नेपाली साहित्यका विशेष गरी कविता र गीत सिर्जनाका क्षेत्रमा रामेश्वर राउत मातृदास चर्चित प्रतिभा हुन् । राष्ट्रियता, प्रकृति र मानवतालाई केन्द्रमा राखेर सिर्जनसाधना गर्ने राउतको ‘ढुङ्गाको बीउ’ पछिल्लो प्रकाशित कृति हो ।
जम्माजम्मी छहत्तर गद्यकविताहरूको सङ्कलन ‘ढुङ्गाको बीउ’ मा कवि मातृदासले समसामयिक युगबोधका रचनाहरू प्रस्तुत गरेका छन् । आफू बाँचेको समय र त्यो समयका आँधीहुरीले निम्त्याएका समाजका अस्तव्यस्ततालाई शब्दशिल्पले सिँगारेर आफ्नो सिर्जनसामथ्र्य निर्धक्क पाठकसामु राखिदिने कविको कल्पनाशक्ति यस कृतिमा शक्तिशाली भएर देखा परेको छ । यसअघि एघार कृति प्रकाशन गरिसकेका कवि मातृदास यस सङ्ग्रहमा आफ्नो अनुभव र अभिव्यञ्जनाप्रति अझ दृढ र सशक्त भएर उभिएका छन् । प्रस्तुत सङ्ग्रहका चार पङ्क्ति (एघार शब्द) को ‘मौका’ शीर्षकको अत्यन्त छोटो कविताका साथै एक सय चार पङ्क्तिको ‘अन्तिम जित’ शीर्षकलगायतका कविता समेटिएका छन् । सहिदको सम्झना गर्दै तिनका सपना सपनै रहेको यथार्थप्रति लक्ष्यित सङ्ग्रहको पहिलो कविता ‘सहिद फूलहरू’ले देशको वर्तमान वस्तुस्थितिलाई छर्लङ्ग पारेको छ । सङ्ग्रहकै शीर्षक कविता ‘ढुङ्गाको बीउ’ प्रतीकात्मक छ । सङ्ग्रहका कविता पढेपछि कविताहरूको वैशाखी टेकेर समाज-समयका अत्यन्त विकराल स्थितिहरूले उकालो चढिरहेको अनुभूति प्राप्त हुन्छ । कृतिले हाम्रो विगतको गौरव, वर्तमानको सङ्घर्ष र उकुसमुकुस एवम् आगतको उज्यालो रूपी कवि मस्तिष्कका अविचलित सञ्चेतना व्यक्त गरेको छ । कवि आशक्ति उज्यालोका प्रति लक्ष्यित छ । जीवनलाई माया गर्ने कविले प्रकृतिसँग तादात्म्य राखेका छन् । प्रकृति-विम्ब बोकेर आएका सङ्ग्रहका अधिकांश कविताहरू त्यसैका साक्ष्य हुन् । प्राकृतिक विम्बप्रयुक्त कविताहरूमा कविको मनोरम र विशिष्ट प्रस्तुति रहेको छ । साथै, थुप्रै कविताहरूमा सांस्कृतिक, ऐतिहासिक, पौराणिक एवम् मिथकीय विम्बहरू प्रयोग गरिएका छन् ।् नेपाली समाजले वर्तमानमा भोगिरहेका गरिबी, अभाव, अशिक्षाका साथै हिंसा, आतङ्क र सीमाअतिक्रमणका समस्याहरूसमेत कविताका विषय बनेका छन् । नेपाली स्वाभिमानलाई शिरमा राखेर रचिएका यी कविताहरूमा युगीन सन्दर्भ र चेतनाको आवाजलाई कवितात्मक मूल्यसहित प्रस्तुत गरिएको छ । मान्छेको बाँदरप्रवृत्तिप्रति कवि चिन्तित देखिन्छन् । देशले काँचुली फेर्न नसकेको पीडामा विसङ्गत राजनीति र राजनीति गर्नेहरूप्रति आक्रोश अभिव्यक्त छ एकातिर भने अर्कातिर नेपाली माटो र मुटुप्रतिको अगाध श्रद्धा र स्नेहभावले युक्त कविताहरूमा राष्ट्रप्रेम र जातिप्रेम अभिव्यञ्जित छ । समर्पण, प्रेम, मिलन, सद्भाव, सहयोग, आस्था र विश्वासका कविताहरू जीवन्त बनेका छन् । कविताहरूमा शब्द, शिल्पशैली, भाव, प्रस्तुति एवम् विम्बप्रयोग अत्यन्त कलात्मक र बौद्धिकरूपमा भएको छ । नेपाली प्राकृतिक पर्यावरणप्रति कविमन अत्यन्त आकषिर्त छ । नेपाली प्रकृतिको अनुपम सौन्दर्यप्रति नतमस्तक कवि मातृदास मानवीयता, कर्तव्यनिष्ठता, समानता र स्वतन्त्रताको पक्षमा उभिएर उज्ज्वल भविष्यको गीत गाउन चाहन्छन् । समस्या र अन्योलको सशक्त प्रस्तुतिका साथै कविताहरू समाधानतर्फ पनि अभिमुख देखिन्छन् । राष्ट्रियताको गीत गाउने कविको विदेश पलायनप्रति विकर्षण देखिन्छ ।
भूमिकामा समालोचक कृष्ण गौतम लेख्छन्-”रोलाँ वार्थको भाषामा ‘ढुङ्गाको बीउ’ अन्तर्गतका कविता लेखकीय (राइटर्ली) छन्, जसको पठन त्यस्ता अध्येतामात्र गर्न सक्छन् जो लेखकमा जस्तै सिर्जनात्मक क्षमताले युक्त छन्, आविष्कारात्मक चेतनाले सशक्त छन् ।” त्यसै गरी समालोचक डा. तारानाथ शर्मा कृतिका बारेमा लेख्छन् -”कवि रामेश्वर राउत मातृदास नेपाली साहस, नेपाली आँट र नेपाली अटोटका जिउँदाजाग्दा उदाहरण हुन् । यस्ता कर्मठ प्रतिभाको हामी सबैले सस्नेह कदर गर्नुपर्छ ।” समग्रमा देशप्रेम, जातिप्रेम र प्रकृतिप्रेममा आशक्त कवि आफ्नो अभिव्यक्तिमा निष्ठावान् देखिन्छन् भने निजात्मक शिल्प, दृढ अभिव्यञ्जना, सटीक विम्ब प्रयोग, आशावादी स्वर, नवीन लय, सूक्तिमय वाक्य, हार्दिक र कथ्यमय अभिव्यक्तिका साथै युगबोध कवि मातृदासका वैशिष्ट्य हुन् ।
कृति ः ढुङ्गाको बीउ (कवितासङ्ग्रह)
लेखक ः रामेश्वर राउत मातृदास
प्रकाशक ः श्रीमती पार्वती राउत
संस्करण ः २०६५, असोज
पृष्ठ ः १५९+१६
मूल्य ः रु. ३०१ ।-
