Skip to content


कवि रामबाबु सुवेदी नेपाली काव्य विधाका मूर्धन्य प्रतिभा हुन् । कविता र बालसाहित्यमा समान किसिमले कलम चलाउन सफल यिनका एक्काइस ओटा पुस्तकाकार कृतिहरू प्रकाशित भइसकेका छन् । सरल, सहज र मर्मस्पर्शी किसिमबाट कुनै पनि विषयको प्रस्तुति दिनु कवि सुवेदीको विशेषता हो ।

‘झस्किएको सिन्दूर’ कवि रामबाबु सुवेदीको नवीनत काव्य कृति हो । यस काव्य कृतिभित्र बैसट्ठी ओटा लामा, छोटा कविताहरू समावेश गरिएका छन् । आफू बैसट्ठी वर्ष पुगेको उपलक्ष्यमा कवि सुवेदीले यो सङ्ग्रहको प्रकाशन गरेका हुन् । २०४४ सालदेखि लिएर २०६५ सालसम्मका कविताहरूले यहाँ प्रवेश पाएका छन् । सङ्ग्रहको सबैभन्दा पहिलो छोटो कविता ‘हुम्लाकी षोडशी नानी मा ! हुम्लावासीहरूको दिनचर्या र त्यहाँको गरिबीलाई कविले साह्रै राम्ररी प्रस्तुत गरेका छन् । दोस्रो कविता ‘हे देवी ! हे भवानी ! मा कविले आफ्नो भक्तिभाव जाहेर गरेका छन् ।

यस सङ्ग्रहका लामा कविताहरूमा ‘पुरन्चौर’ र ‘जापान’ पर्दछन् । ‘झस्किएको सिन्दूर’ कविताको शीर्षकबाट यो सङ्ग्रहको नाम राखिएको छ । यस सङ्ग्रहभित्र कवि सुवेदीले प्रकृति, संस्कृति, विश्वशान्ति, ईश्वरभक्ति, मानवता, देशप्रेम, प्रजातन्त्र, व्यक्तित्व महिमा, नारीमनोव्यथा आदिलाई विषयका रूपमा वरण गरेका छन् । नारी, आमा र पत्नीका विविध अबस्थाहरूको चित्रण गरिएको छ । आमा कविता यस सङ्ग्रहको पहिलो कविता हो । आमाको महिमा उनले मीठो किसिमले गाएका छन् ।

‘राष्ट्रिय झन्डा’ यस सङ्ग्रहको अर्को विशिष्ट कविता हो ः

झन्डा सगरमाथा हो! मायामा फहरिन्छु म
झन्डा अमरगाथा हो! गाथामा लहरिन्छु म
मेरै माया र गाथामा भेटिन्छन् लाख देवता
मान्छे नै हो महाझन्डा! मान्छे नै देश एउटा ।। (पृ. ११५)

वर्तमानमा राष्ट्रिय झन्डामाथि हिलो छ्याप्नेहरूलाई यस कविताका माध्यमबाट कविले राम्रो उत्तर दिएका छन् । समसामयिक विषयदेखि लिएर प्राचीन नेपाली गौरवगाथा एवं अध्यात्मजस्ता विषयलाई यहाँ समेटिएको छ । सूक्ष्मातिसूक्ष्म किसिमबाट विषयको गहनतालाई काव्यात्मक बान्कीद्वारा पर्गेल्न कवि रामबाबु यस सङ्ग्रहमा एकदमै सफल देखिएका छन् । आफ्नो जीवनको उत्तरार्द्धको प्रौढ अभिव्यक्ति खर्चिएर कविले सङ्ग्रहलाई उत्कृष्ट सावित गराएका छन् । वर्णमातृक छन्दमा रमाएर कविता लेख्न पल्किएका कवि सुवेदीले यहाँ वर्णमातृक छन्दका एकसेएक छन्द प्रयोग गरेका छन् ः शार्दूलबिक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, अनुष्टुप, इन्दिरा, शालिनी, उपजाति, स्रग्धरा, तोटक छन्दहरूको विन्यास गरेर प्रत्येक कवितालाई उत्कृष्ट तुल्याइएको छ । यस सङ्ग्रहको अन्तिम कविता ‘स्विट्जरल्यान्ड’ हो ।

‘स्वीज नेपाल जस्तो छ! नेपाल स्वीज नै सरि
दोटै उस्तै-दुरुस्तै छन्! नामी छन् विश्व नै भरि
तर नेपालले धेरै सिक्नु छ स्वीजबाट रे !
पवित्र मित्रताभित्र तेरोमेरो हुँदैन रे ! (पृ. १५४)

स्विट्जरल्यान्डको वर्णन गर्दै कवि आफ्नो देशको सुन्दरतालाई पनि त्यत्तिकै प्राथमिकता दिएर प्रस्तुत गर्दछन् । मूलतः कवि रामबाबु सुवेदी यस कवितासङ्ग्रहभित्र राष्ट्र, राष्ट्रियता र प्रजातन्त्रका विषयमा धेरै नै संवेदनशील बन्दै आफ्नो स्वीकृत अभिव्यक्ति जाहेर गर्दछन् । राष्ट्रको सार्वभौमिकता र अखण्डतालाई उनले शिरोधार्य गरेका छन् । उपमा, रूपक, अतिशयोक्ति, विरोधाभास, उत्प्रेक्षा समानान्तरता, दृष्टान्त, अर्थान्तरन्यासजस्ता अलङ्कारविधानले रामबाबुका कविताहरू अरू ओजनदार बन्न पुगेका छन् ।

सुवेदीको ‘झस्किएको सिन्दूर’ नेपाली कविता परम्परामा एउटा सुन्दर सार्थक नाम राख्ने कृतिका रूपमा आएको छ । सुन्दर आवरण चिल्लो नौनीदार कागजसाथै सबै कविताहरूलाई टेकवीर मुखियाका सुन्दर चित्रद्वारा मूत्र्याइएको हुँदा यो कृति अझ उत्कृष्ट हुनपुगेको छ । घनश्याम कँडेल, डा. महादेव अबस्थी, रामकुमार पाण्डेका समालोचनात्मक लेखहरूले कवि सुवेदी र कलाकार मुखियाको कृतित्वलाई सहजै बुझ्न सकिने हुँदा यो कृतिको गरिमा स्वतः नै बढेको छ । कृतिकार रामबाबु सुवेदीलाई बधाई ।

कृति ः झस्किएको सिन्दूर (कवितासङ्ग्रह)
कवि ः रामबाबु सुवेदी
प्रकाशक ः एकता बुक्स डिस्टि्रब्युटर्स प्रा.लि. काठमाडौँ
प्रकाशन मिति ः २०६६
सम्पादक ः डा. महादेव अबस्थी
पृष्ठ ः १९९+१६
मूल्य ः उल्लेख छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *