Skip to content


वरका, परका सब दूर भए
मन पत्थर भो सब क्रूर भए ।
रमितासरि भो जनजीवन यो
निमुखा अति नै भयभीत भए ।।१।।

मनमाफिकले सरकार चल्यो
क्षणको रिसले घरबार जल्यो
न त त्रास हट्यो न त होस् खुल्यो
न त देश बन्यो न त प्रेम फुल्यो ।।२।।

घरको झगडा विकराल भयो
सुख, जीवनमा अनिकाल भयो ।
अबला लुटिए छलछाम भयो
अघि रावण ऊ अब राम भयो ।।३।।

घर नै सुख स्वर्ग थियो पहिले
घर नै रणभूमि बन्यो अहिले ।
घरमै रणको सरजाम भयो
झगडा घरको पहिचान भयो ।।४।।

कति चोर यहाँ घुसघोर यहाँ
गृहशासक नै घरफोर यहाँ ।
पदलोलुपता अभियन चढ्यो
मठमालिकमा पनि लोभ बढ्यो ।।५।।

अति प्रेम गर्‍यौँ छलछाम गर्‍यौं
मनमा विषको बीउ व्यर्थ छर्‍यौं ।
विषवृक्ष फुल्यो मनखेतभरि
पथभ्रष्ट छ मानव विश्वभरि ।।६।।

थाक्ले-४, ओखलढुङ्गा

Leave a Reply

Your email address will not be published. Required fields are marked *