Skip to content


डा. रामप्रसाद पोखरेल तथा श्रीमती शोभनाको सतत् प्रयासले नरपति पोखरेलका सम्पूर्ण कृतिको सँगालो हालै प्रकाशित भएको छ । नइ प्रकाशनले आकर्षक कभर डिजाइनका साथ प्रकाशित गरेको यस पुस्तकले नेपाली भाषा, साहित्यमा धेरथोर श्रीबृद्धि गरेको छ । पचासी वर्षमा निधन भएका नरपतिका कृतिहरूको एकमुष्ट सँगालोलाई प्रकाशित तथा पुनः प्रकाशित गरिदिएर पुत्र रामप्रसाद पोखरेल र उनका परिवारले पूर्वीय दर्शन र पितृ स्नेहको थप नमुना प्रस्तुत गरेका छन् । लामो समय कविराजको रूपमा जीवन व्यतित गरेका स्व. नरपतिको साहित्य सिर्जना उनका मनभरि छताछुल्ल भएको पुष्टि प्रस्तुत पुस्तकबाट हुन आउँछ ।

पुस्तकमा निहित वि.सं. १९९२ मा रचना भएको क्षयरोग प्रबन्ध, वि.सं. २००४ मा रचना भएको नरजीवन काव्य, वि.सं. २०२९ मा रचना भएको सठमार्ग काव्य, वि.संं. २०३१ मा रचना भएको नेपाली भाषा व्याकरण, वि.सं. २०३१ मै रचना भएको सामयिक अनुभूतिहरू, वि.सं. २०३५ मा रचना भएको नरपति शर्मा पोखरेलका आत्मकथा अनि वि.सं.२०३९ मा रचना भएको धनकुटाको इतिहास प्रबन्ध तथा बण्डापत्र नाटकले नेपाली साहित्यका विविध विषयमा पोखरेलबाट कलम चलेका देखिन्छन् ।

पुस्तकमा अध्यात्म र भौतिक दुबैको समिश्रण पाइन्छ । अध्यात्म चिन्तनद्वारा भौतिक सुख खोज्नेहरूका लागि पुस्तक पठनीय र सङ्ग्रहणीय छ । जीवनलाई स्वस्थ राखिने प्रयास आहारविहारदेखि जीवनमा आवश्यक बहुआयाम र व्यायामसम्मको चर्चा हुनुले सबै किसिमका पाठकका लागि पुस्तक सहयोगी सिद्ध हुने देखिन्छ । मनमा काम, क्रोध, भय, शोक, ईष्र्या, खेद आदि बिकार आउन नदिई सधैँ सन्तोष र आनन्द, उत्साह, सकारात्मक सोचमात्र लिने गर्नुपर्छ भन्ने चिन्तनले ओतप्रोत भएको पुस्तक आमजनजीवनका लागि थप सन्देशमूलक पनि छ ।

‘नरजीवन’ काव्यमा आफ्नो मन्तव्य प्रस्तुत गरेर प्रा.डा. वासुदेव त्रिपाठीले पुस्तकको उचाइ बढाइदिएका छन् भने ‘सामयिक अनुभूतिहरू’ मा शब्द कोसेली प्रस्तुत गरेर सत्यमोहन जोशीले पुस्तकको उचाइलाई बढाएका छन् । धनकुटाको इतिहास शीर्षकमा उनकै भाइ छविलालले र अन्त्यमा ‘बण्डापत्र’ नाटकमा नाट्य सम्राट बालकृष्ण समबाटै मन्तव्य प्रस्तुत हुनु पनि पुस्तकको तौल बृद्धिको सङ्केत नै भन्नुपर्छ ।

आधुनिक समयमा साहित्यका विधापिच्छे विशेषीकरण हुने प्रयास देखिए पनि तात्कालिक परिवेश र परिस्थितिको अनुभूति गर्दा साहित्यका विविध विषयमा हात हाल्नु स्वाभाविकै देखिन्छ । विविधामा प्रवेश आफैँमा चुनौतीपूर्ण कार्य हो । अहिले पनि स्रष्टा एक ‘सिर्जना अनेक’ त देखिएकै छ । भाषा विज्ञानको उदय भैरहेको परिप्रेक्ष्यमा नेपाली भाषा, व्याकरण र साहित्य एकै पटक उजागर हुनु नरपतिका स्वःफूर्त विशेषताहरू हुन् भन्नुपर्छ ।

भाषा मुलुकको मुहार हो । सरकारी, गैर सरकारी मुलुकभरका कामकाजमा प्रयोग हुने नेपाली भाषाको विकास र यसको श्रीवृद्धिका लागि मरिमेट्ने नरपतिका प्रयत्नहरू शब्दले मात्र प्रशंसित भएर पुग्दैनन् । धर्म, भाषा, संस्कृति, संस्कारले मुलुकलाई समन्वयको मालाभित्र राख्छ । विखण्डनको सङ्केत मौलाएको हिजोआजको नेपाली संस्कृतिले नरपतिका सन्देशबाट केही हदसम्म पाठ सिक्नसक्ने पङ्क्तिकारको धारणा रहेको छ ।

आत्मवृत्तान्तमा नरपतिले मुलुकको कठिनतम् भौगोलिक परिवेशको चर्चा गरेका छन् । पूर्व मेचीदेखि पश्चिम कालीसम्म पुग्न सकिने अहिलेको सुगम परिवेश त्यसबेला थिएन । यस्तो परिवेशमै पनि पूर्वको धनकुटाको खँदिलो इतिहास उजागर गरिदिएर भौगोलिक अखण्डताको उद्बोधन पनि भएको पाइन्छ पुस्तकमा ! आल वृत्तान्तमै सुदूरपूर्वदेखि तत्कालको समयमा काठमाडौँ खाल्डोमा आइपुग्दा पाएको कठीनतम् उपलब्धिलाई नरपतिले रोचक ढङ्गले प्रस्तुत गरेका छन् ।

कृति ः नरपति पोखरेलका कृति
कृतिकार ः नरपति पोखरेल
प्रकाशक ः नइ प्रकाशन
प्रकाशन ः २०६६
पृष्ठ ः ५८५
मूल्य ः रु. ६००।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *