नुभएपछि डी.पी. अधिकारी बन्नुभयो र उहाँको यही नामले नै निरन्तरता पायो । सन् १९४९ मै कलकत्ता पढ्न बस्दा कथा छपाएर साहित्यमा देखापर्ने अधिकारीले वि.सं. २०१३/१४ सालदेखि समालोचनाको क्षेत्रमा कलम चलाउन थाल्नुभयो । पहिलो सङ्ग्रहको रूपमा २०१६ सालमै ‘यथार्थवादी समालोचना’ प्रकाशित गराएको पनि पाँच दशक नाघिसक्यो । यतिखेर आएर उहाँ भनिदिनुहुन्छ- “नेपाली साहित्य आफ्नो सांस्कृतिक परम्परालाई हेर्ने कुरामा रित्तो छ, धेरै रित्तो । यसले गर्दा आजको हाम्रो साहित्य आफ्नो राष्ट्रिय जीवनलाई व्यापक रूपले बोकेर आउनसकेको छैन ।” समालोचनाको क्षेत्रमा प्रगतिवादी धाराका उल्लेख्य प्रतिनिधिका रूपमा परिचित डी.पी. भण्डारी जीवनमा साहित्यमा लागे पनि आफूले अस्तित्व नतोडेको, धाउन नजानेकाले पुरस्कार सम्मान पाउन नसकेको बताउनुहुन्छ ।

दुई वर्षको उमेरमै बाबुको निधन भएपछि उहाँकी आमाले धरान बजारमा डेरा लिई राख्नुभयो । जाडोमा धरान, गर्मीमा धनकुटा, पढ्न कलकत्ता विराटनगर, बनारस, दार्जिलिङ, कालेम्पुङ आदि पुग्ने डी.पी. अधिकारी लामो समयदेखि ललितपुरको कोपुण्डोल हुँदै चाकुपाट बस्दै आइरहनुभएको छ । साहित्य राजनीति दुवैमा उत्तिकै रुचि लिएर उहाँले कलम चलाउँदै आउनुभयो । यसै मेसोमा राजनीतिका बारेमा उहाँका अनेकौँ कृति प्रकाशित भइसके । सन्दर्भ र चर्चा यहाँ साहित्यकार डी.पी. अधिकारीको हो । साहित्यकार डी.पी.ले समालोचनाको क्षेत्रमा यथार्थवादी समालोचना (२०१६), नेपाली साहित्य र आलोचना (२०३२), नेपाली उपन्यास र जनजीवन (२०६०), कथाको क्षेत्रमा माउसुली (२०२३), लङ्गडो मान्छे (२०२७) र औपन्यासिक कृतिमा आशमाया (२०२५), धर्ती अझै बोल्दैछ (२०२७), युगान्तकारी (२०५६) जस्ता कृतिहरू प्रकाशित गराइसक्नुभएको छ । वि.सं. २०२५ सालमा उहाँको आशमाया उपन्यासबाटै नेपाली साहित्यमा प्रगतिवादी उपन्यासको सुरुआत भएको मानिन्छ ।

वि.सं. २०४४ सालमा उहाँसँग भएको साहित्यिक कुराकानीमा उपन्यासबारे उहाँको धारणाले प्रष्ट पार्छ उपन्यास विधालाई बढी महत्त्व दिनुहुन्छ भनेर-“साहित्य लेखन कृतिमा उपन्यास सर्वोच्च उपलब्धिमा मानिन्छ । उपन्यास लेखनलाई आधुनिक महाकाव्य पनि भनिन्छ । उपन्यास लेखनले मात्र देशको सामाजिक स्वरूप र यसका चिन्तन व्यवहारलाई विस्तृत र व्यापकरूपले उपस्थित गर्न सक्छ । नेपालमा उपन्यास लेखनको इतिहास चालीस वर्षको लामो समय पार गरिसकेको भए पनि आफ्नो सामाजिक स्वरूप र यसको चिन्तन धरातललाई गहिरो गरेर हेर्न सक्ने त्यस्तो उपन्यास अहिलेसम्म तयार हुनसकेका छैन । उत्कृष्ट स्तरका उपन्यासको लेखनको अभावमा राष्ट्रिय चिन्तनको धरातललाई माथि उठाउन पनि सकिन्न र त्यहाँ अरू क्षेत्रले विकास गर्ने कुरा पनि सम्भव रहन्न । साहित्य लेखन समाजको सशक्त अभिव्यक्ति भएकाले साहित्यले त्यो समाजको विकासको प्रत्यक्षमा अगुवाइ गरिरहेको हुन्छ ।” (२०४४।८।२७, कोपुण्डोल, साहित्यकार परिचय र अभिव्यक्ति, ०५४)

मिजासले सरल र सहज भए पनि साहित्य र राजनीतिका सन्दर्भमा यथार्थ र खरा कुरा लेख्न रुचाउने डी.पी. भण्डारीको सक्रियता र फुर्तिलो स्वभाव देख्दा धेरैलाई पत्याउन पनि हम्मेपर्छ उहाँले ८४ टेकिसक्नुभयो भनेर । सिर्जना, अध्ययन र अनुभवले खारिनुभएका उहाँजस्ता स्रष्टा समालोचकको कलम निरन्तर चलिदिए नेपाली साहित्यले उहाँबाट अझै अरू केही पाउने थियो । नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालालाई ‘टावरिङ पर्सनालिटी’ मान्ने उहाँले यसपछि भने त्यस्तो कुनै नेता पाउनुभएको छैन । तर पनि लेखनको सन्दर्भमा समालोचनाको क्षेत्रमा कलम चलाउँदा उहाँले बी.पी. कोइरालासँग पनि असहमति जनाउनुभएको छ, प्रगतिवादी स्रष्टाहरूसँग पनि असहमति जनाउनुभएको छ । लेखनमा यथार्थ लेख्नुपर्छ, अनावश्यक प्रसंशा र पूर्वाग्रहले लेखन काम लाग्ने बन्न सक्तैन भन्ने धारणा राख्ने उहाँजस्तै स्रष्टा समालोचकले लेखनलाई निरन्तरता दिनुपर्छ ।

शनिबार, गोरखापत्र
मंसीर ११, २०६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *