Skip to content

‘नीलो सिमाना’ भित्रको काव्यकला

  • by


कुनै पनि सिर्जनशील व्यक्तिद्वारा आफ्नो अनुभव र अनुभूतिलाई लयबद्ध तरिकाले प्रस्तुत गर्दै जीवन र जगत्का विषयमा विशिष्ट चिन्तन गरेपछि कविता बन्छ र यस्तो कवितामा शिल्प, भाव, सौन्दर्य र विषयवस्तु आदि राम्ररी सजाइएका हुन्छन् । यस्तै परिधिभित्र रहेर, भर्खरै कवियित्री सविता गौतम दाहालद्वारा लिखित ‘नीलो सिमाना’ नामक कवितासङ्ग्रह प्रकाशनमा आएको छ ।

“गएर तिमी आइरह्यौ
मलाई दिएको बाचासँगै
ओ योद्धा !
सधैँ जीवन गीतमा लय हालेर
पर्खिबस्छ, एउटा सिमाना”

कवियित्री सविता गौतम दाहालको परिचय यही हो । उनको सुन्दर तस्बिरका छेउमा गाताका पछाडि परिचयक्रममा यिनै पङ्क्तिहरू सजाइएका छन् ।

‘नीलो सिमाना’ नामक कविताभित्रको यस पद्यांशले व्यक्ति सविताको होइन, सिङ्गो मानव जीवनक्रमको परिचय दिएजस्तो लाग्छ । यसभित्र सविता छन्, हामी छौँ र हाम्रो विगत पनि छ । हाम्रो जीवन गतिशील छ, सूर्यझैँ आइरहन्छ, गइरहन्छ तर यसको एउटा निर्धारित सिमाना हुन्छ । जसको क्रमभङ्ग गर्न कसैले सक्तैन ।

कवयित्री सविताले आफ्ना सिर्जनाका माध्यमबाट पत्ता लगाएको आधुनिककताको सेरोफेरोभित्र रहेर पाश्चात्य साहित्यका अध्येता एवं अनुसन्धाता डा. अभि सुवेदीले विश्लेषणात्मक भूमिकाभित्र भनेका छन्-“सविता चर्चित कविद्वय कृष्णभूषण बल र मनुमञ्जिलका सहयात्री हुन् ।” यिनीहरूकै सहयात्रामा प्रभाव र प्रेरणामा ‘नीलो सिमाना’ कोरिएको छ । भूषणको भाले बासेपछि मञ्जिलको आवेग रोकिन्छ र सविताको सीमा कोरिन्छ । यो यथार्थ र सत्य पनि हो ।

सविताका कवितामा समता, सहिष्णुता र सद्भावहरू रहेका छन् । सूर्यले झैँ उनले पनि उँच-नीच, आगो-पानी, वर-पर, तल-माथि, आफ्नो-अर्को र पक्ष-विपक्ष छुट्याउन जानेको छैन । यो नै सविताका काव्यकलाको सम्पूर्णता हो । जहाँ सिङ्गो जीवन र जगत् परिलक्ष्यित भएको छ । मौलिकता र विविधताले आत्मसात् गरिहेका छन् । मान्छेको ‘म’ र त्यसभित्रको मानवता मौलाएर उदात्तभावले एकअर्कोलाई अङ्कमाल गरिहेका छन् । जब मान्छेमा मानवता भरिन्छ तब उसको हेराइमा शुद्ध, शान्त र विशाल भाव जागृत हुन्छ । ‘नीलो सिमाना’ नामक यस फूलबारीमा विभिन्न प्रकारका चवालीस वटा कविताका रहरलाग्दा विरुवाहरू रोपिएका छन् । सबै विरुवाको धर्म हुर्कनु, फुल्नु र फल्नु हो । फल फलेपछि प्राणीजगत्ले उपयोगमा ल्याएजस्तै सविताले रोपेका यी विरुवालाई पनि हामी पाठकले आत्मसात् गरेर जीवन उजिल्याउँने प्रयत्नमा संलग्न रहन जान्नु पर्दछ । कुनै पनि सिर्जना आफ्ना लागिभन्दा अरूका लागि समर्पण गर्न सकियो भने त्यसको उपादेयता बढी हुन जान्छ । कवयित्री सविताको युवा हृदयभित्र देशप्रेमका रहरलाग्दा मुनाहरू लहलहाएका पाइन्छन् । उनलाई अज्ञानीहरूको द्वन्द्व र बन्द अनि गोलाबारुदको धूवाँ पटक्कै मन पर्दैन । त्यसैले उनी अशान्तिलाई शान्तिमा रूपान्तरण गरेर शान्त र समृद्ध नेपाल निर्माण गर्न आहृवान गर्छिन् ।

बन्दीगृहभित्र सीधा अन्तर्मनसँग भलाकुसारी गर्छु अनि जून र घामको उज्यालो हेरेर उमाउँछु भन्ने सविता समाजले नारीलाई बन्धक बनाएको, पूर्ण स्वतन्त्रता नदिएको र चुलोचौकोमा सीमित गर्न खोजेको कुरासँग विद्रोह गर्छिन् । उनका यस्ता नारीवादी स्वरहरूले समाजलाई सचेत तुल्याउने जमर्को पनि गरेका छन् ।

सविताको काव्य कला पनि रमाइलो र भरपर्दो छ । उनी विम्ब, अलङ्कार, लय र विचारहरू मिलाएर, शब्दहरू तौलेर, भावहरू कुँदेर, सकारात्मक सोचहरूलाई अगाडि सारेर, निरर्थक र बोझिला शब्दहरूलाई छेवै पर्न नदिई पुनरूक्ति दोषबाट बचेर, कविता लेख्न सिपालु छन् ।

‘बिछ्याएर परेलीहरू तिम्रो आगमन र तिमीले ल्याउने लालीगुँरास पर्खिरहेछु’ भन्दै सकारात्मक सोचका साथ उज्यालो बिहानको स्वागत गर्न प्रतीक्षारत सविताको स्वतन्त्र मन अराजनीतिक वातावरणदेखि आक्रान्त छ । उनी चाहन्छिन् -चाँडै सूर्योदय होस् र सबैका अनुहारमा लालिमा भरियोस् । अस्थिरता, अशान्ति, निर्धन्नता, अकर्मन्यता र नकारात्मक सोचहरू सबै समाप्त भएर जाउँन् । धर्तीको सबै भागमा उज्यालो भरियोस् । चन्द्र सूर्यमा ग्रहण लागे पनि नेपालीहरूको मन र मुहारमा कहिल्यै ग्रहण नलागोस् ।

आकाश नीलो हुन्छ, सागर नीलो हुन्छ, शान्तिको रङ पनि नीलो नै मानिन्छ । यी तीनै तत्त्वको सीमा पनि असीमित हुन्छ । सागर र सगरको सीमा नाप्छु भन्ने र शान्ति र सौन्दर्यको सीमा पत्ता लाउँछु भन्ने मान्छेले पार पाउन सक्दैन । असीमितताको सीमै नभएजस्तो सविताका कविताको सीमा निर्धारण पनि त्यति सजिलो छैन । तसर्थ सागर, सगर र शान्तिभित्रको विराटतालाई विम्ब बनाउँदै कवितासङ्ग्रहको नाम पनि ‘नीलो सिमाना’ राखिएको हुनसक्तछ ।

‘क्षितिजमा आउ बादलको छेउ बसेर मनको भाव साटौंला’ भन्दै सधैं आनन्दको वर्षा वर्षाउन आहृवान गर्ने सविता मरूभूमिलाई हेरेर मृगतृष्णामा दौड्ने परम्पराको अन्त्य गरी माली बनेर वसन्त बहारको स्वागत गर्न तम्तयार रहनुपर्दछ भन्ने सकारात्मक सन्देश छर्न पनि पछि परेकी छैनन् ।

अन्त्यमा सविताका कविताको आलोकले नेपाली वाङ्मय सधैँ आलोकित बनिरहोस् । उनको सिर्जनात्मक संसारमा कहिल्यै बादलका धब्बाहरू नदेखियुन् । गाउँमा गुराँस फुलुन्, सहरमा गुलाफ फुलुन्, जङ्गलका रूखहरूमा सुनाखरी झुलोस् ।

कृति ः नीलो सिमाना (कवितासङ्ग्रह)
कवयित्री ः सविता गौतम दाहाल
प्रकाशक ः वाणी प्रकाशन, विराटनगर
प्रकाशन ः २०६७, जेठ
पृष्ठ ः ११२
मूल्य ः रु. १५०।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *