अन्य विधाका तुलनामा अहिले ‘उपन्यास’ विधाको चर्चा खुब चुलिएको छ । उपन्यास लेख्नु र पढ्नु नै साहित्य लेख्नु र पढ्नुजस्तै भएको छ अचेल । कविबाट सुरु हुने उहिलेको साहित्यिक अवतारमा परिवर्तन आई अब त लेखकहरू सुरुमै उपन्यासकार हुन थालेका छन् । आख्यान पुरूष ध्रुवचन्द्र गौतमले भर्खरै पच्चीसौं उपन्यास ‘अप्रिय’ बजारमा ल्याइसकेका छन् । नयाँ पुराना थुप्रै लेखकहरू उपन्यासकारको सूचीमा दरिएका दरियै छन् । लेखन, पठन, प्रकाशन, समीक्षण, बिक्री, पुरस्कार, चर्चाका दृष्टिले समकालीन साहित्यिक युग ‘उपन्यासको युग’ बनेको छ भन्दा हुन्छ ।

२०६२ मा ‘डोबका काँडाहरू’ गीत सङ्ग्रहमार्फत् नेपाली साहित्यमा ‘औपचारिक’ प्रवेश गरेका कृष्ण अविरलले त्यस यता पाँच वर्षमा पाँचोटा कृति सार्वजनिक गरिसकेका छन् । दरबार हत्याकाण्डबारेको ‘रक्तकुण्ड’ र माओवादी ‘जनयुद्ध’ बारेको ‘जल्लादको मन’ उपन्यासबाट प्राप्त गरेको सफलताबाट हौसिएका यी लेखकले एक गैससको ‘बहुमूल्य’ सम्पादकको जागिर छोडी लेखनलाई नै पेसा बनाउँदै आएका छन् । अर्को उपन्यास लेख्न यी तन्नेरी लेखक अहिले मुगु पुगेका छन् । पुस्तक लेखेरै जीविका चलाउने महत्वाकाङ्क्षी यी अविरल साँच्चै ‘अविरल’ बग्न सक्लान् ?

राजनीतिक उपन्यासकारबाट यी लेखक सामाजिक उपन्यासकारमा दरिएका छन् पछिल्लो उपन्यास ‘लालचुडी’ बाट । लालचुडी तराईमा विद्यमान दहेज कुप्रथामा केन्दि्रत छ । विषय, भाषा, शैली, पात्र, परिवेश आदि दृष्टिले यस उपन्यासलाई पूर्णतः आञ्चलिक उपन्यास भन्न सकिन्छ ।

प्रस्तुत उपन्यासकी मुख्य पात्र ज्योतिको पूर्वदीप्ति, संस्मरणात्मक र डायरी शैलीमा उपन्यासको कथा बुनिएको छ । उपन्यासमा पूरै नारी नै नारी भएकाले यस उपन्यासलाई नारी चरित्रप्रधान उपन्यास भने पनि हुन्छ ।

ज्योति पढेलेखेकी, विवाह गर्ने उमेर भएकी युवती हो । उसको बिहेका लागि धेरै पटक भोजभतेरसहित ‘भव्य मगनी उत्सव’ हुन्छ । बाबु छैनन्! परिवार ठूलो छ । आमाले ऋण लिएर भोज गर्छिन् तर कसैले काली भन्छन्, कसैले दाँत फाटेकी भन्छन्, कसैले बाउबिनाकी टुहुरी भन्छन्, कसैले पैताला ठूलो भन्छन्, कसैले धेरै पढेलेखेकी रैछ यस्ताबाट काम चल्दैन घर चल्दैन, जागिर खान हिंडिहाल्छे भन्छन्, कसैले मोटी भन्छन् त कसैले दुब्ली, कसैले अग्ली भन्छन् त कसैले होची अनि दहेज कम भयो भन्ने त कति कति !

ज्योतिको डायरी चोरेर फोटोकपी गरेर त्यसैलाई उपन्यास बनाएको भन्ने लेखकले भोजपुरी भाषाको सहज प्रयोग गरी उपन्यासलाई स्वाभाविक बनाएका छन् । ‘ज्योतिको डायरी’ पढ्दै जाँदा धेरै ठाउँमा आँखा साँच्चै रसाउँछन्, सोच्न बाध्य भइन्छ । मधेसमा राजनीति गर्ने नेता, कार्यकर्ता, गैससका विकासे कर्मचारी सबैले एकचोटि ‘लालचुडी’ पढ्न जरूरी छ ।

उपन्यासको कथ्य, शैली र प्रस्तुति जति सशक्त छ भाषिक शुद्धता त्यति नै कमजोर छ । ‘कुनै पनि कृति प्रकाशन हुनु भनेको त्यो कृतिका सन्दर्भमा लेखकको मृत्यु हुनु हो’ लाई ‘कुनै विद्वान्ले भनेको’ नभनी ‘रोंला बार्थले भनेको’ भनी लेखेको भए अझ राम्रो थियो । उपन्यासभरि नै जताततै व्याकरणिक अशुद्धिहरू छन् । ‘योग्य अङ्ग नदेखाउने उपायस्वरूप मैले तौलिया खोजेँ’-पृ.९२ पढेपछि हाँसो थाम्नै गाह्रो भो । ‘गोप्य’ लेख्न खोजेको होला ‘योग्य’ भइदिएछ ।

‘लालचुडी’ धेरै त्रुटि भएर पनि कत्ति कृति चर्चित बनेका छन् नेपाली साहित्यमा । सायद नेपाली भाषा मात्रै होला जति त्रुटि भए पनि ‘केही’ नहुने । लेखकले सम्पादक खोजेर कृतिको सम्पादनपछि मात्रै किताब निकाल्ने दिन नेपालीमा कहिले आउला ? विषय र शैली ‘लाल चुडी’ को सबैभन्दा सशक्त पक्ष हो भने भाषाचाहिं कमजोर पक्ष । समग्रमा भन्नुपर्दा उपन्यास पठनीय नै छ ।

कृति ः लालचुडी (उपन्यास)
उपन्यासकार ः कृष्ण अविरल
प्रकाशक ः पाँचपोखरी प्रकाशन गृह, काठमाडौँ
प्रकाशन ः २०६६, चैत
पृष्ठ ः ११३+६
मूल्य ः रु . १००।-

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *