Skip to content


मानिसहरू ख्याल ख्याल मै जीवन बिताए भन्दछन्, जुनी बिताएँ भन्दछन् । हेर्दा र सोच्दा हो जस्तो लागे तापनि जिन्दगीको पाश्र्व छायाँमा उभिएका दुःख, करूणा, वेदना, छट्पटी, त्रास र खुसीहरूले गर्दा जिन्दगी बिताउनुको स्वाद नै अर्को हुँदोरहेछ, अनौठो हुँदोरहेछ, अपत्यारिलो हुँदोरहेछ । त्यसमा पनि सुख माथिको खुसीभन्दा पनि पीडापछिको खुसी निकै नै स्वादिलो र गहकिलो हुँदोरहेछ ।

लिखत नभएका जिन्दगी मात्र होइन कैंयौँ पुस्ता, सम्प्रदाय, जात, धर्म र वर्ण पनि बितेका छन् र बिताइको इतिहास अनन्त, अनन्तसम्म पुगेको छ । फैलिएको छ । न त त्यसलाई फर्काउन नै सकिन्छ न त्यसलाई पर्गेल्न नै सकिन्छ तर त्यसको छायाँ र छापबाट भने हामी अमलेख हुन नै सकेका छैनौँ । त्यसैले मलाई लाग्दैछ अलिखित इतिहास धुलाम्य भएर कण-कणमा रूपान्तरित भए पनि भोगेका घटनाहरूका गतिशील अणुहरूको तातो स्पर्शले छोएपछि मर्मान्तक घडीमा पनि जीउमा जोश उम्लँदोरहेछ, इच्छा उर्लंदोरहेछ, उर्जा उचालिँदोरहेछ ।

भोगाई जे जस्तो भए पनि आयुको कुनै निश्चित साँध/सिमाना हुँदो रहेनछ । सुविधा र सम्पन्नताको तुजुकले मान्छे जतिसुकै उचालिए पनि जिन्दगी अभरमा परेर अड्केको बखत्मा मृत्युको प्रत्याञ्चा भृकुटीतिर सोभिन थालेको देखेपछि भने प्रत्येक पल-पल पनि सारै डरलाग्दो र भयावह हुन पुग्दोरहेछ । बाँच्ने अभिलासा जीर्ण र जर्जर बनेर टुक्रिन पुग्दोरहेछ, टक्टकिन पुग्दोरहेछ, टाक्सिन पुग्दोरहेछ ।

बाँच्ने उपक्रममा मृत्युले धेरैपटक झुँगल्यो, धेरै पटक हकार्यो, धेरैपटक तर्सायो पनि । धेरैपटक मुटु कुल्चिएर तर्सायो, धेरै पटक पौठेजोरी खेल्यो तर यति हृदयविदारक र विभत्स किसिमले भने कहिल्यै पनि आक्रमण गरेको थिएन । मन, मस्तिष्क र मुटुलाई निचोरेर उसको नरपिपाशु रौद्र रूप भने मैले योभन्दा अघि देखेको थिइनँ । जब देखेँ तब भने जीउ सर्वाङ्ग काम्यो, मासी फतक्क गल्न पुग्यो, हात-खुट्टा लल्याकलुलुक हुन पुगे, दृष्टि धमिलिँदै जान थालेपछि साहस बाउसे गर्दा गर्दै अचानक हिलोमा बस्न पुगेको दाँदेको बूढो गोरुजस्तै बीचैमा घ्याच्च बस्यो ।

बागमती नदीमा पर्ने अन्तिम जङ्घारको घटना हो । सर्लाही जिल्लाको कर्मैया भन्ने ठाउँबाट आधा कोस माथिको ।

दसैंको बेला थियो, सिन्धुली जिल्लाको पश्चिमी भू-भागमा पर्ने विद्यालयका एघार जनाजति शिक्षक जम्मा भएका थियौं । एक्वारको बाटोको कन्दनी कुल्चँदै आए तापनि झप्सी भन्ने ठाउँमा पुगेपछि टक्क अडियौं । दुईचार दिन देखिको अविरल वर्षाका कारण चुरेको पाखो बाटोलाई बोकेर बागमतीमा थुपि्रन पुगेको हुँदा नून खाएर झोक्राएको कुखुरोझैं हुन पुगेका थियौं । कैयौं प्रयत्न गर्दा पनि पहिरो छिचोल्न नसकेपछि लामो सुस्केरा काढ्दै गाउँ पस्यौं वैकल्पिक उपाय खोज्न ।

जङ्घारको बाटो सोझो र पायक पर्ने हुँदा विगत केही वर्षदेखि गाउँमा खोलो तार्ने दरो साधनको रूपमा ट्रक-बसको थोत्रो ट्युबलाई लिन थालिएको रहेछ । ट्युबवालाको घर सोद्धै गयौं । भेटिए पनि । खोलामा पानी धेरै भएको र बाढी पनि बढिरहेको हुँदा कोही तयार भएनन् । अन्यौल ग्रस्त भएर ओइलाउँदै जान थालेको बेलामा एउटा परिचित अनुहार देखेपछि उत्सुकता बढाउँदै’ भने-सोनाम खोलो तर्ने कुनै उपाय छैन ? भए लौन सहयोग गर भाइ !’

सारै विपन्न र गरिब परिवारको भए पनि सोनाम मेधावी छात्र थियो । मिलनसार पनि थियो । अनेकौं हण्डर र कष्ट खेपेरै भए पनि राम्रो अङ्क ल्याएर प्रवेशिका पास गर्‍यो । अहिले सायद कुनै एनजीओमा काम गर्दैछ । कक्षा ७ देखि निरन्तर निःशुल्क अध्ययन गर्न पाउने व्यवस्था मिलाई दिएको हुँदा आस्था उरालेर आदर गर्ने हुँदा ङििचक्क हाँसेर भन्यो-

“जाउँ न त सर ! सरले भनी हाल्नु भो, म तारी दिउँला ।” तर ट्युबको हालत भने उनको उत्साह भन्दा सयौं गुना कमजोर देखिन्थ्यो । अन्न पानीविहीन भएर आठ-नौ घण्टाको अविश्रान्त हिँडाइ हैन कुदाइदेखि लखतरान परेका मित्र मण्डलीले किनारामात्र हेर्न थाल्यौं । ट्युबमा अल्झिने लेसो भएन ।

मुखको माध्यमबाट ट्युबमा हावा भरेर टुटीमा काँचो काठको ठेडी खुर्पाले ठोक्तै ट्युबलाई बागमतीमा जोते । सबै साथी चढेपछि मन धमिलो र अमिलो भयो । यस्तो जोखिमयुक्त यात्रा अनेकौं हण्डर कष्ट खेपे पनि जीवनमा कहिल्यै गरेको थिइनँ । बाढीको उर्लदो बेग र ट्युबको हविगत देख्ता जीउमा काँडा उम्रन थालिरहेका थिए । एक त पानीदेखि तर्सिने मान्छे । त्यसमा पनि पौडी खेल्न पटक्कै नजान्ने लट्ठक । न त कतै समाउने ठाउँ नै थियो, न त कतै अडिने आधार नै थियो । एउटा पाजी पिलन्धरे ट्युबकोे भरमा चमेरोझैँ तुन्द्रुङ्ग झुण्डिएर पाँच-पाँच किलोमिटर पार गर्नु भनेको मेरा लागि फलामको च्युरा चबाउनु जत्तिकै कठिन बनिरहेको थियो ।

काँचो पिँडालुजस्तै बनेको मनलाई थुम्थुमाउँदै उसले भनेझैँ (सजिलो र सुरक्षित) ट्युबमा बाँधेको बित्ता एक चौंडाइ र हात्ती तिनेकको काठको चिर्पटोमाथि बसेँ । माझमा बस्ने मान्छेलाई सबैका पोका पन्तुरा भिडाइँदोरहेछ । पोका मात्र भएत केही थिएन पन्तुरासँग तामा, घ्यु, तिल, बेसार पनि गाँसिएर गुठुरी परेका हुँदा त्यसको बोझले गर्दा सिन्कीजस्तै बन्न पुगिरहेको थिएँ ।

गुनासो गर्न नपाउँदै सोनामले ट्युबलाई बाढीको मझधारमा धकेली दियो । दायाँ-बायाँ हेर्नु पूर्व नै बागमतीको उत्ताल छाल सुमेरू पर्वत बनेर छोप्न आएपछि मुख खोल्न पनि पाइनँ । ट्युब घागीमा फिरफिरेजस्तै बनेर घुम्दै, नाच्दै, उफ्रँदै वायुको गतिमा बगिरहेको थियो । निभेको उत्साह बाढीको यस्तो भयावह रौद्ररूप र क्षण-क्षणको उछाल, पछारले होस हवास सुइँचट हुन खोज्दै थियो । सास कामीको खलाँती बनिरहेको थियो । आँखा अगाडि सौर्य मण्डलका सबै ग्रह-उपग्रह नाचिरहेका थिए । पानी सिवाय देख्नु सुन्नु केही थिएन । कति बेरसम्म यो गौरव यात्राको दारूण डुबाइमा आकण्ठ डुबिरहनु पर्ने हो केही थाहा थिएन, लक्ष्यमा पुग्न कति समय लाग्ने हो त्यो पनि थाहा थिएन, मात्र द्विविधा, त्रास र छट्पटीमा मन चोवलेर कचल्टिन पुगेको थिएँ । ट्युब भने मुल्कोको बीचै बीच ताइको फुरौलोजस्तै नाच्दै, फत्किदै र हाम्फाल्दै गति समाति रहेको थियो ।

अभ्यस्त नभएको हुँदा मलाई डर लागे पनि सहयात्रीहरू भने चच है चच है पार्दा मजामानेझै गरिरहेका थिए । जतिजति बाढीको मुल्कोमा सवारीलाई जोत्नसक्यो त्यति नै छिटो गन्तव्यमा पुग्न सकिने हुँदा सबैको प्रयत्न सवारी साधनलाई खतरामुक्त बनाएर अगाडि बढाउनु भन्दा पनि चाँडै पुग्ने हुट्हुटी र लिँडेढिपीले गर्दा काँचो धाँगोमा बाँधेको नाङ्गो तरबार टाउकोमाथि तुन्द्रङ्ग झुण्डिएझै भइरहेको थियो । खोलामा पानीको प्रवाह अत्यधिक हुँदा किनारातर्फ सुरक्षित हुन्छ भन्ने घिड्घिडो रहे पनि भुँवरीमा फस्ने प्रवल सम्भावना हुँदोरहेछ । बरू घागीमा उछिट्टएिर परमधाम हिँडेका यात्रुलाई कठालामा समाउँदै सकुसल फिर्ता ल्याउन सकिन्थ्यो । भुँवरीमा फसिसकेपछि भने गोहीको घाँटीभित्र छिरेजत्तिकै हुने हुनाले चालकको चेष्टा भुँवरी छल्नु नै प्रमुख हुँदोरहेछ । बाँकी काम पानीले गर्ने रहेछ । नगरे राम भरोसे छोडिदिँदा रहेछन् ।

यातायात अस्तित्वमा आएपछि ट्युबको चलन बागमती तर्ने बलियो र भरपर्दो साधनको रूपमा विकसित भएको रहेछ । पानीको धार तेज भएको हुँदा डुङ्गा पाखा लागेका रहेछन् । ट्युब को आगमनपूर्व फलेकले काम चलाइने परम्परा वर्षौं वर्षसम्म टिकेको थियो अरे । ट्युबले गर्दा अहिले फलेक विस्थापित हुन पुगेको रहेछ । पल्टिन त बस पनि पल्टन्छ, रेल पनि पल्टन्छ, हवाईजहाज पनि पल्टन्छ, सुरक्षित ठानिएको पानी जहाज पनि पल्टन्छ भने जैरे फलेककको त के कुरा भयो र ! तर ट्युबको तुलनामा यात्रु डुब्ने र छालले सोइसोला खेलाउँदा उछिट्टनिे डर फलेकमा अधिक हुँदा सबैथरी यात्रु ट्युबको शरणमा नै पुग्दा रहेछन् ।

तुमुल अट्टहासका साथ सङ्गीतका सातैस्वर उरालेर बागमती आफ्नो उन्मत्त बैंसमा निम्ठिँदै, चुल्लिँदै, छिल्लिँदै र छचल्किँदै अविश्रान्त यात्रामा शक्ति र सामर्थ्य देखाउँदै अगाडि बढिरहेकी थिइनँ । कतै उनी विकराल स्वरूप देखाउँथिन्, यात्रुसहित ट्युब १० हातमाथि पुगेर थचारिन पुग्दथे, कतै विभत्स स्वरूप निकाल्थिन र यात्रुलाई रसातल पुर्‍याउने गर्दथिन् । साम्य हुनुको त नाम निसानै थिएन । पोकाहरूको राप र तापले शरीरलाई नथिल्थिल्याएको भए म पनि सहयात्रीहरूको उमङ्गमा उमङ्ग खापेर भाका निकाल्न सक्ने थिएँ तर पोकाको बोझले गर्दा छातीमुनिका समस्त जोर्नी र धमनीहरूको कमानी खुस्किन पुगेको हुनाले केवल विषाद र पीडाका लामा सुस्केरा मात्र ओठमा दौडिरहेका थिए ।

बोल्न सक्नेहरूले पीठो मात्र होइन पीठोमा धूलो मिसाएर पनि बेचेका छन्, करेसामा, कुलामा, कान्लामा पनि आरसीसी गरेर सम्पन्नताको फुई छोडिरहेका छन् । आँगनको पानी कटाउने कुलेसो खन्दा/छोप्ता खर्च राष्ट्रिय ढुकुटी कोट्याएर गर्दछन् । एकल प्रयासमा सम्भव हुने ढल होस् या नाली होस्, खाल्टो होस् या खोपिल्टो होस्, खहरे होस् वा कुलो होस्, पुर्नु, भर्नु, सोझ्याउनु अथवा छपनी हाल्नु परे राजस्व लुछ्न पुग्दछन् । जति वैदेशिक सहयोग/अनुदान आउँछ सहरीया नै हाम पार्दछन्, हुने खानेहरू नै दरिद्र बनिरहेका छन् । ट्वाक थाप्छन् । कतै कोही मर्न आँटे पनि, भर्सेला परे पनि अदनाहरूको चित्कार सुन्ने फुर्सद नै पो छ र कसलाई ? त्यसमा पनि सभ्य र सु-संस्कृतहरूका अगाडि निरक्षर उपहास र तिरस्कारको पर्याय बनिरहेको अवस्थामा त्यस्ता जङ्गली परिवेशका मान्छेको चामल कसले किन्ला र ? पुलको कल्पना गर्नु ! बाँचे भोटरलिस्टमा नाम चढ्छ । अकालमा मरे छापाको सानु कुनामा समाचार छापिन्छ । बस यत्ति हो गाउँको कथा ।

बाढी आफ्नै सुर, लय र तालमा उफ्रिरहेको, हालिइरहेको, हुइँकिरहेको हुन्छ । अत्यासमा भविष्य र जिन्दगी घुसारेर पिता पुर्खा सम्झन थाल्दछु । मित्रहरू डुब्छन्- उत्रिन्छन्, डुब्छन्- उत्रिन्छन् । गलेका हातका नसा च्युँडोले मसार्दै नीलो अनुहार लगाएर सहारा पाउँछु कि कतै भनेझैं गरी पिर्लिक्क आँखा उचाल्छन् । म जोगीको घरमा पाहुना लागेको मान्छे । निर्मिमेष एकमुठी दृष्टि पोखिदिन्छु अनुहारभरि र उनीहरूको कारूणिक स्थितिले मुटु कोतर्न थालेको देखेपछि हेर्ने साहस हराउँछ । मुन्टो बटारिदिन्छु ।

मूलधारबाट भङ्गालोतिर यात्रा मोडिएपछि जलदेवी दया देखाउँदै आङबाट ओर्लिन थाल्छिन् । सकस अलि खुकुलिन पुग्छ । त्रास अलि घट्न थाल्छ । मन अलिअलि उघ्रन थाल्छ । आङ तातेझै लाग्छ । यसो टाउको उठाउँदै हेर्छु- अन्तिम बिसौनी आँखा अगाडि उभिन आइपुग्छ ।

मूल घागीबाट मुक्त भएपछि सन्तोषको लामो सास फेरेँ । किनारा र हामीबीचको दूरी मात्र बीस हात जतिको हुँदो हो । बीचमा घुमाउने दह सुरसा बनेर नतेर्सिएको भए कुदेर पनि पाखा लाग्न सकिन्थ्यो । भुँवरीबाट छल्न सोनाम अगाडि गएर ट्युबलाई तानिरहेको थियो । भुँवरी त कटायो ततायीको कारणले हो वा हावाको चाप बढेर हो एक्कासि हावा भर्ने टुटीको पाड्को गोली भएर उड्नासाथ भ्याराररर्र गरेर ट्युब बेत बस्यो । निमेषभरमै सबै मानिसहरू दहको अथाह गहिर्‍याइतर्फ धकेलिन पुगे ।

म फलेकमाथि थिएँ र क्विन्टल भन्दा बेसीको भारीले चिथेको हुँदा दहमा फेंकेको ढुङ्गोजस्तै हुन पुगेँ । सोच्नु, सम्झनुभन्दा अगाडि नै पलभरमा मोक्ष पार्छु भनेझैँ गरी उपत्यकावासीहरूको गहुँत र गोवरको पखाले अजीर्ण हुने गरी उदरस्थ हुन पुगेपछि आशाका सबै तन्तुहरू एकैचोटि झ्याप्प निभ्न पुगे । पानीले श्वास प्रश्वासको गतिलाई बीचैमा ठनक्क भाँचेर लडाएपछि निसासिँदै र थर्थराउँदै मृत्युको मुखमा छिर्न के आँटेको थिएँ तलबाट एक्कासि कसैले काखको पोको हुत्याउँदै जोडसँग फलेक उचाली दियो । पानी धमिलो मात्रै होइन लेदो थियो देख्नु सुन्नु केही थिएन । जुन गतिमा म रसातलतिर कुदेको थिएँ त्यही गतिमा माथि आइपुगेँ । बाढीको धेरै दुर्गुण भए पनि कुनै पनि वस्तु वा पदार्थलाई हल्का बल दिएर ताने सजिलै माथि उत्रने गुण पनि हुँदोरहेछ । सर्केको पानीले जीउलाई थेवे बनाए पनि आफ्नो ज्यानको बाजी लगाएर मजस्तो त्यक्त र तिरस्कृत प्राणीलाई जीवनदान दिने देवदूत को रहेछ भन्ने भाव मनमा उठ्नासाथ पुलुक्क हेरें । सोनाम रहेछ । उसले भए भरको बल लगाएर फलेकलाई किनारा तर्फ ठेल्दै । सर हातले खियाउनुस्, अब डुब्नु हुन्न । म अरू सरहरू र झोला लिएर आउँछु भन्दै बेपत्ता भयो ।

फलेक कुदेकै गतिमा जाने पनि नजाने पनि हात खुट्टाले खियाउँदै किनारातर्फ सोझिने बल गरेँ । मर्मान्तक घडीमा सीपले भन्दा पनि साहसले नजानेको कुरा सिकाउँदोरहेछ । किनारा छेउ पनि पानीको एउटा भङ्गालो निशुम्भ बनेर घरिघरि फलेकलाई विपरीत दिशातर्फ धकेल्न बल गरिरहेको देखेपछि ‘यति त अब डुबे पनि तर्न सक्छु’ भन्ने लख काट्तै फलेकलाई त्यागी दिएँ । पानी घाँटी घाँटीसम्म आएको हुनाले न्वारनदेखिको बल निकालेर दौडिएँ ।

छेउ समाउन सफल भएपछि संसार जितेको अनुभूतिले घम्लङ्ग छोप्यो । यति विघ्न खुसी यति लामो जिन्दगीमा न त कहिल्यै देखेको थिएँ, न त कहिल्यै भोगेको थिएँ, न त कहिल्यै भेटेको थिएँ । र लाग्यो अवशादमा डुबेको मजस्तो निरीह पात्रको जीवनमा पनि खुसी आउँदोरहेछ हगि !

हर्ष र उन्मादले मन फुर्फुरिइरहेको थियो । भिजेको कट्टु सिवाय आङमा कुनै वस्त्र थिएन । ब्रतबन्धमा हजुर्बाले ब्रहृमसूत्र नामधारी गोडा छ एक काँचो धागाको गलपासो घाँटीमा बेरिदिनु भएको थियो । धर्म छोडे पनि पैतृक सम्पतिको नाउँमा भिरेको थिएँ । त्यो पनि बाढीलाई सैह्य भएनछ ! खोसेरै त नभनौं छल प्रपञ्च गरेर उडाइदियो । अरू आठ जनालाई किनारा लगाइसकेपछि निकैबेरसम्म पर्खेर बस्यौं जीउ लगलग कामिरहेको थियो चिसोले बाँकी साथी आउलान्, सोनाम पनि आउला र लुगा ल्याउला चिसै भए पनि फेरौंला भनेर तर सोनाम आएन !

म घुमेकै ठाउँछेउको पहराको चेपमा टाउको फसेको हुनाले तीन दिनपछि मात्र सास बिनाको शरीर फेला पर्‍यो । पानीले जीउ पूरै सुन्निएको थियो । अधिकांश मांशपेशीहरू चोइटा निस्केर खाल्टामा रूपान्तरित हुन पुगेका थिए । मासु कुनै हिंस्रक जलचरले चोक्टाचोक्टा पारेर चिथरेझैं लाग्दथ्यो ।

सोनामसँगै अन्य तीन जना पनि कल्कलाउँदो उमेर बाढीलाई बलि चढाएर बाटो लागे । सोह्र वर्षको यति लामो अन्तरालमा यो बाटो हिँड्दा अझैँ पनि आँखा अगाडि सोनाम फनफनी घुम्न थालेपछि मनमा चस्का मुटुमा दम्को र मानसिकता ऐंठन पर्दै जीउमा आगो सल्केझैं हुनथाल्छ ।

विगत चौबीस वर्षदेखि अध्यापनमा झुण्डिरहेको छु । यति लामो अन्तरालमा कहिल्यै पनि कुनै पनि विद्यार्थीसँग वैमनस्य भएन । मनमा अहम् र तुस नराखी घुलमिल हुँदै आत्मीयता साट्ने बानीले गर्दा अथाह आदर सत्कार पाउँदै आएको छु शिष्य/शिष्याहरूबाट तर आफ्नो जीवनकै पूणर्ाहुति दिएर संसारमा यति ठूलो र यति बेदाग गुरू दक्षिणा आजसम्म कुनै पनि शिष्यहरूले आफ्ना गुरुलाई दिएझैं मलाई लाग्दैन ।

मानव सभ्यताको इतिहासमा मैले पढेसम्म जन्मजन्मान्तरसम्म तिर्न र फर्काउन नसकिने यति बोझिलो महादान पाउने पहिलो भाग्यमानी पनि मैं हूँ र अन्तिम पनि मै हूँ । बाँकी सबै किनारामा साक्षी हुन् या तपसिलमा उल्लेखित निरीह र निस्तेज पात्र !

-निर्मोहीनगर, चन्द्रनिगाहपुर-१,
रौतहट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *