Skip to content

व्यक्तिसँगै सकियो एउटा युग

  • by


नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले ।

प्रज्ञा प्रतिष्ठानमा जीवितै धेरै पुगे तर त्यही प्रज्ञा प्रतिष्ठानमा जीवन बाँचुञ्जेल नपुर्‍याए पनि मरेपछि पुर्‍याइदिन्छन् अरूले । राजनीति, पार्टी राजनीति, दौडधूप, आफ्नो मान्छे, कोटा केहीमा नपरे पनि निर्जीव शरीर लगेर राखिदिएपछि फूलमाला लिएर लाम लाग्नेहरू भेटिन्छन् । लाम लाग्ने पनि थरीथरीका कसैलाई आफ्नो कविता रचना नछापिएको गुनासो गर्दै ठीक्क, कसैलाई एन.जी.ओ.को पर्चा बाँड्नमै ठीक्क त कसैलाई कसको शव राखेको, के गरेको मान्छे, के के लेख्नुभा छ भनेर सोध्दै ठीक्क । लाममा चित्तरञ्जन नेपाली, श्यामदास वैष्णव, अम्बर गुरूङ प्रचण्ड मल्ल आदि जस्ता स्रष्टा साधक पनि थिए, घर परिवार इष्टमित्र, पत्रकार, कलाकार, साहित्यकार आदि पनि थिए चित्त बुझाउने बाटो । राजनीतिज्ञहरू यस्ता ठाउँमा प्रायः आउँदैनन् । जनताको दुःख पीर हेर्नै नसक्नेहरूलाई यस्तो ठाउँमा आउन पनि गाह्रो, अर्कालाई परेको दुःख कसरी हेर्ने ? साहित्यकार राष्ट्रका गहना हुन भन्ने कुरा त अब विमोचन र अभिनन्दन सम्मान समारोहको गहना (भन्नेकुरा) मात्र बनिसक्यो ।

कतिपय स्रष्टाको सन्दर्भमा स्वर्ग बन्न पुगेको छ प्रज्ञा प्रतिष्ठान जहाँ बाँचुञ्जेल जाने चान्सै छैन (दिंँदैनन.) मरेपछि पुर्‍याइदिई हाल्छन् । मङ्सिर २७ गतेको साँझपख एउटा विराट व्यक्तित्वको शव हेर्दाहेर्दै सोचियो यतिकुरा । हाम्रो बानी नै परिसक्यो ‘मृत्युपछि मात्र सोचिदिने, मृत्युअघि अर्काको बारेमा सोच्नसम्म नभ्याउने । प्रज्ञा प्रतिष्ठानको मानार्थ आजीवन सदस्य उहाँलाई कुलपति बनाइदिए पनि हुने व्यक्तित्व थियो । अरूले नबनाइदिए पनि उहाँले भने आफ्नो व्यक्तित्व आफै बनाउनुभएको थियो कथा, नाटक र उपन्यास विधाका बेजोड व्यक्तित्व, साहित्यिक पत्रकारिताका दरिला खम्बा, नेपाली भाषा साहित्यका उल्लेख्य साधक गोविन्दबहादुर मल्ल गोठाले भनेर ।

१० दिनको अस्वस्थतापछि अन्ततः मङ्सिर २७ गतेको मध्यान्हपछि अन्तिम सास फेर्नुभयो गोविन्द गोठालेले । लामो पर्खाइपछि आफूले सम्भिmरहेको मृत्युलाई उहाँले वरण गरिहाल्नुभयो । “… जति लेख्नुथियो लेखियो अब त लेखेको थिएँ भन्ने पनि बिर्सिसकेँ अब त मृत्यु मात्र सम्झेको छु ।’ (२०६६ असार १३, गोरखापत्र) मृत्यमात्र सम्झेर बस्ने ‘गोठाले’ को गोठालो बनि पछ्याइरहेको मृत्युले अन्ततः उहाँलाई लिएर गयो । वि.सं. १९७९ सालको असार २६ गते काठमाडौँको ओमबहालमा ऋद्धिबहादुर मल्ल र आनन्द मायाको जठो छोराको रूपमा जन्मिने ‘गोठाले’ ले घर परिवार, इष्टमित्र सबैलाई छाड्नुभयो ८८ वर्षपछि । यसैबीच उहाँले आफूलाई गोविन्दबहादुर मल्ल ‘गोठाले’को चिनारी छाडेर जानुभएको छ, असल र सरल स्वभावको व्यक्तित्वको प्रभाव छाडेर जानुभएको छ, शारदा र आवाज जस्ता ऐतिहासिक पत्र पत्रिकाको दस्तावेज छाडेर जानुभएको छ, कथा नाटक, उपन्यासका कृति छाडेर जानुभएको छ । यही लिएर, यही सम्झेर हामी उहाँलाई सम्भिmरहन्छौ ।

“हाम्रो घरमा पहिलेदेखि नै साहित्यिक वातावरण थियो र जमघट पनि भइरहन्थ्यो । ठूलो परिवारमा जन्मिएकोले बाल्यकाल खेलकूद, रमाइलोमै बित्यो । सुखसयलमै बित्यो । एउटा साहित्यिक वातावरण भएको घर, ठूलाठूला साहित्यकारहरूको आउजाउ अनि बुबा ऋद्धिबहादुर मल्लले सुरू गर्नुभएको ‘शारदा’ पत्रिकाको प्रकाशनले मलाई लेखनमा अभिप्रेरित गर्‍यो र यसैको फलस्वरूप ‘शारदा’ बाटै मेरो साहित्यिक यात्राको थालनी भयो । सुरूका दिनमा कविता लेखनमा लागे पनि मैले आफ्नो लेखनलाई कथा, उपन्यास र नाटकमा केन्द्रित गरेँ ।’ आफ्नो लेखनीबारे ‘गोठाले’को कथन हो यो । वि.सं. १९९६ सालमा ‘ममता’ कविता छपाएर थालिएको यात्रा वि.सं. २०६७ सालमा आएर टुङ्गयिो । यसबीच मानसिक तनाव, अलमल हुने रोग, दुई दुईवटी श्रीमतीको निधन, कान्छो छोरा ज्वाइँहरूको निधन, भाइ (स्रष्टा) विजय मल्लको निधन आदिले लेखनमा सुस्ताउन पुग्नुभयो उहाँ बेलाबखत ।

जवान छँदै श्रीमतीको निधन भएपछि आफ्नै साली बिहे गर्ने ‘गोठाले’ले दुई वर्षपछि मात्र अर्की श्रीमती पनि गुमाउनुभयो । काखमा हुर्केको कान्छो छोराको पनि ब एक वर्षअघिको निधनले मर्माहत बन्नुभएको थियो उहाँ । यता केही समयदेखि जेठो छोरा उमेशबहादुर मल्लसँगै रविभवनमा बस्दै आउनुभएका गोठालेको घर (ओमबहाल) पुग्दा प्रायः उहाँको छोरीहरू उहाँसँगै भेटिनुहुन्थ्यो । ठूलो परिवारमा जन्मी पारिवारिक वातावरण राम्रो पाउनु भएको ‘गोठाले’ले परिवारमै साहित्यिक वातावरण पाउनुभयो ।

ओमबहालको उही ऐतिहासिक घरमा कुराकानीको सन्दर्भमा डेढ वर्षअघि गोविन्दबहादुर मल्लबाट गोविन्द ‘गोठाले’ भएको प्रसङ्ग सुनाउँदै हुनुहुन्थ्यो ।

“राणा शासनको बखत स्वतन्त्रता थिएन । लेखपढ गर्न गाह्रो थियो । मेरो पहिलो रचना ‘ममता’ सम्बन्धमा मलाई सिंहदरबार बोलाइयो । वास्तवमा भन्नुहुन्छ भने त्यतिबेला बाटोमा फालिएको प्रजा परिषद्को पर्चा टिपेको कारणले म केरकारका लागि सिंहदरबार पुर्‍याइएको थिएँ । त्यतिबेला साहित्यकार भवानी भिक्षुले कविता छापिएपछि मैले झन् बढी सजायँ पाउँला भन्ने डरले गोविन्दको माने पत्ता लगाई मेरो नाममा ‘गोठाले’ राखिदिनुभएको हो । त्यसैबला देखिमा गोविन्द ‘गोठाले’को रूपमा लेखन क्षेत्रमा लागेको हुँ ।”

‘पल्लो घरको झ्याल’ (२०१६) उपन्यास, कथा, नाटकबाट आफूलाई अलग रूपले चिनाउन सक्षम ‘गोठाले’ लेखनमा युग बन्नुभयो । लेख्नका लागि मात्र लेख्नुभएन उहाँले जे लेख्नुभयो चर्चायोग्य लेख्नुभयो । मनोविज्ञान, काठमाडौँको परिवेश, मध्यम वर्गीय पात्रका कथा व्यथा लेख्न सिपालु ‘गोठाले’ले आफ्नो लेखनबारे भन्नुभएकै छ -“मेरो लेखनको विषयमा मैले बारम्बार आफ्ना अन्तर्वार्ताहरूमा भन्दै आएको छु -लेखनमा यसरी नै लागेँ भनेर त म भन्न सक्तिनँ । अध्ययन भने यस विषयमा पहिलेदेखि नै गर्थें । धेरैजसो उच्च वर्ग र मध्यमवर्गकै मनोवैज्ञानिक चित्रण गर्छु । तल्लो श्रेणीको चित्रण गर्न अलि विश्वास लाग्दैन उनीहरूको दुःख दर्दलाई राम्रोसँग प्रतिनिधित्व गर्न सक्तिन भन्ने लाग्छ, किनभने मानिसको जिन्दगी कुनै हिसाब किताब हैन न उनीहरू मनोविज्ञानका निर्धारित घेराभित्र नै आउँछन् । लेखनमा म बढी कथा, नाटक र उपन्यासमा केन्द्रित छु । लेख्ने विषय थुप्रै छन् र पनि लेख्न सकिरहेको छैन । लेख्न मन त तर लेख्नै सक्तिन । लेख्न बस्यो कि अनेक कुरा सम्झन्छु र लेख्न खोजेको कुरा सबै बिर्सिन्छु । …’

लेखेरै जीवन बिताउने, लेखक साहित्यकार हेरेर किशोरावस्था बिताउने, लेखक अनुवादक सम्पादक पिताका पुत्र भएर जन्मिने ‘गोठाले’ले लेख्न नसक्दाको पीडा पटक पटक व्यक्त गरिरहनुहुन्थ्यो । वि.सं. २०४४ सालदेखि २०६७ सम्म उहाँसँग धेरैपटक भेट भए । प्रायः धेरैमा भेट हुन्थे उहाँँसँग । ठिक्कको कद, गोरो अनुहार, साना आँखा, ठूलो निधार, खुइलिएको तालु, केही कुराले पिरेजस्तो, सधैँ हडबडाएजस्तो, बोल्दा प्रायः अडिने, प्रायः भुईतिर हेरेर कुरा गर्ने, कुरा गर्दा प्रायः ओढेको ओढ्ने चलाउने, खुट्टाको नङ चलाइरहने, यताउता गरिरहने, सोधेको कुराको मात्र जवाफ दिने, सरल सहज व्यवहार उहाँको । ‘शारदा’ (मासिक), ‘आवाज’ दैनिक जस्ता ऐतिहासिक पत्रपत्रिकाबारे चिन्तित रहने ‘गोठाले’को व्यक्तित्वको पाटो पत्रकार र साहित्यिक पत्रकारको पनि बन्न पुग्यो । पे्रस काउन्सिलका सदस्य, भवानी साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गोविन्द ‘गोठाले’ले साहित्यकारका हैसियतले नै धेरै सम्मान र पुरस्कार पाउनुभयो ।

समयको प्रवाहसँगै नेपाली साहित्यले एकपछि अर्को सशक्त हस्ताक्षर गुमाउँदै गएको छ । दौलतविक्रम विष्ट, कृष्णचन्द्र सिंह प्रधान, पारिजात, रमेश विकल, विजयमल्ल, लैनसिंह वाङ्देल, बासुशशी, ध.च. गोतामे, पोषण पाण्डे, मोहन कोइराला, ईश्वर बल्लभ, डा. ईश्वर बराल, युद्धप्रसाद मिश्र, जनकलाल शर्मा, केशवराज पिंडाली, नयराज पन्त, यदुनाथ खनाल आदिजस्ता स्रष्टाहरूपछि हामीले गोविन्द ‘गोठाले’लाई गुमाइसक्यौँ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा राखिएको गोविन्द ‘गोठाले’को शव नाटककार ‘गोठाले’को नाटककार व्यक्तित्व सम्झाइरहेको थियो । वरपर प्रायः साधारण मान्छेेका घर नदेखिने प्रतिष्ठानको प्राङ्गणमा वल्लो घर, पल्लो घरको झ्यालबाट कमैले मात्र हेरे होलान् । भाषा साहित्यलाई पे्रम गरेर मृत्यु पर्खने उहाँको कथाजस्तै प्रेम र मृत्यु उहाँ एउटा दिएर अर्को लिएर जानुभयो । भुसको आगोजस्तो दिन प्रतिदिन भित्रभित्रै कमजोर हुँदै गएका हामीले दोष कसैको छैन भनेर आत्मसन्तोष गरे मात्र हो । ‘गोठाले’को व्यक्तित्व र उहाँप्रति हामीले गरेको व्यवहार सम्झौं त एकै छिन । एउटा विराट व्यक्तित्व अस्वस्थ भएर १० दिनसम्म अस्पताल भर्ना गरिँदा पत्तोसमेत पाएनौँ हामीले । एकपछि अर्को परिवारका सदस्य गुमाउँदै बुढ्यौली उमेर बढाउँदै लाँदा हामीमध्ये को को पुग्यौँ उहाँकहाँ । उहाँको लेखनबारे कति चर्चा गर्‍यौँ हामीले ? साँच्चै यस्ता प्रश्नहरू निरर्थक लाग्न सक्छन् । राजनीति नेता बाहेक अर्थोक नदेख्ने आफ्नो र आफ्ना मात्र देख्ने हाम्रो लेखनीप्रति हामी सन्तुष्ट छौँ त ? यही प्रवृत्तिले आफू, आफ्नो, आफ्ना, हामी, हाम्रो र हाम्राले राम्रो र राम्रा मान्छेको चर्चा हुन छाडेको छ । ‘गोठाले’को अन्तिम अवस्था र अन्तिम यात्रामा सहभागीहरूको सङ्ख्या देखेपछि भन्नैपर्छ हामी राजनीतिमा बढी केन्द्रित भयौँ । दुखेसो गुनासो जे भएपनि एउटा कठोर सत्य इतिहासमा उल्लेख भएरै गयो २०६७ सालको मङ्सिर २७ गतेको दिन । यही दिन हामीले एउटा असल मान्छे गुमायौँ, विराट व्यक्तित्व गुमायौँ, देशका लागि शालिन बनेर योगदान दिने एउटा स्रष्टा गुमायौँ । देशकै लागि योगदान दिने स्रष्टालाई अन्तिम श्रद्धाञ्जली दिने समय गुमायौँ । पशुपति आर्यघाटमा धुवाँसँगै विलिन हुन पुगेपनि ‘गोठाले’को व्यक्तित्वले हामीलाई पछ्याइरहनेछ, सम्झाइरहनेछ । उहाँ त जानुभयो भयो, एउटा युग नै सकियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *