चरी, तैंले मेरो बाली सखाप पारिस्
जुन फल पाक्छ त्यो तँ नै खाइदिन्छेस्
अनि बूढो मान्छे म के खाउँ ?
मलाई शाकाहारी जानी तैंले धेरै हेपिस् ।
बाजे, तिमीले भकारीभरि थन्क्याउन जान्यौ
तालासाँचोको आविष्कार गर्‍यौ
मेरो पानी माटी तिमी बेचीखान्छौ
शिकार गर्न नसकेर शाकाहारी भएछौ कि ?
हामीले खाएको हेर्न नसकेर
तिमी बूढा त भएका होइनौ ?
धरतीमा उमि्रने वस्तु तिम्रो बाली भएछ
त्यो तिम्रो बाली भनी हामीलाई थाहा भएन
अब हामी तिम्रो अगाडि नआउँला है ।
सङ्गातीहरू कति नफर्किने गरी गए
चरी पनि आउन छाडे धरती नै चरहिन भयो ।
बूढा चिच्याए- चरीहरू, मैले भकारीको ताला खोलिदिएँ
म बूढो बचेरा भए कसैले मुखमा हालिदिए खाने भए
चारा खाई बचराले पङ्ख फड्फडाउँदाको गति हेर्न चाहन्छु
तिमीले मेरो बाली बचरालाई ख्वाउँदाको दृश्य हेर्न चाहन्छु
अब म आँखा देख्नसक्ने भएको छु
प्रेम र सौन्दर्य ग्रहण गर्नसक्ने भएको छु
यो संसार् त प्रेम र सौन्दर्यका दुईहातको अँजुलीमा अटाएजस्तो लाग्छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *