Skip to content

“मेरो कविता, म होइन”


तिमी अघि उभिँदा
म जस्तै लाग्छ
ए ऐना !
उही रुप, उही अंग
उही म,
तरैपनि
मेरो प्रतिबिम्ब म होइन,
विचार भिन्नै
भावना भिन्नै
मेरो कविता, म होइन !

ठुलो घरको
बन्द कोठामा
३० बर्षे
तरुनी झैँ
कसैको पहिलो
स्पर्ष
पर्खिरहेछ
मेरो कविता, म होइन !!

चोट, व्यथा
पीर, मर्क
दुख, सुख
मिलन, बिछोड
सबैले
भरिएको,
लाहुरेको चिट्ठी झैँ
हुलाकीको थैलोमा
गन्तब्य खोज्दैछ
मेरो कविता, म होइन !!!

जीवनरुपी बगैचामा
अजम्बरी
फूल झैँ
फुल्छ,
आकाश जस्तै
अमर कविता मेरा
म जस्तै
दुइ दिनको
पाहुना होइन,
मेरो कविता, म होइन !!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *