Skip to content

उत्तराखण्डका चारधाम घुम्दा


बद्री, केदार, गङ्गोत्री र जमुनोत्रीलाई उत्तराखण्डका चारधाम भनिन्छ । पानी परेर पहिरो जानथालेपछि आवागमन अबरुद्ध हुने भएकोले गङ्गोत्री, जमुनोत्रीको यात्रा अति नै विकट हुँदोरहेछ । जेठको २२ गते र असारको २६ गते प्रस्थान गरेर दुई पल्टसम्म प्रयास गर्दा पनि बद्री, केदारभन्दा अगाडि जान नसकिएकोले हाम्रो चारधाम गर्ने धोको पूरा हुनसकेको थिएन । यसपालि, दुई महिना अघिदेखि प्रयत्न गर्दा पनि रेलको टिकट पाउन सकिएन । दिल्लीलगायतका सहरमा ४० डिग्रीभन्दा माथिको तापक्रम रहेको थाहा हुँदाहुँदै पनि हामीले जेठ ७ गते हवाईमार्गबाट दिल्ली प्रस्थान गर्ने निर्णय गर्‍यौँ म, मेरी श्रीमती अजिता र बहिनी अपराजिता । प्लेनबाट उत्रनासाथ तातो भुङ्ग्रोमा परिने कल्पना गरिरहेका हामीलाई उद्घोषिकाले बाहिरको तापक्रम ३१ डिग्री सेल्सिएस भएको सुनाउँदा पहिले त विश्वासै भएन । ४१ भनेको होला जस्तो लाग्यो तर दिल्लीको आफ्नो मौसम हुँदैन भनेको पनि ठीकै रहेछ । आन्ध्र प्रदेशमा उठेको समुद्री आँधीको कारण दिल्लीको तापक्रम स्याटसुट्टै तल झरेछ । एयरपोर्टबाट दिल्ली सहर परिक्रमा गर्ने वातानुकूलित बस पाइँदो रहेछ जहाँ उत्रिए पनि ५० रुपियाँ । पहिलेपहिले लालकिल्लामा उत्रिएर सामुन्नेको बसपार्कबाट हरिद्वारका लागि बस लिने गरिन्थ्यो तर एउटा उपबुज्रुकले वातानुकूलित बस यहाँबाट पाइन्छ भनेर अर्कै ठाउँमा उतारिदियो । कहाँ पाउनु वातानुकूलित बस ? दुईतीन घण्टा सित्तैमा खेर गयो । आखिर ५ बजेतिर देहरादून जाने बस फेला पर्‍यो । बाटो मर्मत भइरहेकोले कछुवाको तालमा हिँडेको बसले ११ बजे हरिद्वारको बीच सडकमा उतारिदियो । कुम्भमेलाको भीड व्यवस्थापन गर्ने सिलसिलामा बसहरूलाई राजमार्गमै रोकिँदोरहेछ । अब आधा रातमा कहाँ जाने ? रिक्सावालाले कमाउने मौका पाइहाल्यो । भनेअनुसारको भाडा तिर्नैपर्‍यो । अझ कमिसन कुम्ल्याउने सुरमा होटेलका नाम पनि गनाइरहेको थियो । हामीले पहिले विष्णुघाटस्थित जयपुरियाको शान्ति भवन लैजा, त्यहाँ नपाए अन्यत्र हेरौंला भनेर रिक्सालाई त्यतै सोझ्यायौँ । नभन्दै कोठा पनि पाइयो कमिसनको चक्करमा लाग्न परेन ।

भर्खरै कुम्भमेला सकिए पनि मान्छेको भीड निकै बढी थियो । मेलाको जरो उत्रिनसकेको कारणले होला महँगी पनि अचाक्ली बढेको पाइयो । पहिले चारधामका लागि १०/११ हजारमा ट्याक्सी पाइन्थ्यो । अहिले बढेर २३ हजार चानचुन । त्यो पनि तुरुन्त बन्दबस्त नगरे बढ्न सक्ने ।

काठमाडौँमा भा.रु. साट्न नपाएर बल्लतल्ल महिनौँ लगाएर १५/१५ हजारको जोहो गरिएको थियो । अब ट्याक्सीले नै २३ हजार लिने भएपछि बस्ने खाने कसरी ? मैले आँट गर्न सकिनँ । बेलिविस्तार सुनेपछि उनीहरू पनि आत्तिए तर त्यो पनि उम्केला जानुस्, लिइहाल्नुस् भनेपछि यन्त्र मानवजस्तै जडवत फर्किएर म एजेन्टकहाँ पुगेँ । बिहान सबेरै हिँड्ने समय मिलाएर पेस्कीस्वरूप १४ हजार चानचुन गनिदिएँ । एम्बेसेडर गाडी जसै देहरादूनबाट पहाडको चक्कर लगाउँदै मसुरीतिर लाग्यो, शीतल बतास र मनोरम दृश्यले हाम्रो रापताप पनि हेर्दै गयो । बाटोमा ओखर, स्याउ, खुर्पानीका रमणीय बागबगैँचाहरू र कान्लेबारीमा काम गरिरहेका मान्छेहरू देख्ता नेपालको झझल्को लागिरहेको थियो तर मसुरी पार गरेर जमुनोत्री लागेपछि विकट बाटो सुरु भयो । पहिलेको तुलनामा अहिले बाटो निकै राम्रो भएको कुरा ड्राइभर सुनाइरहेका थिए । पहिले गाडी हनुमानचट्टीमैं रोकिन्थ्यो रे अब भने रानाचट्टीसम्म गाडी पुग्दोरहेछ । गाडीबाट उत्रनु के थियो, घोडा, पालकी, कण्डी (डोको) वालाले घेरिहाले । डोको पालकी बोक्ने सबै सुदूरपश्चिमका नेपाली । पहिले ३/४ सयमा पाइने कण्डी पनि अब ११/१२ सय भन्न थालेछन् । पहिले झमटको उचाइ भएकोले सुरुमै सातु घोलेर ब्लडप्रेसरलगायतका औषधि निलिहाल्यौँ । अक्सिजनको कमी भएकोले होला, हिँड्दा सास फुलेको अनुभव भइरहेको थियो । निकै मोलतोलपछि उनीहरू एक/एक हजारमा बोक्न तयार भए । हामी पनि डोकोमाथि सबार भएर उकालो लाग्यौँ । नाकछुने ठाडो उकालो देख्ता त १२ सय पनि कमैजस्तो लाग्यो । अरूको त के दम ? धन्न नेपालीका छोराले त्यस्तो उकालोमा ७० के.जी.सम्मका मान्छेलाई बोकेर पहाडको शिखरमा पुर्‍याइदिँदा रहेछन् । तल जँघार हेर्दा कहाली लाग्ने साँगुरोबाटो । डोकोमाथि चढेर म पहाडी दृश्य हेरिरहेको थिएँ । सोचिरहेको थिएँ कुन आस्था र विश्वासले तानेको होला यो विकट ठाउँमा यतिविधि मान्छेलाई ? कोही स्वाँस्वाँ गरेर उकालो चढिरहेका थिए । कोही घोडा पालकीमाथि बसेर पहाडको फन्को लगाइरहेका थिए । भर्खरका केटाकेटीदेखि कुपि्रएका बूढाबूढीसम्म । मानिसहरूको काँधमा चढी कुन देवपुरीमा जाने हो’ देवकोटाको शब्दहरूले मलाई उपहास गरेजस्तो लागिरहेको थियो । यो सब उपक्रमबाट धर्म कमाइयो कि पाप ? मनले बारम्बार प्रश्न गरिरहेको थियो ।

जमुनोत्तरीमा पहिलोपल्ट हिमालको दर्शन भयो तर विश्वको तापक्रम बढिरहेको कारणले होला त्यहाँ पनि हिउँ पग्लेर शिखरहरू खपटे र काला देखिन्थे । जमुनाको उद्गमस्थलबाट बग्दै आएको पानीको बहाव पनि पातलै थियो तर शिखरमा पुगेपछिको अनुभव बयान गरेर साद्धे छैन । स्वच्छ हावा, मनोरम दृश्य र त्यहाँको पवित्र वातावरणले एक प्रकारको आत्मिक आनन्द र शान्ति प्रदान गरेको अनुभव भयो । जमुनोत्रीको कुण्डमा नुहाएपछि जीउ दुखेको थकाई सबै मेटियो । तातोपानीबाट निस्कनै मन नलाग्ने । माथिको तप्तकुण्डमा त चामल पोको पारेर डुबाउँदा १०/१२ मिनेटपछि भात भएर उत्रदोरहेछ । प्रकृतिको लीला पनि बुझिनसक्नु छ । तल छङ्छङ गर्दै बगिरहेको चिसो पानी, माथि भकभकी उम्लिरहेको तातोपानी । पालोपालो जमुना मन्दिरको दर्शन गरेर हामी ओरालो लागिहाल्यौं । तल फेदीमा पुग्दा ५ बजिसकेको थियो । त्यसपछि हामी गङ्गोत्रीको बाटो लाग्यौँ । यात्रामा मुख्य कुरो बेलैमा पुगेर बास बस्नुपर्दोरहेछ । रात परेपछि बास नपाइने, पाए पनि चर्को भाडा । त्यसमा पनि चलनचल्तीको ठाउँमा बढी भीड हुने भएकोले कोठाको भाडा चर्को भन्दारहेछन् । जङ्गलको शान्त ठाउँमा हामी बेलैमा बास बस्यौँ । चिया पसल थापेर बसेका एकजना नेपालीकहाँ बेलुकाको खाना खाइयो । खाना पनि के भन्नु ? चुरो नमरेको भातमा उसिनेको सिमीको झोल ।

गङ्गोत्रीसम्म नै मोटर जाने भएकोले हामी ढुक्क थियौँ तर भीड यति कि गाडी राख्ने ठाउँ नभएको कारण झण्डै दुई किलोमिटर ओरैदेखि पैदल हिँड्नुपर्‍यो । गङ्गोत्री पुग्नेबित्तिकै नाम, थर, वतन सोध्ने पण्डाहरूले घेरिहाले । सब आ-आफ्ना क्षेत्रको खातापाता लिएर बसेका । श्राद्ध गराउनेहरूको पनि राम्रै भीड थियो । भीड भएकोले हामी पालोपालोसित नुहाउने तरखरमा लाग्यौँ । पहिलो पालो मेरै भएकोले पहिलो अनुभव पनि मैले नै गरेँ । भर्खर हिउँ पग्लेर आएको पानी त छुनै नसकिने रहेछ । डुबुल्की मार्न खोजेको त कठाङ्ग्रिएर झण्डै जमेको । एकजना साधु बाबासित लोटा मागेर पानी खन्याएँ । पितृहरूलाई जलअञ्जुली दिएर म आउँछु भन्दै बाहिर निस्किएँ तर महिलाहरूलाई त्यति गाह्रो भएन । उनीहरूले त राम्रैसित डुबुल्की लगाएर नुहाए । र्फकंदा भर्खर गोमुखबाट निस्केको नदीको गङ्गाजल पनि लिएर आएँ ।

गङ्गोत्री निकै रमणीय स्थल रहेछ । त्यहाँका रुख, पात, ढुङ्गा सबै पावन र ऐतिहासिक प्रतित भएको मैले अनुभव गरेँ । त्यहाँका चराचुरुङ्गी पनि भिन्दै स्वभावका रहेछन् । हाम्रा गाउँघर सहरका कागहरू निकै चङ्ख हुन्छन् । मान्छेको नजिक पर्दैनन् । गुलेली उजाउनुभन्दा पहिले भागिसक्छन् तर जापानका काग निकै जब्बर हुँदारहेछन् । मान्छेको काँध, काँधमा चढ्न आउने, खाने कुरा देखे ठाडै खोस्न आउने । गङ्गोत्री, जमुनोत्रीका शिखरहरूमा पाइने कागको चुच्चो पहेँलो हुँदोरहेछ । तिनीहरू कुनै महात्माजस्तै शान्त र सौम्य भएको मैले पाएँ । केही दियो भने बिस्तारै आएर खाने, नत्र वास्ता नगर्ने ! स्थानविशेषको अवस्थाले पनि त्यहाँका उद्भिज, पशुपक्षी र मान्छेहरूलाई प्रभावित पार्ने रहेछ । मुख्य अप्ठ्यारो भनेको गङ्गोत्री जमुनोत्रीको यात्रा सकुशल सम्पन्न भएपछि अब पार पाइयो भन्ने लागेको थियो । अब केदारनाथका लागि गौरीकुण्डतिर प्रस्थान गर्नु थियो तर अगाडि बढ्दै गएपछि आइपर्ने सङ्कटको आभाष हुनथाल्यो । फाँटा भन्ने ठाउँबाट हेलिकोप्टरले केदार पुर्‍याएर ल्याइदिँदो रहेछ । अशक्त बूढाबूढी र धनाढ्यहरू हेलिकोप्टरबाट जाने-आउने गर्दारहेछन् तर प्राकृतिक दृश्य हेर्दै यात्रा गर्नुको आनन्द १५ मिनेटको हेलिकोप्टर यात्राले दिन सक्दैन । गाडीको लाम देखेर हामी आशङ्कित भइरहेका थियौँ । कहिले गौरीकुण्ड पुगिएला ? बास पाइएला, नपाइएला ? हामी सोचिरहेका थियौँ । यत्तिकैमा गाडी रोकियो । हाम्रो ड्राइभरले त्यहाँ बसेका ड्राइभरसित के कुरा गर्‍यो कुन्नि गाडीको जाम भएकोले गौरीकुण्ड रातिमात्र पुग्न सकिने खबर सुनायो । राति पुगेर बास खोज्दै हिँड्नुभन्दा ३० किलोमिटर अगाडि नै सीतापुरमा बास बस्नु ठीक होला जस्तो भयो । यही कारणले होला सीतापुर पनि छोइनसक्नु भएको । एक रातको १२ सय भाडा । सबैले मौकामा चौका हान्ने नै भए । राति अघिल्लो दिन गएर फर्केका नेपालीहरूसित पनि त्यहीँ होटेलमा भेट भयो । घोडा, कण्डी, पालकी बेपत्ता महँगो । जति भन्यो उति तिर्नपर्ने नत्र अर्काले उछिनिहाल्ने । यो सब सुनेपछि राति निद्रा पनि लागेन । जम्मा १५/१५ हजार बोकेर हिँडेको त्यो पनि २३ हजार चानचुन त ट्याक्सीलाई नै बुझाउन पर्‍यो । एक रातको एक हजारभन्दा कममा कोठामा नपाउने भएपछि कसरी यात्रा सम्पन्न गर्ने ? कोल्टो फेर्दाफेर्दै रात जानेजस्तो भयो । श्रीमतीजीले मेरो अवस्था बुझेर चिन्ताहरण गरिदिइन् । ‘केही चिन्ता लिनुपर्दैन यस्तैपर्ला भनेर मैले बेग्लै अलिकति लुकाएर राखेकी छु, सब ठीक हुन्छ ।’ उनको दिव्यवाणी मेरा लागि रामवाण सिद्ध भयो । लामो सास फेरेँ मन हलुको भयो । एकछिनमै म त घुर्न थालेँछु ।

भोलिपल्ट पूर्व निर्धारित कार्यक्रमअनुसार २ बजे नै उठेर नित्यकर्म सिध्याइयो । बाटो सुनसान र खुला थियो । गौरीकुण्ड नुहाएर ४ बजेको झिसमिसेमा हामी केदारनाथको बाटो लाग्यौँ । पालकी, कण्डी चढ्ने हाम्रो सागबास थिएन । सबैभन्दा सस्तो एक-एक हजारमा घोडा बस्दोबस्त गरियो । कस्तो भीड ? बाटो पाउन पनि कठिन । घोडालाई आफ्नो हिँड्ने बाटो मात्र होइन, आफ्नो पानी खाने थलो, दिसापिसाव गर्ने ठाउँ सबै कण्ठस्थ हुँदोरहेछ । रामबाडा पुगेपछि घोडाहरू आ-आफ्नो पसल अगाडि पुगेर रोकिँदारहेछन् । त्यसैले घोडाहरूलाई बाटो लगाएर छोडीदिँदा रहेछन् । एक जना मान्छेले चार ओटा घोडासम्म हाँक्ने गरेको पनि देखियो तर त्यसो गर्दा चट्टानको चुच्चोमा ठोक्किएर कतिजना रगताम्मे भएको, घोडा आपसमा लड्दा मान्छे लडेको र दुर्घटना भएको पनि देखिएकोले दामकाम गर्दाकै बखतमा प्रत्येक घोडाको पछाडि एउटा मान्छे हुनुपर्छ भनेर बाचाबन्धन गराइएको थियो । घोडा कहिले भिरतिर, कहिले छेउतिर हिँड्दा आफूले निकै चनाखो हुनुपर्दोरहेछ । केदारनाथमा दर्शन गर्नेको लाम देख्दा दिनभरिमा पनि पालो नआउलाजस्तो लागेको थियो । अघिल्लो दिन बास बसेकाहरू बिहान ४ बजेदेखि नै लामलाग्दा रहेछन् तर व्यवस्थापन राम्रो भएकोले ३ घण्टाभित्रै हामीले पनि दर्शन पायौँ । अब छिटोभन्दा छिटो गौरीकुण्ड पुगेर ड्राइभरलाई बोलाउनु थियो । ओरालो बाटो घोडा र सवार दुबैका लागि कष्टकर हुँदोरहेछ । खुट्टा र घुँडाको समस्याले गर्दा अजितालाई निकै सास्ती भयो । रामबाडा पुगेपछि पानीले छोपिहाल्यो । गौरीकुण्ड पुग्दा अपरान्हको ४ बजेको थियो । मान्छेको पसारो, स्यानोतिनो मेलै लागेको रहेछ गौरीकुण्डमा । सब तल झर्नेताकमा मोटर पर्खेर बसेका । पहिले त ड्राइभरसित सम्पर्क गर्ने प्रयास गरेँ तर फोन, मोबाइल केही नचलिरहेको थाहा भएपछि अर्को समस्या खडा भयो । कसरी तलसम्म पुग्ने ? पुलिसलाई आफ्नो दुखेसो सुनाएँ तर ऊ पनि के गर्न सक्थ्यो र ? जुन गाडी पाउनुहुन्छ झटपट चढेर तलतिर लाग्नुस् उसको जवाफ थियो । यात्री उतारेर र्फकन लागेको गाडीमा सब धुरिएर चढ्दा रहेछन् । ठेलमठेल गरेर अपराजिता एउटा गाडीमा चढ्न सफल भइन् । हामी बाहिरै रहृयौँ । ए.ए.ए. भन्दाभन्दै गाडी हुइँकिहाल्यो । अब कहाँको गाडी चढेर कहाँ पुगिन् या बीचैमा उत्रिइन् केही थाहा भएन । भर्खर मुटुको अप्रेसन गराएको मान्छे, परेन फसाद ! कतै उत्रिइन् कि भनेर वरिपरि खोज्यौँ तर कतै देखिएन । अर्को गाडीमा न्वारानदेखिको बल निकालेर हामी पनि घुस्यौँ । सोनप्रयागमा पार्किङ गर्ने रहेछ । त्यसले हामीलाई त्यहीँ उतारिदियो । सोनप्रयागमा गाडीहरूको मेला लागेको थियो । हरेक गाडीमा चिहाउँदै हिँडे । नभन्दै एउटा जीपबाट अपराजिताको आवाज आयो । खुसीको सिमै भएन । हराएको साथी भेटेपछि तनावमुक्त भइयो, मन प्रफुल्लित भयो । झटपट हामी पनि त्यही जीपमा खाँदिएर बस्यौँ । तर हाम्रो खुसी धेरै समयसम्म टिकेन । अलिपर पार्किङ गर्ने ठाउँ फेलापरेपछि त्यो जीप पनि त्यहीँ थान्को लाग्यो । सिमसिम पानी परिरहेको थियो । फोन मोबाइल केही नचलेपछि ड्राइभरलाई बोलाउने कुरो पनि भएन । साँझ पर्न लागिसकेको थियो । आइमाईहरूलाई एउटा होटेलको प्राङ्गणमा ओत लगाएर म अगाडि बढे । थाकेर लखतरान भए पनि अर्को उपाय थिएन । पहाडको ७ किलोमिटर उकालो बाटो पार गरेर म सीतापुर पुगेँ । ‘मोर्निङवाक’ गर्ने गरेको काम लाग्यो । ड्राइभरलाई भेटेपछि समस्या समाधान भइहाल्यो । हामी बद्रीनाथतिर लाग्यौँ । ड्राइभरले हाम्रो खल्तीको हबिगत बुझेको हुनाले बेचल्तीको नयाँ बाटोबाट लिएर गयो । त्यस दिनको बास ओखीमठमा हुनेभयो । बद्रीनाथलाई जाडोभरि जोशीमठमा सारेजस्तै केदारनाथलाई हिउँदभरि ओखीमठको मन्दिरमा राख्दारहेछन् । त्यहाँ अरविन्द ट्रस्टले चलाएको यात्री निवास रहेछ सस्तो, राम्रो, ठाउँ पनि शीतल । राति घनघोरको आँधीबेरी आयो । फलामका झ्यालढोकाको आवाजले सुत्नै सकिएन । केही नलागेपछि मोजा, सल र रुमालले झ्यालढोकालाई बाँधेपछि मात्र निदाउन सकियो ।

ओखीमठको बाटो जङ्गलबीचबाट जाने भएकोले अति नै रमणीय लाग्यो । निकै उचाइको त्यो वन कस्तुरीमृगको आरक्षित क्षेत्र रहेछ । चमौलीमा बाटो मिसिएपछि जाम र भीड सुरुभयो तर पनि हामी ३ बजे बद्रीनाथ पुगिसकेका थियौँ । पार्किङ क्षेत्र निकै ठूलो बनाए पनि गाडीहरूको भीडले गर्दा नजिकहुँदो गाडी राख्न पाइएन । गाडी खोज्ने पनि समस्या हुनेभयो । नजिकको होटेलमा दररेट सुनेर हाम्रो होस्हवास् गुम भयो । भोलिपल्ट ड्राइभर भन्थ्यो मान्छेले एक रातको ४/५ हजारसम्म तिरेछन् । नेपाली धर्मशालाामा पनि कोठा खाली थिएन । खोज्दै जाँदा पुलकै छेउमा मानव कल्याण आश्रममा काम चलाउ कोठा पाइयो । एक रातको छ सयमा कोठा मिलाई दिएवापत आश्रमको मान्छेलाई थप ५० रुपियाँ घूस । घूस नदिएसम्म कोठा छैन भन्दारहेछन् । केदारनाथको भन्दा बद्रीनाथमा दर्शनार्थीको लाम अझ लामो थियो । साँझको दर्शन राम्रो हुने भएकोले हामी पोकोपुन्तरो थन्क्याएर लाममा उभिइहाल्यौँ । घनघोर पानी पर्‍यो । टिनको सेडल छड्के पानी के छेक्थ्यो ? पोलिथिनको रेनकोट किनेर भिरेको पनि काम लागेन । त्यो उचाइमा भिजेपछि काम त छुट्ने नै भयो । हामीले त जे भए पनि बाक्लो लुगा लगाएका थियौँ । साधारण लुगाको भरमा बच्चा बोकेर लाममा उभिएका बूढाबूढी आइमाईहरूको हालत हेरी नसक्नु थियो । भगवान्का मन्दिरमा पनि भेदभाव हुँदोरहेछ । मोटो रकम तिर्नसक्नेले सीधै पनि दर्शन पाउँदा रहेछन् । यो विभेदपूर्ण नियम बनाउने पनि कुनै धर्मात्मी मान्छे नै होला ! साढे तीन बजे लाम लागे पनि दर्शन गरेर र्फकंदा ९ बजेको थियो भर्खर मुटुको अप्रेसन गरेकी अपराजितालाई गाह्रो भइरहेको थियो । सारा जीउ शीताङ्ग । सातु घोलेर औषधि खुवाइयो । तातो चिया खाएपछि मात्र उनको कम्पन कम भयो । रात जेनतेन गुजारियो । अब त्यहाँ धेरै बस्नु उचित थिएन । जतिसक्दो छिटो तल झर्नु उत्तम भएकोले हामी चियासिया खाएर ओरालो लाग्यौँ । जोशीमठबाट तल झर्दै गएपछि ठीक हुँदै गयो । यात्राका लागि सातु संजिवनी नै रहेछ । भोकलाग्दा पौष्टिक खुराक, लेक लाग्दा औषधि ।

बीचमा एक रात सरकारी गेस्ट हाउसमा बसेर हामी आठौँ दिन ऋषिकेश पुग्यौँ । पूर्व कार्यक्रमअनुसार दुई दिन ऋषिकेश बसियो । हरिद्वारभन्दा ऋषिकेश अलि गर्मी लाग्यो । र्फकंदा फेरि उही वातानुकूलित बसको चक्करमा परियो । मान्छे नभरिई वातानुकूलित बस जाँदोरहेनछ । ९ बजेदेखि कुर्दाकुर्दा ११ बजे बस नजाने खबर आयो । अर्को बस बन्दोबस्त गर्दागर्दै अबेला भइहाल्यो । यस्तो जानेको भए खानपिन गरेर चढिन्थ्यो, निख्लाम परियो । दिल्ली पुग्दा ५ बजिसकेको थियो । मौसमले भने हामीलाई माया गरेकै भन्नुपर्छ । गुजरातमा आएको समुद्री आँधीले गर्दा दिल्लीको तापक्रम फेरि पनि ३१ डिग्री । पहाडगञ्जमा केही सस्तो हुने भए पनि सुरक्षाको दृष्टिले हामी बास खोज्दै केरोलबागमा पुग्यौँ । बल्लतल्ल एसी नचल्ने थोत्रोकोठो पाइयो १२ सयमा । झ्याल नभएकोले बाहिरभन्दा कोठामा गर्मी । भोलिपल्ट एयरपोर्ट पुग्दा हामीसित जम्माजम्मी पाँच सय रुपियाँ थियो । एयरपोर्टमा स्यान्डवीच किनेर खाँदा त्यो पनि सकियो । कुनै कारणवश त्यो दिन प्लेन नचलेको भए एयरपोर्टमै भोकभोकै पसारो परिनेरहेछ । यसपालिको तीर्थयात्रा यस्तै भयो, केही हैरानी, केही साहसिक र रमाइलो । सम्झेर ल्याउँदा हामीले अनुभव गरेको मानिसक शान्ति, आत्मिक आनन्द र ताजापनको तुलनामा सानातिना समस्या र कठिनाइलाई नगण्य भन्नैपर्छ र त्यो स्वच्छ वातावरण र प्राकृतिक रमणीयताबीच हामीले अनुभव गरेको आध्यात्मिक सन्तुष्टिलाई कुनै पनि हिसाबले व्यक्त गर्न सकिन्न । केही पाठ पनि सिकियो । यात्रा गर्दा चाडबाड, मेलाको भीडभाड र विशेष अबसर नपार्नु नै उत्तम हुँदोरहेछ । पहाडको यात्रामा मौसमको बिचार पनि गर्नुपर्दोरहेछ र रेलबाट जाने हो भने तीन महिना पहिले नै टिकट लिइसक्नुपर्छ । एकजना पत्रकारको भनाइअनुसार यस वर्षको कुम्भमेलामा करोडौँ भक्तजनको ओइरो लागेको थियो, अर्बौँको कारोबार भयो । सबैभन्दा बढी ट्राभल एजेन्सी, होटेल र यातायातका मान्छेले कमाए । नेपालमा प्राकृतिक सौन्दर्य भएका धार्मिक ऐतिहासिकस्थलहरूको कमी छैन । परापूर्वकालदेखि धार्मिक तपोवनका रूपमा प्रसिद्धि पाएको नेपालले थोरै मात्र प्रयास गरेमा धार्मिक पर्यटनबाट बर्सेनि अर्बौँको विदेशीमुद्रा आर्जन गर्नसक्छ तर झण्डै ७० करोड हिन्दू भएको छिमेकी पाएर पनि उल्टै कस्तुरीमृगले बाहिर बास्ना खोजेर भौँतारिएझँै हामी दक्षिणतिर दगुरिरहेका छौँ । परिणामस्वरूप हाम्रो तीर्थाटनले पनि भुक्तानी सन्तुलनलाई प्रतिकूलरूपमा प्रभावित पारिरहेको छ । योजनाबद्ध प्रयास गर्ने हो भने धार्मिक पर्यटनलाई विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत बनाउन सकिन्छ । यसतर्फ योजनाकारको ध्यान जानैपर्ने हो तर खोइ ?

मधुपर्क २०६७ मंसिर

1 thought on “उत्तराखण्डका चारधाम घुम्दा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *