क्यान्टोनमेन्टमा छापामारहरू उत्सव मनाइरहेका थिए।
बन्द शिविरभित्र विद्रोही छापामारहरू खुसीले चिच्याइरहेका, हाँसिरहेका, गाइरहेका र उफ्री’उफ्री नाचिरहेका थिए। क्यान्टोनमेन्टको वरिपरि मसालहरू जलिरहेका थिए। मसालको उज्यालोमा विद्रोही छापामारका खुसीले उज्यालिएका अनुहारहरूझन् चम्किला देखिएका थिए।
क्यान्टोनमेन्टभित्रको वातावरण राताम्मे थियो। विभिन्न नाराहरू लेखिएका राता तुल, राता न्डा, राता फेटा र रातै ध्वजा’पताकाले क्यान्टोनमेन्ट भरिभराउ थियो। रातो रङले उनीहरूको क्रान्तिकारी विचार र दर्शनको परिचय दिइरहेको थियो। छापामारहरू कम्ब्याट ड्रेसमा थिए। कम्ब्याट ड्रेसमा नै उनीहरू उत्सवमा सहभागी भइरहेका थिए।
छापामारहरूमध्ये कोही मादल ठटाइरहेका थिए, कोही क्रान्तिकारी गीत घन्काइरहेका थिए भने कोही मादलको ताल र गीतको लयमा हातमा बन्दूक नचाउँदै खुट्टा सारिरहेका थिए। हरेक गतिविधिले उनीहरू औधी खुसी भएका जनाउँथ्यो। मनभित्रको खुसी तिनको शरीरबाट ल्किरहेको थियो। एक छापामारले गीतको भाका हाल्दै उत्सवको गीत गायो। गीतले भनिरहेको थियो’ कसरी उनीहरूले युद्ध लडे, कसरी उनीहरूले जीवनको पनि पर्बाह नगरी शत्रुका शिविरमा धावा बोले, कसरी उनीहरूले विजयको उत्सव मनाए। यो गीतले अरू छापामारहरूलाई युद्धका दिनहरूको सम्ना ताजा गरायो। तिनीहरू झन्-झन् जोसिएर नाच्न थाले।
एउटी महिला छापामारले पनि गीत गुनगुनाइन्। गीतमा सुन्दर भविष्यका सपनाहरू थिए। गीतले भन्थ्यो- “हामीहरूले धेरै दुःख पायौँ तर आफ्ना सपनाहरूको यात्रा छोडेनौँ।” गीतमा अतीतको बलिदानले सुन्दर भविष्य सिर्जना गर्ने भावना थियो।
ऊ कोठाभित्रबाट नै आँगनमा साथीहरूले गाइरहेको गीत सुनिरहेको थियो। गीत सुन्दै ऊ पनि आफ्ना ओठहरू चलाउँथ्यो, गीतको भावअनुसार जोसिन्थ्यो, कहिले मुस्कुराउँथ्यो त कहिले धरधरी आँसु चुहाएर रुन थाल्थ्यो। उत्सवको रमाइलोमा आफू सहभागी हुन नसक्नुको पीडाले ऊ व्यथित बनिरहेको थियो।
उसको कानमा लगातार गीत गुन्जिरहेको थियो, गीतले उसको ‘कथा’ बताइरहेको थियो। गीत सुन्दै उसले वर्षौं पहिले छोडेको घर सम्झ्यो, आफ्ना आमाबाबु सम्झ्यो र भाइ’बहिनीका मायालु अनुहारहरू सम्झ्यो। कति ममतामयी र वात्सल्यपूर्ण थिए तिनीहरू उसका लागि’ उसले घर छोड्दा कति रोएका थिए तिनीहरू’तर उसका लागि तिनका आँसुभन्दा आफ्नो सपनाको यात्रा प्यारो थियो। उसले मनमनै सोच्यो- त्यतिखेर आफ्नो व्यक्तिगत सपनाभन्दा सुन्दर नेपाल सिर्जना गर्ने सपनाले उसलाई युद्धमा होमिने आँट दिएको थियो।
‘ओहो, युद्ध लड्दालड्दै दस वर्ष बितेछ!’ उसले लामो सुस्केरा छोड्यो। यस १० वर्षमा उसका भाइ’बहिनीहरू लक्का जवान भए। दुवैले कलेजको पढाइ सिध्याए। दुवै जना उच्च शिक्षाका लागि अमेरिका भासिए। आफ्ना भाइ’बहिनीहरू अमेरिका भासिएको खबरले ऊ मर्माहत बनेको थियो। ‘किन गए तिनीहरू अमेरिका! के छ अमेरिकामा!’
एउटा छापामारका भाइ’बहिनीहरूको अमेरिका’पलायनले उसलाई क्रोधित बनाएको थियो। ‘पढेको भए त म पनि बीए, एमए भइसक्थेँ होला!’ उसले आफूले सात कक्षा पढ्दापढ्दै स्कुल छोडेको क्षण स्मरण गर्यो। ‘मलाई नपढेर के फरक पर्यो र? म पढे पनि छापामार, नपढे पनि छापामार! तर अलिकति ज्यादा पढेको भए सायद छापामारको कमान्डर भइसक्थेँ कि!’ उसका आँखाअगाडि आए आफ्ना छापामार साथीका अनुहारहरू, जो ऊभन्दा धेरै पढेको हुनाले प्लाटुन कमान्डर बनिसकेका थिए। उसको मन तिनीहरूप्रति ईर्ष्यालु बन्न थाल्यो।
‘तिनीहरू कमाण्डर भए पनि मसँग युद्धको अनुभव बढी छ।’ उसले आफ्नो मनलाई सान्त्वना दिँदै आफूले लडेका युद्धका घटनाहरूलाई एक’एक गरी सम्न थाल्यो।
‘सायद क्यान्टोनमेन्टभित्रको यो अँध्यारो कोठाभन्दा लडाइँको खुला मैदान नै जाती थियो कि!’ उसले कोठाबाहिर आफ्ना आँखा फैलायो। आगोको उज्यालोमा उसले देख्यो एउटा घर जहाँ छापामारका हतियारहरू भन्डार गरिएका थिए। ‘यी हतियारहरूसँगै कतै हाम्रा सपनाहरू पनि भण्डार गरिने त होइनन्।’ ऊ अब आफ्नो भविष्यप्रति सशङ्कित हुन थाल्यो। उसले अचानक बिर्स्यो वीरतापूर्वक लडेका युद्धका अनुभव र अनुभूतिहरू। हतियार भण्डार गरेको घरमा हेर्दै उसले ठम्यायो- उसमा अन्तर्निहित छापामार युद्धकला र छापामार युद्धका सङ्घर्षपूर्ण गाथाहरू पनि हतियारसँगै त्यस घरमा कैद गरिएका छन्।
उत्सव जारी थियो। छापामारहरू अै गीत गाइरहेका, नाचिरहेका र रमाइरहेका थिए। तिनीहरूका गीत र नृत्यले क्यान्टोनमेन्टभित्रको वातावरण उल्लासमय बनिरहेको थियो।
“हामीले सपनाहरू देख्यौं हाम्रा सपनाहरू सुन्दर र सत्य थिए ती सपनाहरूलाई हामीले हृदयमा बसायौं र आफ्नो जीवनको उद्देश्य बनायौं।”
‘कमरेडहरू कति सुन्दर गीतहरू गुनगुनाइरहेका छन्, ती गीतमा कोमल भावना र सप्तरङ्गी सपनाहरू छन्।’ आफू बसेको स्थानबाट नै बाहिर चियाउँदै ऊ बुदबुदायो।
‘साँच्चै हामी भोलि यस क्यान्टोनमेन्टबाट मुक्त हुन्छौं त? के भोलिदेखि हाम्रो नयाँ भविष्य शुरु हुँदैछ?’ गीतमा अभिव्यक्त भावनाहरूझैँ उसको मनमा पनि सुकोमल सपनाहरू फुर्न थाले। ऊ पनि बिस्तारै गीत गुनगुनाउन थाल्यो। गीत गुनगुनाउँदै ऊ भोलिको आफ्नो भविष्यको सुन्दर सपना देख्न थाल्यो।
‘युद्ध पूर्ण रूपमा समाप्त भएको छ, हातबाट बन्दूक सधैँका लागि छुटेको छ, ऊ विद्रोहीबाट राष्ट्रसेवकका रूपमा परिवर्तित भएको छ, उसले जागिर पाएको छ, तलब पाएको छ, रासन पाएको छ, कानूनी अधिकार र अवसर पाएको छ। सबैभन्दा ठूलो कुरा उसले समाजमा सम्मान पाएको छ।’
ऊ एक्लै खितखित हाँस्यो। युद्धमा जुनसुकै बेला पनि मारिन सक्ने सम्भावनाका बाबजुद ऊ बाँचेको थियो। बाँचेर नै ऊ बाँच्नुको सार्थकता अनुभूत गरिरहेको थियो। युद्धमा मरेर लास बनेका आफ्ना साथीहरूलाई स्मरण गर्दै ऊ भावुक बनिरहेको थियो, ‘तिनीहरू पनि बाँचेका भए आज कति खुसी हुन्थे होलान्।’ उसले बाहिर चियायो। आगोको उज्यालो मन्द हुँदै गइरहेको भए पनि गीतहरू अै गुन्जिरहेका थिए। उसले गीतका शब्दहरू टिप्यो। गीतमा उनीहरूको जीवन’यात्राको गाथा समेटिएको थियो। गीतले उनीहरूको दुःखको, पीडाको, सङ्घर्षको, बलिदानको र उज्ज्वल भविष्यको गाथा भनिरहेको थियो।
‘नयाँ नेपालको निर्माणका लागि मैले घर छोडें, परिवार त्यागें, टाउकामा कात्रो बेरेर युद्धमा होमिएँ, रातबिरात गाउँ’बस्ती, पहाड’फाँट, उकाली’ओराली, नदीनाला र जङ्गलहरू चहारें, लडाइँमा मारिएका साथीहरूका लास देखेर न्डै बहुलाएँ, लासहरूलाई खाडलमा पुर्दापुर्दै न्डै आफैं लास बनिनँ।’ ऊ क्वाँ’क्वाँ रुन थाल्यो। युद्धको अभिघातले उसलाई व्यथित बनाइरहेको थियो। उसका आँखाबाट आँसुका धारा छुटिरहेका थिए, तर ऊ आफ्ना हातले आँसु पुछ्न सकिरहेको थिएन। उसलाई बाहिर गएर आफ्ना साथीहरूसँगै गाउन मन लाग्यो, नाच्न मन लाग्यो। अँध्यारो कोठाभित्रको एकलास वातावरणमा उसलाई उकुसमुकुस हुन थाल्यो। ऊ जोडतोडले चिच्याउन थाल्यो। कोकोहोलो गर्न थाल्यो।
क्यान्टोनमेन्टभित्रको उत्सवमा अचानक चकमन्नता छायो। गीतहरू बन्द भए, मादलहरू बज्न छोडे, छापामारका नाचिरहेका खुट्टाहरू टक्क रोकिए। उत्सवसँगसँगै उसको रुवाइ पनि बन्द भयो। उसले छक्क परेर बाहिर हेर्यो। छापामारहरू कम्ब्याट ड्रेसमा चौरमा भेला भइरहेका थिए। ‘चौरमा किन भेला भइरहेछन् छापामारहरू?’ ऊ रनभुल्लमा पर्यो। उसले अनुमान गर्न सकेन कहाँ के भइरहेको छ। ‘किन उत्सव अचानक रोकिएको छ? किन छापामारहरू चौरमा ओइरिएका छन्?’ उसको मथिङ्गलमा यिनै कुराहरू घुमिरहेका थिए। उसले देख्दादेख्दै सबै छापामारहरू हातहतियारसहित बाहिर निस्के। एकैछिनमा क्यान्टोनमेन्ट खाली भयो।
“कमरेड, मलाई पनि बाहिर लग। म पनि गर्छु मार्चपास।” ऊ चिच्याउन थाल्यो। तर उसको आवाज सुन्ने क्यान्टोनमेन्टभित्र कोही थिएन।
बिहान हुन्जेल ऊ छापामारहरू क्यान्टोनमेन्टमा फर्किने आशामा अनिँदो उँघिरह्यो। रातभर उसले विभिन्न आवाजहरू सुन्यो; छापामारले नारा लगाएको आवाज, सडकमा गाडीहरू रोकिएको आवाज, यात्रुहरू बिचल्लीमा परेर रोएको आवाज, बस्तीमा मान्छेहरू चिच्याउँदै भाग्दै गरेका आवाजहरू।
‘के युद्ध फेरि सुरु हुन्छ? युद्ध फेरि सुरु भयो भने फेरि बन्दुकहरू पड्किनेछन्, मान्छेहरू लास बनेर ढल्नेछन्, फेरि खाडलहरू खनिनेछन्, फेरि लासहरू पुरिनेछन्, फेरि गाउँ’बस्तीहरू उजाडिनेछन्, फेरि लस्करका लस्कर मान्छेहरू मुग्लान भासिनेछन्। फेरि एक नेपालीले अर्को नेपालीलाई चिन्न छोड्नेछ। र म फेरि युद्धमा होमिनेछु। युद्ध गर्दागर्दै बूढो हुनेछु र युद्ध गर्दागर्दै मेरो जीवन समाप्त हुनेछ। मेरा सपनाहरू पनि मेरो लाससँगै माटाले पुरिनेछन्।’
ऊ फेरि कोकोहोलो गर्दै रुन थाल्यो। उसले आफ्नो घर सम्झ्यो, आफ्ना आमाबाबु सम्झ्यो, भाइ’बहिनी र साथीहरू सम्झ्यो। आफूले लडेका युद्धहरू सम्झ्यो। युद्धमा आफूले मारेका मान्छेका लासहरू सम्झ्यो। ऊझन् विक्षिप्त बनेर चिच्याउन थाल्यो।
उसले एक्कासि आफ्नो चिच्याहटभन्दा पनि चर्का आवाजहरू आइरहेको सुन्यो। कोठाबाहिर हेर्यो। छापामारहरू भयाक्रान्त अनुहार बोकेर हतारिँदै क्यान्टोनमेन्टभित्र छिरिरहेका थिए। छापामारहरू यति धेरै त्रसित र भयभीत भएको ऊ पहिलोपल्ट देखिरहेको थियो।
अब भयभीत हुने पालो उसको थियो। उसले देख्यो क्यान्टोनमेन्टभित्र छापामारहरू मात्र होइन, उनीहरूको पछि’पछि भयाक्रान्त ठूला कमरेडहरू पनि आत्तिँदै प्रवेश गरिरहेका थिए। ‘कसरी क्यान्टोनमेन्टभित्र आइपुगे हाम्रा वरिष्ठ कमरेडहरू?’ ऊ छक्क पर्यो। ऊ कमरेडहरूलाई हेर्दै थियो कमरेडहरूको पछि’पछि विरूप अनुहार लिएर राजनीतिक दलका नेताहरू पनि आपसमा गडा गर्दै क्यान्टोनमेन्टभित्र छिरिरहेको देख्यो उसले।
क्यान्टोनमेन्टभित्र छिर्नेबित्तिकै विभिन्न उचाइ, मोटाइ, रङ्ग र अनुहारका लोकतान्त्रिक नेताहरू र कमरेडहरूबीच वाक्युद्ध शुरु भयो। वाक्युद्धसँगसँगै मल्लयुद्ध पनि हुन थालेको देखेपछि ऊ वाल्ल पर्यो। आफूले विगतमा लडेको युद्धभन्दा पनि भयानक युद्ध शुरु हुन लागेको देख्दा उसलाई भक्कानो छोडेर रुन मन लाग्यो।
‘राजनीतिक दलका नेताहरू पनि क्यान्टोनमेन्टभित्र! किन आए यिनीहरू?’ उसले केही सोच्न भ्याएकै थिएन, क्यान्टोनमेन्टको ठूलो गेट बन्द भएको आवाज सुन्यो र देख्यो चारैतिरबाट विदेशी अनुहारका मान्छेहरूले क्यान्टोनमेन्टलाई घेरिसकेका थिए। वरिपरि बुङ्बुङ्ती धूलो उडिरहेको थियो। धूलैधूलोको बीचमा रङ्गीविरङ्गी विदेशी न्डाहरू फर्फराइरहेका थिए र ती वर्गाकार ण्डाहरूको बीचमा उसले एउटा पनि तीनकुने नेपाली ण्डालाई देखेन। ‘हाम्रो ण्डा कता गयो?’ ऊ जोड’जोडले चिच्याउन थाल्यो। विक्षिप्त अवस्थामा नै उसले आफू बसेको कोठाबाट बाहिर फाल हाल्यो। ऊ भुइँमा बजारियो। उसका गोडा र हातमा फलामको सिक्री बाँधिएको थियो।
ऊ युद्धको अभिघातले मानसिक रूपमा विक्षिप्त बनेको एक विद्रोही छापामार थियो, जसलाई क्यान्टोनमेन्टभित्र कैद गरिएको थियो।
हिमाल खबरपत्रिका
पूर्णाङ्क २०५
